काव्यशिविर डिस्कोर्स

साउन ०७० देखि सुरु भएको ‘काव्यशिविर’ले ७ चैतदेखि अभियानको रुप लियो । विश्व कविता दिवसका सन्दर्भमा १५ अभियन्ताले अभियान घोषणा गरे । यसले मोफसल र काठमाडौमा गरेका कार्यक्रमले साहित्यिक वृत्तमा चर्चा पाए । जसले ‘काव्यशिविर’बारे जवर्जस्त जिज्ञासा र शंका पैदा गरेका छन् । सबै जिज्ञासा र शंकाको निवारण एकैचोटी हुँदैनन् । र, कति जिज्ञासा त व्यवहारको कसीले मात्रै निवारण हुनेछन् । तथापि काव्यशिविरले काव्यलाई केन्द्रमा राखेर केही बहस सुरु गरेको छ । ती बहसको बिषय जति स्पष्ट हुन्छ, त्यति नै काव्यशिविरको नियत स्पष्ट हुन्छ । 
निरज भट्टराईकृत कविता संग्रह ‘धुवाँको धागो’को भूमिकामा साहित्यकार अभि सुवेदीले किन आफूले पछिल्लो समय कविताको समीक्षा लेख्न छाडेँ भन्ने उल्लेख गरेका छन् । अहिलेका कवितामा देखिएको प्रवृत्ति इंगित गर्दै उनले लेखेका छन्, ‘कविताहरुमा प्रायश: पुनरावृत्ति हुन्छन्, जसले गर्दा त्यहाँ खासै आविस्कार हुँदैन । अनि मलाई लाग्यो त्यो आविस्कार कमै भेटिने कविताहरुको संसारमा समीक्षा लेखिरहनुको के अर्थ छ ?’ हामीलाई लाग्छ, यो गम्भीर बहसको बिषय हो । 
राजनीतिक र सामाजिक परिवर्तनको बाटो हुृँदै नेपाल नयाँ समयमा आइपुगेको छ । नयाँ समयले नयाँ अन्तर्वस्तु र शैलीको माग गर्छ, आविस्कारको माग गर्छ । यस्तो बेला आविस्कारका सट्टा पुनरावृत्ति बढी देखिनु काव्यलेखनमा संकटको सूचक हो । नत्र पाठक भड्किने खतरा त हुन्छ नै, कविताको शक्ति र उपादेयतामाथि नै प्रश्न उठ्न सक्छ । किनकि यो विकल्पको युग पनि हो । 
काव्यशिविरले कवितामा यही आविस्कारलाई केन्द्रमा सिर्जनात्मक क्रमभंगको अवधारणा अघि सारेको हो । हाम्रो निष्कर्ष हो– कवितामा भूपी, रिमालकालीन शैली र अन्तर्वस्तुको पुनरावृत्ति अब हुनुहुन्न । नयाँ आविस्कार गर्नु आवश्यक छ । पुरानै बाटो हिडेर, पुरानै नियममा अडिएर आविस्कार हुदैन । पुराना बाटोलाई आधार बनाएर नयाँ बाटो खोज्नुपर्छ । यो सिद्धान्तमा होइन, व्यवहारमा देखिनु आवश्यक छ । सिर्जनामा देखिनु आवश्यक छ । केही कवि यसमा सचेत देखिएका छन्, त्यो खुशीको कुरा हो । तर अवरोधक चिन्तन र व्यवहार पनि उत्तिकै सक्रिय छ ।
आख्यानकार राजन मुकारुङलाई एक नयाँ प्रतिभाले हाइकू लेखेर देखाइन् । उनले त्यसमा एउटा शब्द काटिदिए । उनीले भनिन्, ‘यो त हाइकू नै भएन नि सर ।’ नयाँ आविस्कारतिर उन्मुख हुनुपर्ने प्रतिभाशाली पुस्ता कतातिर बरालिदैछ, नियमको रुढी कति गहिरो छ भन्ने एउटा उदाहरण हो यो । उनीलाई राजनको जवाफ थियो, ‘भन्न खोजेको कुरा यतिमै प्रभावकारी हुन्छ भने किन अक्षर गन्नतिर लाग्नुहुन्छ ?’ काव्यशिविर उनीसँग पूरै सहमत छ । यसपछाडिका अप्राकृतिक कारणबारे त कवि बैरागी काइलाले भनेकै छन्, ‘अहिले हाम्रो मुलुकमा जसले मूल बिषयलाई सम्बोधन गर्न चाहदैन, साधारणीकरण गर्न खोज्छ । तिनले कि त छन्दमा मात्रै कविता लेख्न थाले कि त गजलमा गए ।’
त्यतिमात्रै होइन, यहाँ एउटा प्रतिभाशाली हिस्सा प्रगतिशील लेख्ने कि लोकतान्त्रिक भन्ने कित्ताकाटमा रुमलिएको छ । अर्को हिस्सा आफ्नो पार्टी, धार वा गुटको लेखनमात्रै राम्रो हो भन्ने मतिभ्रममा अल्झिएको छ । कविता लेखन बायाँ हातको खेल वा सहजवृत्ति सम्झेर हुर्मत लिने हिस्सा पनि अस्तित्वमा छ । यसरी विभाजित भएको अधिकांश हिस्साको आ–आफ्नै चिन्ता छ, राम्रो र शक्तिशाली कविताको चिन्ता देखिदैन । 
नेपालको भूगोल र संस्कृति विविधतापूर्ण छ । यही विविधताबीच मौलिकता छ । फरक–फरक पहिचान छ । अहिलेको लेखकले यसलाई सम्बोधन नगरी समयको आवाजलाई अभिलेखन गर्न सक्दैन । त्यसैले यहाँका हरेक भाषा, जाति, संस्कृति आदिको मौलिकता र पहिचानतिर कविको पनि ध्यान जान जरुरी छ । सुवेदीले भनेजस्तो आविस्कारको सम्भावना पनि त्यही छ, काइलाले भनेजस्तो मूल बिषय पनि त्यही हो । 
त्यसो त मौलिकताको नाममा पूरै रुढीवादी संस्कृतिको बचाउमा उभिने र आधुनिकताको नाममा पूरै पश्चिमी संस्कृति अन्धानुकरण गर्ने प्रवृत्ति अहिलेको काव्यलेखनका चुनौति हुन् । भूमण्डलीकरण, प्रविधि विकास, धर्म परिवर्तन आदिको तीब्रताले यस्ता चुनौतिलाई अझ बलियो बनाएका छन् । यसबेला लेखकको भूमिका अझै महत्वपूर्ण छ । त्यो भन्दा बढी महत्वपूर्ण छ कविको सांस्कृतिक सचेतता । 
कवि विनोदविक्रम केसी पाण्डुलिपी मासिकको तेस्रो अंकमा भनेका छन्, ‘मेरो विस्वास छ– कविता सामूहिक प्रयत्न हो । देवकोटा एकजनाले वा रिमाल एकजनाले वा भूपि एक जनाले वा विमल निभा एकजनाले वा श्यमल एकजनाले वा श्रवण मुकारुङ एकजनाले राम्रो कविता लेख्दैमा हुनेवाला केही छैन । तर सबैको कविता जम्मा गरेर एउटा सामूहिक अश्त्र बनाइयो भने त्यसले जीवनका पक्षमा केही बिशाल काम गर्छ ।’ हाम्रो विस्वास पनि यही हो । यी सबै प्रवृत्तिका विरुद्ध लड्न र काव्यको शक्ति स्थापित गर्न सामूहिक प्रयत्न जरुरी छ । 
समानता सामूहिकताको लागि अनिवार्य शर्त हो । तर सामन्तवादविरुद्ध लडिरहेको दावी गर्ने कम्युनिष्ट पार्टीमा पनि सामन्तवाद जिवित छ, सामूहिकताको नामनिशाना छैन । अर्थात समानता नारामा मात्रै सिमित छ । यस्तो अवस्थामा काव्य क्षेत्रचाहिं मुक्त कसरी हुन सक्छ र ? यसले कविबीच नै दूरी पैदा गरेको छ । त्यसले कविताको शक्ति स्थापित गर्न पुस्ता–पुस्ताबीच बन्नुपर्ने सिक्रि कमजोर भएको छ । अन्तरक्रिया, संवाद र सम्पादनलाई एकांकी बनेको छ । त्यसलाई चुनौति दिदै काव्यशिविरले व्यवहारिक तहबाट सामूहिकताको अभ्यास थालेको छ । अभियन्तामा बरिष्ठता–कनिष्ठताको रेखा कोरिएको छैन । सबै कार्य वर्णानुक्रमअनुसार हुन्छ । कार्यक्रममा ‘शून्य सम्बोधन’ र ‘शून्य आसन’ ग्रहण लागू गरेको छ । यसकै प्रभाव भनेर आधिकारिक दावी त गर्न नमिले पनि खुशीको कुरा एकीकृत माओवादीले आसन ग्रहणको बिषयमा बहस सुरु गरेको छ । कमसेकम आफूलाई सामन्तवादको विरोधी मान्ने पक्षले यसलाई लागू गरिदिने हो भने यसले सामन्तवादको अवशेष मेटाउन ठूलो सघाउ पुर्‍याउँछ । 
हामी अहिले प्रगतिशील कि लोकतान्त्रिक, कला कि विचारजस्ता बहसमा विल्कुलै छैनौं । हाम्रो पहिलो बहस राम्रो कविता कसरी लेख्ने भन्नेमा हो । यसै बहसमा यी सबै पक्षको छिनोफानो हुन्छ । कवि तुलसी दिवस भन्छन्, ‘अब कविले कुन सुरमा, मुडमा वा कहाँ रक्सी खाएको बेलामा लेखेछु भन्नपाइदैन । कविले समाजप्रति उत्तरदायी भएर लेख्नुपर्छ ।’ यही उत्तरदायित्वले कविको पक्षधरता निर्धारण गर्छ । प्रगतिशीलको बिल्ला भिरेकालेमात्रै प्रगतिशील रचना गर्छन् भन्ने भ्रम हामीमा छैन । साहित्कार हरि अधिकारी भन्छन्, ‘प्रगतिशीलता कुनै वामपन्थी पार्टीको मात्रै ठेक्का होइन ।’ हामी उनीसँग सहमत छौं । त्यसैले सहभागिताको सन्दर्भमा काव्यशिविरका हरेक कार्यक्रममा पार्टी सदस्यता जाँच्ने काम हुँदैन, लेखन शक्तिलाई ध्यान दिइन्छ । 
यो इमान्दारिता खड्किएको समय हो । साहित्यकार आहुति भन्छन्, ‘अहिले एउटा इन्जिनियर राम्रो नक्सा बनाउनेभन्दा पनि कसरी ठेक्का हात पार्ने र पैसा कमाउने भन्ने सोच्छ । कविमा पनि त्यही लागू हुन्छ । राम्रो र शक्तिशाली कविता लेख्नेभन्दा यसलाई उपयोग गरेर कसरी घर बनाउने भन्नेतिर ध्यान दिन्छ । यो लेखनलाई सहजवृत्ति ठान्ने प्रवृत्ति हुर्काउँछ ।’ यसैसँग हुर्किएको छ साधना र अध्ययन नगर्ने प्रवृत्ति । त्यही प्रवृत्तिका कारण नयाँ पाठक कवितामा आकर्षित हुन सकिरहेका छैनन् । यसैले हामीले अध्ययनलाई जोड दिएका छौं । पठन–संस्कृतिको विकास काव्यशिविर अभियानको एउटा अभिन्न अंग हो । खुशीको कुरा, एकीकृत माओवादीको सांस्कृतिक मोर्चाले पनि पठन संस्कृतिका लागि ‘झोलामा पुस्तक’ अभियान सुरु गरेको छ । पठन संस्कृतिमा दलकै चासो हुनु खुशीको कुरा हो । अरु दलले पनि यस्तो अभियान सुरु गर्नु आवश्यक छ । पठन संस्कृतिले लेखनलाई त बल पुर्‍याउछ नै पाठक विस्तारमा पनि भूमिका खेल्छ । 
त्यस्तै हामीले राम्रो रचना निर्माणको लागि शिविरको अवधारणा अघि सारेका छौं । जसरी रंगकर्मीले एउटा नाटकको लागि महिनौं मेहनत गर्छन्, शिविरमा साधना गर्छन् । त्यसबाट कविले पनि सिक्नु आवश्यक छ । हामीले त्यसको सुरुवात गरेका छौं । हरेक हप्ताजसो एकअर्काका रचना सुन्ने, त्यसलाई निखार्न सुझाव दिने, अग्रज स्रष्टाको घरमा गएर कविता र रचनागर्भ सुन्नेजस्ता कार्यलाई हामीले शिविरको कार्ययोजनामा समावेश गरेका छौं । यसले कवितामा सामूहिक प्रयत्नलाई पनि बलियो बनाउँछ र शक्तिशाली रचना गर्न सघाउँछ भन्ने हाम्रो व्यवहारिक अनुभव छ । 
मूलत: ‘काव्यशिविर’ समयको श्वरलाई पक्रिएर मौलिक नेपाली काव्यलेखनको साधनामा जुट्ने खुल्ला अभियान हो । अभियान त्यतिबेला सफल हुन्छ, जतिबेला कवि दिवसले भनेझैं हाम्रा कविताको व्याख्या र विष्लेषण गर्न लागि हाम्रै कविता पढेर सिद्धान्तको प्रतिपादन हुन्छ । समालोचकप्रति लक्षित गर्दै उनी भन्छन्, ‘अब संस्कृत र पश्चिमबाट आएका पुराना सिद्धान्त काम लाग्दैनन् । हाम्रो समय, संस्कृति, जीन्दगी र सोचमा कविता जसरी विकसित हुन्छ, त्यसरी नै हेर्ने दृष्टिकोण विकसित नगरिकन धर छैन ।’ काव्यशिविर उनीसँग सहमत छ । 
܀܀܀
✍ कला अनुरागी
प्रकाशित : पाण्डुलिपी


Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार