विचारका कवि केशव सिलवाल

सामाजिक सञ्जालको निजी कुराकानीमा प्रविण बानियाँले सोधे– यसपाली कसको बारे लेख्छौ ? मैले फ्याट्ट भनिदिएँ– केशव सिलवाल । 
‘राम्रो !’ प्रविण खुशी भए । म पनि खुशी भएँ । आफूलाई मन पर्ने कविबारे लेख्न पाउनु खुशीको कुरो हुँदै हो । 
केशवसँग काव्यशिविर अभियानका क्रममा अलिक बढी चिनाजानी भएको थियो । काव्यशिविर वैचारिक साहित्यिक अभियान कम र केही व्यक्तिको स्वार्थपूर्तिको औजार बढी बन्न थालेपछि त्यसको औचित्य समाप्तिको घोषणा गर्ने बेला पनि हामी सँगै भयौं । अहिले ‘सिर्जनात्मक क्रमभंग आन्दोलन’को तयारीमा पनि सँगै छौं । 
तर उनीबारे लेख्नचाहिं मलाई सजिलो भएन । झण्डै दुई बर्षदेखि भेटघाट भइरहेपनि उनीबारे धेरै थाहा थिएन । हरेक भेटमा हामी एक–अर्काका कविता सुन्थ्यौं, बस् । न उनी आफ्नाबारे भन्थे, न म नै सोध्थें । दुवै प¥यौं अन्तरमुखी स्वभावका । 
उनलाई मैले उनका दुई कविता संग्रह ‘बर्जित अवशेष’ र ‘धारिला मानिसहरु’मार्फत चिनेको थिएँ । र, ‘ङा चेपाङ’, ‘चिबेचरा’जस्ता सशक्त कवितामार्फत चिनिरहेको थिएँ । तर मलाई कविताबारे होइन, उनीबारे लेख्नु थियो । त्यसैले कुराकानीको लागि समय मिलाउनतिर लागें । 
समय मिलाउन साह्रो प¥यो । ललितपुर, लेले उनको घर । काठमाडौ आइपुग्न झण्डै २५ किलोमिटर पार गर्नुपर्ने । दिनभर उनी व्यस्त, बेलुका ढिलो भइहाल्ने । काठमाडौ नै बस्ने कुरा परिवारलाई मनाउन गाह्रो । बल्ल–बल्ल एकदिन समय मिलाइयो । उनलाई भेट्न र बेलुका सँगै बस्न चाहने कविहरुको सूची लम्बिदै गयो । बस्न त बसियो, तर माहौल अर्कैतिर मोडियो । मेरो काम भएन ।
पछिल्लो साता साहित्यिक कार्यक्रममा आएको मौका छोपेर हतारोबीच उनीसँग कुराकानी गरें । त्यसैले धेरै कुरा छुटेका छन् । 
०००

देशमा ०४६ सालको आन्दोलन हुँदा केशव १६ बर्षे जवान थिए । तर उनले जवान जोश आन्दोलनमा पोख्न पाएनन् । कारण– उनका बुबा सेनामा थिए । 
भर्खर एसएलसी दिएका थिए, बुबाको ‘जंगी’ आदेश काट्न सक्ने सामथ्र्य जुटाइसकेका थिएनन् । उनी सम्झन्छन्, ‘म गाउँमै थिएँ । तर दाइ चाहिं आन्दोलनमा सहभागी हुनुभयो । त्यसबेला दाइसँग खुब रिसाउनुभएको थियो बुबा ।’
पुख्र्यौली पेशा कृषि थियो परिवारको । बुबाले ‘क्रमभंग’ गरेर जागिर खाएका थिए । त्यसले घरको आर्थिक अवस्था केही सुध्रेको थियो । त्यसैकारण उनले ६ कक्षादेखि काठमाडौको विश्व निकेतन माविमा पढ्ने अवसर पाए । 
कुपन्डोलमा डेरी गरी बसेको र वागमतीको किनारैकिनार स्कूल गएको सम्झन्छन् उनी,  ‘त्यतिबेला कुपन्डोलमा वागमतीमाथि एउटा लट्ठा हालेको मान्छे हिड्ने पुल थियो, अर्को गाडी गुड्ने पुल । पछि मान्छे हिड्ने पुल भत्काएर गाडी गुड्ने दुइतर्फी पुल बनाइयो ।’ 
उनको पढाइ राम्रो थियो । कक्षामा पहिलो÷दोस्रो भइरहन्थे । विशिष्ट व्यक्तिको जिवनी पढ्दा खुब रोमाञ्चित हुन्थे । ‘म पनि त्यस्तै हुन पाए हुन्थ्यो’ भन्ने लागिरहन्थ्यो उनलाई । कविता उनलाई खुब मन पथ्र्यो । पढ्दा–पढ्दै कविता कोर्न पनि थाले । 
रेडियो नेपालबाट प्रशारण हुने ‘बाल कार्यक्रम’ नियमित सुन्थे । त्यहाँ कविता आह्वान गरिन्थ्यो । उनले पनि कविता पठाए । छनोट भएछ, उनी कविता भन्न रेडियो नेपाल पुगे । उनलाई खुब रोमाञ्चक लाग्यो त्यो क्षण । त्यसले उनलाई कविता लेख्न झनै उत्प्रेरित ग¥यो । 
त्यसो त उनका दाइ पनि कविता लेख्थे । उनीहरुले दाजुभाइकै संयुक्त ‘कविता–कापी’ बनाएका थिए । जसमा लेखिएका कविता राम्रा अक्षरमा साफी गरिन्थ्यो । त्यसो त उनका बुबा पनि कविता कोर्दारहेछन् । तर बुबाले त्यो कुरा उनीहरुलाई कहिल्यै थाहा दिएनन् । 
कविता लेखिरहे पनि विद्यालय जीवनमा रेडियो नेपालमा बाहेक अन्यत्र प्रस्तुत गर्ने मौका पाएनन् उनले । बरु निबन्ध प्रतियोगितामा भने भाग लिए र पुरस्कार पनि जिते । ‘त्यतिबेला पद्मोदय स्कूलले हरेक बर्ष कमला निबन्ध प्रतियोगिता गथ्र्यो । त्यहाँ स्कूलको तर्फबाट सहभागी भएको थिएँ ।’ उनले सम्झे ।
कविता लेखनले उनलाई अध्ययनतिर तान्यो । ‘पकेट मनी’ जोगाएर साप्ताहिक विमर्श, जनमञ्चजस्ता पत्रिका किनेर पढ्थे स्कूल पढ्रदै । बिबिसी नेपाली सेवा नियमित सुन्थे । राजनीतिक गतिविधिमा चासो राख्थे । बुबाको डरका कारण आन्दोलनमा सहभागी नभएपनि उनलाई ०४६ सालको आन्दोलनको गतिविधिले आकर्षित गथ्र्यो । 
रेडियोबाट सुनेर आन्दोलनमा भएका घटनाबारे उनले दैनिकी लेख्न थालेका थिए । नेपाली कांग्रेसको क्षेत्रपाटीमा सम्मेलन भएको, भारतीय नेता चन्द्रशेखर आएको, रत्नपार्कमा आन्दोलकारी र प्रहरी ढुंगा हानाहान भएको, डाक्टरहरु आन्दोलनमा संलग्न भएको, वकिलले ऐक्यवद्धता जनाएको जस्ता कुरा उनले डायरीमा टिप्थे । त्यसले उनको लेखनलाई तिखारीरह्यो । 
०००

केशव अन्तरमुखी स्वाभावका छन् । हत्तपत्त खुल्न सक्दैनन् । त्यस्तो स्वभाव निर्माण हुनुमा उनको पारिवारिक वातावरणको हात छ । ‘बुबा एकदमै कम बोल्ने । एकदमै कडा स्वभावको । समाजमा कोहीसँग खेल्न जान पाइन्नथ्यो । त्यसैले थोरैमात्रै साथी बने । त्यसैले जोक्स गर्न, कुरा बनाउन नै आउँदैन । नयाँ मान्छेसँग त झन् पटक्कै खुल्न सकिदैन ।’ उनले भने । 
नजिकका साथी नहुँदा उनीभित्र अनेक उकुसमुकुस हुन्थे । त्यसमाथि सानैमा भोग्नुपरेको मातृवियोगको पीडाले उनलाई पछ्याइरहन्थ्यो । त्यसैलाई अभिव्यक्त गर्न उनले डायरीको सहारा लिएका थिए । ०४२ सालमा उनको आमाको निधन भएको थियो । 
डायरीमा उनले आमा नहुँदा भोग्नुपरेको पीडादेखि बुबाले गरेको व्यवहारसम्म उतार्थे । ‘उहाँले आमाको मृत्युपछि अर्को बिबाह गर्नुभएको थियो । उहाँको कडा व्यवहार उस्तै थियो । त्यसैले बुबाप्रति खुब रिस पोख्थें म डायरीमा ।’ उनी सम्झन्छन् । 
त्यसो त आमाको प्रसंगमा उनी अहिले पनि बुबामात्रै होइन, समाजसँग पनि रिसाउँछन् । उनलाई लामो समयसम्म आमा जन्डिसका कारण बित्नुभएको हो भनेर भनियो । तर निकै पछिमात्रै थाहा पाए– आमा बित्नुको कारण जन्डिस थिएन । त्यो दुर्घटना थियो, अझ भनौं हत्या थियो । 
‘त्यसबेला हामी दाजुभाई र तीन बहिनी गरी पाँचजना भइसकेका थियो बुबाआमाको सन्तान । त्यसपछि पनि अर्को सन्तान गर्भमा आएछ । त्यसले आमालाई मानसिक तनाव भएछ । समाज र माइतीबाट पनि यतिका छोराछोरी भइसके, अब फेरि पनि किन पाउँछेस् भन्ने । त्यसपछि आमाले गर्भपतनको उपाय खोज्न थाल्नुभएछ । त्यसैक्रममा एउटा ‘जान्ने’ले सिसा कुटेर खुवाइदिएछ ।’ उनले भावुक हुँदै पछि थाहा पाएको त्यो त्रासद घटना बर्णन गरे, ‘त्यसपछि उहाँ बिरामी हुनुभयो । टेकु अस्पतालमा ल्याइएको थियो । आमाको अनुहार पहेंलो भएको थियो । उहाँलाई बचाउन सकिएन । यतै दाहसंस्कार गरियो । त्यतिबेला म सात कक्षामा पढ्दैथें ।’ उनले भावुक हुँदै सम्झे ।
उनले केही समय भयो त्यो घटना थाहा पाएको मामाबाट । ‘मामाहरुलाई त्यो घटना थाहा भएपनि केही गर्नुभएनछ । भन्नुहुन्छ– त्यतिबेला उजुरी गर्नुपर्नेरहेछ । तर गरिएन, मान्छेको ज्यान गइहाल्यो, उजुरी गरेर के गर्ने भन्ने भयो ।’ उनले भने ।
०००

केशवले एसएलसी परीक्षामा राम्रो नतिजा ल्याए । ७८.२ प्रतिशत आएको थियो । त्यसबेला त्यति प्रतिशत निकै राम्रो मानिन्थ्यो । उनका बुबाले उनलाई डाक्टर बनाउने सपना देखे । विरेन्द्र सैनिक, भक्तपुरमा भर्ना गरिदिए । उनलाई चाहिं सैनिक कलेज भनेपछि त्यति रुची लागेको थिएन । उनको मनमा सैनिक शब्दले कठोरता र बन्धनको अर्थ दिन्थ्यो । तर बुबाले देखेको डाक्टर बनाउने सपना साकार गर्न उनी कलेज गए । बायोलोजी पढ्न थाले । सँगै उनी पनि डाक्टर बन्ने सपना देख्न थाले । 
कलेजमा साहित्यिक लेखन र अध्ययनको भोकलाई झन् उराल्ने ठाउँ भेटे उनले– पुस्तकालय । पुस्तकालयको खुब उपयोग गर्थे । उपन्यास पढ्थे, कविताहरु पढ्थे । कलेज जीवनसँगै उनले किताब संकलन पनि गर्न थालिसकेका थिए । 
‘कति किताब त पुस्तकालयबाट चोरियो पनि । पर्ल एस. बकको उपन्यास गुड अर्थ, पाब्लो नेरुदा र वाल्ट ह्विटम्यानका कविता किताब त्यहींबाट चोरेको थिएँ । चोरेका पुस्तकमध्ये धेरैचाहिं साथीहरुले गायब बनाइदिए ।’ उनी भन्छन् । 
कलेजको होस्टलमा बस्दाताका बाहिर निस्कदा भक्तपुरबाट निस्कने साहित्यिक पत्रिका किनेर पढ्थे । त्यसले उनमा बाहिरी पुस्तक पढ्ने लत त बसायो नै, कविता र डायरी लेख्न पनि सघायो । उनी डायरी निबन्धात्मक पारामा लेख्थे । कुनै शिर्षक दिन्थे र त्यही बिषयमा केन्द्रित भएर लेख्थे । तर त्यसबेलासम्म लेखक बन्छु भन्नेचाहिं उनलाई लागेको थिएन । ‘खासमा लेखक कसरी बनिन्छ भन्ने ज्ञान थिएन । गाउँघरमा त साहित्यिक वातावरण थिएन नै । स्कूल कलेजमा पनि कसैले प्रोत्साहन गरेका थिएनन् ।’ उनी भन्छन् । 
बुबाले चाहिं शंका गरेका थिए । छोरालाई राजनीतिमा चाख छ, साहित्य लेख्छ भन्ने उनले हेक्का राखेका थिए । त्यसैले पढाइमा राम्रो गर्दैन कि भन्ने त्रास बुबाको मुहारमा झल्किरहन्थ्यो । 
उनलाई भने साहित्यमा रस पसिसकेको थियो । त्यतिखेर नकुल सिलवालले ‘बगर’ साहित्यिक पत्रिका प्रकाशन गर्थे । त्यसमा कविता दिन भनेर उनी साथीलाई लिएर कार्यालय खोज्न गएकोे घटना अहिले पनि उनलाई रोमाञ्चक लाग्छ । ‘तर बानेश्वर फाँट पुरै घुमिसक्दा पनि कार्यालय भेटिएन । पछि पोस्ट बक्स ठेगानामा कविता पठाए । प्रकाशित पनि भयो ।’ उनले सम्झे । 
यो कुरा थियो ०४९ सालको । आफ्नो कविता छापिदा उनी कम्ता खुशी भएनन् । त्यो खुशी बुबासँग बाँड्न चाहे । तर बुबा त्यसमा खुशी देखिएनन् । त्यसले उनलाई नमीठो अनुभूति गरायो । 
अर्कातिर, बुबाले आशंका गरेजस्तै भयो । उनले आइएस्सीमा सोचेजस्तो परिणाम ल्याउन सकेनन् । फस्र्ट डिभिजन त आएको थियो, तर अंग्रेजीमा कम अंक आएपछि डाक्टर बन्ने बाटोमा ‘ब्रेक’ लाग्यो । त्यसले उनलाई पनि चोट प¥यो । 
‘म निकै निराश भएँ । बुबाले राम्रो पढ्दैन कि भन्ने आशंका गरे पनि मैले मेहनत गरेको थिएँ ।’ उनी सम्झन्छन् । 
डाक्टर बन्ने सपनामा ‘ब्रेक’ लागेपनि उनलाई सेनामा जान दवाव आयो । बुबाले पनि कर गरे । त्यतिबेलासम्म दाइ ‘सेकेण्ड लप्टन’ भइसकेका थिए । तर उनमा भने स्वतन्त्रताको भोक जागिसकेको थियो । उनले अड्डी कसे, ‘म जस्तोसुकै दुःख गर्न तयार छु । तर सेनामा जान्नँ ।’
उनको निर्णयले बुबालाई दुःखी बनाएको थियो । 
अब के गर्ने भन्नेचाहिं उनलाई पनि थाहा थिएन । केही समय घरमै बसेपछि त्रिचन्द्र कलेजमा गणित र नेपाली बिषय लिएर भर्ना भए । तर कलेज गएनन् । 
उनले केही समय लेख्न पनि सकेनन् । के गर्ने के भन्ने छटपटी भइरह्यो । ती दिनहरुमा नारायण गोपालका गीत सुनेर घोत्लिरहन्थे उनी । केही समयपछि एपेक्स स्कूलमा पढाउन थाले । 
‘त्यसैताका बुबाले लेले बजारमा ठूलो घर बनाउनुभयो । त्यो घरलाई कसरी उपयोग गर्ने भन्ने सोच्दै जाँदा बोर्डिङ स्कूल खोल्ने निर्णयमा पुगें । किनकि बोर्डिङमा पढाएको अनुभव पनि थियो ।’ उनले भने ।  
त्यसपछि उनको जीवन शैक्षिक क्षेत्रतिर फर्कियो । शैक्षिक क्षेत्रमा फर्किएसँगै फेरि उनको साहित्य लेखन बौरियो । फेरि कविता र डायरी लेख्न थाले । पुस्तक संकलन बढाउन थाले । सानोतिनो लाइब्रेरी बनिसकेको थियो उनको । 
‘त्यसैबेला गाउँको स्वास्थ्य केन्द्रमा इन्टर्नसिपको लागि कर्णाली क्षेत्रकी एक दिदी आइन् कुन्ति तिवारी । तिनी अध्ययनमा निकै रुची राख्थिन् । मसँग चिनजान भएपछि घरमा आउजाउ हुन थाल्यो ।’ उनी सम्झन्छन्, ‘उनले मसँग किताब लिएर पढ्थिन् । त्यस्तै मैले लेखेका कविता र डायरी पनि पढ्थिन् । त्यो पढिसकेपछि उनले मलाई कविता प्रकाशित गर्न निकै घच्घच्याइन् ।’
तर प्रकाशित हुने बाटो उनलाई थाहा थिएन । लेख्न भने छाडेनन् । 
०००

स्कूल सञ्चालन गरिसकेपछि पनि उनलाई बाहिर केही गर्नुपर्छ भन्ने लागिरह्यो । त्यही हुटहुटीले उनलाई पत्रकारितातिर डो¥यायो । मिडिया प्वाइन्टमा १० महिने पत्रकारिता तालिम लिए । इन्टर्नसीपका क्रममा नेपाल समाचारपत्रमा डेढ महिना काम गर्ने मौका पाए । त्यसबेला उनले निकै मेहनत गरे । समाचारपत्रमा उनको बाइलाइनमा ‘एंकर न्यूज’ छापिन्थ्यो । 
इन्टर्नसीपमा राम्रो गरेकै कारण केही समयपछि समचारपत्रकै सहप्रकाशन ‘साधना’ मासिकमा सह सम्पादक पदमा रहेर काम गर्न उनलाई बोलाइयो । त्यहाँ उनले व्याकुल पाठक, लक्ष्मण अघिकारीलगायतका पत्रकारसँग काम गर्ने अवसर पाए । 
त्यसबेला उनले काठमाडौको रात्रीजीवनबारे फिचर स्टोरी लेखेका थिए । जुन साधनामा कभर स्टोरीको रुपमा छापियो । उनी भन्छन्, ‘त्यसअघि रात्रीजीवनबारे पत्रिकामा लेखेको मलाई थाहा थिएन । नयाँ काम गर्दा मलाई आनन्द आएको लागेको थियो ।’
तर पत्रकारितामा सक्रिय हुँदा स्कूलमा समय दिएन भन्ने गुनासो आउन थाल्यो । त्यसैले पत्रकारितालाई निरन्तरता दिन सकेनन् । झण्डै आठ महिना काम गरेपछि उनले साधना छोडे । तर पत्रकारिताको भोक मरेको थिएन, उनले जिल्लामै ‘ललित आवाज’ भन्ने पत्रिका दर्ता गरेर प्रकाशन गर्न थाले । त्यो पनि चार अंकभन्दा बढी निकाल्न सकेनन् । पछि फेरि केही अंक निस्केर अहिले बन्द छ ।
‘पत्रकारितामा इन्जोय गरेको थिएँ, तर स्कूलको कारण छोड्नुप¥यो । दुःख पनि लाग्छ ।’ उनले भने । 
०००

०५४ सालमा काठमाडौ बानेश्वरकी मिनुसँग विवाह भयो । उनको विवाह परम्परागत मागीविबाह हो । तर कुरा छिनेर विवाह नगरुन्जेलको झण्डै डेढ हप्ता अवधीमा उनले मिनुलाई प्रेमपत्र लेखे । साथै घुम्न गए । त्यसअघि प्रेममा डुब्न नपाएको क्षतिपूर्ति गरेका थिए उनले । त्यसो त उनी यौवनकालमा कसैप्रति आकर्षित नै नभएका भने होइनन् । इमान्दार, सरल र लजालु । यस्तो युवकलाई पछ्याउने युवती कलेज जीवनमा नभएका होइनन् । उनलाई पनि कोही न कोही त मन परेको थियो । तर त्यसलाई अभिव्यक्त गर्न सक्दैनथे उनी । अन्तरमुखी स्वभावले उनलाई आफ्नै मनको घेरामा सिमित गरिदिएको थियो । कतिपटक प्रेमपत्र लेख्थे, तर दिन सक्दैनथे । 
त्रिचन्द्रमा भर्ना भएर एपेक्स स्कूलमा पढाउँदै गर्दा पद्मकन्या कलेज पढ्ने एक युवतीले उनको मन हरिन् । उनले तिनलाई निकै पछ्याए । कतिसम्म भने तिनलाई देख्न र भेट्न तिनी चढेको बसमा चढ्थे । तर उनले आफ्नो कुरा राख्न सकेनन् । तिनले पनि उनको मनोभावना बुझ्न सकिनन् । एक बर्षसम्म पछ्याए उनलाई । तर केही प्रगति होलाजस्तो नलागेपछि पछ्याउन छोडिदिए । 
खासमा उनलाई आफ्नो प्रेम विवाह होस् भन्ने लाग्थ्यो । तर आफ्नै स्वभावका कारण सम्भव नहुने देखेपछि उनले त्यो बाटो नै छोडिदिए । बरु, त्यसको क्षतिपूर्ति उनले कुरा छिनेर विवाहअघि गरे । त्यसबेला उनले लेखेर दिएको चिठी अहिले पनि सुरक्षित छ । ‘कस्तो राम्रो लेखेको भन्ने प्रतिक्रिया पाएको थिएँ ।’ सम्झदै गर्दा उनको अनुहारमा लज्जा सर्सरायो । 
०००

विवाहपछिका केही बर्ष उनको लेखनले विश्राम लियो । विद्यालयलाई स्थापित गर्ने र ‘अपग्रेडिङ’ गर्ने कार्यमा दम्पति नै सक्रिय भए । तर त्यो अवधिमा पनि उनलाई कुन्ति दिदीको चिठीले झस्काइरहन्थ्यो । तिनी इन्टर्नसीप सकेर फर्किएपछि पनि केशवलाई चिठी लेखिरहन्थिन् र भन्थिन्, ‘भाइ, तपाईका रचना बाहिर ल्याउनुपर्छ ।’
त्यही अभिप्रेरणाबाट उनले चंकी श्रेष्ठलाई खोजे, जो अहिले अभय श्रेष्ठका नामले चिनिन्छन् । कविता, गजल र कथा लेखनमा सक्रिय चंकीसँग उनको समाचारपत्रमा इन्टर्नसीप गर्दाताका नै केही भेट भइसकेको थियो । त्यसैले समाचारपत्रकै राजेन्द्र बस्नेतसँग सम्पर्क नम्बर लिएर उनले चंकीलाई फोन गरे । चंकी संलग्न भक्तपुर साहित्य प्रतिष्ठानले गर्ने कार्यक्रममा निम्ता पाए । कार्यक्रममा गएर कविता सुनाए । त्यसपछि साहित्यिक संगत बढ्यो । अरु कार्यक्रमा पनि सहभागी हुने मौका पाए । आरएम डंगोलसँग चिनजान भयो । शब्द संयोजनमा कविता छापियो । नागार्जुन साहित्य प्रतिष्ठानको कार्यक्रममा जान थाले । त्यही भेट भयो कवि विनोदविक्रम केसीसँग । 
दोस्रो जनआन्दोलनको पूर्वसन्ध्यामा आइपुग्दा उनको साहित्यिक संगत फराकिलो भइसकेको थियो । त्यसैबेला नेपाली कविता डट कमले उनको गाउँ लेलेमा गणतान्त्रिक कविता वाचन कार्यक्रम गर्ने भयो । त्यहाँ त्यसबेलाका सक्रिय कवि भेला भए । त्यहाँ वाचन भएका गणतन्त्रपक्षधर कविता समावेश गरेर ‘असहमतिका श्वरहरु’ नामको संग्रह उनको सम्पादनमा प्रकाशित भयो । त्यसले उनलाई काठमाडौको साहित्यिक माहौलमा राम्ररी जमाउन सघाउ पु¥यायो । जनआन्दोलनमा उनी कवितासहित सडकमा उत्रिए । ०४६ सालको आन्दोलनमा सहभागी हुन नपाएको क्षतिपूर्ति उनले ०६२÷६३ को आन्दोलनमा गरे । 
संयोग, ०४६को आन्दोलनमा संलग्न उनका दाइचाहिं त्यसबेला सेनामा थिए । 
०००

०६३ सालको मंसिरमा उनको पहिलो कविता संग्रह ‘बर्जित अवशेष’ प्रकाशित भयो । त्यसको उनले उत्साहजनक पाठक प्रतिक्रिया पाए । 
उनको संगत वामपन्थी साहित्यकारसँग बढी थियो । त्यसो त राजनीतिक पार्टीमा संलग्न हुने चाहना पनि उनको थियो । त्यसैले आन्दोलनताका कहिले कांग्रेस त कहिले एमालेका कार्यक्रममा गइरहन्थे । नागार्जुन साहित्य प्रतिष्ठानमा जोडिएपछि चाहिं उनलाई एमाले पनि ठाने मानिसहरुले । तर उनी कुनै पनि पार्टीमा संलग्न भइहालेका थिएनन् । तर जनआन्दोलनपछि पार्टी संलग्नताको योजना बनाए । 
‘जनआन्दोलनमा सक्रिय साहित्यकारले ‘स्रष्टा ३०’ गठन गरे । जसमा म पनि थिएँ । त्यसमा माओवादीका राजन बम पनि थिए । मलाई नयाँ पार्टीप्रति आकर्षण थियो । त्यसैले मैले आफ्नो कविता संग्रह र सम्पादन गरको कृति उनलाई दिएँ । उनले माओवादी सांस्कृतिक फाँट हेरिरहेका इश्वरचन्द्र ज्ञवालीलाई दिएछन् । त्यसपछि म माओवादीको सम्पर्कमा पुगें । माओवादीनिकट अखिल नेपाल लेखक संघ, नेवाः राज्यको संस्थापक कोषध्यक्ष बनें ।’ उनले राजनीतिक संलग्नताको कथा सुनाए । 
त्यसपछि उनी संविधानसभाको पहिलो चुनावमा माओवादीलाई भोट माग्न हिंडे । तर दोस्रो संविधासभाको चुनावसम्म आइपुग्दा माओवादी पार्टी फुटिसकेको थियो । उनी ड्यास माओवादीको पक्षमा उभिए । 
जनताले आशा गरेको पार्टी फुट्नुलाई उनी निराशाजनक स्थिति मान्छन् । र, एउटा कवि हुनुको नाताले परिवर्तनको पक्षधरलाई सघाउनु आफ्नो कर्तव्य ठान्छन् । भन्छन्, ‘यदि कविता लेख्दैनथें भने म एकीकृत माओवादीमै बस्थें होला । राजनीतिक फाइदा त्यतै बढी हुन्थ्यो होला । तर म समाजमा केही न केही परिवर्तन हुनुपर्छ भन्ने कुरालाई सधैं अगाडि राख्छु । कवितामा पनि मेरो भन्ने कुरा त्यही हो । परिवर्तन हुनैपर्छ । परिवर्तन चुप लागेर हुँदैन । त्यसैले बैद्यको नेतृत्वमा बनेको पार्टीले जुन आवाज उठाइरहेको छ, त्यसको पक्षपाती नै हो म । अब चाहिं म स्वार्थी भएँ कि जस्तो लाग्छ बरु । अहिले विप्लवले केही गर्छु भनेर गइरहेका छन्, त्यताचाहिं जान सकेको छैन । तर सत्ताको विरोधमा औंला ठड्याइरहने पक्ष समाजमा चाहिन्छ, त्यसपछिमात्रै परिवर्तन हुन्छ । म त्यसैको पक्षधर हुँ । आन्दोलन रोक्नु हुन्न भन्ने मेरो मान्यता हो ।’ 
राजनीतिले कविता लेखनलाई सघाउँछ भन्ने मान्यता छ केशवको । साहित्यकार पार्टीमा लाग्नुहुँदैन भन्ने कुराको त विरोधी नै हुन् । ‘कविता चाहिं समाज परिवर्तनको लागि लेख्ने तर समाज परिवर्तनको बाहक आन्दोलनमा सरिक नहुने कुराको म विरोधी हुँ । त्यसैले म त रातो टिसर्ट लाएर झण्डा बोकेर सडकमा हिडेको छु । कविले कवितामात्रै लेखेर हुँदैन परेको बेला सशरीर आन्दोलनमा पनि लाग्न सक्नुपर्छ । म पनि कवि भएरै आन्दोलनमा आएको हुँ ।’ उनले भने ।
त्यसो भनेर उनी अहिलेका वामपन्थी पार्टीले बनाएको साँघुरो घेराभित्र बाँधिन चाहने कवि भने होइनन् । ‘म वैचारिक रुपमा प्रतिबद्ध छु । यसको मतलब जसरी अहिले पार्टीसम्बद्ध लेखक र तिनको संगठनले एउटा घेरा बनाएको छ । त्यसको पनि म विरोधी हुँ । हामीले त आफ्नो पार्टीको लागिमात्रै लेख्ने होइन नि । सम्पूर्ण नेपालीको लागि लेख्ने हो । त्यसैले त्यसरी घेरामा सिमित हुनुहुन्न ।’ उनी भन्छन् । 
त्यसैले उनको संगतको दायरा पनि फराकिलो छ । तर फराकिलो भनेर आफ्नो विचारको पूर्णविरोधीको कित्तामा चाहिं रम्न सक्दैनन् । परिवर्तन पक्षधर नै उनको दायरामा पर्छन् । 
अहिलेसम्म पार्टीको दवावमा लेख्नुपरेको अनुभव पनि छैन उनीसँग । त्यसैले लेखकको चिन्तन पनि यसमा जिम्मेवार हुने ठहर छ उनको । 
०००

उनी काँठ क्षेत्रमा बस्छन् । त्यसलाई उनले कवितामा ‘अर्को रोल्पा’ भनेका छन् । जुन राजधानीनजिकै भएर पनि केन्द्रको नजरमा परेको छैन । त्यसले केन्द्रमा उपस्थिति जनाउन ठूलो संघर्ष गर्नुपर्छ । त्यही संघर्षमा उनी होमिएका छन् । उनी भन्छन्, ‘म काठमाडौमा एकछिन बढी समय बसेर चिया खान पनि सक्दिनँ । या, भृकुटीमण्डमा भेटेर चिया खाउँ त भन्दा आइहाल्न सक्दिनँ । कार्यक्रममै पनि घरमा केही ढिलो भयो भने आधा कार्यक्रम छुटिसकेको हुन्छ । काँठमा भएको कारण म छुट्छु कि भन्ने त्रास लागिरहन्छ । नछुट्न प्रयत्न गरिरहन्छु । मेरो संघर्ष त्यसमा पनि छ ।’ 
कतिपय बेलामा उनको यो संघर्ष घरपरिवारले पनि बुझ्दैनन् । उनी भन्छन्, ‘मज्जा लागेर हिडिरहेको छ भन्ने सोच्छन् । तर मेरो यो अस्थित्वका लागि संघर्ष हो । कुनै साहित्यिक माहौल नभएको गाउँबाट उछिट्टिएर आएको मान्छेले साहित्यको केन्द्रमा उपस्थिति जनाउनु कम चुनौतिपूर्ण छैन ।’
यही संघर्षका बीचमा उनले आफ्नो स्पष्ट छवि बनाएका छन् । त्यसमा केही राम्रा साथीको पनि ठूलो भूमिका छ । उनी भन्छन्, ‘साहित्य लेख्नका लागि ठूला साहित्यकारको संगत हुनु राम्रो हो । तर त्यो नै सबैकुराचाहिं होइन । केही राम्रा साथीचाहिं अनिवार्य छ । उनीहरुले सिर्जनालाई राम्रो बनाउन मद्दत गर्छन् ।’
त्यस सन्दर्भमा कवि अमोघ काफ्ले उनले लिने पहिलो नाम हो । कवि अभय श्रेष्ठ र विनोदविक्रम केसी पनि सँगै आउँछन् । त्यसो त अघिल्लो पुस्ताका लेखक कवि विमल निभा, श्यामललगायतको उत्प्रेरणा पनि उनले पाएकै छन् । 
०००

केशव कवितामा देशलाई केन्द्रमा राखेर लेख्छन् । देश भनेको भूगोल होइन, त्यहाँका आममान्छे हुन् । ती आम मान्छेका पीडा र दुःख उनको कविताको प्रमुख बिषय हुन्छन् । ‘तिनका दुःखले भावुक बनाउँछ मलाई । श्रम गर्ने मान्छेप्रति श्रद्धा जाग्छ । तर तिनले मूल्य नपाएको र जसले श्रम गर्छ, उसकै जीवन दुरुह भएको देख्दा असाध्यै पीडा हुन्छ । त्यसको कारण खोज्दै जाँदा सत्ताको दोष भेट्छु । त्यही कुरालाई म कवितामा ल्याउन खोज्छु । त्यसैले म कविता लेखनमा विचारलाई भन्दा समाज अध्ययनलाई प्राथमिकता दिन्छु ।’ उनी भन्छन् । 
उनको भनाइमा वैचारिक कुरालेमात्रै कविता बन्दैन । समाजको निरन्तर अध्ययन आवश्यक छ । भन्छन्, ‘समाजमा के भइरहेको छ, त्यो अध्ययन गरिरहेको हुन्छु मचाहिं । त्यो समाजको अन्तरविरोधलाई हल गर्न विचारको आवश्यक पर्ने हो । त्यसैले समाज पहिलो, विचार दोस्रो होजस्तो लाग्छ मलाई ।’ 
त्यही कारण हुनुपर्छ, कवि विनोदविक्रमको भाषामा जथाभावी ‘कवितागिरी’ गर्नबाट बचेका छन् उनी । चिजहरुलाई हेर्ने नयाँ–नयाँ दृष्टिकोण दिन सक्छन् । आफ्नै जमिनमा रहेर कसरी काव्यिक उडान भर्नुपर्छ सिकाउन सक्षम छन् । 
केशवको त्यही कविता विशेषतालाई कवि अभय श्रेष्ठले शब्दको महासम्मेलनविना नै समयको शक्तिशाली मानवीय दस्तावेजलाई कविताको अनुपम इन्द्रेणी बनाउने भनेका छन् । कवि अमोघ काफ्लेले चिनेको वैयक्तिक अभिव्यक्तिमार्फत सामूहिक मुक्तिको भावना प्रेषित गर्ने क्रान्तिकारी कवि केशवको विचारको धार पनि कुनै अर्थमा कमजोर छैन । किनकि उनी समाजलाई सही मार्गनिर्देशन गर्ने विचारको धार लगाइरहन्छन् कवितामा । त्यसैले, केशवलाई कवि विमल निभा विचारका कवि मान्छन् । र, सबैले मानेको पनि त्यही हो । त्यही यात्रामा उनी निरन्तर छन् । 
अन्तिममा– एउटा ‘सेक्रेट’ । कुनैदिन तपाईले केशव सिलवालका निबन्ध पनि पढ्न पाउनुहुनेछ । विद्यार्थीकालदेखि डायरीमा निबन्ध लेख्ने उनलाई कवितामा जत्तिकै खरो उत्रिन सक्छु कि सक्दिनँ भन्ने जिम्मेवारपूर्ण भयले थिचिराखेको छ । तर यो भयग्रस्त समयको क्षतिपूर्ति गर्ने गरी उनको निबन्ध आउने ‘खतरा’ बढ्दैछ । उनी आफ्नै लवजमा मुस्कुराउँदै भन्छन्, ‘निबन्ध त कुनै न कुनै समयमा नलेखी हुँदैन भन्ने हो ।’ 
܀܀܀
✍ कला अनुरागी
साभार : इ-कविता





Comments