'कांग्रेस आफैंचाहिँ प्रजातान्त्रिक हुनपर्दैन ?'

कांग्रेसको १३औं महाधिशनबारे विद्यार्थी नेता नैनसिंह महरको १३ सवाल :

सिद्धान्तमात्र होइन, व्यवहार
प्रजातन्त्रका माध्यमले जनतालाई समृद्ध गर्ने नेपाली कांग्रेसको सैद्धान्तिक दृष्टिकोण  हो । तर अहिलेसम्म देशले समृद्धि प्राप्त गरेको छैन । त्यसैले १३ औं महाधिवेशनमार्फत नेपाली कांग्रेसको दृष्टिकोणलाई सैद्धान्तिकभन्दा पनि व्यवहारिक रूपले कार्यान्वायन गर्ने नेतृत्व निर्माण गर्नु जरूरत छ । 

आन्तरिक प्रजातन्त्र 
हामी आफूलाई प्रजातन्त्रवादी भन्छौं । प्रजातन्त्रका लागि लडिरहेका छौं । तर नेपाली कांग्रेस आफैं प्रजातन्त्रवादी र प्रजातान्त्रिक हुनुपर्छ कि पर्दैन भन्ने महत्वपूर्ण प्रश्न उठिरहेको छ । नेपाली राजनीतिक दलहरूमा आन्तरिक प्रजातन्त्रको अभाव छ भन्ने कुरा जगजाहेर छ । तर नेपाली कांग्रेस देश निर्माणको सवालमै संस्थापन पक्ष हो भन्न हामी रूचाउँछौं । त्यसैले जो अभिभावक छ, उसले देशलाई र अन्य दललाई पनि दिशानिर्देश गर्नु कर्तव्य हो । त्यसैले आफैं प्रजातान्त्रिक बनेर जनतालाई समृद्ध बनाउने सवालमा विकासबारे नेपाली कांग्रेसको दृष्टिकोण र मार्गचित्र सार्वजनिक हुनु जरूरी छ । हामी लिखित दस्तावेज बनाउँछौं, घोषणापत्र निर्माण गर्छौं । पार्टीको विधान निर्माण गर्छौं । तर विधान पार्टीको आन्तरिक जीवनका कहिल्यै पनि कार्यान्वायन भएन । १२ औं महाधिवेशनबाट आएको नेतृत्वले पनि ९८ प्रतिशत विधान कार्यान्वायन गरेको छैन । त्यसकारण खालि लिखित दस्तावेज बनाउनुभन्दा पनि त्यसलाई कार्यान्वायनमा लैजान सक्ने नेतृत्व आउनु जरूरी छ । 

स्पष्ट परराष्ट्र नीति
केही कुराचाहिँ हामीले लिखित रूपमै अगाडि बढाउनुपर्ने छ । त्यसमध्ये एक हो– परराष्ट्र मामिला । पराराष्ट्र सम्बन्धमा हामी अहिले इतिहासमै कमजोर सावित भएका छौं । त्यसमा नेपाली कांग्रेसको सैद्धान्तिक दृष्टिकोण के हो ? नेपाली कांग्रेसको वैदेशिक सम्बन्धबारे नीति के हो ? त्यो महाधिवेशनमा छलफल गरेर स्पष्ट हुनु आवश्यक छ । नेपालको विदेशसँग सम्बन्ध, छिमेकीसँग सम्बन्धबारे गहन छलफल हुन जरूरी छ । छिमेकी बदल्न सकिँदैन, तर मित्र बदल्न सकिन्छ । त्यसैले हामीले भारत र चीनसँग सम्बन्धमा केही फेरबदल त गर्न सकौंला । तर कुनै एकलाई ‘क्रस’ गरेर जान सक्ने अवस्थामा छैनौं । यसलाई मध्यनजर गरेर कस्तो परराष्ट्र नीति निर्माण गर्ने भन्ने स्पष्ट धारणा यो महाधिवेशनमार्फत आउनुपर्छ ।  
भारत र चीनलाई विश्वासमा लिएर उनीहरूसँग भएको सीप र स्रोतसाधनलाई नेपालको विकासको पक्षमा सदुपयोग गर्न जरुरी छ । हामीले जति कुरा गरेपनि हाम्रो स्रोतसाधन र ज्ञानको क्षमता पर्याप्त छैन । त्यसैले छिमेकीलाई बढी भन्दा बढी विस्वासमा लिएर नेपालको निर्माणको सवालामा उनीहरूलाई पनि सँगै लैजानुपर्छ । त्यसकोलागि छिमेकीभन्दा बाहिरको वैदेशिक सम्बन्धलाई पनि अगाडि बढाउने कुरामा कांग्रेस स्पष्ट हुनु जरूरी छ । 

गणतन्त्रप्रति प्रतिवद्ध
नेपाली कांग्रेसको स्थापना गर्दा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा प्रतिबद्धतासहित भएको हो । विधान पनि त्यहीअनुसार निर्माण गरिएको थियो र सैद्धान्तिक रूपले नेपाली कांग्रेसका कार्यकर्ता त्यही ढंगले प्रशिक्षित थिए । तर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६२/६३ सम्म आउँदा परिस्थिति ‘यू टर्न’ भयो । हामी समावेशी गणतन्त्रमा गयौं । एकलकाँटे शासन व्यवस्थाबाट हामी संघीयतातिर गएका छौं । एउटा वर्गलाईमात्रै नमानेर बहुवर्गको समानुपातिक र समावेशी राज्यप्रणालीमा गयौं । यो चेतना नेपाली जनतासम्म पुर्याउन जरूरत छ । किनिक हिजो हाम्रा अग्रज बुबा दाइहरू संवैधानिक राजतन्त्रका लागि तयार थिए । त्यो जमात अझै बाँकी छ । हामीजस्ता र हामीपछाडिका युवालाई गणतन्त्रका लागि प्रेरित गर्यो परिस्थितिले । यो स्थितिमा संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रका लागि नेपाली जनता र युवालाई मानसिक रूपमा तयार पार्नु आवश्यक छ । त्यस्तो अनुभूत गराउने जमात नेपाली कांग्रेसभित्रबाटै तयार पार्नु जरूरत छ । र, अग्रजलाई सम्झाउन जरुरत छ ।

संस्थागत नैतिक शिक्षा
नेपाली राजनीतिमा नैतिकताको आधार स्खलित भएको छ । नैतिकताविहिन समाज निर्माण भइरहेको कारण हरेक वर्ग समुदाय व्यक्तिकेन्द्रित भएका छन् । व्यक्तिगत स्वार्थका लागि मर्ने, आफ्ना लागि जुनसुकै त्याग गर्न तयार हुने, विधान परिवर्तन गर्न र संविधान परिवर्तन गर्न तयार हुने तर अरूको हित नहेर्ने प्रचलन छ । त्यस्तो आधार नेपाली शिक्षा प्रणालीले तयार गरेको छ । जबसम्म शिक्षालाई हामी नैतिक धरातलतिर ढल्केको बनाउँदैनौं, मानवतामा आधारित नैतिकतातिर लैजादैनौं र प्रारम्भिक स्कुलदेखि विश्वविद्यालयसम्म नैतिकताको कुरा पाठ्यक्रममा समावेश गर्दैनौं, नैतिकता झनै ह्रास हुँदै जान्छ । त्यसले राजनीतिमात्रै होइन, सबै क्षेत्रमा प्रभाव पार्छ । त्यस बिषयमा महाधिवेशनले ठोस कार्ययोजना निर्माण गर्नु आवश्यक छ । 

सामाजिक प्रजातन्त्र 
दुई आलिशान महलको बीचमा एउटा फुसको झुप्रो हुन्छ । दुईतिरका मान्छेले सुखभोग गरिरहन्छन्, झुप्रोको ख्याल गर्दैनन् । तर कुनै बेला आगोको चिंगारी फुसको छाप्रोमा सल्कियो भने सटिएका दुईवटा बिल्डिङ पनि जल्छन् । यो परिस्थिति नेपाली समाजमा छ । दुई सयजनाको बीचमा १० जनामात्रै समुन्नत भएर हुँदैन । सबैलाई कल्याणकारी राज्यका माध्यमले समुन्नत बनाउनुपर्छ । जसलाई हामीले सामाजिक प्रजातन्त्र भन्छौं । 
अहिले सामाजिक लोकतन्त्रका नयाँ आयाम थपिएका छन् । त्यसबारे स्पष्ट हुनु आवश्यक छ । कुनै बेला निरंकुश राजतन्त्रका विरुद्ध विश्वमा ठूला लडाइँ भए । त्यस्तै कम्युनिष्ट अधिनायकवादविरुद्ध लडाँइ भए । प्रतिफलमा भने जनताले धेरै कुरा पाएनन् । स्वतन्त्रताको लागि लडाँइ भए, स्वतन्त्रता प्राप्ति भयो । दैनिक जीवनका राजनीतिक अधिकार त प्राप्त भयो । तर त्यसलाई सधैँ स्थापित गराइराख्न सामाजिक रूपमा मानिसको बाँच्ने, शिक्षा, खानेपानी, सांस्कृतिक आदि अधिकारमा भने ध्यान नदिदो राजनीतिक अधिकारमात्रै लिएर बसेको समाजले प्रगति गर्न सकेन । त्यसैले सामाजिक प्रजातन्त्रलाई बलियो बनाउने बिषयमा १३ औं महाधिवेशनमा गम्भीरतापूर्वक छलफ गरिनुपर्छ । 

पारदर्शी प्रणाली
अहिले पारदर्शी राजनीतिको खोजी सबैतिरबाट भइरहेको छ । त्यसको लागि सक्रिय सदस्यता दिने बेलामा नै कार्यकर्ताको सम्पत्ति र आम्दानीको स्थितिबारे पार्टीले जानकारी लिनुपर्छ । पाँचबर्षपछि कहाँ पुग्यो त कार्यकर्ताको स्थिति भन्ने थाहा हुन्छ । त्यसो भयो भने मान्छे श्रममा आधारित हुने अवस्था निर्माण हुन्छ । नत्र दिनभरि काम नगर्ने, महिनाको दुई/चार लाख खर्च गर्ने जुन अवस्था देखिन्छ । त्यसले राजनीतिलाई पारदर्शी र उत्तरदायी बनाउँदैन । त्यसैले महाधिवेशनमार्फत पारदर्शी प्रणालीको व्यवहारिक नीति निर्माण गरेर कार्यान्वायनतिर जानुपर्छ । 

पारदर्शी सदस्यता 
नेपाली कांग्रेसको महाधिवेशन आउन १५ दिन बाँकी छ । तर कहिले अहिलेसम्म सक्रिय सदस्यता प्राप्त गरेका छैनन् । यस्तो किन गर्ने ? नेपाली कांग्रेसको सक्रिय सदस्यता त एक बर्षअगाडि पाउनुपथ्र्यो । नेपालमा रहनेले मात्रै होइन, संसारमा जहाँ रहेकाले पनि हेर्न पाउने व्यवस्था हुनुपथ्र्यो । छानविन गर्ने होइन, पारदर्शी ढंगले नै राख्ने व्यवस्था हुनु आवश्यक छ । 

संस्थागत कार्यशैली 
अहिले सक्रिय सदस्यतालगायतका जति पनि समस्या देखिएको छ, त्यो संस्थागत कार्यशैली नभएर देखिएको हो । संस्थागत काम गर्नुपर्यो । व्यक्तिका लागि काम गर्नुभएन । अहिले नेपाली कांग्रेसमा संस्था कमजोर भएको अवस्था छ । संस्था गतिशील नभएको अवस्था छ । संस्थामा संस्थागत चरित्र नै हावी हुनु जरुरी छ । पार्टीलाई संस्थागत तरिकाले लैजान्छु भन्ने कुरामा आदरणीय पार्टी सभापति सुशील कोइराला लागे पनि उहाँको कार्यकालमा त्यसो हुन सकेन । यो दुर्भाग्यपूर्ण कुरा हो । 

संगठित र गतिशील पार्टी
सबै पार्टीको उद्देश्इ देश निर्माण गर्ने नै हो । त्ययसमा पनि हामी प्रजातन्त्रमा विश्वास राख्नेहरू देशमा आवधिक चुनाव गरेर जनताको अभिमतबाट शासनमा स्थापित भएर देश निर्माण गर्न चाहन्छौं । त्यसो गर्न नेपाली कांग्रेस संगठित र गतिशील हुनु जरूरी  छ । वर्तमान नेतृत्वलेजस्तै गरेर पार्टीलाई रुग्ण, कमजोर र स्खलित बनाएर हामी अघि बढ्न सक्दैनौं । यस्तो नेपाली कांग्रेसले देशलाई नेतृत्व दिन सक्दैन । त्यसैले यसलाई बलियो बनाउने सवालको जवाफ यो महाधिवेशनमार्फत हामी खोजिरहेका छौं । 

युवा नेतृत्व
हामीजस्ता युवाहरूले कांग्रेसमा युवा नेतृत्वको सवाल पनि उठाइरहेका छौं । पार्टीमा युवा दृष्टिकोण र युवा चिन्तन भएका नेतृत्व आउनु आवश्यक छ । उमेरले मात्रै युवा भएर पनि नहुँदोरहेछ । चिन्तन पनि युवा हुनुपर्ने रहेछ । किनकि योभन्दा अगाडि नेपाली कांग्रेस केन्द्रीय समितिमा ५२ प्रतिशत युवाहरू थिए । तर ती युवाहरूले पार्टीका भातृसंस्थालाई बलियो बनाउने, पार्टीलाई प्रजातन्त्रीकरण गर्ने, पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने, त्यसको लागि आन्तरिक प्रजातन्त्र बलियो बनाउने, विभिन्न विभाग बलियो बनाउनेलगायतका कुनै पनि क्रियाकलापमा जबर्जस्त भूमिका देखाउन सकेनन् । त्यसैले हिजो भोट हालेका साथीहरूले देशभरिबाट भन्दैछन्– पुरानो निर्णयलाई पुनर्विचार गर्नुपर्ने भयो । त्यसैले अब सोचमा युवा भएको नेतृत्वको पक्षमा माहोल तयार भएको छ । 

जुझारू नेतृत्वको खोजी
अहिले हामीले वैदेशिक सम्बन्ध बलियो भएको, जुझारू, दूरदृष्टि भएको र वर्तमान राजनीतिमा सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको खोजी गरिरहेका छौं । किनकि भोलि नेपाली कांग्रेसले देशकै नेतृत्व लिनुपर्ने अवस्था आउँछ नै । त्यतिबेला सबैलाई मिलाएर लैजान सक्नुपर्छ । त्यस्तै जनता र कार्यकर्ताप्रति लगाव भएको, राष्ट्रियता र राष्ट्रनिर्माणमा योगदान दिनसक्ने क्षमता भएको नेतृत्व अहिलेको आश्यकता हो । त्यसको लागि गतिशील नेतृत्व आवश्यक छ । 

सभापति देउवा, प्रधानमन्त्री पौडेल
अब सभापति सुशील कोइरालाले छोड्नुहुन्छ । उहाँले संस्थागत हिसाबले नै छोड्छु भन्नुभएको छ । त्यसपछि स्वाभाविक रूपले तीन चोटी प्रधानमन्त्री भइसक्नुभएका व्यक्तित्व शेरबहादुर देउवालाई नेतृत्व दिनु आवश्यक छ । त्यसो हुँदा दुइटा पार्टी एकीकरण भइसकेपछि नेपाली कांग्रेसमा जुन ६० र ४० को भागवण्डा देखिने गरेको छ, त्यो अन्त्य हुन्छ । त्यसैले एकीकृत नेपाली कांग्रेस निर्माणका लागि पनि उहाँको नेतृत्व जरूरी छ । साथै रामचन्द्र पौडेल संसदीय दलको नेता बनेर आवश्यक परेको बेला प्रधानमन्त्रीको जिम्मा लिनुपर्छ । सुशील कोइराला संरक्षकको रूपमा पार्टीलाई अघि बढाउनुपर्छ । त्यसो हुन सक्यो भने नेपाली कांग्रेस बलियो हुन्छ । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी


Comments