कृष्ण अविरललाई १० आरोप

कृष्ण अविरलको नयाँ उपन्यास ‘रक्तबीच’ केही समयअघि बजारमा आएको छ । ‘रक्तकुण्ड’ उपन्यासबाट निकै चर्चा पाएका अविरलको ‘जल्लादको मन’, ‘लालचुडी’ र ‘बिषपुरुष’ उपन्यास प्रकाशित छन् । एक समय पत्रकारितामा समेत सक्रिय उनी समालोचना लेखनमा क्रियाशील छन् । त्यसो त उनीसँग अझै केही उपन्यासको पाण्डुलिपी तयार छन् । पछिल्लो समय मञ्जरी प्रकाशन गृहमार्फत प्रकाशन व्यवसायमा समेत हात हालेका अविरलबारे साहित्यिक बजारमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । त्यसमध्ये १० आरोप र उनको स्पष्टिकरण :  

१. 
कृष्ण अविरल आफ्नै व्यवहारको कारण मिडियामा प्रतिबन्धित छ । 
हो, कतिपय मिडियामा म प्रतिबन्धितजस्तै भएको छु । तर प्रतिबन्धित हुनुपर्ने मेरो व्यवहार छ भन्नेचाहिं मलाई लाग्दैन । कारण मलाई पनि थाहा छैन । सबैजसो मिडियामा समकालीन साथीहरु छन् । कतिपयमा त मैले पत्रकारितामा ल्याएका मानिसहरु पनि छन् । भेट्दाखेरि हार्दिकतापूर्वक कुराकानी हुन्छ । बसिन्छ, चिया खाइन्छ । तर मिडियामा मेरो समाचार आउने कुरामा चाहिं प्रतिबन्धित नै छु । 

२.
कृष्ण अविरल साहित्यकारलाई तथानाम गाली गर्छ । व्यक्तिगत तवरमै गालीगलौजमा उत्रिन्छ ।
मलाई कसैले इटाले हिर्कायो भने त्यसको जवाफ ढुंगाले दिनेमात्रै हो । कसैले केही नबिगारीकन म चलाउन जान्न । कतिपय मलाई मन नपराउने मान्छेकै पनि सकारात्मक पाटो प्रशंसा गर्दै हिड्ने कुरा हो । यस्तो सन्दर्भमा हरि अधिकारीको प्रसंग निकाल्छन् धेरैले । मैले उहाँको नकारात्मक कुराको चर्चा हाकाहाकी गरेको हुँ । तर उहाँको सकारात्मक कुराको चर्चा पनि गर्दै हिड्ने मान्छे हुँ । एउटै कुरा के हो भने मलाई कसैले इटाले हान्छ भने चुप लागेर बस्नचाहिं सक्दिनँ । मानिसहरुचाहिं मैले ढुंगाले हिर्काएको चर्चा गर्छन्, तर मैले ईटा खाएकोचाहिं देख्दैनन् । समस्या यहीँ छ । पछिल्लो समय त म सकारात्मक सोचमा मात्रै छु । नकारात्मक सोच्ने मान्छेको त संगत पनि गर्दिनँ ।

३.
अविरल धोकेबाज हो । रक्तकुण्ड प्रकाशन गर्ने बेलामा जसलाई प्रकाशन गर्न दिने भनिएको थियो, उसैलाई धोका दिएर पुस्तक प्रकाशन गर्‍यो । 
म धोकेवाज होइन । मलाई त्यतिबेला प्रकाशकहरुले नपत्याएकाचाहिं हुन् । यसको हकमा त म आफैंले धोका खाएको हुँ । म यति पिडित छु कि रक्तकुण्डको प्रसंग निस्किएबित्तिकै खाटा लाग्न लागेको घाउ कोट्याएर नुनखुर्सानी दलिदिएजस्तो हुन्छ । अरु व्यवहारिक हकमा त हुनसक्छ, कही कसैलाई धोका दिइएको पनि । तर जानीजानी दिएको थाहा छैन । 

४.
रक्तकुण्ड दरबारको सुसारेको भनाइ रेकर्ड गरेर खरखरी उतारेको हो । त्यो उपन्यास नै होइन । 
होइन, त्यो पूर्ण रुपमा अनुसन्धानमा आधारित उपन्यास हो । तर त्यसलाई अभिव्यक्त गर्न धाइसुसारे पात्र निर्माण गरियो । पात्र यसरी बनाइयो कि मानिसलाई विस्वस्त बनाइयो । त्यो कलामा म सफल भएको ठान्छु । त्यसको लागि मैले डेढ दुइसय किताब नै पढेको छु । २०/२५ वटा किताबको त सन्दर्भ सूची नै छ । दर्जन बढी मानिस भेटेको छु । त्यसैले यो आरोप मिथ्या हो । 

५.
अविरल माओवादीप्रति निकै पूर्वाग्रही छ । उसको पछिल्लो उपन्यास ‘रक्तबीज’ त्यसैको उदाहरण हो ।
त्यस्तो देखिन सक्छ । तर मैले उपन्यासमा तथ्य लेखेको छु । माओवादीबारे जति सूचना मसम्म आएका छन्, त्यसको १० प्रतिशतमात्रै मैले ‘रक्तबीज’मा हालेको छु । म त अब प्रचण्डमाथि नै अर्को उपन्यास लेख्न खोज्दैछु । उनीहरुले गरेको राम्रो पक्ष छ, उनीहरुले जुन चेतनाको लहर ल्याए, त्यो राम्रो हो । तर नकारात्मक पक्ष धेरै भए । जो जनयुद्ध लडेका, भोगेका र घाइतेहरुको बिचल्ली भइरहेको बेला जसरी नेताहरुमा नवसामन्तवाद मौलाएको छ नि, त्यसको भण्डाफोर गर्ने काम त भएकै छैन । मलाई नपचेको कुराचाहिं त्यो हो । ‘कमाओवादी पार्टीको पोस्टमार्टम’ भन्ने अर्को किताब लेख्ने क्रममा तयार गरेको सामग्रीको दशांस यसमा प्रयोग गरेको हुँ । बाँकी तथ्य त्यसमा आउँछ । म आफ्नो तथ्यमा ढुक्क छु । आफ्नो आत्मालाई नढाटी इमान्दार भएर लेख्दा पनि कसैले पूर्वाग्रही भन्छ भने मेरो भन्नु केही छैन । कसैले पूर्वाग्रही देख्नु उसको दृष्टि हो । कसैलाई देख्नै हुँदैन भनेर लाद्नु त फेरि माओवादी प्रवृत्ति हुन्छ । त्यो म चाहन्न । 

६.
दरबार नभएको भए कृष्ण अविरल लेखक नै हुने थिएन । दरबारको कुरा लेखेरमात्रै चर्चामा आएको हो । मैले दरबारको कुरामात्रै लेखेको छैन । लालचुडी, विषपुरुष र जल्लादको मनलाई पनि पाठकले मन पराएका छन् । मसँगबाट पाठकले मायाप्रेम, शोषण, अत्याचारका कुराभन्दा पनि अनुसन्धानको कुरा खोज्दा रहेछन् । मैले त्यही बाटो अपनाएको हुँ । त्यसै क्रममा दरबारको बिषयमा पनि लेखेको हुँ ।

७.
‘खतरा’ नाम राखेर अविरलले हावादारी लेख्छ । यो किताब बिकाउने मेसोमात्रै हो ।
लालचुडी, जयमाया, डोबका काँडाहरुजस्ता नाम कसरी नाम हुन्छ र ? अरु किताबको नाम पनि मैले बिषयलाई सम्बोधन गर्नेगरी नै राखेको छु । मैले हावादारी लेखेको छ कि छैन भन्ने कुरा त अध्ययन गरेरमात्रै थाहा हुन्छ । मैले कहीं पनि आफ्नो इमान्दारिता गुमाएको छैन । शिर्षकसग नमिल्दो पुस्तक लेखेको छु भन्ने लाग्दैन । किनभने पहिल्यै मैले मेरो सर्कलमा पढ्न दिएको हुन्छु र सान्दर्भिकता जाँचेको हुन्छु । छ महिना त सम्पादनमै समय खर्च गर्छु । तर पनि कसैले त्यस्तो देख्छ भने देख्न पाउँछ । 

८.
पत्रकारितामा खासै सफल नभएको कारण त्यसले निर्माण गरेको छिद्र खोजेर अविरल लेखक भएको हो 
असफल भनूँ भने मैले ल्याएको मान्छेहरु यो देशका सबभन्दा ठूलो सम्पादक छन् । मैले लेखेका समाचारको अहिले पनि चर्चा हुन्छ । त्यसैले सफल या असफल कसरी छुट्याउने ? तर फेरि म सक्रिय पत्रकारितामा आउँछु । अहिले प्रकाशनमा लागेको छु, यसलाई स्थापित गरेपछि फेरि आउँछु । पत्रकारिता चटक्कै छोडेको चाहिं होइन । 

९.
कृष्ण अविरल आफ्नो कृतिबारे बढी नै हल्ला गर्छ
कसरी हल्ला भयो र ? पछिल्लो उपन्यास ‘रक्तबीज’बारे मिडियामा एउटा समीक्षाबाहेक केही आएकै छैन । बिज्ञापन अलि–अलि गरेको छु । ‘प्रयोगशाला’को विज्ञापनमा २० लाख खर्च गरिएको थियो । ‘खुशी’मा १६ लाखको हाराहारी खर्च गरिएको थियो । मेरो त बल्ल डेढ लाख पुगेको छ । यसलाई के हल्ला भन्नु ? 

१०.
अविरलले कसैलाई लेखक नै गन्दैन । त्यसैले उसले समीक्षामा आलोचनामात्रै लेख्छ । 
त्यसो होइन । म सकारात्मक सोच राख्ने मान्छे हुँ । त्यसैले लेखकको राम्रो पक्ष खोजी हिड्छु । पछिल्लो उदाहरण घोस्ट राइटिङ नेपालले आयोजना गरेको सिर्जनशील लेखनको कक्षामा गएर बुझ्दा हुन्छ, त्यहाँ मैले फलाना–फलाना लेखक अब्बल छन् भनेर खुलेर भनेको छु । तर एउटा कुराचाहिं हो कि म राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रै भन्छु । पछाडि भन्दिनँ । अगाडि नै भन्छु । फरक यतिमात्रै हो । हरि अधिकारीको दुई बर्षमा ५ सयप्रति पनि नबिकेको ‘साठी बर्षपछि’ किताबको पनि मैले राम्रा पक्षको पनि चर्चा गरेको छु मैले । त्यसैले कसैले कृष्ण अविरलले कसैलाई लेखक गन्दैन भन्छ भने उसले मलाई चिनेकै छैन । 

प्रस्तुति : कला अनुरागी
साभार : खबरडबली

Comments