जनयुद्धका दस उपलब्धि, दस कमजोरी

मणि थापा, नेता, माओवादी केन्द्र
उपलब्धि
नेपालमा साँढे छ दशकको कम्युनिष्ट आन्दोलनमा देखिएको रुढीवादी, परम्परावादी र संशोधनवादी धारलाई चिर्दै जनताको सशक्त जागरण र प्रतिरोध आन्दोलन सिर्जना भयो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणभन्दा पछाडि यो सबैभन्दा ठूलो जागरण हो । यसले सात सालदेखि ०४६ सालसम्मका आन्दोलनले सम्बोधन गर्न नसकेका वर्ग, क्षेत्र, जाति, किसान, मजदूर र दूरदराजका सिमान्तकृत जनतामा अभूतपूर्व जागरण पैदा गरिदियो । 

नेपालमा राजतन्त्रात्मक सामन्तवाद र साम्राज्यवादीको हस्तक्षेप विरुद्धमा सशक्त आन्दोलन गर्यो । राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र प्राप्त गर्यो ।

नेपालीहरू बहादुर त हुन् तर विदेशमा गएरमात्रै लड्ने जाति हुन् । आफ्नो लागि लड्न सक्दैनन्, त्यसैले नेपालमा सशस्त्र संघर्ष सम्भव छैन भने पश्चगामी चिन्तनको धारा थियो । त्यो चिन्तनलाई मिथ्या सावित गरिदिएको छ । नेपाली निस्वार्थी र बलिदानी छन् भन्ने प्रमाणित गर्यो । बलिदान, त्याग, तपस्या र उत्सर्गको ठूलो सांस्कृतिक विरासत जनयुद्धले कायम गर्यो । नेपालको सन्दर्भमा नयाँ आयामाको राजनीतिक कम्युनिष्ट आन्दोलनको धारा स्थापित गर्न मद्दत गर्यो । 
यसले नेपालको ऐतिहासिक भौतिकवादी व्याख्यालाई मूर्त रूप दिएको छ । वास्तवमा पृथ्वीनारायण शाहको पालादेखि आएर ०५२ सालको सशस्त्र संघर्षसम्म आइपुग्दा नेपालको इतिहास वर्ग संघर्ष र सशस्त्र संघर्षबाटै निर्माण भएको पुुष्टि भएको छ । सात सालको क्रान्ति होस् या ०२८ सालको झापा आन्दोलन, ०४६ सालको आन्दोलन होस् या जनयुद्ध । सबैमा सशस्त्र संघर्ष भएका छन् । नेपालको राजनीतिक र सामाजिक परिवर्तनको मुद्दालाई शान्तिपूर्ण आन्दोलनले ‘फिनिसिङ’ दिने काममात्रै गरेको छ । मूल आधारचाहिँ सशस्त्र संघर्ष नै हो भन्ने जनयुद्धले प्रमाणित गर्यो । 

अन्तरविरोधलाई सही रूपमा परिचालन गर्न सक्ने, नेतृत्व र नीति ठीक हुने हो भने जनताको नियमित सेना बनाउन सकिन्छ भन्ने प्रमाणित गर्यो । त्यस्तो सेना राष्ट्रिय सेनामा समेत संलग्न हुने क्षमताको हुन सक्ने रहेछ भन्ने पुष्टि गर्यो । 

माक्र्सवाद, लेनिनवाद र माओवादको मौलिक नेपाली विशेषतामा प्रयोग के हुन सक्छ भन्ने बिषयमा नयाँ अवधारणा अगाडि ल्यायो । गाउँमा र सहरमा पनि संघर्ष हुने र सबै क्षेत्रलाई संघर्षले छुने, छोटै समयमा अन्तर्राष्ट्रियकरण हुने र केन्द्रीय सत्तासँग प्रतिष्पर्धा गर्न सक्ने किसिमको कार्यनीति यसले विकास गर्यो । छोटो समयमै राजनीतिको मूल धारको प्रमुख अंग बन्यो ।

उद्देश्य, नीति र कार्यक्रम ठीक भयो भने साम्राज्यवादीलाई पनि हतियारसहितको शक्ति स्वीकार्न सक्ने बनाउन सकिन्छ भन्ने देखायो । साम्राज्यवादीका केही स्वार्थप्रति उदार बन्ने हो भने सरकारसम्म जान सकिन्छ र हतियारसहितको शक्ति पनि स्वीकार गर्छन् भन्ने तथ्य प्रमाणित गर्यो ।  

पृथ्वीनारायण शाहले सयौं फूलको फूलबारी भनेर नेपाललाई परम्परागत ढंगले व्याख्या त गरे, तर त्यसको स्वरूप कहिल्यै पनि अगाडि आएको थिएन । जनयुद्धले नेपालको विविधतालाई मूलधारमा ल्यायो । त्यसका विभिन्न विशेषतालाई बहसमा ल्यायो ।

राष्ट्रिय राजनीतिमा ठूलो फेरबदल ल्यायो । दस वर्षमै एउटा सानो राजनीतिक पार्टी सशस्त्र संघर्षमार्फत सरकारसम्म जान सक्ने परिस्थिति निर्माण गर्यो । त्यतिमात्रै होइन, यसले दक्षिण एसियाकै राजनीतिमा फेरबदल ल्याउने प्रयत्न गर्यो । 
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकतालगायतका राजनीतिक एजेण्डा स्थापित गर्यो । 

गरिब दूरदराजका मान्छे, कम पढेलेखेका मान्छे पनि राष्ट्रिय राजनीतिको केन्द्रमा आउन सक्छन्, केन्द्रमा आएर आफ्नो पहलकदमी लिन सक्छन् भन्ने प्रमाणित गर्यो । धेरैलाई यसले अचम्मित पनि गर्यो । यहाँका सम्भ्रान्तलाई पचाउन गाह्रो हुने गरी दूरदराजका मान्छे केन्द्रमा आए । 

१०
सामाजिक रूपले नेपालका बहुसंख्यक सामाजिक वर्गमा नयाँ चेतना ल्यायो । त्यसले अन्तरविरोधको जन्म गराइदियो । परिवर्तनको चेतलाई मुखरित गरिदियो । सांस्कृतिक रूपमा सबै जातिमा नयाँ जागरण पैदा गरिदियो । आफ्नो भाषा, मूल्य र मान्यताबारे बहस गर्ने ढोका खोलिदियो । त्यसको नयाँ खोजको निम्ति ढोका खोलिदियो ।


कमजोरी

सामन्तवादको अन्त्य त गर्यो तर साम्राज्यवादसँगचाहिँ सम्झौता गर्यो । क्रान्तिकारी आन्दोलनलाई एकताबद्ध गर्न सकेन । 

आफ्नै गति, उचाइ, शक्ति र घनत्व आफैंले पहिचान गर्न सकेन । जुन शक्ति र विश्वास आन्दोलनको हुरी बतासबाट आर्जन गरेको थियो । त्यसलाई टिकाइराख्न सकेन । यसले आफूलाई राजनीतिक पार्टीको रूपमा होइन, राजनीतिक आन्दोलनको रूपमा मात्रै संस्थागत गर्न सक्यो । 

यसले माक्र्सवाद लेनिनवाद माओवादको नयाँ प्रयोग त गर्यो । तर त्यसलाई नयाँ प्रयोग हो भनेर संष्लेषण गरेर समाजमा स्थापित गर्न सकेन । जनयुद्धमा विकास भएका नयाँ आयामलाई सही ढंगले संस्लेषण गर्न र प्रतिबद्ध हुन नसक्दा स्खलन देखा पर्यो । 

आन्दोलनले जुन वर्गको प्रतिनिधित्व गरेको थियो र जुन वर्गले आशा यसप्रति आशा राखेर सहयोग गरेका थिए । त्यो वर्गलाई सहयोग गर्नुभन्दा पनि ‘अपर क्लास’को मानसिकताबाट निर्देशित भयो । जनताको चाहना र मनोविज्ञानलाई सही ढंगले बुझ्न सकेन । जनताको चाहनाभन्दा बाहिरको काम बढी गर्यो । 

नेपाली जनतालाई केन्द्रमा राखेर राजनीति अगाडि बढाउनुभन्दा पनि साम्राज्यवादलाई केन्द्रमा राखेर उसलाई खुशी पार्ने र सम्झौता गर्ने ‘ट्रेन्ड’ बढी भयो । नेपाली जनताको जुन आधारमा टेकेर आएको थियो, त्यो वर्गलाई विस्वास गर्ने भन्दा पनि नेपालको सम्भ्रान्त वर्गलाई खुशी पारेपछि आफ्नो अस्तित्व रहन्छ भन्ने सोच्यो ।

सर्वहारावर्गीय र साम्यवादी मूल्यमान्यताबाट अत्यन्तै च्यूत भएर मध्यमवर्गीय, निम्नमध्यमवर्गीय र दलाल नोकरशाही वर्गको चिन्तनपद्दति तथा संस्कृतिलाई आफ्नो अवयवको रूपमा लिन कोशिस गर्यो । 

जनयुद्धको प्राप्तिलाई निम्नपूँजीवादी हतारोको रूपमा लिन खोज्यो । दीर्घकालीन आन्दोलनको रूपमा भन्दा पनि ‘फास्ट ट्रयाक’ को आन्दोलन हो भनेर बुझेको देखियो ।

आन्दोलनलाई संस्थागत गर्न यसले ध्यान दिएन । संस्थागत नगर्दै यसलाई विस्तार गर्न कोशिस गर्यो । मात्राबाट गुणमा परिवर्तन हुन्छ भन्ने माक्र्सवादी सिद्दान्तभन्दा पनि यसले छलाङको कुरा बढी गर्यो । 

शान्ति प्रक्रियालाई पनि यसले युद्धकै रूपमा बुझ्यो । शान्ति प्रक्रिया र युद्धको फरक छुट्याउन सकेन । त्यसैले शान्तिप्रक्रियामा कमजोर बन्दै गयो । शान्ति प्रक्रियाको १० वर्षमा सत्ता प्रप्तिको अनुभूति बढी देखियो । त्यहाँ शक्ति सन्तुलन गर्ने भन्दा पनि पूरै जितेको अवस्था भनेर बढी उत्तेजित भयो । तर त्यो सरकारमात्रै थियो । तर सरकारलाई नै सत्ताको रूपमा प्रयोग गर्ने कोशिस गर्यो । 

१०
अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम गर्न सकेन । कहिले दक्षिण चिप्लने त कहिले उत्तर चिप्लने नीति लियो । एकैठाउँमा बसेर परिस्थितिलाई बुझ्ने भन्दा पनि ‘स्विङ’ बढी गर्यो । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments