'नेपाललाई ‘एजुकेसनल हब’ बनाउन सकिन्छ'

मेदिन लामिछाने, प्रिन्सिपल, युलेन्स स्कुल, खुमलटार, ललितपुर

गोरखा, तान्द्राङ–४ मा ०२७ कात्तिक २१ गते जन्मिएका मेदिन लामिछाने युलेन्स स्कुल स्थापनादेखि नै यसको नेतृत्व गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा संकायमा स्नातकोत्तरका साथै ब्यांक स्टेट ग्य्राजुएट स्कुल अफ एजुकेसनबाट शैक्षिक नेतृत्व विषयमा एड्भान्स मास्टर्स डिग्री गरेका उनले विभिन्न कलेज र स्कुलमा शिक्षण अनुभव गरिसकेका छन् । उनीसँग युलेन्स स्कुल, त्यसको शिक्षण प्रणाली र उनको अनुभवबारे गरिएको कुराकानी :

कसरी आइपुग्नुभयो युलेन्स स्कुलमा ? 
मैले ०४६ सालबाट शिक्षण सुरु गरेँँ । स्कुल र कलेज दुवैमा पढाएँ । त्यस क्रममा युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुसँग भेट भयो । उहाँहरू बालबालिका र शिक्षाको क्षेत्रमा काम गरिरहनुभएको थियो । त्यस क्रममा सरकारी स्कुलमा शिक्षकको कोटा र तालिम दिनुका साथै धादिङमा सामुदायिक विद्यालय पनि खोल्नुभएको थियो । त्यस क्रममा मलाई उहाँले शिक्षकलाई तालिम दिने कार्यमा संलग्न गराउनुभयो । मेरो अध्ययन र पृष्ठभूमि शिक्षा भएकाले मलाई रुचिकर पनि लाग्यो । त्यसै क्रममा उहाँहरू नमुना स्कुल खोल्ने योजनामा हुनुहँुदो रहेछ । त्यसको नेतृत्वको प्रस्ताव राख्नुभयो । मैले प्रस्ताव स्वीकार गरेँ, तर जुन सोचका साथ स्कुल खोल्न लागिएको थियो, त्यसका लागि ‘इन्टरनेसनल एक्सपोजर’को माग गरेँ । त्यसपछि ब्यांक स्टेट्स युनिभर्सिटीमा अध्ययन गर्न गएँ । त्यहाँबाट फर्किएपछि सन् २००४ जुनदेखि २००५ को डिसेम्बरसम्म पाठ्यक्रमलाई अध्ययन र परिमार्जन गरी हाम्रो लक्ष्य पूरा गर्न सक्ने गरी योजना बनायौँ । ००६ जनवरीमा २४ शिक्षक ‘हायर’ गरी तालिम दियौँ । ००६को अप्रिलमा करिब ६४ जना विद्यार्थी र २४ जना शिक्षक राखेर स्कुल सुरु गर्‍यौँ । पहिलो वर्ष हामीले तालिम दिएअनुसार शिक्षकले ‘डेलिभर’ गर्न सक्नुहुन्छ कि हुन्न भनेर हेर्‍यौँ । त्यसमा हामी विश्वस्त भएपछि ००६ को नोभेम्बर ११ मा स्कुल उद्घाटन भयो । अहिले यहाँ कक्षा १ देखि १२ कक्षासम्म शिक्षण हुन्छ । ११ र १२ कक्षामा उमावि शिक्षा परिषद्को कार्यक्रमका साथै आइभी डिप्लोमा कार्यक्रम पनि चलाइरहेका छौँ । सन् ०८/०९ बाट सुरु आइभी डिप्लोमा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित कार्यक्रम मानिन्छ । यो सञ्चालन गर्ने नेपालको एकमात्रै विद्यालय हो युलेन्स । 

शिक्षण सिकाइका सन्दर्भमा युलेन्सको फरक परिचय के हो ? 
धेरै स्कुल खुलिराखेका बेला अर्को स्कुल थप्ने हिसाबले खोलिएको होइन यो । युलेन्स एजुकेसन फाउन्डेसनले स्थापना गरेको यो स्कुल खोल्ने बेला पब्लिक प्राइभेट स्कुलमा जुन शिक्षा पद्धति अपनाइएको थियो, त्यसमा असहमति थियो हाम्रो । विशेष गरी पाठ्यक्रम, मूल्यांकन प्रणाली आदिका बारेमा । त्यसैले जुन नियमित धारमा थियो, त्योभन्दा फरक धारको स्कुल स्थापना गर्ने सोचका साथ युलेन्स स्थापना भएको हो । 
हाम्रो पहिलो तर्क थियो– ज्ञान रटेर निर्माण हुन सक्दैन, निर्माण गर्नुपर्छ । विद्यार्थी कक्षामा आउँदा नै उसमा केही ज्ञान र अनुभव हुन्छ । त्यसका आधारमा हामीले उसलाई यस्ता क्रियाकलापमा संलग्न गराउनुपर्छ जसबाट उसले सही र गलतको भेउ पाओस् र ज्ञान निर्माण गरोस् । हाम्रो कक्षा त्यहीे ज्ञान निर्माण गर्ने दिशातिर अग्रसर छ ।
त्यस्तै, हामीलाई लाग्यो– अहिलेसम्म विद्यार्थीलाई शिक्षकले बाध्य बनायौँ । यो पढ, त्यो पढ भनेर । विद्यार्थी त शिक्षकले भनेको कुरालाई पछ्याउनेमात्रै भए । हामीले तथ्य र सूचनाको संग्रह रटायौँ । विद्यार्थीलाई प्रश्न सोध्ने वातावरण दिएनौँ । तर, शिक्षणको सुरुवात त जिज्ञासाबाट हुनपर्ने हो । त्यो जिज्ञासाको वातावरण स्कुलले दिन सक्नुपर्छ । जिज्ञासा जगाउन सकियो भने प्रश्न आउँछ । प्रश्नका साथ विभिन्न क्रियाकलापमा संलग्न गराएपछि ज्ञान निर्माण हुने हो । प्रश्न नआउँदा सिकाइ पूर्ण हुन सक्दैन । जस्तो कि न्युटनको मनमा प्रश्न नआएको भए गुरुत्वाकर्षणको सिद्धान्त नै बन्ने थिएन । त्यसैले हामी विद्यार्थीलाई जिज्ञासातिर प्रोत्साहित गर्छौं । त्यसका लागि हामीले एउटै उत्तर आउने प्रकृतिका प्रश्न सोध्दैनौँ । एउटै प्रकृतिको उत्तर आउने प्रश्नले विद्यार्थीको सिर्जनशीलता मारिदिन्छ । हामी यस्ता प्रश्नमा जोड दिन्छौँ जसको विभिन्न उत्तर आओस् । जस्तो कि नेपालको राजधानी कहाँ हो भनेर सोधियो भने सबैको जवाफ ‘काठमाडौँ’ नै आउने हो । तर, नेपालको राजधानी काठमाडाँै किन बनाएको होला भन्ने प्रश्न सोध्यौ भने हरेकसँग फरक उत्तर हुन्छ । त्यसले विद्यार्थीको चिन्तनशैली र सोच चिन्न मद्दत पुग्छ । यसले विद्यार्थीमा भएको सूचनाको संश्लेषण र विश्लेषण गर्न सघाउँछ । 
अर्को फरकचाहिँ हामी विद्यार्थीको मूल्यांकन गर्दा पेपर पेन्सिल टेस्टभन्दा पनि उसको जीवनमा आएको परिवर्तनमा जोड दिन्छौँ । पेपर पेन्सिल टेस्टले जति अंक पाए पनि जीवनमा परिवर्तन देखिँदैन । त्यसले विद्यार्थीमा अध्ययनप्रति नै वितृष्णा देखिन्छ । त्यसैले जीवन व्यवहारको अध्ययनका आधारमा मूल्यांकन प्रणाली विकास गरिरहेका छौँ । मूल फरक यिनै हुन् । 

यस्तो फरक शिक्षण प्रणाली लागू गर्न कत्तिको गाह्रो हुँदो रहेछ ? 
प्रणाली जस्तो बनाए पनि यसलाई लागू गर्ने शिक्षकले हो । किनभने भौतिक संरचना त जहाँ पनि बन्छ । तर, हामीले चाहेकोजस्तो योग्य शिक्षक पाउनचाहिँ निकै गाह्रो रहेछ । त्यसैले हामी शिक्षकलाई ल्याएर तालिम दिन्छौँ । उहाँहरूले नै यो प्रणालीलाई लागू गरिरहनुभएको छ । 

योग्य शिक्षक किन नभएका होलान् ? 
म यसको दोष विश्वविद्यालयबाट ग्य्राजुएट गरेर आउनुभएकालाई दिने पक्षमा छैन । पछिल्लो समयमा उहाँहरूमा डिग्री जे भए पनि सिकाइ जीवनपर्यन्त हुनुपर्छ भन्ने विचार पाएको छु । पहिलेको जमानामा जस्तो मैले डिग्री गरेपछि सकियो भन्ने छैन । तर, उहाँहरू जुन विश्वविद्यालयबाट आउनुभएको छ, त्यहाँको पाठ्यक्रमले हामीले सोचेकोजस्तो शिक्षण प्रणालीलाई सम्बोधन गरेन । त्यसकारणले समस्या विश्वविद्यालयको पाठ्यक्रममा देखियो । अहिले पनि विश्वविद्यालयको शिक्षा संकायबाट आउनुभएका शिक्षकमा पुरातन सोच नै देखिन्छ । किनकि पाठ्यक्रमले नै त्यस्तो सोच दिएको छ । त्यसैले शिक्षा प्रणालीमै समस्या छ । त्यसलाई परिवर्तन गर्नु आवश्यक छ । 

त्यसो हो भने शिक्षकलाई कसरी योग्य बनाउनुहुन्छ त ? 
हामी सकेसम्म विश्वविद्यालयका ‘फ्रेस ग्य्राजुएट’लाई अवसर दिन्छौँ । पुरानालाई दिँदाचाहिँ ‘मेरो अनुभव नै धेरै भइसक्यो, के सिक्नु’ भन्ने भावना हुँदो रहेछ । त्यसपछि हामी शिक्षकलाई नियमित तालिम दिन्छौँ । हरेक आइतबार शिक्षकहरूको वर्कसप हुन्छ । हामी पिडी अर्थात् प्रोफेसनल डेभलपमेन्ट एक्टिभिटिज भन्छौँ । हाम्रा इन्ट्रक्सनल लिडरहरूले तालिम दिनुहुन्छ । त्यो तालिम आइतबार पनि हुन सक्छ र कक्षा चल्दाचल्दै पनि हुन सक्छ । हामीले बच्चाको सिकाइ विकास र शिक्षकको सिकाइ विकास सँगै लगिरहेका हुन्छौँ । यति समय दिएपछि सकियो भन्ने छैन । नियमित अद्यावधिक हुन्छ । 

अभिभावकको प्रतिक्रियाचाहिँ के छ तपाईंहरूको सिकाइ प्रणालीबारे ? विद्यार्थी कसरी लिनुहुन्छ ?
अहिले अभिभावकको बुझाइ निकै खुल्ला भइसक्यो । त्यसैले धेरै अभिभावकले हामीले चाहेजस्तै शिक्षाको अपेक्षा गरेको बताउनुहुन्छ । 
हामीचाहिँ मूल रूपमा विद्यार्थीलाई कक्षा १ मा भर्ना गर्छौं । पछि केही कम भएमात्रै त्यो पूरा गर्छौं । तर, त्यो पनि पेपर पेन्सिल टेस्ट लिएर लिँदैनौँ । हामी विद्यार्थी भर्ना गर्दा आधा केटा आधा केटी होऊन् भन्नेमा ध्यान दिन्छौँ । त्यस्तै, जातीय विविधतामा पनि हाम्रो ध्यान जान्छ । सबै जातजातिका विद्यार्थी कक्षामा राख्न पाइयो भने धेरै कुरा त्यहीँ भित्रबाट सिक्न सकिन्छ भन्ने लाग्छ । साथै, आर्थिक विविधतामा पनि ध्यान दिन्छौँ । त्यसका लागि २० प्रतिशत छात्रवृत्ति पिछडिएका तथा गरिब समुदायका विद्यार्थीलाई छुट्याएका छौँ । 
हामीले विद्यार्थी भर्ना लिनुपहिले अभिभावकसँग अन्तरवार्ता पनि गर्छांै । हाम्रो स्कुलमा अन्यत्रभन्दा केही फरक छ । जस्तो कि हामी कक्षा १ देखि ५
सम्म पाठ्यपुस्तक प्रयोग गर्दैनौँ । पाठ्यक्रम छ, तर पाठ्यपुस्तक छैन । परीक्षा पनि लिँदैनौँ । कक्षाकार्य, गृहकार्य, हाजिरी र योजनाकार्यका आधारमा मूल्यांकन हुन्छ । गतिविधि र प्रश्नको आधारमा सिकाइ हुन्छ । त्यहीअनुसार कक्षाको संरचना बनाएका छौँ । यसमा अभिभावकको के धारणा छ भनेर बुझ्छौँ पहिले । त्यसपछि विद्यार्थीको स्क्रिनिङ गर्छौं । त्यो पनि बच्चाको सामाजिक ज्ञान र संज्ञानात्मक क्षमताका आधारमा । यसले गर्दा अभिभावकहरू सबै हाम्रो शिक्षण प्रणालीप्रति विश्वास भएकाहरू नै हुनुहुन्छ ।

आर्थिक दृष्टिकोणबाट युलेन्स कसका लागि हो ? 
नेपालमै खोलिसकेपछि सबै नेपालीका लागि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हुन त हामीकहाँ विभिन्न देशका विद्यार्थी पनि छन् । तथापि मूलत: नेपाली विद्यार्थी नै हुन्छन् । त्यसैले आर्थिक हिसाबले पनि हामीले सबै तहलाई समेट्न खोजेका छौँ । त्यसकै लागि हामीले २० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका हौँ । त्यस्तै, हामीले केही प्रतिशत देशका निम्ति योगदान गर्ने पेसामा भएका व्यक्तिका छोराछोरीलाई पनि पढाउँछौँ । त्यसमा उहाँहरूले जति सक्नुहुन्छ, नसकेको स्कुलले बेहोर्ने गरेको छ । यसरी यसलाई लिंगीय र जातीयका साथै आर्थिक रूपले पनि विविधतापूर्ण बनाउने कोसिस गरेका छौँ । 

जातजातिको विविधता कायम गर्नचाहिँ केही विशेष व्यवस्था गर्नुभएको छ कि ? 
त्यस्तो त छैन । तर, हामीले छात्रवृत्ति दिँदा पछि पारिएका समुदायलाई जोड दिन्छौँ । भर्ना हुन आउनेमा पनि त्यस्ता समुदायलाई प्राथमिकता दिन्छौँ । सबै जातजातिबाट आऊन् भन्नेमा हाम्रो जोड रहन्छ । 

तपाईंहरूले जस्तो शिक्षण प्रणाली लागू गरिरहनुभएको छ ? त्यो अन्यत्र लागू गर्न सकिन्छ ? 
यसलाई लागू गर्न त्यति गाह्रो छैन । तर, हाम्रो शिक्षा प्रणालीमा चाहिँ परिवर्तन हुनुपर्छ । जस्तो हाम्रो प्रणालीमा अहिले पनि मूल्यांकन भनेको तीन घन्टाको परीक्षाका आधारमा हुन्छ । त्यो प्रणाली परिवर्तन हुनुपर्‍यो । हामीले बच्चालाई ज्ञान निर्माण गर्ने दिशातिर लगाउनुपर्‍यो । आलोचनात्क र सिर्जनात्मक सोचका साथ अघि बढाउनुपर्‍यो । तर, अहिले पनि पाठ्यक्रममा चाहिँ सूचना र तथ्यको संग्रहमात्रै छ । यसले विद्यार्थीको रचनात्मक क्षमता परख गर्न सक्दैन । त्यसैले यसलाई परिवर्तन गर्ने हो भने केही गाह्रो छैन । 

विदेशी विद्यार्थी पनि छन् भन्नुभयो । कुन कुन देशका छन्, कसरी आउँछन् ? 
अहिले हाम्रो स्कुलमा भारत, इटाली, कोरिया, चाइना, अमेरिका, बंगलादेशलगायत देशका विद्यार्थी छन् । उनीहरू नेपालका विभिन्न गैरसरकारी संस्था र दूतावासमा काम गर्ने अभिभावकका बच्चा हुन् । 
तर, यसले केचाहिँ देखाउँछ भने हामीले गर्ने हो भने नेपाललाई ‘एजुकेसनल हब’ बनाउन सकिन्छ । हामीले स्कुल सुरु गर्दा देश द्वन्द्वमा थियो । त्यस बेला नै फाउन्डेसनका दाता गाइ युलेन्सले नेपाल एसियामा एजुकेसनको हब बन्न सक्छ भनेर भन्नुभयो । यहाँ प्रशस्तै विदेशी विद्यार्थी आकर्षण गर्न सकिन्छ । कारण हो– यहाँको मनोरम प्राकृतिक सुन्दरता, हावापानी, वातावरण आदि । यसका लागि हामीले द्वन्द्व हटाउनुपर्छ र शैक्षिक संस्थालाई स्तरीकरण गर्नुपर्छ भनेर उहाँले त्यसैबेला भन्नुभएको थियो । हाम्रो नौ वर्षको अनुभवमा त्यो प्रमाणित हँुदै पनि आएको छ । जब कि हाम्रो परिकल्पना पनि थिएन कि नेपालमा स्कुल खोलेर विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्न सकिन्छ भन्ने । हामीकहाँ झन्डै ३०–३५ जना विदेशी विद्यार्थी छन् अहिले । यो हामीले प्रचार गरेको आउनुभएको होइन । उहाँहरू नेपाल आउनुभयो । अनि युलेन्स स्कुलबारे जानकारी पाउनुभयो । त्यसपछि स्कुलको भ्रमण गर्नुभयो । अनि यहाँ पढाउन इच्छुक हुनुभयो । हामीले पनि अन्तर्राष्ट्रिय विविधता पैदा गर्न खोजिरहेका थियौँ । त्यसैले भर्ना लियौँ । विभिन्न देशका विद्यार्थी हँुदा त्यहाँका सोच, संस्कृति आदि कक्षासम्म आइपुग्छन् । त्यसले ‘ग्लोबल सिटिजन’ बनाउन सहज हुन्छ । 

विदेशी अभिभावकको प्रतिक्रियाचाहिँ कस्तो छ ? 
उहाँहरूले धेरै प्रशंसा गर्नुभएको छ । उहाँहरूले नेपालमा यस्तो खालको स्कुल छ भन्ने सोच्दै नसोचेको बताउनुहुन्छ । यहाँ आएर हाम्रो शिक्षण पद्धति बुझेपछि उहाँहरू खुसी हुनुभएको पाएको छु । 

त्यसो हो भने नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ ? 
यहीँबाट पनि हामीले बुझ्न सक्छौँ नि । हामीले कुनै विज्ञापन नगरीकन यति विद्यार्थी आएका छन् भने देशमा बन्द–हडताल नहुने, शान्ति हुने र स्तरीय स्कुल बनाउने हो भने धेरै विदेशी विद्यार्थी नेपाल ल्याउन सकिन्छ । अहिले जसरी नेपालका विद्यार्थी विदेश गइरहेका छन्, विदेशी विद्यार्थी नेपाल आउने दिन टाढा छैन । मात्रै के भने हाम्रो राजनीतिक वातावरणचाहिँ ठीक ठाउँमा हुनुपर्‍यो । अर्कोचाहिँ शैक्षिक प्रणालीमा सापेक्षिक परिवर्तन हुनुपर्‍यो । 

युलेन्स कस्तो विद्यार्थी उत्पादन गर्न चाहन्छ ? 
हेर्नुस्, हामीकहाँ युनिफर्म छैन । किन नराखेको भन्दा हामीलाई लाग्छ– हरेक विद्यार्थीको आफ्नै पहिचान छ । हरेक बच्चा नयाँ र फरक छन् । उनीहरूको आफ्नै सिकाइ तरिका हुन्छ र प्रतिभा हुन्छ । त्यसले वातावरण पायो भने जुनसुकै क्षेत्रमा पनि प्रगति गर्न सक्छ । 
अहिले एक दशकअघिजस्तो डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ मानसिकता घटेको छ । जे बने पनि हुन्छ, तर आफ्नो क्षेत्रमा दक्ष हुनुपर्‍यो भन्ने धारणा छ । अहिले अन्य पेसाचाहिँ डाक्टर वा इन्जिनियरभन्दा कम स्थानमा छैन । त्यसैले पहिलेजस्तो डाक्टर वा इन्जिनियर नै बन्छु भन्ने सोच छैन अहिलेका विद्यार्थीमा पनि । त्यसो भन्ने पनि छन्, तर अरू क्षेत्रमा रुचि राख्ने पनि छन् । संगीतकार, कलाकार, साहित्यकार आदि बन्छु भन्ने पनि छन् । जे होस्, त्यो बन्ने वातावरणचाहिँ स्कुलले दिनुपर्छ । पहिले के सोच थियो भने शिक्षक भनेको कुमाले हो । विद्यार्थी भनेको काँचो माटो हो । शिक्षकले जे चाह्यो त्यो बनाउन सक्छ । सुराही बनाउन चाह्यो त्यही बनाउँछ, घ्याम्पो बनाउन चाह्यो त्यही बनाउँछ । हाँडी या धुपौरो जे चाह्यो बनाउँछ भन्ने थियो । तर, अहिले धारणा परिवर्तन भएको छ । विद्यार्थी भनेका फूल हुन् । शिक्षक भनेकोचाहिँ माली हो । मालीले सयपत्रीलाई लालीगुराँस, लालीगुराँसलाई गोदावरी बनाउन त सक्दैन । तर, त्यसलाई कसरी राम्ररी फुलाउने भन्ने सोचका साथ मलजल र अन्य वातावरण मिलाउन सक्छ । 

अन्तिममा तपाईंको अनुभवमा अहिलेको परम्परागत शिक्षण प्रणालीलाई परिवर्तन गर्न हुनुपर्ने मूल कुरा के हो ? 
परिवर्तन गर्न जति पनि सकिन्छ । तर, त्यसका लागि परिवर्तन पहिले सोचमा आउनुपर्‍यो । अर्को परिवर्तनको तत्परता हुनुपर्छ । मेरो अनुभव के हो भने म जहिले पनि नयाँ शिक्षण प्रणालीको खोजी गरिरहन्थेँ । लामो समयसम्म एउटै स्कुलमा काम गर्ने मौका पनि पाएकाले त्यसको अभ्यास गर्न पनि पाएँ । 
अर्को भनेको शिक्षा प्रणालीमा परिवर्तन हो । प्रणालीमा परिवर्तन ल्याउने हो भने शिक्षकलाई पनि धेरै सहज हुन्छ । वास्तवमा हामीले विद्यार्थीलाई कक्षाकोठामा जीवनको तयारी गराउन पाउनुपर्छ । अहिलेको प्रणालीमा परीक्षाको तयारीमात्रै हुन्छ, जीवनको तयारी हुँदैन । त्यसैले मास्टर्स पास गरेर पनि बेरोजगार भएर बस्नुपर्छ । नत्र त जीवनोपयोगी काममा लागिहाल्छ नि । त्यसमा हामीले ध्यान दिनुपर्छ । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : नुवागी मासिक

Comments