'घर बनाउने सपनाले नेपाल बस्न दिएन'

कवि गोबर्धन पूजाको कविता संग्रह ‘पीडा अवतार’ कवि प्रकाश सायमीले लेखेका छन्, ‘उनी कवि कम हुन्, कविता बढी हुन् ।’ पीडा अवतारका साथै वाचाल ओठहरु र प्रेम अवतार कविता संग्रहमा कवि गोबद्र्धन पूजा राम्ररी देखिएका छन् । तर घर बनाउने सपना बोकेर अमेरिकामा काम गर्न गएका कवि कविता नै बढी बनेका छन् । 
०२७ सालमा चितवनको चैनपुरमा जन्मिएका राजेन्द्र श्रेष्ठ नै गोबद्र्धन पूजा हुन् । कवितामा मात्रै होइन, असहमतिका पाइलाहरु (कथासंग्रह), शून्यताको आँचलभित्र (उपन्यास), धर्तीको धूलो (गजल संग्रह), अब इतिहास रुँदैन (धारावाहिक उपन्यास) र बिक्रीमा यो जिन्दगी (गजल संग्रह)मार्फत उनको नेपाली साहित्यको अन्य विधामा पनि उपस्थिति छ । नेपालमा रहँदा पत्रकारिता, प्राध्यापन र संस्थागत अभियानमा सक्रिय पूजा अहिले पनि विभिन्न संस्थामा संलग्न छन् । उनी दी एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए), उत्तर अमेरिकाले जुलाई ४ देखि ६ सम्म गर्न लागेको अन्तराष्ट्रिय नेपाली कविता महोत्सव–२०१३ का उपसंयोजक पनि हुन् । अमेरिकाको बोस्टनमा रहेका पूजासँग अमेरिका बसाइ, त्यहाको साहित्यिक गतिविधि र महोत्सवको सेरोफेरोमा इमेलमार्फत गरिएको कुराकानी :

🆀  साहित्यकार गोबर्धन पूजा किन अमेरिकामा छ भन्ने प्रश्नमा तपाईको जवाफ के हो ?
⭆ नेपालमा कलेजको प्राध्यापनमा व्यस्त, नाम चलेको पत्रिकाको बरिष्ठ उपसम्पादक, एफएमको कार्यक्रम सञ्चालक हुँदा–हुदै पनि एउटा घर बनाउने सपना पूरा नहुने देखेर गोवर्धन पूजा अमेरिका भास्सिएको हो । जीवनमा घर बनाउनु पर्छ भन्ने मान्यता बोकेको मेरो आदर्श र सपनाले मलाई नेपाल बस्न दिएन । 

🆀  केही समयअघि कवि आहुतीले एउटा कार्यक्रममा भन्नुभएको थियो कि एउटा कविले राम्रो घर बनाउने र राम्रो कवि बन्ने सपना देख्यो भने उ राम्रो कवि बन्न सक्दैन । के भन्नुहुन्छ  ?
⭆ एकदम सही कुरा हो । मेरो जीवनमा पनि यो सत्य लागू भएको छ । लाग्छ, अचेल म कवि होइन, घर बनाउने सपना पालेको कुनै नेपाली हो, जसले कविताको मैदान छोडेर अर्थोपार्जनको पहाड चड्दै छ । सायद मैले राम्रो कवि बन्ने प्रयास कतै विसाएको छु । 

🆀  के फरक पर्दोरहेछ एउटा नेपाली साहित्यकार विदेशमा हुनु र नेपालमा हुनुमा ?
⭆ धेरै–धेरै फरक पर्दो रहेछ । अझ म त केही सिर्जना गरेपछि प्रकाशन गर्न हतार गर्ने मान्छे, कार्यक्रम भने पछि हुरुक्कै हुने मान्छे । यहाँ त्यही कुराले छटपटी बढाएको छ । पत्रपत्रिकामा नेपालमा कार्यक्रम भएका समाचार पढ्दा किन मैले देश छोडे भन्ने प्रश्नले पीडा दिन्छ ।

🆀  अमेरिकामा तपाईको व्यक्तिगत जीवन कसरी वितिरहेको छ ? सिर्जनात्मक गतिविधि कस्तो छ ? 
⭆ यहाँ म काम गर्न आएको भन्ने ठान्छु र दैनिक १० घण्टा काम गर्छु । श्रीमतीले पनि हप्तामा ४ दिन काम गर्ने हुँदा उनी काममा गएको दिन आधा दिन छोराहरु हेर्नुपर्छ । केही साथीहरु छन् । भेटघाट कुराकानी हुन्छ । लायन्स क्लबको सदस्य सचिब छु, बैठकहरुमा जान्छु । कहिले नेपालीहरुले पार्टी गर्छन्, मिलेसम्म जान्छु । साहित्यकारहरु पनि छन्, कोठे गोष्ठीदेखि ठुला गोष्ठिमा पनि सहभागी हुन्छु । यसरी नै चल्दै छ  । मेरो काम गर्ने ठाउँ अलि सजिलो भएकोले कम्युटर चलाउने, रेडियो सुन्ने, टिभी हेर्ने देखि फेसबुक चलाउने र साहित्यिक सिर्जना गर्नेसम्म काम अफिसमै गर्छु ।   

🆀  नेपाल कहिले फर्कने ? या अबको जीवन अमेरिकामै बिताउने सोचमा हुनुहुन्छ ? 
⭆ ५–७ वर्ष अझै अमेरिका बस्नु छ । त्यसपछि नेपाल फर्कने हो । सकिन्न यो यो बिरानो ठाउमा जिन्दगी बिताउन । मलाई त यहाँ बनबास आएजस्तो लाग्छ । बनबास छिटै काटियोस भन्ने कामना गर्दै छु । 

🆀  स्वदेशमा भन्दा प्रवासमा मान्छेको मन बढी साहित्यिक बन्छ भन्छन्, हो त ? 
⭆ धेरैको विचार यस्तै रहेको मैले पनि सुनेको छु र यसमा केही सत्यता पनि छ । देश छोडेपछिको मानसिक अवस्थाले मनमा तरंग पैदा गर्नु मानवीय स्वभाव पनि हो । साना–साना कुराले पनि मन चिसो हुने गर्दछ., यस्तो अवस्थालाई शब्दमा उतार्न सिपालु मान्छे पक्कै पनि सर्जक बन्छ । अझ साहित्यकारलाई त साहित्यिक भावना र बिषय मिल्छ नै । त्यसैले प्रवासमा मान्छेको मन बढी साहित्यिक बन्छ भन्नु गलत होइन ।

🆀  स्वदेशमा हुँदा साहित्यप्रति चासै नराख्ने, देशको बारेमा नसोच्ने मानिस पनि विदेशमा गएपछि देशको माया पोखेर साहित्य लेख्छन् नि है ? 
⭆ त्यो पनि सत्य हो । तर विदेशमा पुगेर मातृभूमि सम्झेर साहित्यको सिर्जना कसैले गर्छ भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । देश छोडनु भनेको देशलाई माया नगर्नुको रुपमा चित्रित गर्नु हुदैन । सधैको लागि भनेर कोहि पनि विदेश जान्छ जस्तो मलाई लाग्दैन । तर बस्नु भन्दा पनि बिदेशमा फस्नुको नियतिले उसलाई गाँजेको पाइन्छ । त्यो बाध्यता पोख्नलाई कलमको सहारा लिनु मलाई लाग्छ राम्रै कुरा हो ।  

🆀  अमेरिकामा र नेपालमा स्रष्टालाई हेरिने दृष्टिकोणमा के फरक पाउनुभयो ? 
⭆ म धेरै यसमा घुल्न त पाएको छैन तर एउटा मीठो अनुभूति भने संगालेको छु । म लेखक हु भन्ने थाहा पाएको मेरो एउटा अमेरिकन साथीले आफ्नी १२ कक्षामा पढ्दै गरेकी छोरीलाई लेखिका बनाउन चाहन्छ । उनका कथा, कविता मलाई देखाउँदै भन्छ – म उनलाई लेखिका बनेको हेर्न चाहन्छु । यसले के देखाउछ भने, अमेरिकन बाबु–आमाको सपनामा आफ्ना सन्तति लेखक बनुन् भन्ने पनि छ । अमेरिकामा लेखक बन्नु नेपालमा डाक्टर, पाइलट, इन्जिनियर बन्नुजस्तै ठुलो सपनामै पर्दोरहेछ । तर नेपालमा आफ्ना सन्तान लेखक बनुन् भन्ने सपना सायदै कुनै बाबु आमाले लिएका होलान् । 

🆀  विदेश र नेपालका स्रष्टाको व्यक्तिगत जीवन, लेखन तरिका, जीवनशैली, पुस्तक प्रकाशन शैली, प्रविधि आदिमा के फरक रहेछ ? 
⭆ यहि कुरामा त ठुलो अन्तर छ । विदेशमा लेखन एउटा राम्रो पेशा बनेको छ, तर नेपालमा भर्खर–भर्खर यसको शुभसंकेतको झिल्का देखिन लागेको छ । अझै पनि मेरो एउटा राम्रो कवि साथी पुतलीसडकमा बसेर चुरोटको खाली बट्टा संगालेर कविता कोर्छ । विदेशमा भने विद्युतीय प्रविधि प्रयोग हुन्छ । विदेशमा लेख्नका लागि कुनै रमाइलो ठाउमा भ्रमण गर्ने चलन छ । नेपालमा भने आफ्नो व्यस्त समयलाई बचाउनु पर्छ । विदेशमा पहिले नै पारिश्रमिक लिएर लेख्ने छन्  । तर नेपालमा स्रष्टाले आफ्नो कृति छपाउन प्रकाशन संस्थाका प्रबन्धकको मुख ताक्नु पर्छ । यस्तै–यस्तै कुराको फरक देखियो । यस हिसाबले नेपाली लेखक अझै झुल्केघामको पर्खाईमै छन् ।

🆀  तपाई अन्तराष्ट्रिय नेपाली कविता महोत्सवको उपसँयोजक पनि हुनुहुन्छ ?  कस्तो हुँदैछ महोत्सव ? 
⭆ म विगत तीन वर्षदेखि नै यसमा संग्लन छु । फरक यत्ति हो कि पहिला पहिला पृष्ठभूमिमा थिएँ, यस पटक देखिने गरेर लागेको छु । प्रतियोगितामा राम्रा कविता आउनेमा ढुक्क छौ ।  
मैले पनि विगतमा थुप्रै प्रतियोगितामा सहभागिता जनाएको थिएँ । त्यति बेला जित्नुको मज्जा र हार्नुको पीडाको अनुभूति मैले पनि संगालेको छु । यो प्रतियोगितामा कुनै वाद चल्दैन, चल्छ त केवल कवितावाद । अन्तररास्ट्रिय स्तरको भएकोले जसले पनि भाग लिन सक्छ । राम्रा कविता लेख्ने कविलाई कविता पठाउन आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्दछु । अर्को खुशीको कुरा, यसपटक पुरस्कार अमेरिकाको न्युयोर्कमा नै दिने व्यवस्था मिलाएको जानकारी संयोजक विनोद रोकाले दिनु भएको छ । त्यसैले एउटा राम्रो कविता अमेरिका घुम्ने माध्यम पनि हुन सक्छ ।

🆀  तपाई अन्तराष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष पनि हुनुहुन्छ, के–के गर्दैछ मञ्चले ? 
⭆ हुन त नेपाली गजललाई संस्थागत स्वरुप दिनु पर्छ भनेर सम्भवत: पहिलो पटक गजल संस्थाको जन्म दिनेमा म हुँ भन्दा मलाई गर्व लाग्छ । २०५५ सालमा भक्तपुरको कटुन्जेमा चक्रपाणी चालिसेको जन्मजयन्तीका अवसरमा आयोजित प्रथम राष्ट्रिय गजल प्रतियोगिताको संयोजकमध्ये एकको हैसियतपश्चात साथीहरुले मलाई अधक्ष्य बनाएर स्थापना गरेको गजल मञ्च नै नेपाली गजलको संस्थागत स्वरुपको पहिलो कडी हो । त्यसपछि देश–विदेशमा यहि नामबाट संस्था खुलेका छन् । यहि क्रमलाई निरन्तरता दिन घनेन्द्र ओझा, प्रभाती किरण, नारायण गाउँले, पुरानाघरेजस्ता गजलका ज्ञातासंगको सहकार्यमा मञ्च स्थापना भएको हो । यसले एउटा संयुक्त गजलको किताब छिटै प्रकाशन गर्दैछ । विभिन्न स्थानमा कार्यक्रम भइरहेको छ । साथै संस्थाको विस्तार हुदैछ । मञ्चलाई नेपाली गजलको आधिकारिक मञ्च कसरी बनाउन सकिन्छ भन्ने सोचमा हामी छौं । 

🆀  अन्त्यमा, तपाईका पाठकलाई के भन्नुहुन्छ ?
⭆ मैले जीवनको दुई दशकभन्दा बढी समय साहित्यिक रंगमञ्चमा बिताई सकें । हाल केही गर्ने अठोटका साथ अमेरिका आएको छु । मैले यहाँ संगालेको अनुभवको मलजल भोलि नेपाली साहित्यका बगैचाकै लागि हुनेछ । अहिले प्रकाशनका हिसाबले म छायाँ परेको जस्तो देखिए पनि मेरो लेखन भने निरन्तर छ । 
܀܀܀
🍃 कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments

Popular posts from this blog

Philosophy of Fearism

Book Talk: The Laws of Human Nature