रातो फूल फुल्दा सम्झिएँ तिमीलाई

प्रिय पाठक,
सुमधुर सम्झनाका रंगीन तरङ्गहरु ।
हृदयभरि उर्लिएको छ लहर सम्झनाको ! र, पनि मलाई थाहा छैन, मैले तिमीलाई गरेको प्रिय पाठकको सम्बोधन तिमीलाई मन पर्छ या पर्दैन ? त्यसैले पत्र लेखिरहँदा मेरो मन दुई खोलाको बीचमा फुलेको भुवादार सिरुजस्तै दोधारको झोंक्काले हल्लिरहेको छ । यो सम्बोधन गरेर मैले तिमीलाई नजिक पारें या टाढा फ्याँकें ? यही झोलुङ्गोमा म निरन्तर हल्लिरहेछु । तर मेरा कविताहरुको गम्भिर अध्ययन र प्रतिक्रिया तिमीबाट प्राप्त गरेको आधारमा मैले तिमीलाई प्रिय पाठकको नाता लगाउनु शायद मेरो ठूलो भूल नहोला कि ! 

ओहो ! माफ गर है ! म त कतातिर बहकिन पो थालेछु । यी गन्थने हरफहरु लेख्नुको सट्टा मैले सोझै ‘तिमीलाई मैले गरेको सम्बोधन मन प¥यो कि परेन ? भनेर सोधेको भए पनि त हुन्थ्यो होला नि ! तिम्रो समय बर्बाद गरेर मैले गरेको यो नमीठो भूलको मीठो उत्तरको अपेक्षा गर्ने मेरो मनलाई कसरी सम्झाउँ म ? तिमी नै भन न ? 

ओहो ! यो त अति नै भयो कि जस्तो लाग्यो फेरि तर अर्कै कुराले । पत्रको सुरुमा नै मैले आफूलाई निकै नै ठूलो ठानेर ‘तिमी’ भनेर सम्बोधन गरेछु । कतै मैले होच्याएर बोलेजस्तो त लाग्ने होईन ? आशंकाले मनलाई लखेट्न पो थाल्यो । अँ ! यो तिमी भन्ने प्रसंगमा म एकजना मेरी मित्रलाई सम्झन्छु । उनी नै हो मलाई मेरो सबैलाई ‘तपाई’ भन्ने बानी बिगारिदिने । उनीलाई पनि म तपाई नै भनेर सम्बोधन गर्थें । तर उनीले एकदिन भनिन्–‘म तँपाईको अगाडि दुई ओटा शर्त राख्न चाहन्छु ।’ बेला न कुबेला शर्तको कुरा सुनेर म जिल्ल परें । ‘हेर्नुस् मलाई यो तपाई..तपाई भनेको मन परिरहेको छैन । कि मलाई तपाई नभन्नु कि मसँग नबोल्नु ।’ बिजुली चम्किएझैं छिटो–छिटो उनले भनिन् । तर उनको बोलीमा घुर्कीको रंग चढिरहेको मैले अनुभूति गरें । र, त्यो शर्तलाई ओझेलमा पार्न सकिन्छ कि भनेर म कुरा अन्तै मोड्न थालें । तर मेरो केही लागेन । उनको तर्क अगाडि म हार्दै गएँ, शायद मेरो तर्क शक्ति कमजोर भएर होला । ‘मैले तपाई नै नभन्नु भन्न खोजेको होईन । तर साथीको हकमा ‘तिमी’ शब्दमा जस्तो मीठो मित्रताको सुवाष यसमा फैलिदैन । मलाई त तपाई भन्दा आफू कुनै औपचारिकताको खाडलमा जाकिइरहेको अनुभव हुन्छ ।’ उनले आफ्नो दर्शनशाश्त्र नै मेरो अगाडि फैलाईन् । त्यसपछि मैले उनीलाई ‘तिमी’ भन्ने प्रयत्न सुरु गरें र प्रयत्न गरेपछि सफल त भईहालिदोरहेछ । तर, पछि त यस्तो बानी भयो कि कोही अलि नजिक भएपछि उसलाई तिमी भनिहाल्ने ! अझ कसैसँग भावनात्मक कुराकानी गर्दा त ‘तिमी’ अनिवार्यजस्तो भयो । आज मेरो बानीको सिकार तिमी पनि हुनुपरेकोमा माफी माग्छु है । कि दिन्नौ माफी ?

हत्तेरीका ! म त के कुरा लेख्न खोज्दै थिएँ । कतातिरको कथा पो सुनाउन थालेछु । माफी मागुँ, माफी पनि कति माग्नु ? माफी धेरै नै सस्तो भएको छ उसै त । अँ, म कुरा गर्न खोज्दै थिएँ यो वसन्तमा हाम्रो फूलबारीमा पनि एउटा सुन्दर फूल फूल्यो र जसमा मैले तिम्रो अनुहार पोतिएको पाएँ । र, तिम्रो सम्झनाको लहर नै उर्लियो अनि लेख्दैछु म यो पत्र । हो, फूलेको सुन्दर फूल र मेरी प्रिय पाठकको अनुहार । अनुहार मात्रै त के हुन्थ्यो र ? अनुहारभन्दा पनि हृदय नै भनौं या आँखा भनुँ वा सपना ? फेरि सपना देख्ने त आँखा नै हो । सपना कसरी देखिन्छ यसको वैज्ञानिकतातिर नलागौं, किनकि यो भावको कुरा हो । हो, मैले मेरी प्रिय पाठकको आँखामा लुकेको सुन्दर सपना पोतिएको रातो फूल यो वसन्तमा फुल्योे । त्यो रातो फूल फूलेको घोषणा गर्ने मालीहरुको प्रतिक्षामा केही बेर अघि म सगरमाथा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरको अगाडि खडा थिएँ । साथमा थियो, मेरो प्रिय मित्र आँगेली । ऊ भोक र प्यासले छट्पटिएर पनि मेरो आग्रहलाई जतन गरेर मेरो हात समाईरहेथ्यो । यस्तो थियो केही बेर अघिको त्यहाँको दृश्य र मेरो मन-
म आँगेलीको अनुहारमा हेर्दैछु । ऊ अलिकति निस्तो हाँसो हाँस्छ र कोठामा फर्किने कुरा गर्छ । म अलिकति अर्ती र अलिकति मेरो मनकोे प्रतिक्षालाई मिसाएर भन्छु ‘पाँच मिनेटभित्रै हाम्रो धर्तीमा रातो फूल फुलेको घोषणा हुन्छ । यो रातो फूलले मानिसहरुको ओठमा पोतिने गुलाबी रंगको मात नचाखी जानुहुँदैन ।’ ऊ अलिकति शंका र अलिकति विस्वासले मेरो अनुहारमा हेर्छ र पानी पिउन पाउने आशामा सोल्टी बेकरी क्याफेको छेउमा रहेको कञ्चनजंघा ?(नाम भुलें कि जस्तो लाग्यो) भोजनालयतिर लाग्छ । अलिकति काठमाडौको दुषित पानी पिएर मुख बिगार्दै भन्छ ‘काम चलाऊ !’ । त्यतिखेरै म उसलाई अघि तिन पटक रातो फूलको खिलाफमा पड्किएको बमको धमाका एकपटक फेरि सम्झाउँछु । (गणतन्त्र नेपालको घोषणा हुने दिन बानेश्वरको संविभानसभा भवन वरपर तिन पटक बम पड्केको समाचार तिमीले पनि सुनेकी थियौ होला नि है ! त्यतिखेर हामी त्यसको नजिकै थियौं) ऊ मलाई मलीन अनुहार देखाएर उत्साह सकिंदै गएको संकेत दिन्छ र पोख्छ हामीले रातो फूल फूलाउने फूलबारीको माली बनाएर पठाएका मालीहरु मध्ये केहीको पुरानो दुषित अनुहार । ‘त्यहाँका केहीको अनुहार भन्दा त बाग्मतीको पानी नै धेरै गुना सफा छ अनि के फुलोस् रातो फूल ।’ ऊ दिक्दारी बोल्छ । नेपाल नामको फूलबारीमा रातो गुलाफ फूलेको घोषणा गर्ने विषयलाई लिएर मालीहरुबीच भवनभित्र चुनाव भईरहेको जानकारी उसलाई दिन्छु म । ‘ल हेर त, कस्ता–कस्ता छन् त हामीले बनाएका फूलबारीका मालीहरु ? त्यत्रो रगतले सिंचेको फूलबारीमा अझै पनि रातो फूल फूलेको घोषणा गर्न चुनाव ?’ उ उदेकियो । 

तर...तर ! उसको उदेक धेरै समयसम्म टिकेन । हाम्रो विस्वासको रातो फूल फुलेको घोषणा भयो । ‘धेरैले त्यसमा भोट हालेछन् धन्न ! बाध्यता पनि त थियो नि । त्यत्तिकै निस्केको भए त हामी के हेरेर बस्थ्यौं नि फेरि ।’ हाम्रै साथ बसेका युवकको अनुहारमा कान्ति छाएको थियो । रातको करिव ११ः२५ बजे नेपाल नामको बगैंचामा नयाँ फूल फुलेकोे घोषणा भयो । मेरो मित्र त्यो खबर सुन्ने बित्तिकै चिच्च्यायो ‘जिन्दावाद !’ । उसको आवाजलाई पछ्याउँदै हज्जारौं जिन्दावाद घन्किए । नेपालमा गणतन्त्र नामको रातो फूल फूलेको खुशीयालीमा अविर जात्रा भयो । खुशीले नाचेका दृश्यहरु मोवाईल र क्यामेरामा कैद भए । यसो भनौं कि उत्साहको एउटा महासागर नै फैलियो बानेश्वर चोकमा । रातको त्यो समयमा पनि हज्जारौं मानिसहरु उत्साह र उल्लासको जिन्दावाद घन्काइरहेका थिए । देशका अन्य  शहरमा पनि त्यस्तै उत्साह र खुशीको लहर उर्लिरहेकोे खबरहरु आइरहेको थिए । त्यसबेला मैले सम्झिएँ ती तमाम शहीदहरुलाई । जसको आफन्तका आँखामा अझैसम्म पनि आँशु ओभाएका थिएनन् । तिनका टुहुरा छोरीहरु बाबा देखाई दिन आमालाई अनुरोध गर्दै थिए र आमाको आँखामा डब्डबाईरहेको थियो आँशु । तिनका टुहुरा छोराहरु आमाको काख खोजिरहेको थिए र बाबुको आँखामा फैलिएको थियो उदासीको तुवाँलोे । हो, मैले तिनै महान् मानिसहरुलाई सम्झिएँ । सम्झनामै  पनि मेरो मुटु भक्कानियो र आँखामा आँशुको मूल उम्रियो । अनि भन त ती आफन्तहरुलाई कस्तो भएको हुँदो हो !

प्रिय पाठक, मैले मनमनै ति महान् मान्छेहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गरें । हो, त्यसपल मैले तिमीलाई सम्झिएँ । एकदम गहिरोगरि सम्झना आयो तिम्रो । तिमी र तिमीजस्तै आम भुँइमान्छेहरुको आँखाहरुमा सजिएको सपनाहरुलाई विपनामा बदल्ने सपना देखेर नै त तिनले आफ्नो जीवनको बलिदान दिएका थिए । तिमी र तिमीजस्तै लाखौं मान्छेहरुको जीवनमा वसन्त आओस् भन्ने कामनाका गर्दै तिनले आफूलाई यो वसन्तमा बली चढाएका थिए । र, त मेरो मनमा त्यसपल प्रश्नहरु पनि मडारिए । के तिम्रा आँखामा भरिएका सुन्दर जीवनको जीवन्त सपना यो गणतन्त्रको रातो फूलमा साकार होला त ? कतैबाट नाराजस्तै आवाज आएझैं लाग्यो –‘हुनैपर्छ, हुनैपर्छ’ । हो, हुनैपर्छ किनकि यो रातो फूल फुल्नमा ती महान् मान्छेहरु र तिमी र तिमीजस्तै हजारौंको कम्ती रगत–पसिना बगेको छैन, कम्ती आँशु बगेको छैन । त्यसैले म यो खुशीको उपलक्ष्यमा तिमीलाई बधाई तथा शुभकामना प्रकट गर्छु ? स्विकाछ्र्यौ नि है !

‘पर्खी पर्खी ! शुभकामनाले मात्रै तैंले तेरो प्रिय पाठकलाई न्याय गर्न सक्दैनस् ।’ मेरो मन भनिरहेछ । यसबेला घडीमा झन्नै बाह्र बज्न आँटिसकेको छ । ‘हँ !’ म झस्किँदै नयाँ हरफहरु कोर्दैछु र कुनै पनि बहाना बनाएर आज तिमीबाट नछुट्टिन मन पनि लागेको छ उत्तिकै । अझै तिम्रो समय पिएर मात्न मन छ मलाई । अनुमति दिन्छ्यौ नि है !

तर मातको मात्र कुरा होइन, कुरा गम्भिर छ । मैले रातो फूल फूल्दा मेरी प्रिय पाठकलाई अर्थात तिमीलाई ज्यादातर सम्झिएँ । किन त ? त्यसमा पनि विविध कारणहरु छन् । तिनै कारणहरुको तरेलीमा बयेली खेल्दै मैले तिमीलाई केही आग्रह गर्नै बाँकी छ । तिमीले/मैले/हामी सबैले देखेको नयाँ नेपालको सपनाको पहिलो खुट्किलोमा फुलेको यो गणतन्त्रको रातो गुलाब फुल्दा मैले/एउटा लेखकले तिमीलाई सम्झिनुमा हामीबीचको मधुर वर्गीय प्रेमको ठूलो हात छ । जुन प्रेमको आलोकमा मैले तिम्रा हृदयका आँखाले देखेको जीवनका सपनालाई अनुभूत गरेको छु र तिमीले दुरुह जीन्दगी बिताउनुको पीडामा बगाएका आँशुका मुल्काहरुमा आफूलाई डुबाएको छु । आँखैमा झलझली छैन त तिम्रो तिमीले जिन्दगीमा बगाएका आँशुको । आँशु भरेर राखेको भए कति हुने थियो है ! कति आँशुका खहरेहरु त तिमीले मेरो अगाडि पनि त बगाएकी थियौ । तर त्यो पीडामा पनि तिमी कति निश्चल मुस्कुराउँथ्यौ उत्तिनै खेर र आफ्ना सपना साकार हुने आशा मनमा पोतेर जोगाउँथ्यौ सपनाका अभियन्ताहरुलाई । मलाई त अहिले पनि सम्झँदा आँशु आउँछ भने झन् तिमीलाई त.....। मनमा पीडाका खोलीहरु बोकेर अरुलाई हाँसोको झोली बोकाउन सक्ने तिमी र तिमीजस्तै मान्छेहरु नै यो रातो फूलको पहिलो भागीदार हुनुपर्छ,मैले तिमीलाई सम्झिनुको पहिलो अभिप्राय यही हो । किनकि तिमी र तिम्राजस्तै आँखाहरुले हज्जारौं बर्षदेखि देखेको सपना हो यो । 

प्रिय पाठक, तर के तिम्रा सपनाहरु फूल्लान् त यो नयाँ फूलबारीमा ? न नाम मात्रै पो फेरिने हो कि ? आशाका  फूलहरुसँगै आशंकाका बादलहरु पनि मडारिई नै रहेका छन् अझै । हाम्रो फूलबारीमा फूलेको रातो फूल निमोठ्न आउनेहरु अझ धेरै नै छन् । हाम्रो सपना पूरा भएको देख्न नचाहने दुष्ट आँखाहरु पनि अझै छन् । त्यसैले अझै पनि हामी ढुक्क भएर निदाउने दिन आएको छैन । त्यसको लागि हामीले अझै दुःखको आँशु पिउन तयार हुनुपर्ला । केही छैन हामी सँगै हुनेछौं र तिमीले/मैले/हामी सबैले अझै संघर्ष जारी नै राख्नुपर्छ, क्रान्ति जारी नै राख्नुपर्छ । 

अन्त्यमा प्रिय पाठक, म भन्छु पत्र हृदयको सुन्दर र मौलिक अनुवाद हो । तिमी पनि आफ्नो हृदय अनुवाद गरेर मलाई पठाउनेछ्यौ भन्ने कुरामा म ढुक्क छु । लेख्दै गर्दा भएका कुनै गल्ती र भावनाको अतिवेगको लागि माफी माग्दै तिम्रो पत्रको बाटो कुरिरहेछु । भन त मेरो प्रतिक्षालाई कति लामो बनाउँछ्यौ ?
उही तिम्रो
लेखक
जेठ १५,२०६५
܀܀܀
✍ कला अनुरागी

      

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार