'आजकाल लेखकलाई आज किताब लेखेर हिजै छाप्नुपर्छ'

‘किताब कारखाना’को रूपमा ‘नेपालय’को उपस्थिति केवल किताब छाप्नका लागि थिएन, किताबको मर्यादा निर्माण गर्नका लागि थियो । प्रकाशन उद्योगमा ‘नेपालय’ उपस्थित भएको एक दशक भयो । यही दशकमा हो, पाठकले नेपाली किताबको ‘ग्ल्यामर’ अनुभूत गर्न पाए । लेखकले किताबको मर्यादा अनुभूत गर्न सके । त्यसअघि पाठक र लेखक दुवै नेपाली किताबको ‘झुत्रे व्यक्तित्व’ झेल्न बाध्य थिए । कतिलाई किताबसँगको संसर्ग ‘दिगमिगलाग्दो बाध्यता’ बनेको थियो । र, त नेपाली प्रकाशन उद्योगमा ‘नेपालय’को उपस्थितिलाई एउटा कोशेढुंगा मानिन्छ ।

संगीतको व्यवस्थापन गर्न नेपालय 
गायक अमृत गुरुङसँगको संगतपछि किरणकृष्ण श्रेष्ठलाई अनुभूत भयो– नेपाली कला क्षेत्रको उचित व्यवस्थापन भएको छैन । अमृतको प्रभावशाली गायनका लागि उत्तिकै प्रभावकारी व्यवस्थापन खाँचो थियो । त्यसो हुन नसक्दा अमृतले अप्ठ्यारो झेलिरहेका थिए । त्यो अप्ठ्यारोलाई नजिकबाट महसुस गरेपछि किरण राम्रो व्यवस्थापकको खोजीमा लागे । तर भेटेनन् । त्यसपछि आफैंले जिम्मा लिए । त्यसलाई ‘नेपालय’को नाममा संस्थागत गरे । अमृतले स्वतन्त्र भएर गायनमा मात्रै ध्यान केन्द्रित गर्न पाए । उनका गीतको एल्बम निकाल्ने र कार्यक्रम निर्माण तथा व्यवस्थापनको जिम्मा ‘नेपालय’को भयो । जुन अहिलेसम्म पनि जारी छ । यो हो ‘नेपालय’को जन्म कथासार । 

किताबको सम्मान खोज्दै
किताबसँग नेपालयको सम्बन्ध भने ‘पल्पसा क्याफे’ उपन्यासबाट सुरु भएका थियो । उपन्यासकार नारायण वाग्लेसँगको किरणको राम्रो सम्बन्ध त थियो नै । नारायणको चर्चित स्तम्भ ‘कफी गफ’का नियमित पाठक पनि थिए किरण । अर्थात, उनको लेखन क्षमतासँग राम्ररी परिचित र प्रभावित । नारायणले उपन्यास लेखिरहेको पनि उनलाई थाहा थियो । त्यसको ‘कन्टेन्ट’ले परम्परागत उपन्यास लेखनलाई भत्काउँछ भन्ने विश्वास पनि थियो किरणसँग । र, उनलाई नेपालमा किताब प्रकाशन परम्परागत ढर्रा र ढाँचामा बाँधिएको पनि थाहा थियो ।
‘त्यतिबेला नेपाली लेखक र बजारमा दुई किसिमको सोच थियो । पहिलो, किताब सस्तो हुनुपर्छ । दोस्रो, यो सित्तैंमा बाँडिने वस्तु हो । किन्ने भनेको त कोर्सको किताब मात्रै हो । त्यसैले सबैभन्दा बिक्रि हुने कृति मुनामदन थियो, सबैभन्दा बढी छापिएको उपन्यास बसाईं थियो । कारण, ती कोर्समा थिए’, किरणले सम्झिए । 
उनी सम्झन्छन्, त्यतिबेलासम्म नेपाली किताब गर्वसाथ हातमा बोकेर हिँड्न सकिने ‘फिगर’का पनि थिएनन् । त्यसैले किताब जतिसुकै ‘गह्रुँगो’ भए पनि मर्यादा पाउँदैनथ्यो । किरणलाई लाग्थ्यो, किताब त धेरै मर्यादायोग्य वस्तु हो । उनी नारायणको उपन्यासले त्यही मर्यादा पाएको हेर्न चाहन्थे । त्यसैले उनी किताबको मर्यादा गर्नसक्ने प्रकाशकको खोजीमा लागे । तर उही अमृतकालीन कथा दोहोरियो, खोजेजस्तो प्रकाशक भेटेनन् । उनले थाहा पाए कि प्रकाशक सोच्दा रहेछन्– हामीलाई लेखकले पछ्याउनुपर्छ । 
उनलाई त्यो कुरा चित्त बुझेन । उनलाई लाग्यो, ‘सर्जकको पो अघि हुनुपर्ने हो । राम्रो सर्जकलाई प्रकाशकले पछ्याउनुपर्ने हो ।’ तर नेपालमा त राम्रो लेखकले पनि आफ्नो किताब प्रकाशन गर्न प्रकाशकसँग खुसामद् गर्नुपर्ने अवस्था थियो÷छ । त्यो पनि यतिवटा म नै किनिदिन्छु भन्ने सर्तमा । ‘त्यसरी गरिने प्रकाशनलाई इन्डिपेन्डेन्ट पब्लिकेसन भनिँदैन, भेनिटी पब्लिकेसन भनिन्छ । नेपालमा त्यसकै बोलवाला देखियो । त्यसैले केही परिवर्तन गर्न सकिन्छ कि भनेर प्रकाशनमा हात हाल्ने सोच बनाएँ’, किरणले प्रकाशन क्षेत्रमा प्रवेशको आधारकथा सुनाए ।
‘पल्पसा क्याफे’ छाप्ने निर्णयसँगै उनले प्रकाशन बजारको सनातन परम्परासँग पौंठेजोरी खेल्नुपर्यो । पहिलो लफडा त मूल्यबाटै सुरु भयो । त्यतिबेला किताबको औसत मूल्य सय रुपैयाँ थियो । त्यसभन्दा बढीको किताब त कहाँ बिक्छ भनेर अत्याउने धेरै थिए । ‘गुणस्तरीय किताब निकाल्ने हो भने साँढे दुई सयभन्दा घटी मूल्य राख्न सकिने देखिएन’, उनले सम्झे, ‘त्यसपछि हामीले किताब पसलमा सर्भे गर्यौं । अंग्रेजी किताबको मूल्यबारे बुझ्यौं र राम्रो किताब आयो भने त्यती मूल्यमा बेच्न सकिन्छ भन्ने आशाको किरण भेट्यौं ।’

परम्परा तोड्दै
किताबको मूल्यमा आशा पलाएपछि ‘नेपालय’ ‘पल्पसा क्याफे’को ‘क्वालिटी फिगर’ निर्माणमा लाग्यो । ‘कभर’मा अमूर्त चित्र राखिने परम्परा भत्कायो । सिर्जनशील डिजाइनर नवीन जोशीको सोचमा मूर्त तस्बिरलाई कलात्मक तवरले प्रस्तुत गर्यो । छपाइको गुणस्तरमा पनि उत्तिकै ध्यान दिइयो । उनी भन्छन्, ‘किताब लेख्नु त लेखकका लागि बच्चा जन्माएजस्तै हो पीडा, मिहिनेत र समय खर्चका हिसाबले । लेखकले जति त हामीले गर्नै सक्दैनौं, तर जन्मिएको बच्चालाई स्कुलमा राखेर योग्य बनाएझैं बजारमा जान योग्य त बनाउन सक्छौं । हामीले पनि त्यही प्रयत्न गर्यौं ।’, उनले भने । 
त्यही प्रयत्नस्वरूप ‘नेपालय’ले सम्पादन गर्ने चलन सुरु गर्यो । त्यसअघि त लेखकमा पनि ‘मैले लेखेपछि सम्पादन गर्ने को ?’ भन्ने घमण्ड थियो । किरण भन्छन्, ‘तर हामीले सम्पादन भनेको लेखनको प्रक्रिया हो भन्ने बुझाउनु थियो । जसरी डकर्मीले नै घर बनाए पनि इन्जिनियर चाहिन्छ, त्यस्तै हो भन्ने बुझाउनु थियो । त्यसैले पल्पसा क्याफेबाटै सम्पादनको पनि सुरुवात गर्यौं । सम्पादनसँगै पुनर्लेखन गर्ने चलन पनि सुरु भयो ।’
‘नेपालय’को दस वर्षे जीवनमा किरणले कतिपय लेखक पुनर्लेखनको त्रासले भड्किएको पनि अनुभव सँगालेका छन् । तर खुसीको कुरा, यसैबीच किताबको मर्यादाका लागि सम्पादन र पुनर्लेखन आवश्यक छ भन्ने स्थापित भएको छ । अझ अर्को, सम्पादन भनेको भाषा सम्पादनमात्रै हो मानसिकताबाट मुक्त हुँदैछन् लेखकहरू ।
‘नेपालय’ले अर्को प्रयोग गर्यो, ‘पल्पसा क्याफे’को आक्रामक विज्ञापन गरेर, होर्डिङ बोर्डदेखि पत्रिका र विद्युतीय सञ्चारमाध्यमसम्म । जसबाट प्रकाशकको मात्रै होइन, लेखककै टाउको दुख्न थाल्यो । परम्परागत प्रकाशकहरू विज्ञापनको प्रभावले भएको बिक्रि देखेर चकित पर्न थाले भने लेखकहरू पनि मुर्मुरिन थाले । आलोचना सुनिन थाल्यो– ‘किताबलाई चाउचाउ बेचेजस्तो बेच्यो’, ‘किताबको विज्ञापन गर्यो’, ‘किताबलाई बजारिया बनायो’ । आलोचना सुनेर छक्क परेका किरणले केही लेखकलाई भेटेर भने पनि, ‘तपाईंलाई मैले विज्ञापन गरेको विषयमा आलोचना गरेर के फाइदा हुन्छ र ? बरु आफ्नो प्रकाशकलाई गएर मेरो किताबको पनि त्यसरी नै विज्ञापन गर भन्नुभयो भने पो फाइदा होला त !’ 
कुनै पनि वस्तु मूल्य राखेर बजारमा पठाएपछि त्यसको उद्देश्य बिक्रि नै हो । बिक्रि हुन मानिसले त्यसबारे थाहा पाउनुपर्छ । थाहा दिलाउने माध्यम विज्ञापन हो । त्यसैले विज्ञापन गर्दा अनौठो मान्नुपर्ने कुनै कारण देख्दैनन् किरण । ‘नेपालय’ले ‘संस्करण संस्कार’लाई पनि परिवर्तन गर्यो । छापेको जति सकिएपछि अर्को संस्करण निकाल्ने प्रचलन नेपालमा अद्यापि छँदैछ । उनले भने, ‘छापेको सकिएर फेरि छाप्नु त पुनःमुद्रण हो नि । सन्दर्भ फरक परेपछिमात्रै संस्करण हुने हो । नेपालयका किताबमा पुनःमुद्रण हो या संस्करण हो स्पष्ट उल्लेख हुन्छ ।’
आफूहरू नाफाका लागि प्रकाशन उद्योगमा नआएको किरणको दावी छ । उनी भन्छन्, ‘त्यसैकारण अन्तर्राष्ट्रिय मापदण्डका आधारमा काम गर्न नहिच्किचाएनौं । संयोगवश, हामीले पाँच हजार बिक्रि लक्ष्य राखेर छापेको पहिलो किताबले नै नेपाली किताबको बिक्रि इतिहास ब्रेक गर्यो । यसबाट के पनि पुष्टि हुन्छ भने तपाईंले कसैलाई केही दिनुहुन्छ भने फिर्ता पनि आउँछ । नेपाली किताब बजार, लेखक र पाठकलाई हामीले केही दिन खोज्यौं, हामीलाई पनि फिर्ता आयो ।’

राम्रो व्यवस्थापनको प्रयास
आफू किताब प्रकाशक बन्नुलाई संयोग मान्छन् किरण । उचित समयमा उचित काम छनोटको संयोगकै कारण नेपाली प्रकाशनको ‘ट्रेन्ड’ परिवर्तन गर्न आफूले मद्दत गर्न सकेको उनको बुझाइ छ । ‘सिनेमा त पहिलेदेखि नै हेरिन्थ्यो, तर जय नेपाल हलले सिनेमा हेर्ने तरिका बदलिदियो । हामीले पनि पल्पसा क्याफेबाट प्रकाशन सुरु गर्यौं । अहिले प्रकाशन क्षेत्रमा पल्पसा क्याफे अगाडि र पछाडिको अवस्था फरक भयो भन्ने चर्चा सुन्दा खुशी लाग्छ । किताबको गुणस्तर र मूल्यमा परिवर्तन आएको कुराचाहिँ देखिएकै हो ।’ उनले भने । 
त्यसो त ‘किताबी किरो’ भएकै कारण प्रकाशन क्षेत्रमा आएका चाहिँ होइनन् किरण । उनी ‘व्यवस्थापन र बजारीकरण’का विद्यार्थी हुन् । सबै कुराको ‘जनरल मेनेजमेन्ट’ हुन्छ भन्ने मान्छन् । किताब पढ्छन् । तर, त्यही कारण प्रकाशन उद्योगमा आएको हो भन्ने ठान्दैनन् । उदाहरण दिँदै भन्छन्, ‘विनोद चौधरीको उद्योगले उत्पादन गर्ने वाइवाइ चाउचाउ चिकेन फ्लेबरको बढी बिक्रि हुन्छ । तर उहाँ शाकाहारी हो । उहाँलाई त्यसको स्वाद नै थाहा छैन । नेपालमा अन्तराष्ट्रिय बियर भित्र्याउने खेतान गु्रपका मोहनगोपाल खेतान मारबाडी हो, रक्सी खानुहुन्न ।’ उनको भनाइको अर्थ हो– आफैंले ‘जज’ गरेरमात्रै उत्पादन राम्रो हुने होइन । राम्रो ‘जज’ गर्न सक्ने जनशक्तिको व्यवस्थापन हुनु आवश्यक छ । उनी सधैं प्रकाशनमा त्यही कुरामा ध्यान दिन्छन् ।

सित्तैंको संस्कारको समस्या
तुलनात्मक रूपमा ‘नेपालय’का किताब कम प्रकाशित छन् । किरणको दाबि छ– प्रकाशन क्षेत्र पूर्णतः व्यवसायिक बनि नसक्नु नै यसको कारण हो । ‘किताबमा हामी जहिले पनि कम खोट होस् भन्ने चाहन्छौं । त्यसैले कुनै पनि काम समयमा गर्न सकिरहेका छैनौं । यसमा उच्च दक्षता भएको जनशक्ति चाहिन्छ । त्यस्तो जनशक्ति यहाँ कम छ । हामीले काम सुरु गर्ने बेलामा त कागजकै समस्या थियो । अहिले पनि प्रेससँग सम्बन्धित अन्य समस्या त छँदै छन्’, उनले समस्याको पेटारो खोले । 
किताब सित्तैंमा बाँड्ने संस्कार पनि नेपाली प्रकाशन उद्योगको समस्या भएको उनको भोगाइ छ । हस्यौली गर्दै भन्छन्, ‘कालिकास्थानबाट बागबजारसम्म पुग्दा मलाई पाँच जनाले पाँचवटा किताब खल्तीमा राखिदिइसकेको हुन्छ ।’ 
उनले सोधेका छन् धेरैलाई, ‘फलानु किताब पढ्नुभयो ?’
अधिकांशको जवाफ आउँछ, ‘त्यो त मैले अहिलेसम्म पाएको छैन त ।’
‘किताब किन्ने होइन, पाउने वस्तु हो भन्ने मानसिकता अझै छ । त्यसरी फ्रि दिएको किताब पढिँदैन पनि । मैले नै किनेका किताब सबै पढेको छु, तर पाएका किताब केहीमात्रै पढेँ हुँला’ उनी भन्छन्, ‘त्यसैले हामीले पल्पसा क्याफेदेखि नै फ्रि कपी कसैलाई पनि दिएनौं । लेखकलाई पनि हामीले त्यही भन्यौं ।’
अर्कातिर किताब बिक्रि भए पनि पैसा नउठ्ने समस्याले दिक्दार भएको गुनासो उनले वितरकबाट सुनिरहेका हुन्छन् । पारदर्शीता र इमानको कमीका कारण त्यसो भइरहेको किरणको ठहर छ । लेखकदेखि बजारसम्ममा इमान हुने हो भने किताब बजारमा खास समस्या नहुने उनको बुझाइ छ । ‘पाठक त आफूलाई मन पर्ने किताब छ भने जहाँ गएर पनि किनेर ल्याउँछन् । त्यसैले जति समस्या भए पनि हामीले चाहिँ पाठकलाई मन पर्ने किताब उपयुक्त गुणस्तरमा दिनुपर्छ भनेर लागिरहेका छौं’, उनले प्रतिवद्धता व्यक्त गरे । लेखक र पाठक दुवैको कदर गर्नु नै ‘नेपालय’को उद्देश्य हो । 

पुरस्कार र पुस्तकको कनेक्सन
‘नेपालय’का पहिलो प्रकाशन ‘पल्पसा क्याफे’ले नेपाली साहित्यमा गरिमा र चर्चाको हिसाबले अग्रस्थानमा रहेको मदन पुरस्कार प्राप्त गर्यो । त्यसले पनि किताब र ‘नेपालय’लाई चर्चामा ल्याउन सघाउ पुर्यायो । पुरस्कार पाउनुमात्रै ठूलो कुरा होइन, त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने किरणले बुझेका थिए । उनी भन्छन्, ‘मदन पुरस्कार पाउने किताब त धेरै छन् नि । कतिपयको नामसमेत मान्छेले बिर्सिसकेका छन् । त्यो किताब नै भेटियो भने पनि पुरस्कार पाएको हो वा होइन भन्ने थाहा हुँदैन । हामीले किताब र पुरस्कारको सम्बन्ध निर्माण गरिदियौं । हामीले स्ट्याम्प बनाएर मदन पुरस्कार विजेता किताबको परिचय कभरमै दियौं । यसले किताबको बिक्रि त बढ्छ नै, पाठकले पनि पुरस्कारप्राप्त किताब सजिलै चिन्न सक्छन् ।’ 
गरिमामयी पुरस्कारले किताब, लेखक र प्रकाशकलाई स्थापित गर्न मद्दत गर्छ । ‘अहिले धेरै पुरस्कार स्थापना भएका छन् । तिनको प्रक्रिया र गरिमाबारे धेरै थाहा छैन । तर मदन पुरस्कारमा किताब दर्ता गर्ने प्रक्रिया पारदर्शी र स्पष्ट छ । त्यसैले गरिमा पनि निकै छ । पुरस्कार पाइसकेपछि किताबको बिक्रि बढ्ने गरेको छ’, उनले भने । पछिल्लो समय मदन पुरस्कार गुठीले विजेताका साथै प्रतिष्पर्धी किताबको ‘सर्ट लिस्ट’ पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसले अझै पुरस्कारको गरिमा बढाउने उनको धारणा छ । उनी भन्छन्, ‘अहिलेसम्म मदन पुरस्कारप्राप्त कृतिको मात्रै चर्चा हुन्थ्यो । अब त सर्ट लिस्टमा परेका सबै कृतिले चर्चा पाउँछन् । प्रकाशन र लेखन दुवै क्षेत्रका लागि यो खुशीको कुरा हो ।’

वैचारिक तटस्थता
कतिपय वामपन्थी लेखक ‘नेपालय’लाई आरोप लगाउँछन्– यसले वामपन्थी विचारका किताबै छाप्दैन । तर किरणको जवाफ छ, ‘हामीले किताब छाप्ने हो । किताब वामपन्थी वा अरूपन्थी भन्ने हुँदैन । किताब कि राम्रो हुन्छ कि नराम्रो । हामी राम्रा किताब छाप्ने प्रयत्न गर्छौं । त्यसो हुँदा कुन पन्थीका किताब प्रकाशित भए भन्ने आग्रहचाहिँ राख्दैनौं । त्यस्तो हुन्थ्यो भने त  हामी नवीन जिरेलको भीषण दिनहरू किन छाप्थ्यौं र ?’
‘नेपालय’ले दुई प्रकारका किताब प्रकाशन गरिरहेको छ । एउटा, लेखिसकेपछि पाण्डुलिपि बुझाइएका । अर्को, लेख्नुअघि  नै अनुबन्ध भएर लेखिएका । दुवैथरी किताब ‘एडिटोरियल टिम’को सल्लाहमा सम्पादन तथा पुनर्लेखन गरिन्छ । ‘टिम’ले किताबको मौलिकता र त्यसले गर्ने पाठकीय सम्बोधनलाई केन्द्रमा राखेर किताब प्रकाशनको लागि सिफारिस गर्छ । 
किरण भन्छन्, ‘पाण्डुलिपि आएपछि आलोचनात्मक दृष्टिकोणसहित इडिटोरियल टिमले लेखकसँग छलफल गर्छ । आफूले जस्तो लखेको छ, त्यस्तै छाप्ने प्रकाशकलाई राम्रो मान्ने कि त्यसमा आलोचनात्मक दृष्टिसहित अझ कसरी राम्रो बनाउने भन्ने सोचेर अघि बढ्ने प्रकाशक राम्रो मान्ने ? छान्ने जिम्मा लेखकको हो ।’
यदि त्यसैलाई आधार मानेर ‘नेपालय’लाई ‘बायस’ ठान्नुचाहिँ उनी सही ठान्दैनन् । अर्कोचाहिँ लेखकको हतारोका कारण पनि केही किताब छाप्न नसकेको उनको भोगाइ छ । उनी हँसाउँदै भन्छन्, ‘कतिपय लेखक आज किताब लेखिसक्छन् । छाप्नचाहिँ भोलि होइन, हिजै छाप्नुपर्छ । हामी त्यसो गर्न सक्दैनौं ।’ 
त्यसो त नेपाली समाजमा कुनै पनि क्षेत्रमा राजनीतिक रंग खोजिने प्रवृत्तिप्रति उनी जानकार छन् । द्वन्द्वकालमा ‘नेपालय’ अमृत गुरुङ नेतृत्वको ‘नेपथ्य’लाई लिएर ‘शान्ति संगीत यात्रा’मा निस्कियो । त्यतिबेला पनि राजनीतिक रंग खोज्ने र पोत्ने प्रयास भयो । ‘हाम्रो उद्देश्य त राम्रो संगीतलाई राम्ररी प्रस्तुत गर्नुपर्छ भन्ने थियो । युद्धको बेला सबै त्रसित थिए, संगीत सुन्न पाउँदा रमाइलो हुन्छ । जहाँ रमाइलो हुन्छ, त्यहाँ शान्ति हुन्छ भन्ने हाम्रो सोच थियो’, उनले सम्झे । तर प्रतिक्रिया भने फरक–फरक आउँथे । ‘गाउँ¬¬¬–गाउँबाट उठ’ गाउँदा ‘यिनीहरू त वामपन्थी रहेछन्’ भन्थे । ‘रातो र चन्द्र सूर्य’ गाउँदा ‘राजावादी पो रहेछन्’ भन्थे । ‘तर हाम्रो राजनीतिक रूपमा तटस्थ थियौं । यदि कुनै राजनीतिक धारलाई समातेको भए त्यो बेला बाटोमै सकिन्थ्यौं । न राज्यले छोड्थ्यो, न माओवादीले । प्रकाशनमा पनि हाम्रो धारणा उही हो । कसले के भन्छन् भन्ने कुरा त हाम्रो नियन्त्रणमा हुँदैन नि ।’ उनले प्रष्ट पारे । 

राम्रो पुस्तक उद्योगको सपना
देखिनलाई त आक्रामक बजार योजना र बजारमूल्य भएका किताबको छनोट ‘नेपालय’को बलियो पक्ष देखिन्छ । तर किरण ‘एडिटोरियल टिम’लाई नै आफ्नो ‘स्ट्रेन्थ’ मान्छन् । ‘टिम’को उत्कृष्ट कामले नै किताब राम्रो बन्ने र त्यसको प्याकेजिङ, विज्ञापन र बजार व्यवस्थापन गर्न सजिलो हुने गरेको उनले बताए । त्यसैले उनले ‘टिम’लाई पनि उच्च क्षमतासहितको बलियो बनाउने कुरालाई प्राथमिकतामा राखेका छन् । पछिल्लो दुई बर्षदेखि लेखक नारायण वाग्लेले पूर्णकालीन रूपमा ‘टिम’को नेतृत्व गरिरहेका छन् । 
अब भने किताब संख्या बढाउने योजनामा छन् किरण । त्यसैअनुरूप आफ्ना प्रकाशनबाट आएका किताबको अनुवाद गरेर प्रकाशन गर्ने कार्य ‘नेपालय’ले सुरु गरेको छ । त्यसको लागि छुट्टै ‘डेस्क’ छ । त्यसैगरी, बजारमा नपाइने तर पाठकले खोजिरहेका पुराना किताबलाई ‘नेपालय क्लासिक’ शृंखलामा प्रकाशन गर्ने योजना नेपालयले सुरु गरेको छ । त्यसको पहिलो किताबका रूपमा ब्रम्ह शमशेरले ९० सालको भुइँचालोबारे लेखेको किताब प्रकाशन गरिसकेको छ ।
नेपालमा आख्यान लेखकको कमी देखेका छन् किरणले । ‘त्यसैले धेरैजना नयाँ आख्यान लेखकसँग काम भइरहेको छ । उहाँहरूबाट राम्रो काम आउने आशा छ’ उनले भने । उनका अनुसार यस बर्ष ‘नेपालय’का लागि अलि बढी प्रयोगात्मक हुनेछ । ‘यसै बर्षदेखि किताबमाथि छलफल गर्ने कार्यक्रम पनि सुरु गर्दैछौं । प्रकाशनसँगै किताब वार्ताको संस्कृति पनि अगाडि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो । यसले नयाँ पाठक सिर्जना गर्छ ।’
पछिल्लो समय किताबको बिक्रि बढेको छ । प्रकाशन पनि बढेको छन् । किरण कल्पन्छन्– अब प्रकाशन उद्योग सरकारलाई राम्रो कर तिर्ने उद्योग बनोस् । त्यसो हुँदा सरकारसँग सुविधा पनि माग्न सकिन्छ । उनी भन्छन्, ‘यस क्षेत्रका सबै मिलेर काम गर्न सक्ने हो भने यो सम्भव छ । अहिले बार्षिक झण्डै बीस लाख किताब बिक्रि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित गर्नेबित्तिकै प्रकाशन क्षेत्र राम्रो उद्योगको रूपमा स्थापित हुन गाह्रो छैन ।’
उनको सपनालाई सलाम !
܀܀܀
✍ कला अनुरागी
तस्बिर : बिजु महर्जन
साभार : रातोपाटी

Comments