मालिनी
नाटक सकिइसक्छ, मञ्चबाट कलाकार गइसक्छन् । तर दर्शक बाहिर निस्कन हतारिँदैनन् । उनीहरू मञ्च नियाल्छन्, नियाल्छन् र फेरि नियाल्छन् । उत्तरढोका, लाजिम्पाटस्थित ‘थिएटर भिलेज’मा मञ्चन भइरहेको नाटक ‘मालिनी’ले दर्शकमा यस्तै मनोविज्ञान पैदा गरिदिन्छ ।
नाटक हेरिसकेपछि पनि लेखक सञ्जीव उप्रेतीसँगै पटक–पटक मञ्च नियालेपछि निस्केकी लेखिका अर्चना थापाले भनिन्, ‘नेपालमा यस्तो भव्य मञ्च, प्रकाश र दृश्यको संयोजन मैले पहिलोपटक देखेँ । सेटको यो विम्बात्मक प्रस्तुतिसँगै अब दर्शकलाई पनि संवादबाटै नाटकमा आनन्द खोज्ने संस्कारबाट माथि उठ्नुपर्ने चुनौती थपिएको छ ।’
नाटकको परिकल्पना र निर्देशन गरेका विमल सुवेदी अहिले नेपालमा छैनन् । नाटक तयार पारिराखेर भारत पुगेका छन् । तर उनी यहाँ नहुँदा पनि तारिफमा कुनै कमी आएको छैन । कलात्मक र विम्बात्मक नाटक परिकल्पना र निर्देशनमा उनी पछिल्लो समय निरन्तर जमिरहेका छन् ।
अभि सुवेदीकृत नाटक ‘सान्दाजुको महाभारत’ होस् या सञ्जीव उप्रेतीकृत नाटक ‘मकैको अर्कै खेती’ । नाटकलाई न्याय गर्ने सघन विम्ब प्रकाश, प्रस्तुति र सेट डिजाइनमै प्रस्तुत गर्न विमल सफल भए । ‘मालिनी’मा प्रस्तुत गरिएको विम्ब, प्रकाश र प्रविधि संयोजन त्यही श्रृंखलाको अर्को उत्कृष्ट नमूना हो ।
त्यसो त मञ्चमा प्रस्तुत गरिएका विम्बलेमात्रै होइनन्, उनले छनोट गरेका नाटकको बौद्धिकताले पनि दर्शकलाई उत्तिकै सघन प्रभाव पार्छ । अघिल्ला नाटकझैं रविन्द्रनाथ टैगोरकृत नाटक ‘मालिनी’को स्तर पनि उत्तिकै उम्दा छ । अब्बल नाटकको छनौट गरी त्यसलाई न्याय गर्ने कार्यमा विमल सफल छन् ।
‘मालिनी’ कक्षा ११ को अनिवार्य अंग्रेजीको पाठ्यक्रममा समावेश छ । त्यसैले यो नाटक मञ्चनको लाभ कक्षा ११ का साथै नाटकको प्रभाव बोकेर हिँडिरहेका अन्य विद्यार्थीलाई पनि हुन्छ । नाटक हेरिसकेपछि विद्यार्थीले मञ्चनको उत्कृष्ट कला पनि बुझ्नेछन् । साथै, विमलले नाटकलाई यस्तो बनाइदिएका छन्, जुन हेरिसकेपछि विद्यार्थी कम्तीमा एउटा कालखण्डचाहिँ ‘मालिनी’को प्रभाव दिमागका बोकी हिँड्न बाध्य हुन्छन् । नाटकमा मालिनीको अभिनय गर्ने रोजिता बुद्धाचार्यको प्रभाव लामो समयसम्म दिमागमा बसिरहन्छ । ब्राम्हणको चरित्रमा सरोज अर्याल, केमांकरमा सुजन ओली, राजामा दिलीप रानाभाट र सुप्रियमा श्रवण रानाले राम्रो अभिनय गरेका छन् । जीवेश रायमाझीले अनुवादमा नेपाली मौलिकता घोलेका छन् । यसले नाटकलाई आफ्नै परिवेशको अनुभूतिमा डुबेर हेर्न र बुझ्न सकिन्छ ।
नाटकप्रेमीले छुटाउनै नहुने नाटकको सूचीमा रहने यो नाटक बुधबारबाहेक माघ ३ गतेसम्म ४ः१५ बजे मञ्चन हुनेछ । शनिबार र आइतबार १२ः०० बजे अतिरिक्त मञ्चन हुनेछ । त्यसैगरी कुनै कलेज वा विद्यार्थीको समूहले चाहेमा अरू समयमा पनि नाटक मञ्चन गर्न सकिने थिएटर भिलेजका जीवेश रायमाझीले बताए ।
܀܀܀
✍ कला अनुरागी
तस्विर : बिजु महर्जन
साभार : रातोपाटी
Comments
Post a Comment