मीठा गीतका जन्मकथा

‘नयाँ’को खोज डा. कृष्णहरि बरालका गीतका बिशेषता हुन् । यही विशेषताले उनका गीत बजारमा ‘हिट’ हुन्छन्/छन् । सकेसम्म अरुले नभनेका कुरा फरक शैलीमा प्रस्तुत गर्ने ध्याउन्नमा उनी हुन्छन् । कहिल्यै कापी कलम लिएर गीत लेख्न बस्दैनन् । मनमा लेखिन्छ, अनि कापीमा उतार्छन् । मनमा कतिबेला लेखिन्छ भन्ने उनलाई पनि पत्तो हुँदैन, त्यसैले उनको खल्तीमा एकदुइ पाना कागज र कलम भने टुट्दैन । उनै गीतकारले आफ्ना चर्चितमध्येका पाँच गीतको पृष्ठकथा यसरी बताए :   


के भूल भयो प्रिया 
०४२ तिर लेखेको गीत हो यो । नेपालीमा एमए गर्दै थिएँ । मेरो गाइड डा. बासुदेव त्रिपाठी हुनुहुन्थ्यो । त्यतिबेला भर्खरै शोधपत्रको सट्टा सिर्जनापत्र पनि बुझाउन पाइने भएको थियो । जसमा उपन्यास कथा, गीत, गजल, कविता, निबन्धजस्ता सिर्जनात्मक विधा लेखेर बुझाउन सकिन्छ । त्यसबेलासम्म मेरो केही गीत चर्चामा आएका थिए । म भक्त हु यो देशको..., बाधा परुन् जति नै सारा सहन्छु म...आदि । त्यसैले त्रिपाठी सरले मलाई सिर्जनात्मक पत्र पेश बुझाउन भन्नुभयो । त्यसको लागि २० भन्दा बढी गीत लेख्नुपर्ने थियो । अर्कातिर त्यति नै बेला म्युजिक नेपालले मलाई १० गीत दिन भनेको थियो एलबमको लागि । त्यसमा मलाई फरक–फरक शैलीका गीत चाहिएको थियो । त्यसमा ‘रिसाउदा झनै राम्री रिसाइदेउ न बिन्ति’ भन्ने गीत राख्ने निर्णय गरें । एलबमको नामै त्यही गीतबाट ‘रिसाइदेउ न बिन्ती’ राखें । त्यसमा अलि ‘स्याड सङ’ चाहिएको थियो । त्यसैले सिर्जनापत्र र एलबम दुवैमा हाल्न मिल्ने गीत सोचिरहेको थिएँ । त्यतिबेलासम्म कोही मायालु रिसाउँदा संवाद गर्ने गीत सुनेको थिइनँ । त्यसैले त्यसै बिषयमा लेख्नुपर्छ भन्ने लागिरहेको थियो । एक दिन अचानक गीत आयो मनमा– के भूल भयो प्रिया हे तिमी मसँग बोल्दिनौ, उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ । झ्याउरे लयमा गीत बन्यो । विम्बात्मक पनि भयो । अनि त्यसलाई एलबममा समावेश गर्ने सिलसिलामा मदन दिपविमलाई संगीत गर्न दिएँ । संगीत गर्ने क्रममा उहाँले पहिलो हरफको ‘हे तिमी’ हटाइदिनुभयो । तर राम्रो सुनियो । त्यसैले मैले स्वीकारें ।  
गायनको लागिचाहिं म्युजिक नेपालका सन्तोष शर्माले अलि सिनियर गायक चाहिन्छ भन्नुभएको थियो । किनभने बजारको पनि कुरा थियो । तर दिपविमले ‘नरेन्द्र प्यासीले यसलाई न्याय गर्न सक्छ’ भन्नुभयो । उहाँ त्यतिबेला भर्खरै गाउन थाल्नुभएको थियो । तर उहाँले बेजोडै गाउनुभयो । जुन गीत अहिले पनि धेरैको छनोटमा पर्छ । 

यी हल्लाहरु हुन् तिमीले सुनेका
०४५ तिर यो गीत लेख्दा पनि मेरो मनमा त्यही अरुले नभनेको बिषय भन्ने कुरा नै खेलिरहेको थियो । दिपक जंगमसँग राम्रो बसउठ्  थियो त्यतिबेला । उहाँले जहिले पनि नयाँ गीत सोधिरहनुहन्थ्यो । म अरुभन्दा नयाँको खोजमा थिएँ । त्यतिबेला कसैले प्रेमीप्रेमिकालाई अरुले कुरा लगाइदियो भने के प्रतिक्रिया दिने भन्ने गीत थिएनजस्तो लाग्यो । त्यही कुरा मनमा खेलाइरहेको थिएँ । 
०४३ देखि ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस पढाउन थालेको थिएँ । । किर्तिपुर बस्थें । कालीमाटीमा गाडीबाट झरेर ताहाचल क्याम्पस जाँदा बसन्तपुरतिर जाने पुलमा आइपुगेपछि दिमागमा एउटा पंक्ति आयो– यी हल्लाहरु हुन् तिमीले सुनेका, कसैसग मैले मुटु साट्या छैन । त्यो पंक्ति मैले कागजमा टिपें । क्याम्पस गएँ, पढाएँ । त्यसको २ दिनपछि अर्को पंक्ति आयो । ‘नपत्याए हेर चिरेर यो छाती तिमीलाई मैले कहिल्यै ढाट्या छैन ।’ त्यसपछि मैले दुइ अन्तरा थपेर दिपकसरलाई दिएँ । उहाँले तेस्रो अन्तराचाहिं मन पराउनुभएन । भन्नुभयो, ‘यो कविताजस्तो भयो ।’ स्थायीमात्रै संगीत गरेर छाड्नुभयो । त्यसपछि मैले त्यो हटाएर ‘यो मनमा तिमी छ्यौ, वचनमा तिमी छ्यौ’ भन्ने अन्तरा बनाएको हुँ । त्यो पुरानो पंक्ति त मलाई अहिले याद पनि छैन । अलि बढी नै विम्बात्मक थियो । त्यसपछि उहाँकै सल्लाहमा आनन्द कार्कीलाई गाउन दिइयो । जसले अहिले पनि स्रोताको मन जितिरहेकै छ ।


यहाँ देशको छ चिन्ता
देश द्वन्द्वमै भएको बेला लेखेको हुँ । ५० को दशकको अन्त्यतिर । द्वन्द्वको घटनाले मन आहत थियो । त्यसैबेला यो गजल आयो– यहा देशको छ चिन्ता तिमी माया माया भन्छौ, साच्चै नबुझ्ने छौ कि नबुझ्ने जस्तो बन्छ्यौ ।
त्यसपछि अर्को शेर लेख्दा मलाई जनकपुरको सरको सम्झना भयो । उहाँ द्वन्द्व र त्यसमाथि पहाडिया र तराइवासीबीचको मनमुटावको सुरुवातले तनावमा हुनुहुदोरहेछ । काठमाडौमा भेट भयो । उहाँले आफू पनि काठमाडौमै आउन चाहेको बताउनुभयो । भन्नुभयो, ‘राम्रा मान्छे पनि छन्, जसले नजा भनिरहेका छन् । तर खराब मान्छे पनि छन्, तिनको अगािड छोरीबुहारी जोगाउनै गाह्रो भयो ।’ त्यो कुराले मलाई छोएको थियो । त्यसैको सन्दर्भमा ‘तिम्रै सुरक्षा गर्न’ भन्ने शेर लेखें । अनि यस्तो अवस्था रह्यो भने देश के होला भन्ने चिन्ताभावका साथ ‘भोलिका सन्ततिको आधार खोज्दैछु म’ भन्ने शेर थपें । अर्को पनि एउटा शेर थियो– तरबार आखीभौं रे तरबारदेखि आज, म मुक्ति खोजिरहेछु, तिमी भावमा बहन्छ्यौ । योचाहिं गाउन अफ्ठ्यारो भएकाले राखिनँ । पर्सियन साहित्यमा आँखी भौंलाई तरबारसँग तुलना गर्छन् । यहाँ मैले युद्ध र भावनात्मक प्रेमबाट पनि मुक्तिको खोजलाई विम्बात्मक अर्थ दिएको थिएँ । 
त्यसबेला संगीतकार गैरे सुरेशले मेरो गजल एलबम ‘बिम्ब’को सम्पूर्ण संगीत गर्नुभएको थियो । त्यसलगत्तै उहाँ इन्सपेन्टर भएर पर्वत जानुभयो । काठमाडौ आएको बेला ‘यो गीत तपाईलाई हुन्छ’ भनेर दिएँ । उहाँले पनि ‘हो रहेछ’ भनेर खल्तीमा हाल्नुभयो । त्यतिखेरै रेकर्ड गर्ने सोच पनि आएन । एकबर्षपछि सरुवा भएर हलचोक आइसकेपछि भन्नुभयो, ‘मैले धून हालेको छु । रेकर्ड गर्ने होइन ?’ त्यसपछि एकजना गायकलाई भनियो । तर उहाँले समय दिन सक्नुभएन । त्यसपछि मैले नै दिपक लिम्बुलाई भनें । उनले गाए । गीत अपेक्षा गरेभन्दा पनि बढी चर्चित भयो । यसमा भएको विचार र कलाको संयोजन म आफैंलाई पन मन परेको छ । मलाई लाग्छ– विचार कोरा रुपमा आयो भने त्यो साहित्य हुँदैन । 

मर्ने कसैलाई रहर हुँदैन
एकदिन छोरीले भनिन्, ‘मृत्युबारे पनि गीत लेख्नु न ।’ त्यही सोचिरहेको थिएँ । एक दिन आयो– मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुदैन । भागेर जाउ कुन ठाउ जाउ । मान्छे नमर्ने सहर हुदैन । 
गाउमा त यसै मर्छन् । उपचारको अभाव छ । अब त्यहाँबाट भागेर सहरमा आउँछन्, तर त्यहाँ पनि मरि नै रहन्छ । त्यसलाई मैले गजलमा उतारें । संगीत पनि सुरेश गैरेले गर्नुभयो । त्यसको अर्को पंक्ति थियो– मरिरहेछु म त घातले नै, मार्ने केवल यहा जहर हुदैन । 
तर त्यसै बेला विकास आचार्यले मलाई ‘नाइ नभन्नु ल–२’ कथाको स्टोरी सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नाइँ नभन्नु ल र रिदमको गीतले एकदमै चल्यो । अब नाइ नभन्नु ल–२को त्योभन्दा जवर्जस्त गीत चाहियो ।’ संगीतकार सोधें, बसन्त सापकोटा हुनुहुदोरहेछ । उहाँलाई मैले भने, ‘सुरेश गैरेले संगीत गरेको एउटा गीत छ, सुन्नुस् त ।’ सुनेपनि उहाँले भन्नुभयो, ‘ल खोजेकै यस्तै हो ।’ उहाँ त्यस गीतमा सुरेशजीकै संगीत राख्न तयार हुनुभयो । 
तर कथाअनुसार यस गीतको दोस्रो पंक्ति मिलेन । किनकि त्यहाँ त कसैले घात गर्दैन । बरु केटो मर्छ । त्यसैले फेरें– हुँदैन मान्छेमात्रै नजाति, दैव पनि रहेछ पक्षपाती ।
अर्को पंक्ति ‘जीवन कहिले यहा चल्दैन उस्तै बत्ति किन दियोमा बल्दैन उस्तै’ लेख्दाचाहिं तिहारको दिपावली सम्झें । त्यसबेला कुनै बत्तिमा तेल हुदैन तैपनि पिलपिल बलिरहेको हुन्छ । कुनैमा भरी तेल हुन्छ , तर निभिसकेको हुन्छ । त्यो विम्बले बडो गज्जब काम गरेको छ । 
गीत रेकर्ड भइसक्दा पनि यो गीत यति धेरै चर्चित होलाझैं लागेको थिएन मलाई चाहिं । तर विकास आचार्यचाहिं आशावादी हुनुहुन्थ्यो । ‘सिनेमामात्रै होइन, नेपाली संगीतमै राम्रो गीतको रुपमा आउँछ’ भन्नुहुन्थ्यो । उहाँकै कुरा सत्य भयो । 
यो गीत गाउने सन्दर्भमा चाहिं बच्चा श्वर चाहिएको थियो । बसन्तजी सापकोटालाई प्रेम परियारले राम्रो गाउँछ भन्ने थाहा रहेछ । प्रेमलाई महेश खड्काजीहरुले ल्याएर पढाउनुभएको छ भन्ने कुरा थाहा भयो । ‘तर कसैलाई लैजान दिदैनन् रे । थुनेर राखेर पढाउछन् रे’ बसन्तजीले भन्नुभयो । मैले भनें, ‘त्यसो भए चिन्ता नगर्नुस् । म ल्याइदिन्छु ।’ म शिक्षा क्षेत्रमै छु । धेरै स्कूलमा म र नेत्र एटम सरको किताब पढाइ हुन्छ भन्ने आँटले भनेको थिएँ । पत्ता लगाउँदै जाँदा युनाइटेड एकेडेमीमा पढ्ने थाहा भयो । मलाई सजिलो भयो । किनभने त्यहाँ डा कविराज वान्तवा हुनुहुन्छ । फिजिक्सको प्रोफेसर । पिएचडी डाक्टर । उहाँ र म १० बर्षसगै पढाएका पनि थियौं । उहाँलाई फोन गरेर भनें, ‘राम्रो छ गीत, यसले उसलाई पनि केही हुन्छ ।’ नभन्दै गर्‍यो पनि । उनले धेरै अवार्ड पनि पाए । वास्तवमा यो गीतलाई यति माथि पुर्‍याउनचाहिं सिनेमाको पनि हात छ ।

यी आँखामा तिमी छौ
यो गीत पनि चलचित्र ‘नाइ नभन्नु ल–२’ कै लागि लेखेको हुँ । वसन्तजीले संगीत गर्नुभयो । प्रेमले नै गाएका छन् । 
बच्चाको लागि सरल भाषामा लेख्नु थियो । र, यस्तो प्रेम देखाउनु थियो । जहाँ केटालाई यस्तो रोग लागेको छ कि उ मर्दैछ । त्यही सन्दर्भमा लेखेको हुँ– यी आँखामा तिमी छांै, यो मनमा तिमी छौं
देखाउन पो त गाह्रो, जीवनमा तिमी छौ । तिमी भएर मात्रै जिन्दगीमा मजा छ, बरु सासले दिन्छ धोका तिमीले दिन्नौ थाहा छ । यसमा केटी धोका पनि दिन्न । बरु सासले धोका दिन्छ । तर उसले यस्तो कुराको संकेत पहिले नै गरेको छ । यस्तो भावलाई अंग्रेजीमा ‘फोर स्याडोयिङ’ भनिन्छ । यो पूर्व संकेत हो त्यो । हिन्दी फिल्ममा पनि यस्तो प्रशस्तै प्रयोग भएको छ । 
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका


Comments