मखमली


वालुवा चालिरहेकी छे मखमली
र, वालुवा भिजिरहेको छ
पानीले भन्दा बढी उसकै पसिनाले ।

माऊले गुँडमा छोडेर
चारा खोज्न हिंडेपछिको बचेराजस्तै
अलाल्लीरहेको छ
सहरको पुरानो घरको छिंडीको डेरामा
उसको दुधे–बालख छोरो
जसलाई फुल्याईरहेकी छ
एकसाल जेठी छोरीले ।

एकै हलको गोरु जस्तै
जीन्दगीको हलमा नारीएको
उसको सहयात्री
ओसारीरहेछ ईंटा
जसलाई बेलुकी साह्रै दुख्छ जीउ
र नखाई हुँदैन दुईचार गिलास ‘औषधी’
दुख्न त उसलाई पनि दुख्छ नि जीउ
तर, औषधीको सट्टा उसले चाहिं पिउनुपर्छ
प्रत्येक दिन त्यसको दोब्बर आँशु ।

ठेकेदार भन्छ एकान्त पारेर
–‘तिमी मखमली होईनौ
गुलाफ हौ
टिपौं कि सुटुक्क !’
त्यसबेला मखमली हुन सक्दिन ऊ
हुन्छे गुलाफ झैं रातो
र, सल्बलाउँछ उसको मुखमा
घृणाको थुक
तर पनि हान्न सक्दिन
बच्चाहरूले होलीमा रंग हानेझैं
थुकको पिचकारी
बगरका ढुंगाजस्तै चिल्लो
त्यो ठेकेदारको अनुहारमा ।

उ सँग छ
बर्खे पानीझंै दर्किन सक्ने पसिना
तर छैन उसँग
त्यो भल छोपेर हिल्याउने गराहरू
माटोको मृगतृष्णामा
धेरै पोखेकी छ उसले बालुवामा पसिना
तर फुल्न सकिन कहिल्यै
वालुवामा मखमली ।

ऊ उभिएकी देशमा
उसलाई अर्कै भाषाजस्तो लाग्ने भाकामा
नयाँ नेपालको नाराहरू घन्किरहेको पल
ऊ हेरीरहेकी छ
आफ्नै हातगोडा झैं पट्पटी फुटेका
बालुवाका गह्राहरू
जति लगाएपनि पसिनाको कुलो
देखिरहेकी छैन कतै पनि उसले
आफ्नै छाप्रो बनिरहेको
उसले मात्रै देखिरहेकी छ
साहूको थपिदै गरेको अर्को घर ।

सडकमा फेरि निस्किन थालेको जुलुस
र आफ्नो मनमा खेलिरहेका कुराको जुलुसमा
समानताको आकार खोज्दै
ऊ एकोहोरो टोलाउँछे बेला–बेला
तर देखिरहेकी छैन कतै पनि उसले
ठेकेदारको करेसाबारीेजस्तै
फराकिदै गएको आफ्नो जिन्दगीको पाटो
अर्थात आफू फुल्ने माटो ।

ए ! नयाँ नेपालका अभियन्ता !
भनिदेऊ न
कहाँनेर हुन्छ नयाँ नेपालमा
मखमली फुल्ने माटो ?
܀܀܀
✍ कला अनुरागी

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार