अनुभवका एक बिद्यालय

नारायणप्रसाद शर्मा, पूर्व प्रधानाध्यापक, बुढानिलकण्ठ स्कूल

जीवन आफैँमा संयोग नै त हो । नारायणप्रसाद शर्मा (६०), जसले जीवनका चार दशक कलिला नानीलाई शिक्षाको ज्योति प्रदान गर्दै बिताए । त्यो बाटो हिँड्नु एउटा संयोग नै थियो, कुनै योजना थिएन ।
पर्वत जिल्ला कुर्घा–२मा जन्मिएका शर्माको उमेर त विद्यालय जाने भएको थियो, तर गाउँमा विद्यालय थिएन । तर उनका हजुरबुबा शिक्षाप्रति ज्यादै उत्सुक । उनी सम्झन्छन्, ‘हजुरबाले एकजना शिक्षक ल्याएर घरमै राख्नुभयो, मलाई पढाउन भनेर । उहाँकै कारण मैले पढ्न पाएँ, घरमै अक्षर चिनेँ । प्राथमिक तहको योग्यता बनाएँ । पछि त हाम्रो घर पो गाउँको विद्यालयजस्तो बन्यो ।’ त्यसपछि उनले भारतको गुवाहटीमा गएर निम्न माध्यमिक तह अध्ययन गरे । गाउँमै विद्यालय बनेपछि फर्किए । एसएलसी गरे । आइए पढ्न पोखरा गए । बिए भने काठमाडौँको त्रिचन्द्रबाट गरे । शिक्षक जीवनको संयोग त्यहीँबाट सुरु भयो ।
बिए पास गरेपछि डिग्री भर्ना भएर भूगोलमा मास्टर्स गर्ने योजनामा थिए उनी । तर, लामो समय बिरामी परेर भर्ना हुने अवधि पनि सकियो । त्यसपछि के गर्ने त एक वर्ष ? सोचे– गाउँमा गएर सेवा गर्छु । ‘त्यसबेला मेरो मावली गाउँमा नेपाल तारा हाई स्कुल भर्खर स्थापना भएको रहेछ । मलाई बोलाइयो । त्यहाँ शिक्षण सुरु गरेँ ०३० सालमा,’ उनले सम्झे । भर्खर सुरु गरेको विद्यालय, बिए पास गरेको मान्छे । सबै विषय पढाउनु पनि पर्ने । पढ्नुपर्छ भन्ने चेतना कम भएको बेला । चेतना जगाउन दौडिनुपर्ने । विद्यालयको स्तरोन्नतिका लागि चन्दा उठाउन पनि दौडनुपर्ने । गर्दागर्दै समय बित्दै गयो । दुई वर्षपछि त निमित्त प्रधानाध्यापक बने । त्यसैबिच उनले बिएड एजुकेसनल ट्ेरनिङ लिने मौका पाए । त्यो सकेर जिल्ला फर्किंदा भने राजनीतिक चलखेल भएछ । उनलाई अर्कै विद्यालयमा सरुवा गरिदिएछन् । झन्डै पाँच वर्ष काम गरिसकेको मान्छेलाई त्यस्तो गरेको उनलाई चित्त बुझेन । उनी भन्छन्, ‘मलाई त्यो कुरा चित्त बुझेन । त्यसैले विवाद भयो । म बिएल गर्न काठमाडाँै आएँ । ललितपुरको आदर्श विद्या मन्दिर, मानभवनमा ट्रान्सफर भएँ ।’ उनले त्यहाँ चार वर्ष बिताए । त्यसैबेला एमएड गरे । यसैबिच उनले टाइम्स अफ इन्डियामा विज्ञापन देखे– बूढानीलकण्ठ स्कुलमा सामाजिक शिक्षाको शिक्षक मागिएको । उनले पनि निवेदन हाले । संयोग, छानिए र सुरु भयो नेपालकै नमुना मानिएको विद्यालयमा शिक्षण यात्रा ।
०००
बूढानीलकण्ठ गएपछि उनले शिक्षणको फरक अनुभूतिमात्रै गरेनन् । आफ्नो शैक्षिक योग्यता पनि बढाउने मौका पाए । उनले साउथ एम्टन युनिभर्सिटी, बेलायतबाट ‘जोग्राफिकल एजुकेसन’मा स्नातकोत्तर गरे । त्यसले उनलाई शिक्षणमा अझै सहज बनायो ।
सन् १९९४ सम्म बूढानीलकण्ठको व्यवस्थापन बेलायतले गरिरहेको थियो । त्यसपछि नेपाललाई हस्तान्तरण गरियो । त्यसबेला कसलाई प्रधानाध्यापक बनाउने भन्ने छलफल भयो । त्रिभुवन विश्वविद्यालयबाट काजमा गएका सत्यनारायण राजभण्डारी प्रधानाध्यापक बने । शर्मा र जनक थापा सहायक प्रधानाध्यापक छानिए ।
डेढ वर्षपछि राजभण्डारीको काज फिर्ता भयो । विद्यालय सञ्चालन बोर्डले सहायक प्रधानाध्यापकमध्येबाट प्रधानाध्यापक छान्न शिक्षा मन्त्रालयलाई सिफारिस गर्‍यो । मन्त्रालयले शर्मालाई छान्यो । त्यसपछि सुरु भयो शिक्षणका साथमा नेपालको उत्कृष्टमध्ये एक मानिने बूढानीलकण्ठ स्कुलको व्यवस्थापनको जिम्मेवारी । विभिन्न उतारचढावबिच उनले १७ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाले उनले त्यहाँ । गत साल वैशाखमा उनले आफ्नो जिम्मेवारी हस्तान्तरण गरे ।
त्यतिमै सकिएन उनको शिक्षण यात्रा । सरकारले ०६९को बजेट भाषणमा उल्लेख गरिएको निजामती स्कुल सुरु गर्न धनकुटा पठायो । त्यहाँ पुगेर उनले नयाँ विद्यालय स्थापना गरे । चार दशक रफ्तारबाट बल्ल फुर्सद पाएका छन् शर्माले आजभोलि ।
०००

एउटा शिक्षकले केमा मजा लिन्छ होला ? शिक्षणमै लागेर कपाल पकाएका शर्मालाई सोधियो । उनको जवाफ छ, ‘बच्चाको सामीप्यता निकै आनन्ददायी हुन्छ । विशेषगरी उनीहरूको जिज्ञासा समाधान गर्दा खुब आनन्द आउँछ । उनीहरूको जीवनलाई नजिकबाट छुन पाएजस्तो लाग्छ । समाज र अभिभावकको आशालाई आकार दिन पाएजस्तो लाग्छ । यो नै शिक्षकको आनन्द हो ।’
उनलाई आफ्ना छोराछोरीको सफलताले जति खुसी दिन्छ, त्यति नै खुसी दिन्छ विद्यार्थीको सफलताले । त्यसो त विद्यार्थी पनि उनलाई उत्तिकै सम्मान गर्छन् । केही समयअघिमात्रै उनी छोरीको ‘ग्य्राजुएसन’ पूरा भएको सन्दर्भमा अस्ट्रेलिया पुगेका थिए । त्यो कुरा उनका विद्यार्थीले थाहा पाएछन् र ‘गेट टुगेदर’ गरे । उनले पढाएका विद्यार्थी त्यहाँ विभिन्न पेसामा सफल भइरहेका रहेछन् । उनलाई त्यसले निकै गर्व अनुभूति भयो । खुसी पनि उत्तिकै बटुले ।
०००

जतिसक्दो घोक । यही शिक्षण पद्धतिबाट दीक्षित भएका हुन् शर्मा पनि । उनी सम्झन्छन्, ‘एसएलसीका बेला ज्यामितिका सबै सिद्धान्त कण्ठ गथ्र्यौं । तर, त्यो के भनेको हो ? बुझेको हुँदैनथ्यो । अंग्रेजीमा जति बढी निबन्ध कण्ठ पार्‍यो, त्यति धेरै एसएलसी तयारी गरेको मानिन्थ्यो ।’ क्याम्पससम्मै पनि उनले त्यस्तै शिक्षण पद्धति भोगे । उनलाई लाग्छ, ‘अहिले पनि सरकारी शिक्षण संस्था, विश्वविद्यालयसम्म नै त्यस्तै शिक्षण पद्धति चलिरहेको छ ।’ र, छ पनि ।
त्यसो त उनले पनि सुरुवातमा त्यही शिक्षण पद्धति अपनाए । तर, बूढानीलकण्ठमा पुगेपछि शिक्षण पद्धतिसम्बन्धी उनको धारणा पूरै परिवर्तन भयो । त्यहाँ प्रयोग भइरहेका विद्यार्थीकेन्द्रित, सिर्जनशील र सिक्न प्रोत्साहित गर्ने शिक्षण पद्धतिले उनलाई पनि धेरै सिकायो । उनी भन्छन्, ‘हुन त शिक्षण पद्धति कस्तो राम्रो हुन्छ भन्नेमा एकमत छैन । यसबारे अनुसन्धान पनि भइरहेका छन् । तर पनि, सोच्न सिकाउने र पढेको कुराको व्यावहारिक जीवनमा सम्बन्ध निर्माण गर्न सक्ने बनाउने शिक्षण पद्धति नै सर्वोत्कृष्ट हो ।’ विद्यार्थीले पढ्दा बोझ होइन, मजा अनुभूति गर्नुपर्छ भन्ने उनको अनुभवले सिकाएको छ । त्यसले विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षलाई गर्व अनुभूति हुन्छ । उनी उदाहरण दिन्छन्, ‘मलाई बुबाले दाम्लो, डोको बुन्न सिक्नुपर्छ भन्नुहुन्थ्यो । मैले त्यो जान्दा गर्व अनुभूति भयो । किनभने, त्यो व्यवहारमा उपयोगी थियो ।’
त्यसो त उनले भोगेका छन्, सम्भ्रान्त भन्ने कति अभिभावक नै यस्तो व्यावहारिक ज्ञान र श्रमप्रतिको सम्मानप्रति उदासीन छन् । बूढानीलकण्ठमा हरेक वर्ष धान रोप्न लगिन्छ विद्यार्थीलाई । श्रमप्रतिको सम्मान पैदा होस् र त्यसको व्यावहारिक ज्ञान पनि प्राप्त होस् भनेर । ‘तर, एकजना अभिभावक आएर भन्नुभयो– तपार्इंहरूले हाम्रा बच्चालाई धान रोप्न लगाउनुभएछ । हामी हाम्रा बच्चा माटामा खेलिरहेका देख्न चाहन्नौँ । बरु तपाईंको विद्यालयलाई पैसा अपुग भएर विद्यार्थीलाई काम लगाइएको हो भने हामी सहयोग गर्छौं,’ उनले सम्झे । उनले अगाडि भने, ‘उहाँलाई सम्झाउन निकै गाह्रो भयो । किनकि हामीले पैसाका लागि त्यसो गरेका होइनौँ । नेपालको व्यावहारिक विषयबारे विद्यार्थीमा ज्ञान दिनका लागि हो । यस्तो कुरा अभिभावकले नबुझ्दा विद्यार्थी व्यावहारिक ज्ञानप्रति उत्सुक हुँदैन । यसले उसलाई सफल बन्नबाट रोक्छ ।’ बूढानीलकण्ठको व्यावहारिक शिक्षण पद्धतिकै कारण त्यहाँको उत्पादन सफल रहेको उनको बुझाइ छ ।
यस्तो बेला शिक्षकको भूमिका निर्णायक हुने उनको अनुभव बताउँछ । ‘अभिभावकले कमसेकम १० देखि ४ बजेसम्म त शिक्षकको जिम्मामा छाडेकै हुन्छ नि विद्यार्थीलाई । यदि अभिभावकले नबुझे पनि बुझाउने जिम्मा शिक्षककै हो,’ उनले भने ।
०००

शिक्षण जीवनमा उनले अनेक अनुभव सँगालेका छन् । तीमध्ये उनलाई एसएलसीको पाठ्यक्रमका कारण केही प्रतिभाशाली विद्यार्थीलाई पनि विद्यालयबाट बिदा गर्नुपरेको अनुभवले भने झस्काइरहन्छ । ‘कुनै विद्यार्थी केही विषयमा उदाहरणीय हुन्छन् । उनीहरूले सामान्यभन्दा धेरै गर्न सक्छन् । तर, एसएलसीमा त सबै विषयमा उत्तिकै हुनुपर्‍यो । त्यसैले केही विषयमा उदाहरणीय विद्यार्थी पनि केही विषयमा कमजोर देखिँदा विद्यालयबाटै बिदा गर्नुपर्दा चित्त दुखेको छ । तर, के गर्ने ? प्रणाली नै त्यस्तो छ,’ उनको गुनासो छ ।
अर्कोचाहिँ उनलाई लागिरहने विषय हो– यदि पहुँच निर्माण गर्ने र अवसर दिने हो देशका जुनसुकै कुनाका विद्यार्थीले पनि आफ्नो क्षमता देखाउन सक्छ । ‘बूढानीलकण्ठमा एकतिहाइ छात्रवृत्ति छ । त्यसमा हुम्ला–जुम्लाजस्ता दुर्गम स्थानका विद्यार्थी पनि आउँछन् । उनीहरू राजधानीमै बसेर नर्सरीबाटै अध्ययन गर्नेसँग प्रतिस्पर्धा गरेर उत्कृष्ट बनिरहेका हुन्छन् । यसले पहुँच र अवसर भए देशका सबै क्षेत्रका बच्चाले केही गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ,’ उनको बुझाइ छ । त्यो देखेर उनी बूढानीलकण्ठमा छात्रवृत्ति ५० प्रतिशत बनाउन सुझाउँछन् । त्यतिमात्रै होइन, यस्तै विद्यालयको ‘नेटवर्क’ बनाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘अहिले बूढानीलकण्ठमा भर्ना नपाएपछि मात्रै अन्य निजी विद्यालय जान्छन्, राम्रो शिक्षा खोज्नेहरू । त्यसैले निजी विद्यालयको विरोध गर्नुभन्दा सरकारले सञ्चालन गरेका विद्यालयलाई यस्तै बनाउन सकिन्छ नि । वास्तवमा एउटा राम्रो नागरिक तयार गर्नु भनेको राज्यका लागि नै फाइदाजनक कुरा हो ।’
त्यसका लागि उनले चितवनमा ‘होमवर्क’ पनि गरेका हुन् । ‘चितवनमा बूढानीलकण्ठको नेटवर्क बनाउने योजना बनाएको थिएँ । तयारी पनि भएको थियो । क्यान्सर अस्पतालले व्ययभार व्यहोर्ने सहमति पनि भइसकेको थियो । तर, राजदरबार हत्याकाण्डपछि त्यो कुरा त्यत्तिकै सेलायो,’ उनले बताए ।
०००

बूढानीलकण्ठमा उनले सर्वसाधारणलाई मात्रै पढाएनन् । तत्कालीन राजाका छोराछोरीलाई पनि पढाए । उनले दीपेन्द्र, नीराजन र पारसलाई बूढानीलकण्ठमै पढाए । श्रुतिलाई दरबार गएर पढाए । ‘बूढानीलकण्ठका लागि सबै समान थिए । त्यहाँ कसैले पनि राजाका छोरा भनेर उच्च सम्मान दिन पाउँदैनथ्यो । गार्डले पनि स्यालुट गर्न पाउँदैनथ्यो । त्यस्तो शिक्षा प्रणालीको सोच ल्याउने महेन्द्रको बुद्धिमत्ता सम्मानयोग्य छ,’ शर्माले भने । विद्यालयबाट ‘पास आउट’ भएपछि पनि दीपेन्द्र आफूलाई भेट्न आउने गरेको उनले बताए । ‘त्यतिबेला आफ्नो विद्यार्थी भए पनि सरकार त भन्नुपर्‍यो नि । तर, उनले त्यसो नभन्नुस् सर, विद्यार्थीकै रूपमा दीपेन्द्र भन्नुस् न भन्थे । त्यो बूढानीलकण्ठ विद्यालयको स्कुलिङ थियो,’ उनले सम्झे ।
०००

त्यसो त बूढानीलकण्ठमा शर्माले अप्ठ्यारो समय पनि भोगे । द्वन्द्वको समय थियो । तत्कालीन माओवादी कार्यकर्ता चन्दा माग्न आउँथे । तर, उनीहरूलाई उनले बुझाए– यसमा बन्दुक बोकेर हिँड्नेकै छोराछोरी पनि पढिरहेका होलान् । बरु यसलाई त सहयोग पो गर्नुपर्ने हो नि । यसरी बुझाएपछि भने उनले त्यस्तो दु:ख झेल्नुपरेन । एकपटकको घटना उनी सम्झन्छन्, ‘एकपटक विद्यालयको लेखामा तालाबन्दी गर्ने कार्यक्रम रहेछ । मैले यत्रा बच्चालाई खुवाउनुपर्छ । ताला लगाएर के गर्ने ? भनेपछि उनीहरूले नै सुझाए– हामी अगाडिबाट ताला लगाउँछौँ । तपाईंहरू पछाडिबाट काम गर्नुस् भनेर ।’
अर्कोचाहिँ उनले विद्यार्थी भर्नाको दबाब धेरै झेल्नुपर्‍यो । एकपटक एक मन्त्रीले मन्त्रालयको लेटरप्याडमै सिफारिस लेखे । मन्त्रीको नाम नबताउने सर्तमा उनले भने, ‘तर, मैले उहाँलाई चिठी लेखेर सकिँदैन भनेँ । पछि, हाम्रो विद्यालयले पुरस्कार पायो । त्यो पुरस्कार वितरण समारोहमा उनी पनि थिए । मैले नमस्कार गर्दा पनि फर्काएनन् ।’
यस्तो दबाबसम्बन्धमा उनको अनुभव छ, ‘कुन पार्टीको भन्दा पनि को व्यक्ति शक्तिमा आयो भन्नेले फरक पार्दो रहेछ । तर, कांग्रेस होस् या कम्युनिस्ट, धेरैले छात्रवृत्ति आवश्यक नै नभएका मानिसलाई सिफारिस गर्थे । मेरो सधैं जोड हुन्थ्यो– आफ्नै पार्टीको भए पनि छात्रवृत्ति चाहिने गरिब व्यक्तिलाई सिफारिस गर्न । त्यसैले बेला–बेला कतिपयसँग खटपट पथ्र्यो । तर, म आफ्नो आदर्शबाट पछि हटिनँ ।’
०००

शर्माजस्तै शिक्षा क्षेत्रमा वर्षांै बिताएका धेरै व्यक्तित्व छन् नेपालमा । उनीहरू सेवाअवधिपछि निष्क्रिय जीवन बिताइरहेका छन् । त्यसैले एसएलसीमा प्रतिशत आएन, शिक्षाको गुणस्तर बढेन भनेर कोकोहोलो गर्नुको साटो त्यस्ता अनुभवी व्यक्तित्वको ज्ञानलाई प्रयोग गरी सही नीति तय गर्नु उपयुक्त हुन्छ । यसमा सहमत छन् शर्मा । उनी भन्छन्, ‘सरकारले त्यसरी सोच्ने हो भने त राम्रो हो । हामीजस्तो जनशक्तिलाई धेरै खर्च पनि गर्नुपर्दैन । एउटा समूह बनाएर नियमित अन्तरक्रिया गराउने र नीति तय गर्ने हो भने लामो अनुभवबाट प्राप्त ज्ञानको उपयोग हुन्छ । त्यसले राष्ट्रलाई नै फाइदा पुग्छ ।’ अनुभवबाट आफैँ विद्यालय बनिसकेका यस्ता व्यक्तित्वबाट राज्यले लिन सक्ने कुरा धेरै छन् ।
܀܀܀
✍ कला अनुरागी
साभार : नुवागी मासिक 

Comments