गायनमा जम्दै सिन्धुकी चेली

मञ्जु उपासनाले संगीत आफ्नो जीवनको मूल बाटो बन्ला भन्ने सोचेकी पनि थिइनन् । किन पो सोच्नु थियो र ? सानै उमेरदेखि उनको रुची त नृत्यमा थियो । बरु चित्र कोर्न उनलाई खुपै मन पर्ने । 
तर जिन्दगी सरल रेखामा अघि बढ्दैन । घुम्ती र मोड बिशेषता हो यसको । किशोर उमेरको उकालो चढ्दै गर्दा आएको एउटा मोडले उनलाई नृत्यबाट संगीततिर डोर्‍यायो । 
काठमाडौको बागबजारमा कफीको चुस्की लिँदै चौताराकी मञ्जु स्मृतिमा डुबिन् । ‘त्यसबेला म कृष्णरत्न गंगामा कक्षा ९ कि बिद्यार्थी थिएँ । जिल्लास्तरीय कार्यक्रममा हुँदै रहेछ । त्यसमा हाम्रो स्कूलले पनि भाग लिदै थियो । त्यसको लागि अभ्यास गर्ने समूहमा एकजना शिक्षकले मेरो नाम पनि लिनुभयो । सामाजिक चाडपर्वबाहेक अन्यत्र गाएको अनुभव त थिएन, तर उहाँको प्रस्तावले मलाई निकै खुसी लाग्यो ।’ त्यसपछि उनी दिनरात अभ्यासमा जुटिन् । घरको काम गर्दा पनि उनी गाएको गायै गर्थिन् । त्यो देखेर साथीसंगी मात्रै होइन, परिवारका सदस्य पनि दंग परेका थिए । उनी सबैलाई भन्थिन्, ‘कार्यक्रममा गाउन जाँदै छु नि ।’ तर, उनको उत्साह त्यो दिन निराशामा परिणत भयो, जब शिक्षकले गाउन जाने समूहमा भने उनको नाम छनोट गरेनन् । उनी किन छनोट भइनन् भन्ने पनि जानकारी दिइएन । उनी भन्छिन्, ‘म त्यो दिन जीवनमै सबैभन्दा बढी रोएँ । तर, मैले त्यही दिन अठोट पनि गरेँ कि म गायिका बनेरै छाड्छु ।’
जब उनले एसएलसी पास गरिन् । अब उनलाई लाग्यो– राजधानीको यात्राको विकल्प छैन । अग्रजहरुले भने चौतारामै शिक्षा संकायमा पढ्न आग्रह गरे । तर उनले अठोट लिइसकेकी थिइने । ‘ मैले संगीतमै केही गर्ने अठोट लिइसकेको छु भने शिक्षा पढेर के गर्ने भन्ने सोचें ।’ उनी सम्झन्छिन् । 
त्यही अठोटका साथ राजधानी पुगेकी मञ्जु नेपाली संगीतप्रेमीमाझ बिस्तारै छाउँदै छिन् । उच्च शिक्षा पनि संगीतमै लिँदै छिन् । ललितकला क्याम्पसमा स्नातक दोस्रो वर्षमा संगीत अध्ययन गरिरहेकी २१ वर्षीया मञ्जुले आधुनिक, चलचित्र, लोकगीतका साथै तामाङ भाषाका गीत पनि गाइसकेकी छिन् । 
०६७ सालमा केदार नेपालीका साथ आधुनिक गीतको एल्बम ‘आँधी’ बजारमा ल्याएकी उनले कविता तामाङको सौभाग्य, बद्री कार्कीको एउटा प्रश्नलगायत विभिन्न संयुक्त सांगीतक एल्बममा स्वर दिइन् । ‘एक्लो भए जीन्दगीमा’ ‘आँधीले उडाओस्’जस्ता गीतले चिनिएकी उनको श्वर तामाङ भाषाको गीतमा पनि निकै मन पराइएको छ । लोकदोहोरी र राष्ट्रिय गीतमा पनि उनले स्वर दिइसकेकी छिन् । 
०००

उनको गायन चाहनामा श्रृंखला सांस्कृतिक परिवारले आयोजना गरेको प्रशिक्षणको ठूलो हात छ । त्यही उनले सुरेश थामीलगायतका प्रशिक्षकबाट सारेगम’ सिकिन् । त्यसपछि उनको संगीतप्रतिको मोहलाई व्याआस अभियानले सघायो । अभियानमा सहभागी हुदा उनले आफ्नो प्रतिभालाई तिखार्ने र प्रस्तुत गर्ने मौका पाइन् । रै त सुरजमान श्रेष्ठ र ओम श्रेष्ठलाई पनि आफ्नो गायनयात्रामा भुल्न सक्दिनन् । 
त्यसो त उनको सिकाइको यात्रा पनि सकिएको छैन । गान्धर्व संगीत विद्यालयमा चर्चित संगीत शिक्षक चन्दनकुमार श्रेष्ठसँग चार बर्षदेखि शास्त्रीय संगीत सिकिरहेकी छिन् उनी । 
उनी आफ्नो गायनलाई अझ तिखार्न चाहन्छिन् र ‘भर्सटायल’ गायिका बन्न चाहन्छिन् । भन्छिन्, ‘गायिका भएपछि सबै प्रकारको गीत गाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ । म त्यो प्रयत्नमा छु ।’ 
अहिले उनी आफूले सिकेको संगीत प्रसार पनि गर्दैछिन् मञ्जरी संगीत पाठशालामार्फत । आफूले सिकेको कुरा अरुलाई सिकाउँदा दोहोरो फाइदा हुने उनको धारणा छ । एकातिर आफ्नो साधनामा पनि सघाउ पुग्छ भने अर्कोतिर आर्थिक सहयोग पनि हुन्छ । 
उनले सञ्चालन गरेको पाठशालामा संगीतसम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइन्छ । गायन र नृत्य त उनी नै सिकाउँछिन् । ‘तर नृत्यचाहिं मेरो सोखमात्रै हो । यसलाई चाहिं व्यावसायिक रुपमा अघि बढाउने योजना छैन । स्टेज गायनकै क्रममा यसलाई उपयोग गर्छु ।’ उनले भनिन् ।
त्यसो त उनी गीतकार पनि हुन् । उनी आफैंले लेखेको गीत रेडियो नेपालमा घन्किरहन्छ–
तिम्रो आशु झर्दाखेरी पुछिदिन मैले खोजे
तिमीलाई दुख पर्दाखेरी साथ दिन अघि सरे 
उनी गीतमात्रै होइन, संगीत सिर्जनामा पनि उत्तिकै सक्रिय छिन् । उनको संगीतमा केही गीत रेकर्ड भइसकेका छन् । एउटा पूर्ण गीत तयार गर्नका लागि चाहिने सम्पूर्ण सिर्जनात्मक क्षमता विकास गर्ने सोचमा उनी अघि बढिरहेकी छिन् । 
पेन्टिङ उनको अर्को सोख हो । तर यसलाई भने उनले व्यवसायिक सोचका साथ अघि बढाएकी छैनन् । भन्छिन्, ‘यो चाहिं मुड चलेको बेलामात्रै बनाउछु । मुड चलेको बेला पूरै रात जागा बसेर पनि चित्र बनाएको छु । तर यसलाई व्यवसायिक रुपमा अघि बढाउन भने सकेको छैन । सबै कुरालाई एकैपटक अघि बढाउन सम्भव पनि नहुदो रहेछ ।’
०००

अहिलेको अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुपरेको छ मञ्जुले । पहिलो कुरा त गायन सिक्नै पनि निकै दु:ख गर्नुपर्‍यो । पहिलो अड्को त आर्थिककै थियो । कृषिको दुखजिलोबाट धानेको घरबाट पैसा लिएर आउन सकिने स्थिति कम थियो । घरलाई आर्थिक भार बोकाउन मनले नमान्ने, अरु आम्दानीको बाटो पनि नहुने । खुप तनावमा परिन् उनी । भन्छिन्, ‘त्यति सारो समस्या पर्ला भन्ने साचेको भए त काठमाडौ आउने नै थिइन होला ।’ 
आर्थिक बोझलाई कम गर्न उनले केही समय फाइनान्समा काम पनि गरिन् । तर अरु जागिर खादै गायनलाई अघि बढाउन सम्भव छ भन्ने लागेन । त्यसैले जे पर्छ, त्यही टर्छ भन्दै उनी गायनकै यात्रामा अघि बढिन् । 
आर्थिकमात्रै होइन, उनको लक्ष्यमा तगारो बन्ने समस्या अरु पनि थिए । उनलाई गायिका बन्नु थियो जसरी पनि । तर गाउनलाई श्वर व्यवस्थित पारिराख्नु गाह्रो थियो । जे पायो त्यही खादा श्वर विग्रने चिन्ता । तर काठमाडौको डेरा बसाइमा सबै कुरा व्यवस्थापन सजिलो थिएन । डेरा बसाइको अर्को पीडा पनि थियो– त्यो हो रियाजको । अरुको घरमा बिहानै उठेर रियाज गर्नु सम्भव थिएन । 
तर यी सारा समस्यासग जुध्दै उनी अघि बढेकी मञ्जु अहिले भने गायनबाटै आफ्नो खर्च जुटाउन सक्ने भएकी छिन् । ‘अहिले कहिले कोरस गाउने अवसर आउछ । तामाङ फिल्मको गीत पनि गाइरहेको छु । स्टेज कार्यक्रमले पनि सघाएको छ ।’ उनी अहिलेको अवस्था सुनाइन् । 
०००

उनको गायन यात्रामा भारतीय गायिका सञ्जिवनीले ठूलो अर्थ राख्छिन् । ‘मैले स्टेजमा पहिलोचोटी गाएको गीत नै उनको हो । त्यति बेला उनको जुनी एल्बम आएको थियो । उनको गीत गाएर नै मेरो गायन यात्रा सुरु भएको हो ।’ सञ्जिवनीको ‘डाँडा पाखा छहराले तिम्रै गीत गाउछ’ बोलको गीत उनले धेरैवटा कार्यक्रममा गाइन् । 
त्यसो त उनको गायनको ‘आइडल’ चाहिं तारादेवी हुन् । त्यस्तै अन्जु पन्तको पनि उनी फ्यान हुन् । तारादेवीको श्वर उनले सानैदेखि सुन्थिन् । उनलाई लाग्थ्यो– कसरी गाएको होला ? अहिले पनि उनलाई तारादेवीको श्वरमा के जादू होला भन्ने लागिरहन्छ । भन्छिन्, ‘तारादेवीका सबै गीत मन पर्छ । सबै पक्ष मन पर्छ ।’
अञ्जुको भने गीतको भावमा डुब्ने कला उनलाई सारै मन पर्छ । उनले धेरै सुन्ने श्वरमा अन्जु पन्तको नाम अग्रपंक्तिमा आउँछ । 
०००

मञ्जु भनेको नै मनोहर, सुन्दर वा मनपर्दो हो । नामअनुसार नै छिन् मञ्जु । उनको श्वरले पनि त्यसलाई साथ दिएको छ । उपासना भने उनले पछि जोडेकी हुन् । त्यसको अर्थ लाग्छ– कुनै पनि बिषय वा कुरामा ध्यान दिने वा लागि पर्ने काम ।
‘जब मैले संगीतमा केही गर्छु भने अठोट लिएँ, तब आफ्नो नाममा पनि त्यसको प्रतिबिम्बन होस् भन्ने लाग्यो । त्यसैले एउटा साथीको सुझावमा यो नाम राखेकी हुँ ।’
त्यसो त उनी रुपले भन्दा पनि कर्मले सुन्दर देखिन चाहन्छिन् । त्यसको लागि उनले संगीतलाई माध्यम बनाएकी हुन् । सिन्धुकी चेलीले संगीतमा गरिरहेको यो ‘उपासना’ वास्तवमै ‘मञ्जु’ छ । मञ्जु उपासनालाई सिन्धुवासीको शुभकामना !

प्रस्तुति : कला अनुरागी

Comments