मस्तिष्कले बनेकी आमा

मेनुका थापालाई सुनिरहँदा लाग्छ– बलिया उपकथाहरू बुनिएको सुन्दर उपन्यास सुनिरहेछु । ती उपकथाले घाँघरमा गट्टा बोकेर दौडिएको बाल्यकाल सम्झाउँछन्, काई लागेर चिप्लो बाटोमा लड्दै स्कुल पुगेको स्मरण गराउँछन् । दुःख र अभावको भूमरीमा पछारिँदै उठ्दै अघि बढ्ने पहाडी जीवनको दुरुस्त चित्र उत्रन्छ ती उपकथामा । कतै मन भारी हुन्छ, कतै त थामिनै सक्दैन । आँसुको झरीमा रुझ्दै उनको जीवन उपन्यास अघि बढिरहन्छ । उपन्यासमा कतै त्रासले सिरिंग बनाउने कथा छ, कतै साहसका तिलश्मी उपकथा । जति गहिरो दुःखको सागर छ, उति नै उज्यालो चमक भएको खुशीको जून पनि अनुभूत गर्न सकिन्छ ।

‘सेतो धरती’को दर्शन
पाँच बर्ष पूरा हुन लागेकी बालिका । घाँघर लगाएर छरछिमेकको आँगनमा साथीसँग उफ्री हिँड्ने उमेर । तर उनको अनुहारमा अस्वाभाविक गम्भीरता पोतिएको थियो । पिंढीमा बसेर करेसाबारीमा लसुन गोडिरहेकी आमालाई एकटकले हेरिरहेकी थिइन् । शान्त देखिएकी उनको मनमा आँधीतुफान चलिरहेको थियो । प्रश्नहरूको घनघोर बर्षा भइरहेको थियो ।
‘सबैका आमा बोल्छन्, मेरीचाहिँ किन बोल्दिनन् ?’
‘सबैका आमा हाँस्छन्, मेरैचाहिँ किन हाँस्दिनन् ?’
‘किन रोइरहेकी हुन्छिन् मेरी आमा ?’
‘किन रंगहीन लुगालेमात्रै बेरिएकी हुन्छिन् मेरी आमा ? के मेरी आमासँग साथीहरूको आमाकोजस्तै रंगीन लुगा छैनन् ?’
प्रश्नहरूको बर्षाले भिजेर गह्रुँगो उनको मनजस्तै आकास पनि गह्रुँगो भएको थियो । काला बादलको गहु्रँगा झुप्पाहरू स्थिर देखिन्थे । तेजहीन सूर्य बिस्तारै घिस्रिरहेको थियो । तर मौसम र आफ्नो मनको समानताबारे उनलाई केही भेउ थिएन । त्यसो त उनलाई आमाको बोली कस्तो छ, त्यसको पनि भेउ थिएन । र, थिएन बुबाको अनुहार कस्तो थियो भन्ने भेउ पनि ।
त्यत्ति नै बेला एउटा चिल बत्तिँदै घरको छानामाथि उड्यो । करेसाबारीमा चरिरहेको माउ कुखुरी आत्तिँदै कुनातिर छरिएका आफ्ना बच्चालाई आफ्नो पखेटाले ढाक्न पुगी । अरू कुखुरा पनि अनौठो आवाज निकालेर कराए । त्यति नै बेला आमा तरंग तर्सिन् र उनीतिर हेरेर उनलाई बोलाइन्, ‘यहाँ आऊ त !’
उनलाई कुनै अनकन्टार गुफाबाट आवाज आएजस्तो लाग्यो । आमा पनि उसैगरी चकित देखिन् उनले । आफ्नो गला सुम्सुम्याउँदै आमाले फेरि बोलाएको उनले सुनिन्, ‘यहाँ आऊ त छोरो !’
उनलाई विश्वास भयो त्यो स्वर उनको आमाकै कण्ठबाट निस्केको हो । उनी बत्तिँदै आमा भएठाउँमा पुगिन् । जोडले अँगालो मारिन् । आँखाबाट पिलित्त आँसुका ढिक्का झरिहाले । आमाको हालत पनि उस्तै थियो । केही मिनेट रोकियो समय । र, बिस्तारै हिँड्न थाल्यो । समयसँगै आमा पनि उनको हात समाउँदै हिँडिन् । आफ्ना चल्लाहरू छोपिरहेका कुखुरीछेउ पुगेर भनिन्, ‘हेर छोरो, आफ्नो सन्तानलाई त कुखुराले पनि माया गर्छ । तर हामी त मान्छे हौं नि । मान्छेले आफ्नो सन्तानलाई मात्रै माया गरेर पुग्दैन । अरूलाई पनि माया गर्न जान्नुपर्छ ।’
एक्कासी बोल्न सक्ने भएकी आमाका गह्रुँगा कुराले उनलाई भारी लाग्यो । नबुझेर आमातिर हेरिरहिन् । आमा बोलिन्, ‘तिमीलाई राखिदिएको भाग मैले खान नपाएको भोको जोगीलाई दिँदा कति दुःखी भएकी थियौ, सम्झेकी छ्यौ ? हामी मान्छे हौं, बाँडेर खानुपर्छ । त्यसैले मैले उसलाई दिएकी थिएँ ।’ उनले केही समयअघिको घटना सम्झिन् र आमाले बोलेकी दार्शनिक कुरामा जिल्ल परिरहिन् ।
ती बालिका थिइन् मेनुका थापा, जो अहिले ३३ बर्षकी भइसकिन् । त्यतिबेला आमाले बोलेको कुराको अर्थ कति नै बुझ् सकिन् र, अहिले भने राम्ररी बुझेकी छिन् । ‘आमा’को दर्शन सधैं साथ लिएर हिँडिरहेकी उनी जैविक आमा बनेकी छैनन्, तर हरेक समय ‘छोरी’हरूसँग हुन्छिन् । आफैंले बनाएको ‘रक्षा, नेपाल’ नामको घरमा ।

स्वस्थानी कथाको पुनरावृत्ति
अहिले माघ महिना । हिन्दू धर्ममा आस्था राख्ने नेपालीका घरमा स्वस्थानी वाचन हुने महिना । स्वस्थानीमा एउटा कथा छ– सातवर्षीया बालिका गोमाको ७० वर्षका शिव शर्मासँग विवाह हुन्छ । गोमा गर्भवती भएकै बेला शिव रूखबाट लडेर मर्छन् । गोमाले पुत्र जन्माउँछिन्, जसको नाम राखिन्छ नमराज । नमराज ठूलो भएपछि आफ्नो बाबु खोज्छन् । बाबुको मृत्यु भएको थाहा पाएपछि उनको हाडखोर खोज्छन् ।
मेनुकाले पनि अलिक बुझ्ने भएपछि आमासँग त्यसैगरी सोधेकी थिइन्, ‘हाम्रो बुबा कहाँ कसरी मर्नुभएको हो ? मलाई देखाउनु न ।’
छोरीको त्यस्तो प्रश्न सुनेपछि आमालाई स्वस्थानीको कथा सम्झना आयो । त्यसै वर्षदेखि उनले छोरीलाई स्वस्थानीको कथा पढ्न लगाउन थालिन् । छोरी स्वस्थानी पढ्थिन् । आमा कथा सुनेर रून्थिन् । जब कथा नमराजको प्रसंगमा पुग्थ्यो, अनि आमाले भन्थिन्, ‘देख्यौ, गर्भे टुहुराको भाग्य । नमराज गर्भे टुहुरो थिए, तर लावण्ड देशको राजा भए । तिमी पनि राम्रो काम गर, पछि राजाजस्तै हुनेछ्यौ ।’
आफू गर्भमै छँदा बाबु गुमाएकी मेनुकाले छरछिमेकीका अनेक वचन सुनेकी थिइन्– अलच्छिनी, बाबुटोकुवा आदि । त्यो वचनबाट पोलेको मन उनी आमाको काखमा आँसु बगाएर शीलत पार्थिन् । आमाले स्वस्थानी कथा वाचनको मौका पारेर नमराजको उदाहरण दिँदै उनलाई सान्त्वना दिन्थिन् । ‘कोही पनि अलच्छिनी हुँदैन, न कसैले बाबु टोक्छ । तिमीलाई मैले कहिल्यै त्यसो भनेकी छु र ? भोलि राम्रो काम गर्दै जाऊ, त्यसो भन्नेको मुख आफैं टालिन्छ ।’ आमाले भनेका कुरा अहिले पनि उनलाई शब्दशः याद छ । हरेक कुुरा व्यवहारिक उदाहरणसहित बुझाउने आमाको तरिका मेनुकालाई त्यतिबेला अनौठो लाग्यो, अहिले अद्भूत ।


नदेख्दै मेटिएको अक्षर 

मेनुकाका बुबा पदमबहादुर सहरमा काम गर्न जान्थे । साताभर काम गरेर शुक्रबार घर फर्कन्थे, शनिबार बस्थे र आइतबार काममा पुग्थे ।
एउटा शुक्रबार । उनकी आमा रामकुमारीले सोचिन्, ‘उहाँ आउने बेला भयो, भोकाएर आउनुहोला । मकै भुटिराख्नुपर्यो ।’
नभन्दै मकैको घान हाल्दै गर्दा बुबा टुप्लुक्क आइपुगे । ‘एकैछिन बस्दै गर्नुस् है, मकै भुटदैछु’, आमाले भनिन् ।
त्यति नै बेला गाई बाँ गर्यो । बाख्राहरू म्याँऽऽऽ गर्न थाले । त्यो सुनेर लुगा पनि नफेरी बुबाले भने, ‘गाईबाख्रा कराउन थाले । म अलिकति घाँस झारेर ल्याउँछु ।’ निदालमा सिउरेको हँसिया बोकेर उनी बारीतिर लागे ।
आमाले एक घान मकै भुटेर थालमा के खन्याएकी थिइन्, हस्या¬ङफस्याङ गर्दै आएका छिमेकीले सुनाए, ‘तिम्रो श्रीमानको त लडेर प्राण गयो ।’
उनी यसरी ढलिन् कि उनले कुनै शब्द सुनेकी थिइनन्, उनीमाथि चट्याङ बज्रिएको थियो ।
त्यसपछि उनी निकै दिन होस र बेहोसको दोसाँधमा अल्झिरहिन् । बल्ल होस् खुल्थ्यो, बुबाको कपडा, तस्बिर आदिले बेहोस पारिहाल्थ्यो । त्यो देखेर छरछिमेकीले बुबाको याद आउने सबै चिज घरबाट हटाइदिए । तर हटाउनै नमिल्ने चिनो छोडेर गएका थिए बुबाले, जो पेटमा हुर्किरहेको थियो । जो बिस्तारै समाजले थाहा पाउने तहमा बढ्न थाल्यो । मान्छेहरू उनलाई भनिरहेका थिए, ‘यसले कुन नाठोको पेट बोकी ?’
यस्ता दुर्वचन र सँगै गरिने दुव्र्यवहारले बिस्तारै आउन थालेको होस पनि गुम हुन थाल्यो आमाको । उनको दिमागले काम गर्न छाड्यो । रूनमात्रै थालिन् । नियमित चुरोट खान थालिन् ।
त्यस्तै अवस्थामा जन्मिएकी नवौं जीवित सन्तान थिइन् मेनुका । जसले बुबाको मृत्युकथा आमाबाट सुन्नुपर्यो र आमाको दुःखकथा दिदीहरूबाट ।
बुबाको मृत्युको आघातले बसेको आमाको ‘वक’ पाँच बर्षपछिमात्रै खुलेको थियो । आमाको बोली आएको सुनेर सात दिदी र एक दाइकी कान्छी बहिनी उनी त कति खुसी थिइन्, थिइन् । दिदीहरूको खुशी त्योभन्दा धेरै थियो ।
‘म कोक्रोमा भोक लागेर रुन्थेँ रे । आमालाई थाहा हुँदैनथ्यो । दिदीहरूले मलाई लगेर आमाको काखमा राखिदिन्थे र दूध चुसाइदिन्थे रे’, उनले दिदीहरूले सुनाएको कुरा सम्झिन् । उनी चार बर्षको हुँदासम्म त आमाले छोरी हो भने चिनेकै थिइनन् । ‘जब उनको अनुहारमा बुबाको आकृति आउन थाल्यो, तब आमाले बिस्तारै अपनत्व महसुस गरेकी थिइन् रे ।’ उनले आमाले भनेको सम्झिन् ।

अरूको ‘नानी’, आमाको ‘बाबु’
आमाले उनलाई कहिल्यै छोरी भनिनन् । सँधै ‘छोरो’ भनिन्, ‘बाबु’ भनेर सम्बोधन गर्थिन् । आमाकालीन समयका सबै आफन्तले मेनुकालाई अहिले पनि ‘बाबु’ नै भनेर बोलाउँछन् । छोरा नभएको घरलाई घर नै नमान्ने संस्कार भएको काभ्रे, पाटीखर्कको त्यसबेलाको समाजमा उनकी आमाले गरेको संघर्ष एउटा छुट्टै उपन्यास हो । दश बर्षमा बीस बर्षका जवानसँग विवाह गरेर १३ बर्षदेखि गर्भवती हुन थालेकी उनकी आमाले बर्षेनी सन्तान जन्माउनुपर्यो । १५ बर्षमा जीवित सन्तान जन्माउँदा उनले दुई सन्तान गुमाउनु परिसकेको थियो । छोराको आशामा लगालग तीन छोरी जन्मिए । त्यसपछि छोरो त जन्माइन्, तर कहाँ सुख पाउनु ? भनियो– एक आँखा त के आँखा ?
श्रीमान जीवित रहुन्जेल अर्को छोराको आशामा उनी छोरीहरू जन्माइरहन बाध्य भइन् । ३५ बर्षे जीवनमै काटिसकेको असीमित कहरले उनीमा ‘छोरामान्छे’ प्रति वितृष्णा पैदा भइसकको थियो । त्यसैले उनी आफ्नी कान्छी छोरीमा नै छोराको स्वरूप देख्न चाहन्थिन् ।
आमाको त्यही सपनाका कारण मेनुकाले दिदीहरूले नपाएका अवसर पाइन् । सरकारी नै भएपनि स्कुल पढ्न पाइन् । पाइन्ट लगाउन पाइन् । कराँतेसम्म सिक्न पाइन् । दिदीहरूले पनि बाबुको अनुहारै नदेखेकी बहिनी पढेर ‘ठूली’ भएको हेर्न चाहे । आफ्नो पिठ्यूँमा डोको राखेर उनको पिठ्यूँमा झोला भिराए । आमा र दिदीको त्यही भगिरथ प्रयत्नले मेनुकाको आँखा खुल्यो । १२÷१३ वर्षमा विवाह भइसक्ने समाजमा उनले निष्कण्टक पढ्न पाइन् । उनले पढेको, कराँते सिकेको र आँखा जुधाएर बोलेको देख्दा समाजले उनकी आमालाई भन्थ्यो, ‘तेरी छोरी उत्ताउली भइ्, बिग्रिने भई ।’
आमाको जवाफ हुन्थ्यो, ‘मेरी छोरी हो, बिग्रे उही बिग्रन्छे । तिमीलाई केको चिन्ता ?’ अहिलेकी मेनुका आमाको त्यही विश्वासले बलले लडिरहेकी छिन् ।

डिस्चार्ज लेटरसँगै डेथ सर्टिफिकेट
आमाको बोली खुलेपछि मेनुकाले जति पनि पल बिताइन्, ‘राजकुमारी’ बनेर बिताइन् । कुनै पनि कुराको आयु हुन्छ, उनको त्यो सुखको आयुचाहिँ छोटो रहेछ । उनी चौध बर्ष लागेपछि आमाको निधन भयो ।
निरन्तर धुमपानले आमालाई दम भएको थियो । काभ्रेका अस्पतालमा उपचार गर्दा निको नभएपछि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको थियो । केही दिन अस्पताल राखेपछि डाक्टरले भने, ‘अब सबै ठीक छ । एक सातापछि फलोअपमा आउनुहोला ।’
अस्पतालमा ‘डिस्चार्ज लेटर’ तयार हुँदै थियो । उनी आमालाई लुगा फेरिदिँदै थिइन् । त्यति नै बेला आमाले भनिन्, ‘बाबु, मलाई त कस्तो चक्कर लागेजस्तो भयो ।’ त्यति भन्न नभ्याउँदै आमा लड्खडाइन् र थेग्नै मुश्किल पर्यो मेनुकालाई । अलि सजिलो बनाएर भुँईमा बसेर टाउको आफ्नो काखमा राखिसक्दा आमाको प्राणपखेरु उडिसकेको थियो ।
त्यो घटनाले उनलाई अर्धहोस बनायो । धमिलो सम्झना छ उनलाई, डाक्टरले आमाको छातीमा थिचेको र आफूले नथिच् मेरो आमालाई भनेको । उनी पूर्ण होसमा आउँदा आमाको ‘डेथ सर्टिफिकेट’ बनिसकेको थियो ।
‘त्यसैले मलाई अहिले पनि अस्पतालबाट फर्केको बिरामीप्रति उति भरोसा लाग्दैन,’ उनी लामो सास फेर्दै भन्छिन् ।

आमालाई छोरीको दागबत्ती
आमाको मृत्युपछि उनको संसारमा अँध्यारोको राज भयो । जब होस आयो, त्यसपछि भने खासै रोइनन् । उनले आमाको वचन सम्झिन् । आमाले भनेकी थिइन्– म मरेँ भने नरुनू, आँसु र र्यालसिंगानले मेरो बाटो छेक्छ । बरु, दागबत्ती तिमीले नै दिनू । मलाई यो समाजले दागबत्ती दिनैका लागि छोरा जन्माउन बाध्य पारिरह्यो । तर मलाई छोराको दागबत्ती चाहिएको छैन ।
संयोग, कसैले नेपाल बन्द गरेको थियो । घरमा भएका दाजु आउन एक त समय लाग्ने भयो, अर्को, आउन पाउने नपाउने निश्चित नै भएन । त्यस्तो बेलामा उनी आफैंले दागबत्ती दिने निर्णय सुनाइन् । त्यो सजिलो कुरा थिएन । आफन्तले भने, ‘हुँदैन, छोरीको भारा लाग्छ ।’
उनले प्रतिवाद गरिन्, ‘लागे मेरै आमालाई लाग्छ ।’
मेनुकालाई आमाले गरेको विश्वास र भरोसा देखेका थिए सानिमाका छोराहरूले । उनीहरूले मेनुकाको कुरामा समर्थन जनाए । उनले दागबत्ती पाइन् । गाउँ गएर क्रिया पनि बसिन् दाइबराबर नै । ‘पुरोहितहरूले बस्नुहुँदैन भन्दै थिए । तर मैले मानिनँ । त्यसैले मलाई लाग्छ, कतिपय कुरा हामीले साहस गरेर पनि परिवर्तन गर्न सकिने रहेछ ।’ उनी भन्छिन् ।

बन्द ढोकाले बदलिएको बाटो
आमाको क्रिया गरेर उनले समाजमा साहसी छोरीको छवि त बनाइन् । तर आमाको अभावले उनलाई गाल्दै लग्यो । जतिबेला पनि आमाको सम्झना आउने । दिदीहरूको काठमाडौंलगायत विभिन्न ठाउँमा विवाह भएको थियो । उनी कहिले दिदीको घरमा जाने, कहिले घर जाने गरेर आफूलाई बराल्न थालिन् । स्कूल जाने दिनसम्म त बरालिन पनि केही सजिलो थियो । दिनभरी साथीसँगी सँगै हुन्थे । पहिलो कक्षादेखि नै पढाइ तेज भएका कारणले उनले एसएलसी राम्ररी नै दिइन् । एसएसलसी परीक्षा दिएपछिको समय भने उनको लागि असाध्यै निराशाजनक र कष्टकर रह्यो ।
त्यतिबेलासम्म दिदीहरूको घरबाट पनि उनको मन उठिसकेको थियो । कारण, उनी गएर बसेकै कारण सासू र परिवारले दिदीलाई गर्ने व्यवहार बुझ्ने भइसकेकी थिइन् ।
एसएलसीको नतिजा आएपछि कलेज पढ्ने धमिलो सपना बोकेर सहयोग माग्न बानेश्वरनजिकै रहेको आफन्तको घरमा पुगिन् उनी । उनलाई त्यो बेलाको दृश्य चलचित्रको झैं लाग्छ, अहिले पनि स्पष्ट सम्झिन्छिन्, ‘मेरी आफन्त छतमा लुगा सुकाउँदै रहिछिन् । मलाई देखेझैं लाग्यो । ढोका खोलिदिन आइन्झैं लागेको थियो । उनी आइन् तर उनले त खुल्लै रहेको चेन गेट पो घ्यार्रर सारेर बन्द गरिन् । केही सोध्ने दुःखसमेत गरिनन् ।’
त्यसले उनलाई अर्को आघात पर्यो । दिदीहरूलाई दुःख दिन चाहँदैनथिन्, आशा गरेका नजिकका आफन्तले त्यो व्यवहार देखाइहाले । अब के गर्ने ? उनका अगाडि हँसियाभन्दा ठूलो प्रश्नचिन्ह उभियो ।
उनी हिँडेर बानेश्वर चोक गइन् । त्यहाँभन्दा उता उनले चिनकै थिइनन् । चोकनजिकै बूढाबूढी चिया र पत्रिका बेचेर बसेका थिए । छेउमै छाप्रो थियो । त्यसकै नजिक उनले आफूलाई बिसाइन् । सोचिन्, ‘अब कहीँ जान्नँ । जेसुकै होस् यहीँ बस्छु ।’

बिषले पनि पत्याएन
त्यसपछि मेनुका सडकमै बस्न थालिन् । बुढाबुढीले दया लागेर खानेकुरा दिए । छाप्रोनजिकै घुस्रिन पनि दिए । केही दिन बित्यो । एक दिन दिदीकहाँ गइन् । त्यहाँ देखिन्, किटनाशक औषधी नोभान । उनको मनमा खेल्यो– त्यो खाँदा किरा मर्छ भने मान्छे पनि मर्छ होला ।
मर्ने कुरा मनमा आएपछि सानैमा कसैले भनेको सम्झिन्, ‘मर्यो भने स्वर्गमा पुगेर बुबाआमालाई भेट्न पाइन्छ ।’ उनलाई आफूले बाटो भेटेजस्तो लाग्यो । एकमुठी नोभान चक्की बोकेर उनी बानेश्वरको त्यही ठाउँमा गइन् । त्यो गन्हाउने चक्की निल्न थालिन् । भोकले लखतरान भएकी उनी केही चक्की निल्दा नै बेहोस भइसकेकी थिइन् । सोचेकी थिइन्, ‘यो खाएपछि मर्छु र बुबाआमालाई भेट्छु ।’ उनले कतिसम्म सोच्न भ्याइन् भने आमालाई त चिनौंला, बुबालाई कसरी चिन्ने ?
‘ए नानी, चिया खान्नौं ?’ भोलिपल्ट बिहान बूढी आमाले झक्झक्याउँदै उठाउँदा पो उनी झसंग भइन् । सोचिन्, ‘म त मरेर स्वर्ग पुग्छु भनेको त, यहीँ पो रहेछु ।’ असजिलो भइरहेको थियो । जिब्रो र गोडा पनि सुन्निएको थियो । उनलाई हाँस पो उठ्यो, ‘मलाई त बिषले पनि पत्याएनछ ।’ उनी हाँसेको देखेर बूढी आमाले भनिन्, ‘बौलाई कि क्या हो यो, कहिले त्यत्तिकै हाँस्छे, कहिले त्यत्तिकै रुन्छे ।’
उनलाई चाहिँ लाग्यो, ‘बिषले पनि नपत्याएपछि अबचाहिँ मर्दिनँ । जेसुकै होस्, बाँचेरै भोग्छु ।’
त्यसपछि उनी कहिले उल्टो प्रश्नको जिज्ञासाले डा. योगी विकाशानन्दको शिविरमा पुगिन् त कहिले आमाले किनिदिएको एफएम रेडियोमा सुनेको सूचनाको आधारमा विभिन्न संस्थामा सहयोग माग्न । विकाशानन्दको शिविरबाट मनशान्तिको बाटो त भेटेजस्तो लाग्यो, तर उनी जुन भौतिक संसारमा थिइन्, त्यहाँ कसरी शान्ति खोज्न सकिन्छ थाहा थिएन । यसरी नै दुविधा, निराशा र एक्लोपनालाई अँगालो मारेर झण्डै तीन साता बानेश्वरको सडकमा बिताइन् ।

अर्को परिवार
‘तिम्रो घर कहाँ हो नानी ?’ एउटा पाको उमेरका व्यक्तिले मेनुकालाई सोधे ।
‘हेटौंडा’
‘नाम के हो ?’
‘अनिता थापा’
‘थापा हौ तिमी ?’
सप्पै कुरा ढाँटे पनि मेनुकाले आफ्नो थरचाहिँ ढाँटेकी थिइनन् मेनुकाले । उनले मुन्टो हल्लाइन्, ‘हजूर ।’ आफूलाई कसैले सहयोग नगर्ने भएपछि सत्य कुराचाहिँ किन बताउनु भन्ने लाग्न थालेको थियो उनलाई ।
‘म पनि त थापा नै हुँ नि’, ती व्यक्ति खुशी देखिए । थप कुरा खोतल्न चाहे । उनले केही ढाँटिन्, केही सत्य बोलिन् ।
ती व्यक्ति थिए बुद्ध एअरका प्रमुख मोहनबहादुर थापा । असाध्यै संघर्ष गरेका । उनले सडकमा भेटिएकी बालाका दुःख बुझे र आश्रय दिने वचन दिए । मेनुकाले डराउँदै उनको सहयोग स्वीकारिन् । उनले सुनेकी थिइन्, ‘काठमाडौंमा त छोरी, बहिनी नाता लगाएर नजिक भएर बेच्न लैजान्छन् ।’ तर मोहनको घरमा उनले जुन वातावरण भेटिन्, त्यसले उनको मन परिवर्तन गरिदियो । संयोग, मोहनकी जीवनसाथीको नाम पनि ‘मन’ नै थियो । छोरा मंगेश, छोरीहरू मिरा र मधु । सबै नाम ‘म’ बाट नै सुरु भएका । उनको नाम पनि मेनुका । मोहनको परिवारले मेनुकालाई ‘कान्छी छोरी’को रूपमा स्वीकार्यो । उनले फेरि एउटा परिवार पाइन् ।
मोहन परिवारकै सहयोगमा उनी पद्मकन्या क्याम्पस भर्ना भइन् । संगीत बिषय पढ्न थालिन् । सानैदेखि गाउन रहर गर्ने मेनुकालाई देखेर आमाले कामना गरेकी थिइन्, ‘छोरीको आवाज रेडियोबाट दुनियाँले सुनोस् ।’ आमाको सपना पूरा गर्ने इच्छा मनभरि थियो उनको । त्यसैले आम्दानीको बाटो खोजिरहेकी थिइन् ।
त्यहाँ पढ्दापढ्दै उनले साथीबाट थाहा पाइन्, गजल रेस्टुरेन्टमा गायिका चाहिएको छ । उनी गइन्, छनोट पनि भइन् । तर, एक महिनामै रेस्टुरेन्ट बन्द भयो । त्यहीँ चिनजान भएका साथीको सम्पर्कबाट उनी दोहोरी रेस्टुरेन्टमा गाउन थालिन् । आफ्नै आम्दानी हुन थालेपछि उनको जीवन केही लयमा फर्कियो ।

क्याबिनका किशोरीसँग जम्काभेट
एक साँझ । दोहोरी रेष्टुरेन्टको रमाइलो माहौल थियो । त्यसैबेला चार युवकका साथी तीन किशोरी प्रवेश गरे । सबैजना मातिसकेका । उनीहरू केही बेर नाचे, रमाइलो गरे । रेष्टुरेन्ट बन्द हुने बेलासम्ममा अरू ग्राहकका साथै ती चार युवक पनि गइसकेका थिए । नशामा धुत् तीन किशोरीमात्रै त्यहाँ थिए । उनीहरू यति धुत् थिए कि आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिएनन् । ‘एकजनाले त बसेकै ठाउँमा पिसाब फेरेकी थिइन् ।’ मेनुका त्यसबेलाको दृश्य सम्झिन्छिन् ।
वेहोसी अवस्थामा पुगिसकेका ती किशोरीलाई देखेर रेष्टुरेन्टको मेनेजरले रिसाउँदै भन्यो, ‘साले, क्याबिनका भालुहरू आएर हाम्रो रेष्टुरेन्ट नै फोहोर बनायो !’
‘भालु’ भन्ने शब्दले मेनुकाको कन्सिरी तात्यो । उनलाई आफ्नै दिदीबहिनीलाई गाली गरेझैं लाग्यो । उनी त आक्रोशले मेनेजरको कठालो समात्न पुगिछन् । ‘कसलाई भालु भनेको तैंले ?’, उनको आक्रोश पोखियो ।
मेनेजर हच्किँदै आफ्नो हैसियतमा पुग्यो, ‘भालुलाई भालु नभनेर के भन्नु त ? कसलाई हात लाउँदैछेस्, तँलाई थाहा छ ?’
एकैछिन भनाभन चल्यो । त्यसपछि मेनुका ती किशोरीको नशा छुटाउनतिर लागिन् । कागती पानी पिउन दिइन् । केही समयमा अलि होस फिरेपछि उनीहरूले बताए, ‘हामी क्याबिनबाट एक–एक हजारमा बाहिर जान भनेर आएको । ती केटाहरूले हामी मातेको देखेर होला, छोडेर गएछन् ।’

उनले ट्याक्सीमा हालेर उनीहरूको डेरा रातोपुल छोडिदिइन् र आफ्नो डेरा मैतिदेवी गइन् । त्यो रात उनी खुब छट्पटाइन् ।
‘क्याबिनऽऽऽ भालुऽऽऽ’
रातभरि उनको कानमा गुञ्जिरह्यो । उनलाई त्यसअघि क्याबिनबारे खासै थाहा थिएन । भोलिपल्ट बिहानै उनी तिनीहरूको कोठामा पुगिन् । उनले बुझिन्– क्याबिन के हो र त्यहाँ के हुन्छ ? ‘त्यहाँ यौनसम्बन्ध राख्ने ठाउँ हुँदैन, तर यौनजन्य क्रियाकलापचाहिँ हुन्छ’, उनले थाहा पाइन् ।
उनीहरू एकजना नुवाकोटका रहेछन्, दुई जना गोरखाका । तामाङ र गुरुङ । भर्खर ७–८ कक्षा पढेका । बाध्यता पनि उनीहरूको साझा थियो । द्वन्द्वको त्रासबाट सुरक्षित हुन अभिभावकले नै काठमाडौमा पठाइएका । तर उनीहरू जहाँ काम गरिरहेका थिए, त्यहाँ कति असुरक्षा थियो, त्यो कल्पेरै मेनुका मनमनै काँपिन् । उनलाई झ्वाट्टै मनमा आयो र भनिन्, ‘मैले पढाएँ भने तिमीहरू पढ्छौ त ?’
उनीहरू व्यंग्यपूर्वक हाँसे । ‘ऊ आफैं रेस्टुरेन्टमा काम गरिरहेकी छ, हामीलाई पढाउँछु भन्छे भन्ने लाग्यो होला उनीहरूलाई ।’ उनीहरूको त्यो हाँसो सम्झँदै उनले भनिन् ।
‘मैले साँच्चै भनेको, म तिमीहरूलाई पढ्न पठाउँछु ।’ मेनुकाले साँच्चै भनेको देखेपछि उनीहरू लरबरिए । एउटीले भनिन्, ‘माघेसंक्रान्ति आउँदैछ । घरमा गएर आउँछौं अनि… ।’ उनले स्वीकृति जनाइन् ।
नभन्दै तीन दिनमा किशोरीहरू आइपुगे र भने, ‘ल, दिदी हामी पढ्छौं ।’

बदलिएको सपना र रक्षा नेपाल
खासमा मेनुकाले जागिर खाएकी थिइन्, एल्बम निकाल्ने सपना बोकेर । रेडियोबाट संसारलाई आफ्नो छोरीको स्वर सुनाउने आमाको सपना पूरा गर्न । तीन किशोरीको पढाइको जिम्मेवारी लिएपछि अब उनले त्यो सपनालाई थाती राख्नुपर्ने भो । आमाले जसरी आफूलाई पढाएकी थिइन्, उनले त्यसको भारा तिर्नुपर्ने भो । तर उनी जे गरिरहेकी थिइन्, त्यसले आमा खुसी हुन्थिन् भन्नेमा विस्वस्त थिइन् ।
चिनेकै मान्छेको ‘लर्ड बुद्ध एकेडेमी’ थियो नजिकै । त्यहाँ अनुरोध गरेर उनीहरूलाई प्राइभेट एसएलसी दिने गरी पढाउन हालिन् । पढ्न थालेपछि उनीहरूको रूपरंग नै फेरियो, व्यवहार फेरियो । उनीहरूलाई मेनुकाले पढाउन पठाएको भन्ने हल्ला क्याबिनहरूमा फैलिन थाल्यो । त्यसपछि उनीसँग क्याबिनका मात्रै होइन, डान्स र मसाजमा काम गर्ने किशोरी र युवती पनि सम्पर्कमा आउन थाले । सबैलाई सहयोग त गर्न सक्दिनथिन्, तर उत्प्रेरणा भने दिन्थिन् । छ बर्ष दोहोरीमा काम गर्दा उनले क्याबिन, डान्स र मसाजमा हुने यौनशोषणको नालीबेली उनले थाहा पाइसकेकी थिइन् । ती किशोरीले एसएलसी पास गरिसकेका थिए र क्याबिनमा काम गर्न पनि छोडिसकेका थिए ।
त्यसपछि उनीहरूले भने, ‘हामी पो फरक संसारमा आइपुग्यौं । तर तपाईंजस्तो मान्छेको खाँचो यो क्षेत्रमा छ । तपाईंले संस्था खोल्नुपर्यो ।’
संस्था खोल्ने कुरा उनको सोचबाहिरको कुरा थियो । त्यसमाथि कुनै पनि संस्थाले आफूलाई सहयोग नगरेको पीडाले ‘यी त सबै मागीखाने भाँडा हुन्’ भन्ने कुराले उनको मनमा डेरा गरेको थियो । तर ती किशोरीले उनलाई निकै करकर गरिरहे । उनीहरूले मेनुकालाई भनिरहे, ‘दिदी, तपाईंले सक्नुहुन्छ के । तपाईंले भनेको त जसले पनि मान्छ । सहयोग जुटाउन सक्नुहुन्छ । सम्झनुस् त– तपाईंले पढ्ने हो भन्दा हामी कसरी तयार भएका थियौ ?’
‘कतिपय आफूले नसक्ने काम पनि सक्छ भनेर भनिँदिँदा गर्ने आँट आउँदोरहेछ । उनीहरूले बारम्बार भनेपछि म पनि संस्था दर्ता गर्न तयार भएँ ।’ उनले सम्झन्छिन् ।
अन्ततः उनी संस्था दर्ता गर्ने मनस्थितिमा पुगिन् । आफ्ना सम्पर्कमा रहेका किशोरी तथा युवतीहरूलाई पाँच–पाँच वटा नाम सोचेर आउन भनिन् । उनीहरूले विभिन्न नाम ल्याए पालुवादेखि सुरक्षा नेपालसम्म । त्यसमध्येबाट उनले सुरक्षाबाट सु काटेर ‘रक्षा, नेपाल’ छनोट गरिन् । नाम त छनोट भयो तर संस्था दर्ता गर्ने कसरी गर्ने थाहा थिएन । त्यसैबेला मदनकुमार कर्ण भन्ने व्यक्ति भेटिए, जसले उनलाई संस्थाको विधान बनाउने, लोगो निर्माण गर्नेदेखि दर्तासम्ममा सघाए ।

तर दर्ता गर्न जाँदा उत्तिकै तनाव झेल्नुपर्यो । सिडिओले भने, ‘ओठ निचोर्दा दूध आउलाजस्तो छ, संस्था दर्ता गर्ने ? बरु बिहे गरेर घरजम गर्नु ।’ त्यसो भन्दै सिडिओले आफ्नो विधान फिरिरी फ्याकिदिएको अझै सम्झना छ मेनुकालाई ।
तर उनी हार खानेवाला थिइनन् । ‘आफ्नो लागि हात जोड्दा लज्जा अनुभव पनि हुँदो हो, तर अरूका लागि हात जोड्न कुनै असजिलो लाग्दो रहेनछ ।’ उनले सम्झिन् ।
उनी निरन्तर धाइरहिन् । आखिरमा ती हाकिम गले । भने, ‘तिमीहरू ज्यूँदा छोरीहरू रहेछौ । कुनै सहयोग चाहियो भने भन । मैले खासमा तिमीहरूको परीक्षा पनि लिएको हँु ।’ पछि त उनले फाइल सदरमात्रै गरिदिएनन्, पछि ठमेलमा कार्यालय सुरु गर्दा ५० हजार सहयोग पनि गरे ।
रक्षा नेपाल आर्थिक, मानसिक र शारीरिक रूपमा असुरक्षित भएका महिलाहरूको रक्षार्थ अघि बढ्यो । ‘हाम्रो धेरै ठूलो उद्देश्य थिएन । क्याबिन, डान्स र मसाजमा काम काम गर्नेहरू एक्लै हुँदा रहेछन्, उनीहरूको साथी बनिदिने सोच बनायौं । साथी भएपछि त हिम्मत आउँछ भन्ने लाग्यो’, उनले संस्थाको उद्देश्यलाई विम्बमा प्रस्तुत गरिन् ।
तिनै किशोरीहरूले भनेझैं उनले सहयोग पाइरहेकै छिन् । विदेशमा बसेकाले एक–एक पैसा जोगाएर सहयोग गरिरहेका छन् । अहिले रक्षा, नेपालमा यौनजन्य हिंसामा परेका ३२ जना ‘छोरी’हरू संरक्षित छन् । अहिलेसम्म १ हजार ५ सय २३ महिला र ४ सय ७५ जना बच्चालाई संस्थामार्फत सहयोग पुगिसकेको छ ।
यी सबै काम उनले ठूला ‘डोनर’बाट गरेकी होइनन् । उनको कुरा छ, ‘म ठूला डोनरसँग काम पनि गर्न चाहन्न । उनीहरू पेपरवर्कमा बढी विश्वास गर्छिन्, हामी पेपरवर्कमा होइन, काममा विश्वास गर्छौं ।’

एउटा सपनाको पछि–पछि
‘छाक टार्नका लागि कुनै पनि दिदीबहिनीले शरीर बेच्न नपरोस् । र, कुनै पनि महिला बलात्कृत नहोउन् ।’ संघर्ष र सफलताको दोभान हुँदै अघि बढिरहेकी मेनुकाको सपना यत्ति हो । तर यत्ति सपना पनि निकै टाढा अनुभूत हुन्छ समाजमा देखिएका घटना सुन्दा, हेर्दा र अनुभूति गर्दा । उनलाई लाग्छ, ‘हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र क्रुर भइरहेको छ । हिंस्रक बन्दै गइरहेको छ । आफ्नै घरमा छोरीहरू बलात्कृत भइरहेका छन् । त्यसैले यहाँ कानुन बलियो त बनाउनुपर्छ नै । सानैदेखि नैतिक शिक्षाका साथै यौन शिक्षा दिनुुपर्छ ।’
छोरी मान्छेले सहनुपर्छ र छोराले जे गरे पनि हुन्छ भन्ने गलत ‘स्कुलिङ’ अझै छ समाजमा । उनको अन्वेषण भन्छ, ‘छोराले जे गरे पनि हुन्छ भन्दा बलात्कार गरे पनि हुन्छ भन्ने मानसिकतासम्म पुर्याउँदो रहेछ । अर्कातिर छोरीले जे पनि सहनुपर्छ भन्दा बलात्कारजस्ता हिंसा हुँदा पनि सहनुपर्छ भन्ने मानसिकता बन्दोरहेछ । त्यसैले यस्तो स्कुलिङको अन्त्य गर्नुपर्छ । छोरा र छोरी दुवैले गलत काम गर्नुहुन्न र अन्यायको विरोध गर्नुपर्छ भन्ने स्कुलिङ गराउनु आवश्यक छ ।’
त्यसको लागि आफूलेमात्रै गरेर केही नहुने उनलाई थाहा छ । ‘मलाई कतिले अधिकारकर्मी भन्छन् । तर होइन । अधिकारकर्मी भएको भए त ठ्याक्कै अधिकार दिन सक्थेँ हुँला नि । म त अभियन्ता हुँ । अभियान थाल्नेमात्रै हो ।’ आफूले थालेको अभियान समाज र राज्यले अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

धन्य ! बानेश्वर
‘१८ वर्षअघि १६ वर्ष लागेकी म बानेश्वरको सडकमा हप्तौं सुरक्षित रहेँ भन्दा अहिलेको समाजलाई कथाजस्तो लाग्छ । मचाहिँ बानेश्वरमा मात्रै होइन, कुनै पनि स्थानमा हरेक महिला सुरक्षित हुनुपर्छ भन्ने सपना देखेर दौडिरहेकी छु ।’ मेनुका आफ्नो सपना र जीवनको दौडबारे बताउँदा भन्छिन् ।
बानेश्वर चोक उनको जीवनमा नयाँ सुरुवात थियो । त्यहीँ उनले मृत्युलाई आलिंगन गर्ने प्रयास गरेकी थिइन् र पछि जीवनलाई प्रेम गर्ने अठोट पनि । त्यसैले बानेश्वर कहिल्यै भुल्दिनन् । भन्छिन्, ‘बानेश्वर मेरो जीवनको एउटा जरा हो । त्यही जरामा टेकेर अहिलेकी रूख भएकी छु । अहिले रक्षा नेपालका छोरीहरूले पाएको छहारी त्यही रूखको हो । त्यसैले आफ्नो विगत बिर्सिन्छु कि भनेर कम्तिमा १५ दिनमा बानेश्वर चोक जान्छु र चिया पिउँदै टोलाउँछु । त्यतिबेलाको समय सम्झन्छु । त्यहाँ बसेर चिया बेच्ने बूढाबूढी सम्झन्छु । उनीहरूको माया सम्झन्छु ।’
बानेश्वर चोकमा बसेर चिया पिउँदै उनी हरेकपटक भन्छिन्, ‘धन्य ! बानेश्वर, तैंले मलाई सुरक्षित राखिस् ।’
साँच्चै, धन्य ! बानेश्वर, एउटा जीवित उपन्यास सुरक्षित राखिदिएकोमा !
܀܀܀ 
✍ कला अनुरागी
साभार : रातोपाटी डटकम

Comments