'अब यसरी हुन्छ कम्युनिष्ट आन्दोलनको विकास'

मणि थापा, नेता, माओवादी केन्द्र
१. 
संविधान निर्माणसँगै भारतले नेपाललाई हेर्ने पुरानो रणनीतिक योजना, जो नेहरू डक्ट्रिनको रूपमा थियो, त्यसबाट भारतीय पछाडि हटेका रहेनछन् भन्ने प्रमाणित भएको छ । भारतले गरेको नाकाबन्दी, केही समूहलाई ल्याएर मधेसमा गरेको ‘प्रोभोक’ र अन्तराष्ट्रिय समुदायमा पनि नेपाललाई एक्ल्याउन खोजेको देखिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनले यो कुरालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । भारतीय छाताबाट मुक्त भएर कसरी आन्दोलनलाई अगाडि बढाउने भन्ने चिन्तन गर्नु आवश्यक देखिएको छ ।  

२.
नेपाली कम्युनिष्ट आन्दोलनको साँढे छ दशकबाट प्राप्त भएका सीमित उपलब्धीलाई रक्षा गर्दै अधिकतम् उपलब्धि हासिल गर्नका अहिलेको प्रतिष्पर्धात्मक राजनीतिलाई कार्यनीतिक रूपमा स्वीकार गरेर जाने राजनीतिक लाइन निर्माण गर्नुपर्छ । त्यसका लागि बचेखुचेको सामन्तवाद र साम्राज्यवादविरोधी संयुक्त मोर्चामार्फत उनीहरूलाई पराजित गर्नु आवश्यक छ । 

३.
क्रान्तिकारी कम्युनिष्टबीचमा धु्रविकरण र रूपान्तरण आवश्यक छ । त्यस्तै वामबीचमा संयुक्त मोर्चा र संयुक्त मोर्चामार्फत साम्राज्यवादी तथा विस्तारवादीमाथि क्रान्तिकारी हस्तक्षेपको कार्यनीतिलाई विकास गर्नुपर्छ ।

४.
संसारको भारतीय विस्तारवाद र साम्राज्यवादविरोधी शक्ति सन्तुलनको पक्षमा आफ्नो मत जाहेर गर्नुपर्छ । अन्तर्राष्ट्रिय शक्तिको केन्द्र केही दशकमा उत्तरको चीन हुँदैछ । त्यहाँ चिनियाँ मोडेलको समाजवाद भनेर उनीहरूले घोषणा गरेका छन् । उनीहरूले कसरी विकास गरे भन्ने कुरा सिक्ने रणनीति विकास गर्नु आवश्यक छ ।

५.
अबको नेपालमा सशश्त्र संघर्षबाट राज्यसत्ता प्राप्त गर्ने भन्ने कुराचाहिँ केही दशकसँग हुन सक्ने देखिदैन । नेपालका कम्युनिष्ट सजिलै सरकारसम्मचाहिँ पुग्न सक्ने रहेछन् । झापाली आन्दोलन पनि सरकारसम्म गयो । जनयुद्ध पनि सरकारसम्म पुग्यो । तर सरकार र सत्ताको भेद बुझेर सरकारमा पुगेपछि सत्तामा जानका निम्ति कुन रणनीति बनाउने भन्नेबारे स्पष्ट हुनु आवश्यक छ । सरकारबाट सत्तामा जाने वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक तयारी गर्नु आवश्यक छ । 

६.
अहिले चिनियाँ मोडेल र रसियन मोडेल नेपालमा लागू गर्न सकिदैन । अब उत्तर कोरिया, क्युवाको मोडेल पनि मिल्दैन । अहिले ल्याटिन अमेरिकी मोडेलमा जान सकिन्छ । अहिले समाजवाद भर्सेस साम्राज्यवादको नारामा ल्याटिन अमेरिकी कम्युनिष्ट आन्दोलनको मोडेल अघि बढेको छ । त्यहाँ साम्राज्यवादी शक्तिलाई प्रतिष्पर्धामार्फत नै कम्युनिष्ट शक्तिले पराजित गर्छन् । त्यो पूर्ण समाजवादी मोडेल त होइन, ल्याटिन अमेरिकी समाजवादी मोडेल हो । त्यस्तै दक्षिण एसियाली समाजवादी मोडेलको विकास गर्ने परिस्थिति बनाउनुपर्छ । साम्राज्यवाद भर्सेस समाजवादको नारासहित त्यो मोडेललाई प्रतिपष्र्धाबाट समाजवाद अनुकूलको अर्थराजनीतिक परिस्थिति निर्माण गर्न लाग्नुपर्छ । 
चिनियाँ अर्थ राजनीति संसारभरि अहिले एउटा मोडेलको रूपमा चिनिएको छ । उनीहरू साम्राज्यवादी उत्पादन पद्दतिलाई पनि स्वीकार गर्छन् । तर त्यो उत्पादन पद्दतिलाई आफ्नो केन्द्रीय राजनीतिक ढाँचाअनुकूल परिचालन गर्न कोशिस गर्छन् । राष्ट्रिय उद्योग, पुँजीपति र कर्पोरेट पुँजीवादको फ्युजन गरी सन्तुलन मिलाएर चिनियाँ अर्थराजनीति अगाडि बढिरहेको छ । अर्थमा त्यो मोडेल र राजनीतिमा ल्याटिन अमेरिकी मोडेल प्रयोग गर्न सक्छौं । 

७.
नेपाली कम्युनिष्ट आन्दोलनलाई संयुक्त मोर्चामार्फत भएपनि ०६४को माओवादीको अवस्थामा पुर्याउन सकियो र गम्भीर समीक्षा गरेर पाठ सिक्दै अघि बढ्न सकियो भने चाहेजस्तो मोडल प्रयोग गर्न सकिन्छ । अहिलेको संविधानले समाजवादको कुरा गरेको छ । त्यसैमा टेकेरसमाजवादी अर्थतन्त्रको निम्ति पहलकदमी गर्न सकिन्छ । त्यहाँ साम्राज्यवादीसँग अलिकति झडप त हुन सक्छ । त्यहाँ विजय प्राप्त भयो भने गर्यो भने समाजवादी मोडल अगाडि बढ्न सक्छ भन्ने मेरो बुझाइ र विष्लेषण छ । 

८.
यी काम सम्पन्न गर्न माओवादी आन्दोलनको सबै धाराबीच धु्रविकरण आवश्यक छ । त्यसको लागि ऐतिहासिक भौतिकवादी समीक्षा हुनुपर्छ । वामपन्थी शक्तिबीच संयुक्त मोर्चा निर्माण गर्नुपर्छ र मोर्चामार्फत देशभक्त शक्तिलाई एकीकृत गरेर साम्राज्यवादी, विस्तारवादी र दलाल नोकरशाही पूँजीवादी शक्तिलाई प्रतिपष्र्धामै पराजित गर्नुपर्छ । र, अर्थसमाजवादी मोडेलको अर्थतन्त्र अगाडि बढाएर लैजानुपर्छ । 

९.
अहिले जनताले आर्थिक जीवनमा परिवर्तन खोजेका छन् । राजनीतिक स्वतन्त्रता त प्राप्त भयो, अब जनतालाई चाहिएको आर्थिक समृद्धि हो । यसको अर्थ राजनीतिक आन्दोलन सकिएको छ भन्नेचाहिँ होइन । समाजवादी आन्दोलन गर्नैपर्नेछ । पूँजीवादी आन्दोलन पनि पूरा गर्नुपर्नेछ । तर त्यसको कोर्स अहिले गरिबीलाई थाती राखेर अघि जान सक्दैन । समाजवादमा जान पूँजीवादको विकास त गर्नुपर्यो । त्यसको विकासको निम्ति जनताका दैनिक समस्यालाई पनि समाधान गर्दै अघि बढ्नुपर्छ । 

१०.
अहिले गणतन्त्रको होइन, राष्ट्रियताको मुद्दा मुख्य हो । केही समय गणतन्त्रको मुद्दा प्रमुख होइन । गणतन्त्र एक किसिमले हामीले प्राप्त गरेका छौं । स्वतन्त्र ढंगले प्रतिष्पर्धा गर्न सक्ने, चुनिने चुनिन पाउने गणतन्त्र प्राप्त गरेका छौं । तर राष्ट्रियता कमजोर भयो । त्यसैले जनजीविका र राष्ट्रियताको मुद्दा लिएर अघि बढ्दा गणतन्त्र सुदृढ भएर जान्छ । सरकारबाट सत्तामा जाने बेलामा सानोतिनो झडप पनि हुन सक्छ । अलिकति बल प्रयोग पनि हुन सक्छ । त्यो कोर्स पनि सकिएको छैन । यसरी अघिसही हुन्छ कि भन्ने मेरो आफ्नो अध्ययन हो । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments