'नाता बिर्सेर पुरुषसँग संवाद गरेँ'

‘ह्वाइट केन’ मनीषा गौचनको दोस्रो उपन्यास हो । पहिलो उपन्यास ‘वल्लीको डायरी’मा पुरुष वेश्याबारे खुलेर लेखेकी उनले यसमा दृष्टिविहीन पात्रलाई केन्द्रमा राखेकी छिन् । उपन्यासको मूलपात्र भास्वत् जन्मजात दृष्टिविहीन छ । 
महिला लेखक भएकै कारण पनि मनीषालाई दृष्टिविहीन, त्यसमा पनि पुरुष पात्रलाई जीवन्त रूपमा आख्यानमा उतार्न सजिलो थिएन । तर, उनले त्यो चुनौती स्विकारिन् । चुनौतीसँग खेल्दै ‘ह्वाइट केन’ लेख्दाको अनुभूति मनीषाले यसरी व्यक्त गरिन् : 

पात्र पछयाउँदै
समाजको आँखा नगएको विषय मेरो लेखनको छनोटमा पर्छ । एउटा फरक सिलसिलामा मैले एक जन्मजात दृष्टिविहीन पुरुष पात्र भेटेँ । उनीसँगको सान्निध्य बढ्दै जाँदा लाग्यो– दृष्टिविहीन पात्रको जीवन मेरो लेखनको विषय हुनसक्छ । कथाप्रति आकर्षण जगाइदिएको भएर मैले उपन्यासको अन्त्यमा उनलाई पनि आभार व्यक्त गरेकी छु । 
तर, उपन्यास लेखनलाई अघि बढाउने क्रममा मैले अन्य थुप्रै दृष्टिविहीन पात्रसँग संगत गरेँ । उनीहरूको हाउभाउ, दिनचर्या आदिको ख्याल गरेँ । र, धेरै पात्रको स्वभाव उनीमा मिसाएँ । यहाँसम्म कि मैले उनको शारीरिक बनावट र व्यक्तित्वमा पनि अरू धेरै पात्रलाई मिसाएँ । त्यसैले पहिले भेटेको पात्रको कथा भने कममात्रै आएको छ उपन्यासमा । 
त्यस्तै, उपन्यासमा आएका अन्य पात्र पनि कति यथार्थ छन् त कति काल्पनिकता मिसाएकी छु । 

आफैँलाई पात्रमा बदल्दा
०६४मा मैले उपन्यास लेखन थालेकी थिएँ । करिब साढे तीन वर्षमा लेखिसकेकी हुँ । त्यसपछिको समय सम्पादन र पुनर्लेखनमा बित्यो । 
पहिलो उपन्यासमा महिला पात्र भएर लेखेकी थिएँ । त्यसले कति पाठकलाई वल्ली म नै हुँ भन्ने पनि परेको थियो । मलाई पाठकको दृष्टिकोण परिवर्तन गर्नु पनि थियो । त्यसैले मैले यसमा पुरुष पात्र लेख्नु उपयुक्त ठानेँ । 
महिलाले पुरुषको अनुभूति गर्नु गाह्रो कुरा थियो । त्यसैले अनुभूतिको तहमा पुरुष पात्रलाई उतार्न मैले केही पुरुषसँग अन्तर्वार्ता गरेँ । कतिपय अन्तर्वार्तामा मैले म केटी मान्छे हुँ भन्ने पनि बिर्सेर कुरा गरेँ । कतिपय व्यक्तिसँग साइनो–नाता बिर्सेर पनि कुरा गरेकी छु । किनभने मलाई भित्री कुरा खोतल्नु थियो । केटी हुँ भनेर हच्किँदा त्यो अनुभूति प्राप्त गर्न सकिँदैनथ्यो । पछि सम्झँदा यस्तो कुरा पनि गरेँ भन्ने लाग्छ । 
अर्कातिर मलाई दृष्टिविहीनको अनुभूति उतार्नु थियो । त्यसैले दृष्टिविहीन साथीसँग संगत बढाएँ । म जुन पात्रको कथाबाट अघि बढेँ, लेखेजति उनलाई सुनाउँदै पनि गएँ । मैले कतिपय वेला आँखा चिम्लेर पनि दृष्टिविहीनको अनुभूति गर्ने प्रयत्न गरेकी छु लेखनको क्रममा । तर, त्यसरी मात्रै त वास्तविकता अनुभूति गर्न गाह्रो थियो । किनभने मैले दृष्टिविहीनको मनोविज्ञान र सम्बन्धलाई चित्रण गर्नुथियो । 
पहिलो कुरा त अहिलेसम्म जति पनि अपांगता भएका पात्रबारे लेखिए, उनीहरूलाई निरीह र कमजोर बनाइएको छ । मैले पहिले त्यही कुराबारे अनुसन्धान थालेँ । वास्तवमा त्यस्तो हुँदोरहेनछ । 
उनीहरू पनि पढिरहेका छन् । विदेश गएका छन् । राम्रो पदमा रहेर काम गरेका छन् । खासमा त उनीहरूको जीवन पनि सामान्य ढंगले नै बितिरहेको हुँदोरहेछ । तर, दृष्टि भएका र दृष्टिविहीन व्यक्तिबीचको दूरीले त्यस्तो असामान्य व्याख्या पैदा भएको रहेछ । 
जस्तो कि दृष्टिविहीन युवतीले कुर्ता–सुरुवाल लगाउँदा पनि सेट मिलाएरै लगाएका हुन्छन् । उनीहरूका लागि त्यो सामान्य हो । तर, दृष्टि भएका चाहिँ ‘कसरी लगाए होलान्’ भनेर छक्क पर्छन् । 
त्यतिमात्रै होइन, मैले दृष्टिविहीन पात्रको सान्निध्यबाट थाहा पाएँ– उनीहरूको कतिपय अनुभूति हामीलाई अचम्ममा पार्ने खालको पनि हुन्छ । 
जस्तो कि उनीहरू पनि सपना देख्न सक्छन् । सूर्योदयको महसुस गर्छन् । त्यसको अनुभूति गर्न नगरकोट पुग्छन् । टिभी हेर्छन् । डकुमेन्ट्री र फिल्मको कथा बुझ्छन् । रिमोट चलाउँछन् । च्यानल परिवर्तन गर्छन् । कस्तो गाडी कहाँ गुडिरहेको छ, कसरी गुडिरहेको छ, धुवाँ–धुलो उडाइरहेको छ या छैन भन्नेसमेत थाहा पाउँछन् । थुप्रै सामग्रीबीच टुथपेस्ट चिन्न सक्छन् । फरक यतिमात्रै हो कि हामी यी कुरा दृश्यमा हेर्छौं, तर उनीहरू स्पर्श, स्वाद, गन्ध, गति आदिले अनुभूति गर्छन् । 
वास्तवमा जन्मजात दृष्टिविहीन व्यक्तिले त आफूलाई दृष्टिविहीन भन्ने सोचेकै हुँदैन । उसलाई त सबै मजस्तै हुन्छन् भन्ने लाग्छ । पछि परिवार र समाजले नै उसलाई दृष्टिविहीनताको अनुभूति गराइदिने हो । अनि मात्र म आँखा नदेख्ने रहेछु भन्ने उसलाई लाग्दोरहेछ । 
दृष्टिविहीन पात्रका यस्ता कुरा थाहा पाउँदै जाँदा मलाई छुट्टै संसारमा पुगेजस्तो लाग्यो । 

कथा विविध
उपन्यासको मूल पात्र दृष्टिविहीन छ । तर, सम्पूर्ण कथा दृष्टिविहीनको मात्रै होइन । दृष्टिविहीन पात्रलाई केन्द्रमा राखेर समकालीन समाजका घटना र व्यक्तिलाई समेटेको छु । 
यसमा महिलाको भित्री पाटोलाई उजागर गरेकी छु । अबका महिलाले कसरी बाच्नुपर्छ भन्ने विषयको उठान पनि गरेकी छु । यौनिकता, आफ्नो शरीरलाई कसरी भोग्ने भन्ने निर्णयाधिकारको, शारीरिक आवश्यकता कसरी पूरा गर्ने भन्ने छनोटको अधिकारजस्ता कुरा उपन्यासमा आएका छन् । 
सम्बन्धको जटिलता पनि उपन्यासमा आएको छ । मलाई लाग्छ– अहिले मनिस सम्बन्धै–सम्बन्धको जालोमा अल्झिरहेको छ । कतिलाई त आफू कस्तो सम्बन्धमा छु भन्नेसमेत स्पष्ट हुँदैन । 
महिला र पुरुषको सम्बन्ध मित्रताको रूपमा कायम राख्न सकिँदैन भन्ने मान्यता अहिले पनि प्रचारित छ । तर, म त्यसलाई मान्दिनँ । कसैबीच शारीरिक सम्बन्धका कारणले मित्रता भंग हुन्छ भने त त्यो कसरी मित्रता भयो र ? यदि कोही कसैप्रति इमानदार छ भने मित्रता कायम हुन्छ । तर बेइमानी छ भने त्यो त मित्रतै भएन नि । 
सम्बन्धको अर्को पाटो पनि उपन्यासमा आएको छ । त्यो भनेको स्पर्शले पैदा गर्ने निकटता र शारीरिक चाह । यसलाई चित्रण गर्ने क्रममा उपन्यासको मूल पात्र भास्वत्को धेरै युवतीसँग सम्बन्ध विकास भएको छ । 
भास्वत् दृष्टिविहीन भएकाले विभिन्न सन्दर्भमा विभिन्न युवतीको स्पर्श प्राप्त गर्नु स्वाभाविक हो । ऊ पुरुष पनि हो, त्यसैले युवतीको स्पर्शमा शारीरिक चाहना उत्पन्न हुनु स्वाभाविक हो । 
भास्वत्को व्यक्तित्व राम्रो छ । त्यस्तै, ऊ प्रतिभाशाली पनि छ । ऊप्रति युवती आकर्षित हुनु स्वाभाविक हो । त्यस्तै, युवतीको राम्रो व्यवहार र सौन्दर्यबाट ऊ पनि प्रभावित हुनु स्वाभाविक छ । त्यस्तै, उसको सौन्दर्यप्रतिको मोहलाई पनि उपन्यासमा चित्रण गरेकी छु । वास्वतमा दृष्टिविहीन हँुदैमा सौन्दर्यचेत नहुने होइन । ऊ पनि सौन्दर्यको भोगी हुन्छ । यस्ता स्वाभाविक कुरालाई मैले लुकाउने प्रयत्न गरेकी छैन । मलाई लाग्छ– एउटा लेखकले ढाँटेर पात्रलाई आदर्श बनाउनु हुँदैन । 
उपन्यासमा मैले प्रत्यक्ष/अप्रत्यक्ष समाजमा आएका परिवर्तनलाई पनि चित्रण गरेकी छु । उपन्यासको अन्तिमतिर आएका दिया र भास्वत्बीच क्षणिक सम्बन्धबाट छोरी जन्मिँदा पनि दियाले बोक्ने आत्मसम्मानले अबको समाजलाई चित्रण गर्छजस्तो लाग्छ । आखिर भास्वत् पनि त्यस्तै नाजायज मानिने सम्बन्धबाट जन्मिएको हुन्छ । त्यसकै कारण उसकी आमाले जीवन गुमाउन बाध्य भएकी हुन्छे । यसलाई समाज परिवर्तनका सूचकको रूपमा हेर्न सकिन्छ भन्ने लाग्छ । 

कल्पनाको यथार्थमा रूपान्तरण
लेखनको क्रममा कति कुरा कल्पना पनि गर्नुपर्ने हुन्छ । यस क्रममा मैले नेपालगञ्जको स्टेरी नाइटको प्रसंग लेखेकी थिएँ । पछि आफूले परिकल्पना गरेको मिल्छ कि मिल्दैन भनी त्यहाँ गएँ र होटलमा बसेँ । राति बाहिर हेर्दा त मैले परिकल्पना गरेको दृश्य ठयाक्कै मिल्यो । यो मलाई निकै सुखद संयोग लाग्यो । 
त्यस्तै, मैले पछयाएर लेखेका पात्रको जीवनमा कल्पना गरेर घटाएका कतिपय घटना पछि यथार्थमै घटे । यस्तो देखेपछि साथीहरूले ठट्टासमेत गरे– उपन्यासको सुलभा भन्ने पात्रको हत्या हुन्छ । त्यो यदि तिमी नै हौ भने के होला ? 
लेखनमा यस्ता संयोगले निकै सुखद अनुभूति दिँदा रहेछन् । 

सन्तुष्टिको उच्छ्वास
मैले उपन्यास लेख्दा पछयाएको एउटा पात्रलाई चाहिँ लेखनबारे भनेकी थिइनँ । जब उपन्यास प्रकाशित भयो । त्यसपछि पढ्न दिएँ । उनको प्रतिक्रिया थियो– मैले यसमा आफूलाई पाएँ । 
अरू दृष्टिविहीनबाट पनि यस्तै प्रतिक्रिया प्राप्त गरेकी छु । कतिले मलाई तपाईं पनि दृष्टिविहीन हो भनेर पनि सोधे । जसले मलाई सन्तुष्टि दिएको छ । मलाई सबैभन्दा डर थियो कि दृष्टिविहीन साथीहरूकै प्रतिक्रियाचाहिँ कस्तो आउला भन्ने । तर, त्यो डर अहिले सन्तुष्टिमा बदलिएको छ । 
उपन्यास लेखनको क्रममा म धेरै दृष्टिविहीन व्यक्तिको मित्र बनेँ । नजिक हुने मौका पाएँ । जुन सम्बन्ध पछिसम्म रहिरहने खालको बन्यो । यो पनि उपन्यास लेखनको अर्को सन्तुष्टिको विषय हो । 
मेरा उपन्यास लेखनका केही प्राथमिक उद्देश्य छन् । पहिलो त दृष्टिविहीन र दृष्टि भएकाहरूबीचको दूरी मेट्ने । अर्को, कुनै पनि अंग नहुँदैमा कसैको पनि जीवन अस्वाभाविक हुँदैन र ऊ कमजोर हुँदैन भन्ने सन्देश दिने । अब मेरो चासो उपन्यासले पाठकलाई त्यहाँसम्म पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्नेमा छ । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments