'कवितादेखि तर्साइएको छ'

दुई दशकदेखि कविता लेखनमा निरन्तर सक्रिय कवि हरिहर तिमिल्सिनाको पहिलो कविता संग्रह ‘गाउँ हराएको साँझ’ साउनको पहिलो साता ठमेलको ‘होलि हिमालय’ होटलमा सार्वजनिक गरियो । गीत र रेडियो नाटकमा समेत कलम चलाइरहेका तिमिल्सिनासँग कविता कृतिको सेरोफेरोमा  कुराकानी गरिएको छ -

🆀  ४४ बर्षको उमेरमा पहिलो कविता संग्रह निकाल्नुभयो । एउटा कविले कृति सार्वजनिक गर्ने उमेर हुँदैन है ? 
➲ मैले आजभोलि जीवनलाई भिन्नै ढंगले हेर्न थालेको छु । खासै उमेरले लेख्नेजस्तो मलाई लाग्दैन । पछि लेखिएका कुरा, ६० बर्ष पूरा भएपछि नयाँ जीवन सुरु हुन्छ भन्ने कुराबाट प्रभावित छु । उमेरले छेक्दैन ।

🆀  ‘गाउँ हराएको साँझ’को कविता संग्रह नै गाउँ हराएको ठमेलमा विमोचन भयो । यसको काव्यिक अर्थ छ ? 
➲ वास्तवमा, ठमेलमा गरिएको विमोचन नै गाउँ हराउनुको प्रमाण हो । पहिलो ठमेल पनि गाउँ नै थियो । अहिले हरायो । ठमेल पछिल्लो सहरको प्रतीक बन्यो । वास्तवमा त्यसरी नै गाउँहरु हराइरहेका छन् । म भक्तपुरमा जन्मेको मान्छे । कमलविनायक त जंगल र झाडीले डर नै लाग्ने थियो । बानेश्वर पनि खाली फाँट थियो । बागमतीमा मैले पौडी खेलेको छु । तर गाउँ हराइसक्यो अब ।
तर, त्यहाँ कार्यक्रम गरिनु काव्यिक संयोगमात्रै हो । व्यवहारिक रुपमा भूकम्पका कारण संग्रह विमोचन नै नहुने भएको थियो । तर ठमेलमा ‘होटल होली हिमालय’ चलाइरहेका साथी ज्योति अधिकारीको सहयोगका कारण त्यो सम्भव भयो ।

🆀  एउटा कवि किन गाउँ हराएकोमा चिन्तित भइरहन्छ ? 
➲ गाउँमा वास्तविक जीवन हुन्छ । तर जीवन्त गाउँ विभिन्न कारणले हराइरहेका छन् । कहिले मित्रराष्ट्रका कारणले गाउँहरु हराएका छन् । कहिले सरकारकै कारणले गाउँ हराउँछ । अन्धाधुन्ध नगरपालिका बनाएर छोडिदिने । गाउँमा अहिले गाउँ थाम्ने युवा छैनन् । कि केटाकेटी छन्, कि बुढाबुढी । खेतबारी बाँझा छन् । तर हामी अरबौंको तरकारी छिमेकी देशबाट किनेर खान्छौं । यसबाट कवि चिन्तित हुन्छ नि ।

🆀  व्यवहारिक हिसाबले हेर्ने हो भने आममानिसचाहिं सहरतिर आकर्षित भइरहेको देखिन्छ । गाउँलाई सहर बनाउन लालायित देखिन्छन् । तर कविको गाउँप्रतिको चिन्ता हेर्दा त पछाडि फर्केजस्तो पो देखिन्छ नि, होइन र ? 
➲ रुसोले भनेका थिए नि– गो व्याक टु नेचर । अब कविमात्रै होइन, अब जो कोही पनि पछाडि नफर्की सुखै छैन । विकसित देशका मान्छे पनि सहरदेखि वाक्क भइसकेका छन् । हाम्रो त के सहर छ र ? सहरका नाममा सुरुङ न छन् । जहाँ त्रास नै त्रास छ । यता गाउँ पनि एक्लिएको छ । वास्तविक जीवन गाउँमै हुन्छ, त्यसलाई बचाउनुपर्छ । यो त्यसको लागि लडाईं पनि हो । एकातिर हाम्रा मित्रराष्ट्रले गाउँ खाइरहेका छन् । यो सुने–भोगेकै हो । अर्कातिर सरकारले । गाउँमा न युवालाई बस्ने वातावरण छ, न किसानलाई । यसले गाउँमा पनि जीवनको अन्त्य गरिने प्रयत्न भइरहेको छ । त्यसैले गाउँको पक्षमा उभिएको हुँ ।

🆀  अब, तपाईको कवितासंग्रहभित्र छिरौं । तपाईले भूमिकामा कविता लेखनलाई लत भन्नुभएको छ । यो कस्तो लत हो ? तपाई किन लती बन्नुभयो ?
➲ खै, यो लत मलाई कसरी लाग्यो, भन्न सक्दिनँ । शायद, अलि बढी भावुक भएर हो कि । जेले पनि छुने, जेले पनि चिमोट्ने । त्यसैले अर्काको दुःख बोकेर हिड्ने जात, कवि भइयो कि ! त्यसो गर्ने पनि लत लाग्दोरहेछ । देश, समाजको दुःखले चिमोटेपछि त्यसलाई अभिव्यक्त गर्ने मन लाग्छ । त्यो पछि लतको रुपमा विकास हुँदोरहेछ ।
यो चुरोट, खैनीभन्दा पनि कडा लतजस्तो लाग्छ मलाई ।

🆀  लतलाई त मानिसले छोड्न खोज्नुपर्ने होइन ? यसलाई किन निरन्तरता दिन्छ एउटा मान्छेले ? 
➲ तर यो लत मीठो खालको लत हो । यसले आफूलाई हल्का बनाउँछ । कविता लेखिसकेपछि म हल्का महसुस गर्छु । त्यसैले लेखुन्जेल गाह्रो हुने हो, त्यसपछि आनन्द आउँछ । त्यसैले यो लत लागेपछि छोड्न सकिदैन । मेरो हकमाचाहिं जसले जे भने पनि, गरेपछि छोड्न सक्दिनँ ।
कविले नराम्रा कुरो चिमोटेर नै लेख्ने हो । त्यो कविले लेख्दैमा कम होला भन्न त सकिन्न । तर कविले कामना गर्न सक्छ । मेरो समाज राम्रो होस्, पश्चिमाको भन्दा पनि अगाडि बढोस् भन्न सक्छ । त्यो अमेरिका फुच्चे, अस्ति सन् १४४२ मा जन्मिएको हो । हाम्रो त चारहजार बर्षभन्दा पुरानो इतिहास छ । त्यसभन्दा अघि ठूलाठूला ग्रन्थ लेखिएको स्थान हो हाम्रो । तर विश्व रंगमञ्चमा हामी आफूलाई निकै पुड्को पाउँछौं । यसले पनि चिमोटिरहन्छ । अर्कोचाहिं, मैले लेख्दा एक वा दुईजनाले महसुस गर्यो भने त्यो धेरै सकारात्मक हो । नयाँ पुस्ता, जो हामीलाई पछ्याइरहेको छ, त्यसले यो कुरा महसुस गर्यो भने परिवर्तन सम्भव छ । मेरो हकमा यसले लतलाई निरन्तरता दिएको छ ।

🆀  कविताभित्र छिरौं है ! कवितामा युद्धका कुरा खुब गर्नुभएको छ । तपाईका कविताको युद्ध त आम रुपमा बुझिने युद्धजस्तो छैन नि ?
➲ यसअघिका युद्ध गरिएको पनि परिवर्तनकै लागि हो । तर हाम्रो युद्धले कति परिवर्तन भयो ? भोलिको इतिहासले सोध्ने प्रश्न पनि हो यो ।
अर्को कुरा, मलाईचाहिं बन्दुक बोकेर रणमा जानुमात्रै युद्ध होजस्तो लाग्दैन । एउटा नागरिकले आफ्नो छाक टार्न पनि युद्ध गरिरहेकै हुन्छ । त्यसलाई युद्ध मान्नुपर्छ भन्ने कुरा हो मेरो । हजुरबाको पालादेखि बोकेको कालो झण्डा अहिले पनि उसैगरी देखाउनुपर्छ भने हामीले गरेको युद्ध के कामको भयो र भन्ने प्रश्न हो मेरो । बरु एउटा सर्वसाधारणले परिवर्तनको लागि नसोचिकन पनि युद्ध गरिरहेको हुन्छ । त्यसलाई चाहिं मैले युद्धको परिभाषाभित्र राख्न खोजेको हुँ । एउटा साधारण मान्छेले बुझेको युद्धलाई अभिव्यक्त गर्न खोजेको हुँ ।

🆀  तपाई अहिलेसम्म भएका युद्ध जस्तो कि, माओवादी जनयुद्ध, त्यसअघि वा पछिका विद्रोहको विपक्षमा हो ?
➲ ती युद्धबाट मलाई पनि धेरै आशा थियो । माओवादी जनयुद्धकै कुरा गर्ने हो भने मेरो पनि शुभकामना थियो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन थियो । तर एउटा साधारण नागरिकले त्यो युद्धबाट जे अपेक्षा गरिरहेको थियो, मलाई लाग्दैन त्यो प्राप्त भएको छ । हामीले युद्धबाट धेरै राम्रो परिणामा आउने सपना देख्यौं, देखाइयो । तर अहिले त्यही सपनामा पानी खन्याउने काम भएको छ । युद्धले राम्रो परिणाम ल्याएको छ पक्कै पनि । परिवर्तन भएको छ, गणतन्त्र आएको छ । दबिएको आवाज उठेका छन् । किनारीकृत मानिस अगाडि आएका छन् । यसको जति प्रशंसा गरेपनि कम हुन्छ । तर हामीले खोजेको कुरा यतिमात्रै होइन । त्यसैले मैले साधारण मान्छेले युद्धबाट गरेको अपेक्षालाई नै कवितामा ल्याउन खोजेको हुँ ।

🆀  तपाईंले नयाँ युद्धको माग गर्न खोज्नुभएको कि युद्धको अर्को परिभाषा खोज्नुभएको ?
➲ कति मानिसलाई स्वीकार्न गाह्रो होला । मलाई त्यो युद्ध हाम्रो थियो भन्ने लाग्न छाड्यो । कसैले हामीलाई युद्ध गरायो । यद्यपि युद्धचाहिं हामीलाई आवश्यक थियो । तर मेरो कुरा, हामी आफैं एउटा युद्ध गरौं, जसले हामीले नै चाहेको परिवर्तन ल्याओस् । र, अर्को कुराचाहिं म मान्छे मार्ने युद्धको चाहिं विरोधी हो ।

🆀  शान्त, शालीन पनि युद्ध हुन्छ र ? 
➲ मान्छे मारेरमात्रै परिवर्तन हुँदोरहेनछ । जस्तै, जनयुद्धमा पनि हजारौं मरे, अंगभंग भए । अहिले देशमा जे परिवर्तन देखिएको छ, यतिको लागिमात्रै त्यत्रो मूल्य चुकाउनुपथ्र्यो त ? म गल्ती पनि हुनसक्छु । तर मलाई यो प्रश्नले झक्झक्याउँछ । हुँदै नभएको होइन, तर एउटा गरिखाने मान्छेले चाहिं के पाइरहेको छ त ? मेरो प्रश्न यो हो ।

🆀  यो समयमा तपाईको कविताको आवश्यकता किन छ ? 
➲ यो त गाह्रो प्रश्न हो । मैले त मेरो अनुभूतिलाई इमान्दारपूर्वक व्यक्त गरेको हुँ । मैले मेरो कविता आवश्यक छन्, यसले युग बदल्छ । त्यो भन्ने पक्षमा म छैन ।

🆀  अहिलेको कविताको श्वर आक्रामक र प्रतिरोधी देखिन्छ । तर तपाईका कविता शालीनताको पक्षमा देखिन्छ । युद्ध पनि शालीन तरिकाले गर्नुपर्छ भन्नुहुन्छ । अब यतिबेला अहिले देखिएको श्वरका कविताको आवश्यकता हो कि, तपाईंका जस्ता कविताको आवश्यकता हो भन्न खोजेको मैले ? 
➲ मलाई लाग्छ– म सही छु । हामीले युद्धको शैली परिवर्तन गर्ने हो कि ? कसैको पनि घरबास नउठ्ने युद्ध । हुन त यो कोरा कल्पनाजस्तोमात्रै लाग्ला । युद्ध भन्नेवित्तिकै हान्ने, काट्ने, मार्नेमात्रै बुझिन्छ । म गल्ती छु भने माफ गर्नुहोला । मलाई चाहिं एउटा साधारण नागरिक सात साल अगाडि जसरी खाइरहेको छ, त्यसमा खासै परिवर्तन भएको छजस्तो लाग्दैन । धेरै राजनीतिक आन्दोलन भयो । म आफैं पनि ०४६ सालको आन्दोलनमा लागेर कुटाइ खाएको, पुलिस कस्टडीमा बसेको हुँ । त्यसपछि पनि जनयुद्ध,  जनआन्दोलन भयो । गणतन्त्र आयो । यतिधेरै राजनीतिक परिवर्तन आउँदा जनताले पनि धेरै परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने हो । तर नागरिकले तन्त्रको नाम परिवर्तनभन्दा अरुमा क्रान्ति भएको छैन । त्यसले मलाई के अनुभूति भयो भने, हामीले आफ्नै माटोसुहाउँदो क्रान्ति गरेकै रहेनछौं । पछिल्लो उदाहरण, पुष्पकमल दाहाल, जो मैले एकदमै श्रद्धा गर्ने नेता । उहाँ संविधानको घोषणा गर्ने बेलामा दिल्ली जानुपर्ने आवश्यकता कसरी पैदा भयो ? यसले संकेत गर्छ कि हाम्रो प्रत्येक क्रान्तिपछाडि कसैले खेलिरहेको छ ।
अरुले आदेशमा चल्ने क्रान्तिको म विपक्षमा छु । त्यसैले निर्णय र प्राप्ति हाम्रै हुने क्रान्तिको पक्षमा म उभिएको हुँ ।

🆀  तपाईंले भनेजस्तै क्रान्ति पनि त शालीन नहोला ? त्यो त श्वैरकल्पनामात्रै भएन र ? 
➲ कल्पना नगरी पूरा हुँदैन । र, ठूलाठूला कल्पना पनि पूरा भएका छन् । असम्भव ठानिएका पनि । हिजो मानिसले कल्पना गर्यो आकासमा उड्ने, अहिले उडिरहेको छ । त्यसैले यो कल्पनामात्रै होइन, सम्भव कुरा छ ।

🆀  तपाईं क्रान्तिको कुरा त गरिरहनुभएको छ । तर अहिले उठिरहेको पहिचानको मुद्दा, संघीयताको मुद्दा, अन्य सिमान्तकृत पक्षको मुद्दा आदिमा मौन देखिनुहुन्छ । यसको अर्थ के लाग्छ ? कि तपाई यसलाई बहसको बिषय नै मान्नुहुन्न ?
➲ यो बहसको बिषय हो । पहिचान होस् या संघीयता, धर्मनिरपेक्षता आदि । मान्छेले खोज्ने अधिकार हो । जीवनयापनको सहजता हो । मेरो कवितामा सिधै त्यसलाई भनेको छैन । किनकि आखिर हाम्रो समस्या भोकको समस्या होजस्तो लाग्छ मलाई । गरिवीको, अशिक्षाको समस्या हो । एकथरी मानिसलाई यो चित्त नबुझ्न सक्छ, तर भोक, गरिवी, अशिक्षा समाजबाट हट्ने हो भने त्यहाँ पहिचान प्राप्त भइसकेको हुन्छ । त्यसैले मैले सिधै भोकको कुरा गरेको छु कवितामा ।
पहिचानको मुद्दालाई म गलत भन्दिनँ । समाजमा अझै विभेद छ, छुवाछुत छ । यस्ता कुरामा मलाई धिक्कार लाग्छ । यस्ता कुरा अगाडि आउनुपर्छ । तर शिक्षा, रोजगारी वा पेशा व्यवसायको आधुनिकीकरण गरेर सबैलाई सवल बनायौं भने त्यो विभेद मेटिन्छ । पहिचान प्राप्त हुन्छ । मैलेचाहिं मुद्दालाई राजनीतिकभन्दा पनि व्यवहारिक रुपमा हेरिरहेको छु । तल्लो जातको मानिसको पनि आर्थिक अवस्था राम्रो छ भने भेदभाव खेप्नुपर्दैन । त्यसैले यो वर्गीय समस्या हो । त्यसलाई त्यसरी नै बुझिनुपर्छ ।

🆀  त्यसो भए राजनीति होस् या साहित्य । मूल मुद्दाबाट बहकिएको हो त ? 
➲ मैले बहकिएको भन्दा परिवर्तनको श्वरलाई नस्विकारेको अर्थ लाग्न सक्छ । तर केही केही हदसम्म बहकिएको हो कि भन्ने मलाई भ्रम छ । पहिचानको कुरा सिधै नउठाउँदैमा म त्यसको विरोधी भन्नेचाहिं होइन । मेरो मूल मुद्दाचाहिं भोक हो । मान्छेको भोक शान्त गरिदिनुस्, सबै कुरा मिलेर जान्छ भन्ने कुरामा विस्वास गर्छु मचाहिं ।

🆀  अब अनुभूतितिर लागौं । एउटा कविले कविताकृति निकालिसकेपछि कस्तो अनुभूति गर्दोरहेछ ? 
➲ संग्रह बाहिर नआएपनि म कविता लेखिराख्थें । मेरो अर्को एउटा संग्रह पुग्ने कविता बाँकी नै छ । कतिपय कुराचाहिं बाहिर आएपछिमात्रै थाहा हुन्छ । त्यसैले संग्रह निकाल्नु आवश्यक थियो । यसमा विभिन्न कोणबाट चर्चा भइरहेको छ । अर्को, हरिहर तिमिल्सिना भन्ने मानिसले पनि कतै कुनामा बसेर लेखिरहेको छ है भन्ने कुराको दस्तावेजीकरण गरेको छ ।

🆀  तपाईंले भूमिकामा लेख्नुभएको छ, कविता प्रकाशनको दुःख । यो दुःख थाहा हुँदाहुँदै पनि कवि कविता लेखिरहन्छ, कृति छापिरहन्छ । किन ? 
➲ आमाले बच्चा जन्मिदा सुखकै कामना गर्छिन्, तर जीवनमा दुःख पनि हुन्छ भन्ने उनलाई जति कसलाई थाहा होला र ? त्यस्तै कविले पनि दुःख थाहा पाएरै पनि कविता लेखिरहन्छ, छापिरहन्छ । त्यो दुःखभित्र मिठास पनि हुन्छ । दुःखको बीचमा पनि कविता आयो है भन्ने हुन्छ ।
अर्को कुरा, कविताको बजार नभएको होइन । पाठकलाई तर्साइएको मात्रै हो । मेरै कविताको माग पनि धेरै ठाउँबाट आएको छ । बरु पुर्याउन सकिएको छैन ।

🆀  तर्साउनेचाहिं को हो ? ➲ मिडिया टाइकून छन् । पुस्तक बिक्रेता पनि छन् । एक बिक्रेताले त सिधै भनेको सुनें । कविता बेच्दिनँ भनेर । टिभीले तर्साएको छ, बकम्फुसे कविको अभिनय गराएको छ । केही कवि भन्नेहरुले नै तर्साएका छन् । मञ्च पाएपछि १०/१२ वटा सुनाएर, अरुको नसुनेर । कविताको नाममा जथाभावी लेखेर ।

🆀  किन त्यस्तो भएको होला ? कविताबाट घाटा के छ उनीहरुलाई ? 
➲ कविताचाहिं रातारात बिक्ने कुरा होइन, आख्यान जस्तो । बजारले मान्छेको आँखा जेमा पर्छ, जे छिटो बिक्छ, त्यही खोज्ने भयो । अब विज्ञापन पनि त्यसैको आउँछ । कविता त्यही गलत बजारीकरणको सिकार भएको छ । मकै भटमास हाइजेनिक छ, तर बजार चाउचाउ उत्पादन गर्छ । विज्ञापन त्यसैको आउँछ । अनि लाग्छ, सबै त्यसैको उपभोग गरिरहेका छन् । 

🆀  तपाईंले किताब निकाल्ने बखत कसको हातमा परोस् भन्ने कामना गर्नुभएको थियो, पुग्यो ? कस्तो प्रतिक्रिया पाउनुभयो ? 
➲ सोचेको जति सबै ठाउँमा किताब पु¥याउन सकिएको छैन । वितरण राम्ररी हुन सकेको छैन । पुस्तक विश्वविद्यालयस्तरीय बौद्धिकको हातमामात्रै पुगोस् भन्ने होइन, कविताप्रति सर्वसाधारण पनि आकर्षित होउन् भन्ने चाह हो । नयाँ पुस्तामा जाओस् भन्ने सपना हो । ठूला मानिसले सिफारिस गरिदिउन् वा चर्चा गरिदिउन् भन्ने भ्रमबाटचाहिं मुक्त छु ।
जसले पढ्नुभएको छ, धेरैले कविताप्रति राम्रो प्रतिक्रिया दिएका छन् । भूमिका पनि मन पराएका छन् । सर्वसाधारण, किराना पसले, साहित्यमा रुची नराख्ने साथीले पनि कविता पढेको थाहा पाउँदा खुशी लागेको छ । वकिल भोजेन्द्रबहादुर खत्रीले संयोगवश संग्रह हेर्न पाउनुभएछ । उहाँले भन्नुभयो, ‘मैले आख्यान र अरु थुप्रै पुस्तक किनेर पढेको छु । तर कविता किनेको थिइनँ । तपाईको पढेपछि मन थाम्न सकिनँ ।’ यो प्रतिक्रिया कहिल्यै बिर्सन सकिने खालको होइन । मेरा कविताले यस्तै नयाँ पाठकको खोज गरोस् भन्ने चाहन्छु । कविताको रिप्रिन्ट होस् भन्ने चाहन्छु । 
܀܀܀ 
कला अनुरागी
साभार : इ कविता 

Comments