महिला हिंसाविरोधी ‘मैना’

महिला हिंसाका घटना नेपालजस्तो पुरुषवादी समाजव्यवस्था भएको देशका लागि नयाँ होइन । तर त्यस्ता घटना दबाइन्छन् र कमैमात्र सार्वजनिक हुन्छन् । दश बर्षे जनयुद्धका क्रममा राज्य नै महिला हिंसामा उत्रियो । सयौं महिला मारिए, बलात्कृत भए, सयौंले यातना पाए । 
त्यस अवधीमा यस्ता घटना कति भए होलान् ? अनुमान गर्न पनि गाह्रो छ । राज्य वा गैरराज्य पक्षबाट कुनै पनि निहुँमा भएका त्यस्ता हिंसाको दोषीमाथि कारबाही अहिलेसम्म पनि भएको छैन । त्यही दण्डहीनताको परिणाम नै अहिले बढिरहेको महिला हिंसा हो भन्ने आवाज अहिले चारैतिर उठिरहेको छ । यसैवेला ०६० को संकटकालीन समयमा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी हत्या गरिएको निर्दोष किशोरी मैना सुनारको कथामा बनेको चलचित्र ‘मैना’ले अपेक्षाकृत व्यापार गर्न नसके पनि दर्शकको माया भने पायो । गत ४ फागुनबाट प्रदर्शन सुरु भएको चलचित्रले अपेक्षा गरेजति व्यापार गर्न नसकेपनि दर्शकको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक केपी पाठकले बताए । 
०००

चलचित्र ‘मैना’ यथार्थमा आधारित कथा हो । मैनाकी आमा देवीका दाजुकी छोरीलाई तत्कालीन शाही सेनाले विनाकसुर पक्रेर बलात्कारपछि हत्या गर्छ । त्यो घटनालाई देवीले पत्रकार र मानवअधिकारवादीसमक्ष पुर्‍याएर सार्वजनिक गर्न सहयोग पुर्‍याउँछिन् । त्यो थाहा पाएर सेना ५ चैत ०६० मा माओवादीको आरोपमा उनलाई पक्राउ गर्न काभ्रेको खरेलथोक पुग्छ । तर, उनी माइतबाट फर्केकी हुन्नन् । त्यसैले घरमा भेटिएकी छोरी मैनालाई नै सेनाले लैजान्छ । 
सेनाले पक्राउ नै नगरेको जवाफ पाएकी मैनाकी आमाले छोरीको खोजीमा प्रहरी, जिल्ला प्रशासनदेखि मानवअधिकारवादी संघ–संस्थासम्म धाउँछिन् । घटना सार्वजनिक भएर चौतर्फी दबाब आएपछि सेनाले मैनाको हत्या भएको स्वीकार गर्छ । त्यसपछि मैनाको शव–उत्खनन गर्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाढि बढ्छ । तर, पनि दोषीलाई हुनुपर्ने कारबाही अझै हुनसकेको छैन । 
यही सत्य घटनामा चलचित्रको कथा बुनिएको छ । चलचित्रमा सकेसम्म यथार्थ चित्रण गर्ने कोसिस भएको छ । जसले चलचित्र हेर्ने दर्शकलाई एकपटक संकटकालमा भोगेको त्रासदीको सम्झना गराउँछ । यथार्थ विषयको छनोट र सन्तुलित प्रस्तुतिले चलचित्रलाई प्रभावकारी बनाएको छ ।
चलचित्रले द्वन्द्वकालमा विनाकसुर मारिएका नागरिकका परिवार र आफन्तले भोगेको पीडालाई उतारेको छ । जसले दर्शकलाई संवेदनशील बनाउँछ र रुवाउँछ । कथाको संवेदनशीलताकै कुनै पनि दृश्यमा ‘ग्लिसिरिन’ प्रयोग गर्नु नपरेको र कलाकारको आँसु आफैँ आएको छायाकार जीवनाथ सुवेदी बताउँछन् । 
चलचित्रलाई यथार्थको नजिक पुर्‍याउन राखिएका जनआन्दोलनका दृश्य र पत्रपत्रिकाका समाचारले काम गरेको छ । संकटकालको पीडा भोगेकालाई यो चलचित्र आफैँले भोगेको घटनाको अभिलेखजस्तो लाग्छ । त्यसैले यसलाई राजनीतिक इतिहासको एउटा कालखण्डको अभिलेख भन्न सकिन्छ । 
०००

नयनराज पाण्डेले पटकथा लेखन गरेको ‘मैना’ सिनेमेकर्स प्रालिले निर्माण गरेको हो । चलचित्रमा केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले संयुक्त लगानी गरेका हुन् । 
चलचित्रमा मैनाको भूमिका कलाकार अनिता केसीले निर्वाह गरेकी छिन् । मैनाको रहनसहन, तस्बिर, रूप र व्यवहारबारे अनुसन्धानपछि उनलाई रोजिएको चलचित्र निर्माण पक्षले बताएको छ । उनको अभिनय उम्दा नभए पनि सन्तोषजनक छ । देवीको भूमिकामा अभिनय गरेकी राधा श्रेष्ठ र पूर्णको भूमिकामा देखिएका गोविन्द प्रभातको अभिनयले चलचित्रलाई वास्तवमै जीवन्तता प्रदान गरेको छ । देवीका दाजुको भूमिकामा राजेन्द्र गौतम र भाउजूको भूमिकामा शान्ति कुँवरले पनि सन्तोषजनक अभिनय गरेका छन् ।
डिजिटल फम्र्याटमा निर्माण गरिएको चलचित्रमा जीवनाथ सुवेदीको छायांकनलाई खासै खोट लगाउने ठाउँ देखिँदैन । मैनाले नै लेखेको कवितालाई दिइएको संगीतले प्रभाव र संवेदना पैदा गरेको छ । रामेशको संगीत र मधु गुरुङको स्वर चलचित्रका लागि उपयुक्त छ । 
त्यस्तै, चलचित्रमा परिवारको इच्छाविपरीत नै छोराछोरीलाई जनसेनामा लाने, सुरक्षाकर्मीले दु:ख दिने थाहा पाउँदा–पाउँदै पनि खाना खुवाउन दबाब दिनेजस्ता माओवादीका तत्कालीन क्रियाकलापले चलचित्रलाई एकपक्षीय हुनबाट रोकेको छ । 
०००

चलचित्र हेरेपछि नरुने दर्शक सायदै कोही होलान् । यसमा प्रयोग गरिएको रुवाइको दृश्यले पनि निकै भूमिका खेल्छ । त्यसैले दर्शकले यस्तो दृश्यमा कमी भएको भए पनि हुन्थ्यो भन्ने महसुस गर्ने ठाउँ चलचित्रमा छ ।
त्यस्तै, अनिता केसीको संवादमा अलि नाटकीयता बढी देखिन्छ । केही संवेदनशील दृश्यमा उनले मैनालाई न्याय गर्न सकेको देखिँदैन । चलचित्रका केही दृश्यमा यथार्थ खड्किन्छ । तर, पूरै चलचित्र हेरिसक्दा यी केही कमजोरी फिक्का पार्ने क्षमता ‘मैना’मा छ । 
०००

चलचित्रका निर्मातासमेत रहेका केपी पाठक भन्छन्, ‘मैना नेपाली चलचित्र निर्माण र सामाजिक परिवर्तनको आन्दोलन पनि हो ।’ उनको भनाइमा सहमत हुने ठाउँ प्रशस्तै छ । ‘मैना’ केवल मनोरञ्जनका लागि मात्र बनेको चलचित्र होइन । कलाको उद्देश्य हुनुपर्छ भन्ने मान्यता ‘मैना’मा देखिन्छ । अपराध, हिंसा र दण्डहीनताविरुद्ध जनमत तयार गर्नु ‘मैना’को उद्देश्य देखिन्छ । 
त्यसो त ‘मैना’ केवल निर्माताको इच्छामा मात्र निर्भर चलचित्र होइन । छायांकनको मुहूर्तमा मैनाकी आमा देवी सुनारले भनेकी थिइन्, ‘मजस्ता हजारौँ पीडित आमा तथा परिवारले न्याय पाउन यो चलचित्रले उचित भूमिका निर्वाह गरोस् ।’
त्यस्तै, चलचित्र निर्माणको घोषणामा मैनाका बाबु पूर्ण सुनारले आफ्नी छोरीको हत्या गर्नेहरूलाई दण्ड दिन दबाब सिर्जना गर्न चलचित्रले योगदान दिने विश्वास गरेका थिए । 
चलचित्र निर्माणमा प्रतिनिधिमूलक घटना चयन भएको कारण देवी र पूर्णको अपेक्षा त्यस्ता हजारौँ पीडितको अपेक्षा हो । चलचित्र निर्माणमा त्यो अपेक्षालाई सम्बोधन गरिएको छ । 
निर्माण पक्षका अनुसार यो जोखिम मोलेर बनाइएको चलचित्र पनि हो । छायाकार सुवेदी भन्छन्, ‘चलचित्र निर्माणमा अवरोध पुर्‍याउन छायांकनस्थलमा अवरोध गर्नेदेखि फोनमा धम्की दिनेलगायत कार्य पनि भयो । त्यसैले छायांकन गर्ने क्रममा धेरै स्थान परिवर्तन गर्नुपर्‍यो ।’ 
०००

नेपाली चलचित्रमा धेरैसमय सस्तो प्रेम, असान्दर्भिक नृत्य, ज्यानदार भिलेन, मारपिट आदिको मसला चल्यो । अहिलेसम्मकै नयाँ कथावस्तु, फरक धार, र मौलिक कथावस्तु भनिएका अधिकांश चलचित्रमा पुरानै कथा र मसलाको तोडमरोड देखिए । पछिल्लो समय त्यसमा केही परिवर्तनको संकेत त देखापरेको छ । तिनमा पनि अश्लीलता र ‘आइटम डान्स’ आदिको प्रयोगले प्राथमिकता पाएको छ । 
यस्तो वेला मैनाजस्तो चलचित्र बन्नु र प्रदर्शन हुनु नेपाली चलचित्र क्षेत्रका लागि खुसीको कुरा हो । यसले मौलिक कथाको खोजी गरेको छ । यसमा चित्रण गरिएको नेपाली जनजीवन र संस्कृतिले दर्शकलाई यथार्थबोध गराउँछ । सिर्जनशील मानसिकता र इच्छाशक्ति हुने हो भने नेपालमा हजारौँ मौलिक कथा छन् भन्ने संकेत पनि यसले गरेको छ । त्यसैले ‘मैना’मार्फत देखिएको मौलिक, यथार्थपरक र उद्देश्यमूलक नेपाली चलचित्र निर्माणको सम्भावनालाई प्रोत्साहन गर्नु आवश्यक छ । 
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments