'अहिलेलाई मेरो प्रतिष्पर्धा कसैसँग छैन'

लेखक हरि अधिकारी आजभोलि नेपाली कांग्रेसका संस्थापक नेता स्व.कृष्णप्रसाद भट्टराईको जीवनमा आधारित उपन्यास लेख्ने तयारीमा छन् । उनको लेखनको अर्को विधा हो – कथा । त्यस्तै, विगत केही बर्षदेखि पत्रपत्रिकामा नियमितजसो पुस्तक–समीक्षा लेखिरहेका छन् । उनले लेखेका कविताको चर्चा पनि उत्तिकै हुन्छ । तर त्योभन्दा पनि बढी चर्चाचाहिं पुस्तक–समीक्षाकै हुने गरेको छ । यसै सन्दर्भमा प्रस्तुत छ, उनीसँग गरिएको समीक्षा–संवाद : 

🅠 तपाईका कविताभन्दा समीक्षा किन चर्चित हुन्छन् ? 
➲ कवितामा मेरो निजी अनुभूति हुन्छ । त्यसैले कविता अलि साँघुरो घेरामा नै हुन्छ भन्ने ठान्छु म । समीक्षामा चाहि जसको किताबका बारेमा लेखिएको हो, उसको रुची त हुने भयो नै । पाठकलाई पनि त्यसले दृष्टिकोण बनाउन सहयोग पुर्‍याउँछ । त्यसैले यसमा धेरैको रुची हुन्छ । त्यसैले समीक्षाको दायरा फराकिलो हुन्छ । त्यसैले मैले लेखको कविताभन्दा समीक्षा कर्मचाहिं बढी प्रचारित भएको होलाजस्तो लाग्छ । 

🅠 समालोचना र समीक्षाका बारेमा पाठक दुविधामा पर्छन् कहिलेकाहीं ? खास फरक के हो ? 
➲ सैद्धान्तिक हिसाबले रचना र रचनाकारलाई समेटेर व्यापक ढंगले अध्ययन गरेर लेख्नुलाई हामीकहाँ समालोचना भन्ने चलन छ । समीक्षा चाहिं किताबलाई चिनाउने निश्चित आकारको पाठकीय दृष्टिकोण मानिन्छ । 
तर शाब्दिक दृष्टिकोणले अर्थ फरक छैन । किनभने समालोलना सम र लोचनबाट बनेको शब्द हो भने समीक्षा सम र अक्ष । समको अर्थ बराबर हो, लोचन र अक्षको अर्थ आँखा हो । त्यसैले दुवैको अर्थ समान दृष्टिकोणले हेर्नु भन्ने लाग्छ । तर व्यवहारमा चाहिं रुढ अर्थमा बुझिन थालेको छ । 

🅠 कहिलेदेखि थाल्नुभयो समीक्षा लेख्न ? 
➲ मैले तीसको दशकको सुरुवाततिरबाटै समीक्षा लेख्न थालेका हुँ । मैले लेखेको याद भएको समीक्षा भने धु्रबचन्द्र गौतमको उपन्यास बालुवामाथि । त्यो भानु पत्रिकामा छापिएको थियो र चर्चित भएको थियो । ‘बालुवामाथि निरर्थक पाइला’ भनेर अलि नकारात्मक ‘टोन’मा शिर्षक राखेको थिएँ । 
त्यसपछि मैले मधुपर्कका लागि पनि केही किताब समीक्षा लेखें । त्यतिबेला मधुपर्कका सम्पादक मेरा मित्र थिए– नारायणबहादुर सिंह । उनीले अलि गम्भीर समीक्षा लेख्नु पर्‍यो भने मलाई भन्नुहुन्थ्यो । मैले कृष्ण गौतमको कथा संग्रहको आलोचनात्मक समीक्षा गर्दा कृष्णजी रिसाएको मलाई याद छ । 
त्यस्तै, कान्तिपुर दैनिक प्रकाशन भएपछि त्यहाँ पनि लेखें । तर ती जम्मै फाट्टफुट्टमात्रै थिए । नियमित लेख्न थालेको चाहिं नयाँ पत्रिकाबाट हो । त्यसबीचमा म अमेरिका गएँ । आएपछि नेपाल साप्ताहिक र नागरिकमा लेख्दैछु । यस हिसाबले नियमित लेख्न थालेका चार/पाँच बर्ष भयो । 

🅠 समीक्षाको लागि किताब छान्ने मापदण्ड के हो तपाईको ?
➲ समीक्षाको लागि मैले लिखित नियम नै त बनाएको छैन । म आफैं लेखक र पाठक भएकाले किताब पढ्दा त्यसको महत्व थाहा पाउछु । त्यही महत्वबाट नै समीक्षा लेखिन लायक छ भन्ने निर्णय लिन्छु । 

🅠 किताब किन्नुहुन्छ कि समीक्षार्थ आउँछन् ?
➲ पछिल्लो समयमा समीक्षार्थ केही किताब आउन थालेका छन् । नत्र म बजारमा आएका किताबमध्ये बिषय, लेखन गुण र आकर्षणका आधारमा किताब छनोट गरेर किन्छु । मैले नयाँ पत्रिकाका लागि नियमित समीक्षा लेख्न सुरु गरेको हुँ । त्यसबेला सबैजसो किताब किनेरै गरेको थिएँ । 

🅠 कुनै समीक्षा छापिइसकेपछि अलि बढी आग्रही भएछुजस्तो लागेको छ ? 
➲ म आग्रहबाट मुक्त भएर समीक्षा गर्छु । तर एकादुई किताबमा अलि बढी कडा शब्द चयन भयो कि भन्ने लागेको छ । त्यसमा चाहिं तात्कालिक मानसिकताको प्रभाव पनि हुनसक्ला वा लेखकले निकै नचाहिदो गरेको हुनाले लेख्नै पर्छ भन्ने लागेर पनि हुन सक्छ । 
जस्तो, युवराज नयाँघरेको निबन्ध संग्रह ‘एक हातको ताली’को मैले नागरिक दैनिकमा समीक्षा लेखें । युवराज नयाँघरेको त्यो किताब त वायियत त छदैछ, त्यो भन्दा बढी त्यसलाई मदन पुरस्कार दिएर कमलबाबुले जुन वाहियत काम गरे । त्यसको विरोध गर्ने क्रममा अलि कडा शब्द परेको हो कि भन्ने लागेको छ मलाई । 
त्यस्तै बानेश्वरतिरका एकजना महानुभाव छन् पुष्पप्रसाद लुइँटेल । उनले ‘छ दशकको आन्दोलन’ भन्ने किताब लेखेका छन् । उनी भर्खर माओवादीमा प्रवेश गरेका पूर्वप्रशासक रहेछन् । उनले बेमलतबसँग बिपी कोइराला र गणेशमानलगायतका प्रजातन्त्रवादी नेतालाई गाली गरेका छन् । उनले लेखकिय मर्यादा नाघेर लेखेको हुनाले तिनलाई  छ्यास्ने क्रममा पनि अलि बढी कडा शब्द चयन भएको जस्तो लाग्छ । 

🅠 भनेपछि कहिलेकाही जानाजान कठोर बन्नुहुन्छ ? 
➲ कुनै पनि बिधामा लेखकीय सामथ्र्य देखाइसकेको लेखक छ तर, उसले नयाँ किताबमा हेलचेक्राइ गर्‍यो भने म जानजान नै अलि बढी कठोर हुन्छु । किनभने उसँग मेरो अपेक्षा बढी नै हुन्छ । जस्तो किशोर नेपाल कथा, कविता र खासगरी निबन्धमा राम्रो लेख्न सक्ने मान्छे । तर उपन्यास आख्यानलाई नै कमजोर बनाउने किसिमले हेलचेक्राई गरेर लेखे । त्यसैले राम्ररी नलेखेर साहित्यिक बेइमानी गरेको हो भन्ने लागेर बढी नै आलोचक बनें । 

🅠 नयाँ प्रतिभाका किताबमा चाहिं ?
➲ नयाँ प्रतिभामा चाहिं सबै कुरा पूर्ण हुन्छ भन्ने हुदैन । सिक्दै हुन्छन् । त्यसैले उनीहरुको बारेमा लेख्दाखेरी म सकभर कम कठोर हुने प्रयत्न गर्छु । निरुत्साहित नहुन् भनेर सजग हुन्छु । तर नभएको बिषयमा प्रशंसा चाहिं गर्दिनँ । 

🅠 चिनजानको प्रभावचाहिं कत्तिको पर्छ ? 
➲ मेरो समीक्षामा चिनजानको प्रभाव हुदैन । किनकि मैले राम्रो भनेर लेखेका धेरै किताबका लेखकलाई लेख्नुपहिले भेटेको थिइनँ । जस्तो, मैले निकै राम्रो भनेर लेखेको किताब समीक्षा डा.हर्क गुरुङको ‘मैले देखेको नेपाल’को हो । त्यतिबेला उनी बितिसकेका थिए । मैले अर्को राम्रो भनेर समीक्षा गरेको किताब हो– कुमारमणी आचार्य दिक्षितको संस्मरण ‘फाटफुट सम्झना’ ।  उनीसँग पनि मेरो भेटघाट थिएन । कवितामा मैले राम्रो भनेको सञ्जीव राईलाई हो । उनलाई मैले देखेकै थिइनँ । समीक्षा आइसकेपछि उनले नै सोधखोज गर्दै आएर परिचय गरे । 

🅠 कडा लेख्नुपर्ने, नरम भयो भन्ने पनि लागेको छ कहिलेकाहीं ? 
➲ सयौंमा एकाध छन् । तर ठ्याक्कै सम्झना भने छैन । 

🅠 राम्रो लेखिदिन दवाव पनि त आउँदो हो ?
➲ कहिलेकाहीं आउँछ । तर त्यो काम लाग्दैन । त्यसैले कतिपय ‘बाठा’लेखकले मबाट नलेखाउन चाहिं प्रयत्न गर्छन् । उनीहरु मलाई पढ्ने र लेख्ने समय नै नदिइकन पहिले नै राम्रो लेखिदिने व्यक्तिलाई लेखाएर छाप्छन् । त्यस्ता बाठाहरुको नाम नै त किन तोक्नु ? तर, त्यस्तो भएको छ । 

🅠 कडा नै लेखिदिनुस् भन्ने पनि त होलान् नि ?
➲ त्यस्तो त हुन्नन् । तर ‘तपाईले जे देख्नुहुन्छ, त्यही लेखिदिनुस्’ भन्नेचाहिं हुन्छन् । कतिपयले ‘हान्नुस्’ पनि भन्छन् । त्यो निरर्थक कुरा हो । किनभने मैले ‘हान्न’ किताब समीक्षा गर्ने होइन । 

🅠 नराम्रो किन लेखेको भनेर धम्की चाहिं कत्तिको आउँछ ?
➲ धम्की नै त आएको छैन । तर व्यक्तिगत रुपमै रिसाएर सत्रुताको व्यवहार चाहिं भएको छ । त्यसको सबैभन्दा ठूलो उदाहरण चाहिं डा. रामदयाल राकेश हुन् । उनले ‘मर्डर अफ मधेश’ भन्ने किताब लेखे । पहाडियाले मधेसीलाई मर्डर गरेका छन्, दु:ख दिएका छने भन्ने किताबको निचोड छ । तर उनी स्वयम् चाहिं काठमाडौको मुटुमा बसेर पहाडियाको नमस्कार खाइरहेका छन् । तर कितावमा चाहिं गलत राजनीतिद्वारा अभिप्रेरित भएर साम्प्रदायिक कुरा लेखेकोले मैले उनको आलोचना गरेर समीक्षा लेखेको थिएँ नया पत्रिकामा । त्यसपछि उनी निकै विचलित भए । सार्वजनिक स्थलमा बहस हुँदा पनि वैयक्तिक गालीमा उत्रिए । अहिले पनि हामी दुवैको दुर्भाग्य नै भन्नुपर्छ, बारबार भेट भइरहन्छ । देखादेख हुन्छ तर भलाकुसारी हँुदैन । 

🅠 अरु पनि होलान् नि, समीक्षाकै कारण टाढिएका लेखक ? 
➲ किशोर नेपाल पनि मेरो समीक्षा छापिएपछि धेरै रिसाए । यति रिसाए कि सामान्य मानिसले गर्नु पर्ने व्यवहार नै देखाएनन् । मैले समीक्षा गरेको मूल कुरालाई नछोइकन अर्कै कुरामा ‘नागरिक’मा प्रतिक्रिया नै लेखे । म नागरिकको नियमित लेखक थिएँ । उनी सम्पादक भएपछि मेरो लेख नछाप्ने कुरा गरेछन् । त्यसपछि पनि दुईवटा आर्टिकल त छापियो । तर सम्बन्धित पेजका मान्छेले निकै गाह्रो पर्‍यो भनेपछि मैले लेख्न छाडिदिएँ । 
हुन त उनी पहिले मेरो नजिकको साथी पनि हुन् । रिसाउने–खुसाउने भइरहन्थ्यो । तैपनि त्यो घटनापछि चाहिं मलाई मन परेन । त्यसैले अहिले हामी ‘स्पिकिङ टर्म’मा छैनौं । 
त्यसपछि मसँग अलि रिसाएका अहिलेका मन्त्री शंकर कोइराला हुन् । उनको कविता संग्रहलाई मैले ‘कविता भएन है’ भनेर लेखेको थिएँ । त्यसमा उनले त भनेनन् । तर सुरेश वाग्ले भन्ने व्यक्तिले नयाँ पत्रिकामा गएर ‘किन छापेको’ पनि भनेछन् । वाग्लेले नै ‘हरि अधिकारीले गरेको समीक्षा भएन । कविता राम्रो हो’ भन्ने ढंगले लेखे र छापियो पनि । तर कोइरालासँग भेटघाट हुँदा भने राम्रो व्यवहार हुन्छ । 

🅠 सम्बन्ध नै बिग्रने समीक्षातिर किन लागेछु जस्तो लाग्दैन कहिलेकाहीं ? 
➲ यो त मेरो धर्म पनि हो । कसै न कसैले ब्रम्हले देखेको र आफूलाई साँचो लागेको कुरा भन्नै पर्छ । त्यो नभनेर सबै डा. गोविन्दप्रसाद भटराई हुने हो भने साहित्यको छ्यानविचार कसले गर्छ ? त्यसकारणले ब्रम्हले देखेको कुरा भन्नुपर्छ भन्ने निजी कर्तव्य ठानेर मैले समीक्षा गरिरहेको छु । 

🅠 तपाईको लेखनकै कारण नछापिएको घटना पनि छ कि ?
➲ एकपटक नयाँ पत्रिकामै मैले पठाएको किताब समीक्षा छापिएन । परशु प्रधानको अन्तरवार्ताको संग्रहको समीक्षा थियो । तर समीक्षाको ठाउँमा ‘पेट दुखेको औषधी के के हुन्छ’ भन्ने लेख आयो । त्यसपछि मैले नयाँ पत्रिकामा लेख्नै छाडें । त्यसबाहेक मैले लेखेको नछापिएको भन्ने त छैन । 

🅠 राम्रो लेखिदियो भनेर खुशी हुने पनि त होलान् ? 
➲ राम्रो लेख्यो भनेर त होइन, तर लेखेदिएवापत चाहिं धेरै खुशी भएका छन् । किनकि म समीक्षा गर्दा नाम चलेको व्यक्तिमात्र हेर्दिनँ । किताब र लेखकको योगदान उल्लेख्य लाग्यो म लेख्छु । जस्तो, महेश्वर शर्माको संस्मरण संग्रह ‘पुराना कुरा’ । त्यो किताबप्रति मलाई चाख लागेर समीक्षा लेखेेंं । त्यो किताबमा उनले नेपाली कांग्रेसलाई अपमानित गर्ने ढंगले लेख्नुभएको रहेछ । मैले उहाँ कांग्रेसलाई धोका दिएर गएको मानिस हुनाले यस्तो लेख्नुभएको हो भनेरै लेखें । उहाँसँग मेरो परिचय त थियो । तर भेट नभएको २० औं बर्ष भएको थियो । उहाँले मेरो टेलिफोन नम्बर पत्ता लगाएर धन्यावाद दिनुभयो । मैले ‘राम्रो भनेर लेखेको छैन नि’ भन्दा उहाँले ‘म एकान्तमा बसिरहेको मान्छेको किताबको पनि चर्चा गर्नुभएछ, त्यसको लागि धन्यावाद दिन्छु’ भन्नुभयो । त्यसपछि सम्झन थाल्नुभयो, टेलिफोनमा नियमित कुरा हुन थाल्यो । पछिल्लो समय अभिनन्दन ग्रन्थमा आर्टिकल पनि लेख्न आग्रह आयो उहाँकी छोरी शारदा शर्मामार्फत । मैले लेखें पनि । 
त्यस्तै कास्कीका तोयानाथ पौडेलले आफ्नो जीवनी लेखेका रहेछन् । समर्पित शिक्षकको रुपमा धेरै राम्रो काम गरेका रहेछन् उनले । मैले उनको किताब बजारमा भेटें र समिक्षा गरिदिएँ । उनी धेरै खुशी भए । किनकि उनलाई समीक्षाको आशै रहेनछ । किताब पनि आफंैले प्रकाशन गरेका रहेछन् । कसलाई लेखाउने, कसलाई दिने भन्ने पनि थाहा रहेनछ । 
यसरी बजारमा चलिरहेका ‘जानिफकार’, ‘बाठा’कोबाहेक मौन साधकहरुलाई मद्दत गर्दा, परिचित गराउँदा त्यसको श्रेय पाइन्छ नै । बाठाहरुले त जसरी पनि गर्छन् । प्रकाशकलाई पनि उनीहरुले परिचालन गर्छन् । पत्रकारलाई परिचालन गर्ने त परम्परै चलेको छ । त्यसैले तीभन्दा बाहेकका मान्छेको बिषयमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । 

🅠 कस्ता समीक्षाको बढी प्रतिक्रिया आउँछन् ? 
➲ समीक्षा ‘नेगेटिभ’ छ भने बढी प्रतिक्रिया आउँछ । ‘क्या लेख्ििदनुभएछ’ भन्छन् । त्यस्तोमा लेखकचाहिं खासै सम्पर्कमा आउँदैनन् । तर विभिन्न नामबाट छापिएको पत्रिकामा इमेल गर्छन् । फेरि हाम्रा सम्पादक पनि कस्ता छन् भने समीक्षाको पनि प्रतिक्रिया छाप्छन् । किताब समीक्षाको पनि प्रतिक्रिया हुन्छ कहिं ? म कहिलेकाहीं त भन्छु पनि– ‘मलाई समीक्षा लेख्न लगाउछौं, फेरि त्यसलाई गरेको गाली पनि छाप्छौ’ भनेर । तर ‘पाठकको कुरा हो भनेर एक दुई वटा चाहिं पठाउने गरेको छु’ भन्छन् । 

🅠 लेखकले चाहिं फोन गर्दैनन् ‘नेगेटिभ टोन’को समीक्षा प्रकाशित हुँदा ?
➲ लेखकले सिधै फोन त गर्दैनन् । अरुसँग गाली गरेको, भुतभुताउदै हिडेको चाहिं देखेको छु । तर मैले सप्रमाण आग्रह नराखीकन लेख्ने हुनाले लेखक पनि छक्क पर्दा हुन् । 

🅠 गल्ती भएछ, अब सुधार्छु भन्ने पनि होलान् नि ? 
➲ धेरै त छैनन् । तर मोहनबहादुर कायस्थको संस्मरणको किताबमा हजार भन्दा बढी तथ्यगत गल्ती थियो । त्यसलाई मैले छाप्नै नहुने किताब हो भनेर लेखे । त्यसपछि कायस्थले ‘मैले गल्ती गरें । मैले सम्पादन गराउनुपर्ने, त्यो गर्न सकिनँ । अब बाहिर गएको किताव पनि खिचेर दोस्रो संस्करणमा सच्याउछु भनेका थिए । काव्य उपन्यासमा चाहिं त्यस्तो छैन । 

🅠 नभनीकनै सुधारेको पनि पाउनुभएको छ ? 
➲ नियत ठीक नहुनेले त सुधार्दैनन् । तर केहीले सुधारेका पनि छन् । जस्तो, डा. लक्ष्मणप्रसाद गौतमले ‘नेपालका राजनीतिक कविताहरु’ भन्ने किताब लेखेका छन् । पहिलो त थिम नै ठीक छैन । के हो राजनीतिक कविता भनेको ? त्यसमा भाषा पनि यति नराम्रो छ कि पिएचडी गरेको मान्छेको भनेर कसैले भन्दैनन् । त्यसको समीक्षा गर्दा मैले गलत भाषा भएको च्याप्टरहरु नै उल्लेख गरें । उनले प्रत्यक्ष भनेका त छैनन् । तर त्यसपछिका उनको लेखाई हेर्दा बढी शब्द थुपार्न चाहिं छाडेका छन् । 

🅠 आफ्नो समीक्षाले नै कुनै किताब चर्चामा आयो भन्ने लागेको छ ?
➲ त्यस्ता केही किताब हुनुपर्छ भन्ठान्छु । कति सकारात्मक र कति नकारात्मक कोणबाट । जस्तो कुमार नगरकोटीको ‘मोक्षान्त : काठमाडौ फिभर’ कथा संग्रह । त्यो किताब रत्न किताबले छाप्यो । खासै कसैले वास्ता गरेका थिएनन् । तर मैले त्यसको ‘नेगेटिभ टोन’मा कडा समीक्षा लेखेपछि ह्वात्तै बिक्रि बढ्यो र दोस्रो संस्करण निस्कियो ।
त्यस्तै डा. हर्क गुरुङको किताब ‘मैले देखेको नेपाल’ उनको अंग्रेजी किताबको अनुवाद हो । त्यसैले अंग्रेजीमा पढ्नेले पढेनन् । कतिलाई किताब निस्केको थाहै थिएन । तर मैले समीक्षा लेखिसकेपछि हर्क गुरुङ र किताबप्रति पनि ब्यापक चासो बढ्यो । त्यस्तै गरी कुमारमणी दिक्षित र तीर्थनारायण ज्यापूको संस्मरण, रमेश क्षितिजको र सञ्जीव राइको कविता सं्रग्रह लोकप्रिय हुनुमा मेरो समीक्षाको पनि हात छजस्तो लाग्छ । 
किशोर नेपालको पहिलो उपन्यास ‘पाताल’बारे मेरो समीक्षा छापिएपछि ‘नेगेटिभ कज’मै भएपनि किताबप्रति रुची बढ्यो । बिक्रि बढ्यो । त्यो कसरी पनि प्रमाणित भयो भने उनले दोस्रो उपन्यास ‘सहरको कथा’को समीक्षा मलाई लेखाएनन् । कसलाई लेखाए । त्यसले पानी पनि खान पाएन । 
देवेन्द्र भटराईको ‘रेगिस्तानको डायरी’को समीक्षा नछापिएको भए त्यति चर्चा हुँदैनथ्यो कि जस्तो लाग्छ । किताब राम्रो छ । आधिकारिक लेखन र रिपोर्ताज शैलीले पाठकलाई तान्ने भएपनि रत्न किताबले पब्लिसिटीको लागि ठ्याम्मै खर्च गर्दैन । त्यसैले किताबबारे कम पाठकले जानकारी पाएका थिए समीक्षा हुनुअघि ।  

🅠 तपाई वामपन्थी लेखनको बढी विरोध गर्नुहुन्छ भन्ने आरोप छ नि ?
➲ वामपन्थी लेखकको लेखनलाई आलोचना गर्नु मेरो दृष्टिदोष होइन । त्यो उनीहरुको रचनात्मकताको दोष हो । किनभने उनीहरुको साहित्यलाई हेर्ने दृष्टिकोण नै खराब छ । त्यसकारणले उनीहरुको लेखन कमजोर हुन्छ । कमजोरलाई कमजोर हो त भन्नुपर्‍यो नि । कम्युनिष्टहरु भन्छन् – प्रगतिशील साहित्य साँचो साहित्य हो, अरु साहित्य होइन । के हो प्रगतिशील साहित्य ? साहित्य पनि कहीँ प्रगतिशील र अगतिशील हुन्छ ? यसरी शुरुमै प्रगतिशील र अगतिशीलको कुरामा अल्झिएर लेख्न बसेपछि कसरी सार्वभौम लेखन हुन्छ ? सबैले मन पराउने लेखन हन्छ ? यो अलग्गै बहसको बिषय हुन सक्छ । तर सत्य के हो भने मैले कसैको राजनीति, जात, वर्ण, लिंगआदि हेरेर किताब समीक्षा गर्दिनँ । कमजोर कृति लेख्छन् भने माक्र्सवादी लेखक भनेर माया गर्नचाहिं सक्दिनँ । 

🅠 तपाईसँग बेलुका बसेर रक्सी खायो भने भोलिपल्ट राम्रो समीक्षा आउँछ रे ?
➲ बिल्कुल गलत हो । म बढीभन्दा बढी छिद्रान्वेषी भएर कडा समीक्षा गर्नेमा बद्नाम छु । अब त्यस्तो मान्छेले कसरी रक्सी खाएरचाहिं राम्रो लेख्छ ? एउटै मान्छे कसरी विपरित कुरामा ‘कुख्यात’ हुन सक्छ ? फेरि, मैले लेखेको कुरो खुसुक्क खल्तीमा हालेर सिफारिस गर्ने त होइन । त्यो त छापिन्छ । छापिएपछि हरि अधिकारीले कुन किताबमा कसरी लेख्यो सबै थाहा भइहाल्छ । त्यसैले यो आरोपमा कुनै दम छैन ।

🅠 समीक्षा लेख्न बस्दा तपाई किताबको के कुरामा ध्यान दिनुहुन्छ ? 
➲ समीक्षा लेख्न बस्दा ‘किताबको बिधा कुन हो ? लेखकले लेख्न खोजेको कुरा राम्ररी लेख्न सकेको छ कि छैन ? नेपाली भाषको सौन्दर्यलाई बढाएको छ कि खत्तम पो पारेको छ कि ? अनुसन्धान र अध्ययन कति गहिरो गरी गरेको छ ? पाठकसमक्ष राम्ररी पेश गरेको छ कि छैन ?’ भन्ने कुरामा ध्यान दिन्छु । एउटा पाठकको हिसाबले अध्ययन गर्छु । मेरो सामथ्र्यसम्मको विवेचना गर्छु । तर मैले गरेको विवेचना अन्तिम हो भन्ने भ्रमचाहिँ मसँग छैन । 
🅠 पछिल्लो समयको समीक्षा लेखनलाई कसरी हेरिरहनुभएको छ ? 
➲ केहीले लेख्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये केहीले मित्रलाभ गर्ने र खाली ठाउँ भर्ने हिसाबले पनि लेखिरहेका छन् । केहीले चाहिं इमान्दारीपूर्ण  प्रयास गरिरहेको देख्छु । शुरेश प्राञ्जली र विवश वस्तीले केही लेखेका थिए । उनीहरुले अहिले लेखेको देख्दिन । पछिल्लो समय गुरुङ सुशान्तले अलि गम्भीर प्रयत्न गरिरहेजस्तो लाग्छ । 

🅠 समीक्षा लेखनमा कोही प्रतिष्पर्धी आइरहेजस्तो लाग्दैन ?
➲ समीक्षा धेरैले लेखिरहेका छन् । तर कतिपयले ‘रिभ्यु’ भन्दा ‘प्रिभ्यु’ लेखिरहेका छन् । त्यसमा मेरो प्रतिष्पर्धा हुँदैन । किनकि सबैलाई थाहा छ, अहिले समीक्षा बिधामा मेरो बजार ठूलो छ । साख छ भन्नुपर्‍यो । अझै दुई–चार नियमित समीक्षक आए पनि बिक्ने स्थिति छ । त्यसैले मैले प्रतिष्पर्धाको अनुभव गर्ने सवालै छैन । किनभने अहिलेलाई मेरो प्रतिष्पर्धा कसैसँग छैन । 
܀܀܀
𝌟 कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments