प्रश्नको जवाफ खोज्दै ‘घाइते ह्विलचेयर’

कवि विष्णु भण्डारीको कविता कृति ‘घाइते ह्विलचेयर’ बजारमा छ । प्रकाशन भएलगत्तै किताब हात पर्‍यो । त्यो पढिसकेपछिको अनुभूति बाँड्दैछु । हामीलाई थाहै छ, चालीसको दशकको सुरुवातबाटै कवितामा सक्रिय कवि भण्डारीका पञ्चायतकालीन समयमै दुई खण्डकाव्य विद्रोहका छाल (०४३) र ब्वाँसोको अन्त्यको खेल (०४५) प्रकाशित भयो । त्यस्तै उनको आँधीतुफान (०४४) मुक्तक संग्रह पनि त्यसै समय प्रकाशित भयो । त्यसपछिको झण्डै दुई दशक उनको कृति पढ्न पाइएन र हामी धेरैले साच्यौं – विष्णु भण्डारी हराए । तर पछिल्लो समय उनी निकै सक्रियताका साथ हामीबीच आइरहेका छन् । जनआन्दोलनमा सक्रियताको साथ सहभागी कवि भण्डारीले त्यसको सफलतासँगै त्यसैबर्ष दुईवटा कविता संग्रह हामीलाई दिए, फेरि अर्को तारा खस्यो र देश जागेको बेला । त्यसपछि उनको उत्सर्ग महाकाव्य (०६७) प्रकाशित भयो । अहिले उनी आफ्नो सातौं कृतिका साथ साहित्यिक बजारमा छन् । 
यो कविता संग्रहमा भण्डारीका ०६४ सालदेखि अहिलेसम्म रचिएका ४६ कविताहरु संग्रहित छन् । उनले ०६४ सालमा लेखेको ‘बाटो’ शिर्षकको कविताबाट संग्रहको सुरुवात गरेका छन् । यो कवितामा जनताको मुक्तिको लागि जनयुद्धबाट शान्ति प्रक्रियासम्म आइपुग्दा संसारमा प्रयोग गरिएका सबैखाले क्रान्तिको तरिका प्रयोग भइसकेको र अब नेपालमा हुने क्रान्ति मौलिक बाटोबाट अघि बढ्नुपर्ने संकेत गरेका छन् । त्यसको आवश्यकता र प्रतिबद्धता कवितामा मुखरित भएको छ । संग्रहको पहिलो कविता किन पनि उल्लेखनीय छ भने संग्रहका अरु कविता यसैको विस्तार हुन् भन्न सकिन्छ । नेपालमा सम्पन्न हुनुपर्ने मौलिक क्रान्ति कतातिर जाँदैछ, त्यसप्रति जनताको धारणा कस्तो बन्दैछ र त्यसका अभियन्ताहरु के गर्दैछन् भन्ने बिषय नै संग्रहको केन्द्रीय बिषय हो । 
नेपाली जनताले आफ्नो स्वराज स्थापनाको लागि बलिदान, त्याग र तपस्या गरे । नयाँ शक्तिलाई देशको बागडोर दिलाइदिए । तर त्यो नयाँ शक्तिले पनि देशलाई अगाडितिर राम्ररी हाँक्न किन सकेन ? भन्ने जनताको प्रश्नहरु नै संग्रहका कविताको केन्द्रीय प्रश्नहरु बनेका छन् । त्यसैले पनि होला, उनले धेरैजसो कवितामा प्रश्नात्मक शैली नै प्रयोग गरेका छन् :
सल्काएर आशाको स्वप्न महलमा आगो
किन बाडिरहेछ उसले
सुनाखरी फूलहरुको बस्तीमा
सपनाहरुको विगुत ?
(दिग्भ्रमित बटुवा)

मैले रगत बगाएर सिर्जना रोपेको माटो
कसरी हाक्काहाक्की तिमीले दावा गर्‍यौ ?
पचाएर लाज
कसरी खुल्लेयाम फिर्ता माग्यौ ?
(माटो)

ओहो !किन देखिदै छ उसको अनुहारमा
दुश्मनको प्रतिच्छायाँ 
के यो समाजको मजाक
दृष्टिभ्रम हो ?
(अनुत्तरीत प्रश्न)

कमरेड ! के भेटिएला र सपनाको सुन्दर बिहान
ढलाएर आस्थाको सगरमाथा ?
(आस्थाको सगरमाथा)

नायक ! म सोधिरहेछु तिमीलाई
किन शितांग बनेको छ समय ?
(नायक)

त्यसो त उनले संग्रहको नाम राखेको कविता ‘घाइतेको ह्विलचेयर’को पनि केन्द्रीय विषय प्रश्नै हो । 
किन अत्तरले पखालिदै छन् मन्दिरहरु ?
किन बर्साउँदैछन् विमानहरुले अबिर ?
सर्वत्र फूलहरुको बर्षा
के यो विजयोल्लासपछिको हर्षोल्लास हो ?
यसमा उनले जनताको मुक्तिको सपना देखेर घाइते बनेकाहरुको सपना पूरा नहुँदै किन विजययात्रा हुँदैन । किन उनीहरुलाई वेवास्ता गरिदैछ भन्ने प्रश्नलाई संवेदनशील ढंगले उठाएका छन् । 
लामो बलिदानपछि पनि जनता मुक्त भएका छैनन्, त्यसले कविलाई पोलिरहेको छ । त्यसैले उनी खुशी हुन सक्दैनन्, देउसी खेल्न सक्दैनन् :
सखी ! आशाहरको अन्तिम क्षितिज पनि
कालो छायाले छेक्न खोज्दै छ
भो मलाई देउसी खेल्नु छैन
यो रगत नसुकिसकेको आँगनमा खुशी साटेर नाच्नु छैन ।
(देउसी र सपनाहरु)
उनका कविता सहिद र सहिदका परिवारको अत्यासलाग्दो प्रतिक्षाप्रति संवेदित छ : 
आँसुले नुहाएर
सपना साँचेर बसेको धेरै भयो 
(अनेकोट)
भण्डारीका कवितामा केवल आक्रोश, प्रश्न र चिन्तामात्रै छैन, उनले यो परिस्थितिप्रति विद्रोहको उठान पनि गरेका छन् :
देउ मालिक ! 
मेरो जुठेको जीवन देऊ
र फिर्ता लग
मैले लुटेको माटो ।
(माटो)

मझेरीमा 
रक्तमुछेल अनुजहरुको लासमा
जब निर्धक्क भन्किन थाल्छन् हरिया झिंगाहरु
उसले भुल्छ रुपमाधुर्यको स्वप्नगंगा
र सुम्सुम्याउँछ खिया लागेका बन्दुकहरु 
(बन्दुक)
जनताको सपना पूरा भएन भने स्वत: विद्रोह हुने र त्यसले आफ्नो स्वराज ल्याएरै छाड्नेप्रति कविमा विस्वास देखिन्छ । त्यसैले उनका कवितामा आशावाद पनि राम्रैसँग प्रकट भएको छ :
मान्छेको लासहरुको भर्‍याङ चढी
सत्तामा पुगेको अन्धो मान्छे !
हेर त
जीवनमा सपनाको पंख भर्ने आगो अझै निभेको छैन ।
(आगो)

यो दुन्दुभी बज्दै गरेको बेला
अशान्त सडकहरुमा
खनेर निराशाको आलो  चिहान
मान्छे मद्होस सुत्ने छैनन् 
(बिद्रोही मनहरु)
नेपाल शान्तिप्रक्रियामा प्रवेश गरेपछि अहिलेसम्म जनताले गरेको आशा, त्यो आशामाथि लागेको बादल र त्यो आशा पूरा गर्नको लागि नेतृत्वप्रतिको खबरदारीलाई कविले यस संग्रहमा कलात्मक मूल्य दिएका छन् । त्यसैले उनको यो कविता संग्रह शान्तिप्रक्रियाको अवधीमा जनताको मनमा बनेका मूर्त चित्रहरु हुन् भन्न सकिन्छ ।  
कविताको अन्य सैद्धान्तिक पक्षमा त समालोचकहरुको मत आउला नै । तर एउटा पाठकका हिसाबले संग्रहमा केही चित्त नपर्ने कुराहरु पनि देखिन्छन् । कवि आफैंले लेखेको चार पेज भूमिका त्यसमध्ये एउटा हो । त्यसको कारण हो, कवितको भूमिका र कविताको भाषा, प्रश्न र अनुभूति उस्तै छ । उनले भूमिकामै लेखिएको भाव कवितामा दोहोरिएको छ । यसले कविता संग्रहमा एउटा आत्मपरक निबन्ध पनि समेट्ने खोजेजस्तोमात्रै भएको छ । वास्तवमा भूमिकाका लागि अन्तिम अनुच्छेदमात्रै काफी हुन्छजस्तो मलाई लाग्छ । 
त्यस्तै कविका कविता सरल हुँदाहुँदै कतिपय स्थानमा अनावश्यक क्लिष्ट शब्दको खोजी गरिएको जस्तो भेटिन्छ । त्यसले कविताको बहाबलाई अड्काएको महसुस हुन्छ । पूरै भाव आउने दमदार पंक्तिहरु लेखिसकेपछि कवि कतिपय स्थानमा बढी बर्णन गर्न लागेजस्तो देखिन्छ । यसले कतिपय कवितामा उनको दमदार अभिव्यक्ति पनि छायाँमा परेको देखिन्छ । तर यो चित्त नपराई मेरो निजी अनुभूतिमात्रै हो । 
कविता संग्रह पढिसक्दा कविको उद्देश्य बुझिन्छ । उनी जनतामा पछिल्लो समय उत्पन्न भएको निराशा र त्यसले पैदा गरेको प्रश्न सम्बन्धितहरुलाई सुनाउन चाहन्छन् । त्यसैले उनले अन्तिम कविताको शिर्षक नै ‘खामबन्दी’ राखेको हुनुपर्छ । समग्रमा यो ‘खाम’ पाठकले त खोल्ने नै छन्, सम्बन्धितले पनि एकपटक खोल्नै पर्ने बनेको छ । कतै खामभित्रका प्रश्नहरुको व्यवहारिक जवाफ आउँछ कि ? नागरिक पनि आशावादी छन् । 
܀܀܀
✍ कला अुनरागी

Comments