'२०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु'

गगन थापा, नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनदेखि चौधौं महाधिवेशनको अवधि भनेको चार बर्ष हो, ०७८ सालसम्म । यस अवधिका लागि हामी कांग्रेसको नेतृत्व छान्दैछौं र मार्गदर्शन गर्ने नीति पनि तय गर्दैछौं । यस सन्दर्भमा ०७८ सालसम्म हामी नेपाल कहाँ पुगेको देख्न चाहन्छौं भन्ने मुख्य कुरा हो । त्यसका निम्ति कांग्रेसले के दायित्व निर्वाह गर्नुपर्ला र त्यसका निम्ति कस्तो नेतृत्व चाहिएला भनेर हेर्यौ भने हामी सही बाटोमा हुन्छौं ।

दुई ठूला सम्भावना र कांग्रेस नेतृत्व
मेरो बुझाइमा अबको चार बर्ष नेपालको राजनीतिमा महत्वपूर्ण रहनेछ । यसबीचमा दुई सम्भावनाबीच नेपाल रहनेछ । पहिलो, फेरि पनि इतिहासको क्रुर नियती दोहोरिन्छ । हाम्रो इतिहास छ कि हामी पटक–पटक आन्दोलनलाई सफल बनाउँछौं, तर आन्दोलनको उपलब्धि जोगाउनै सक्दैनौं, संस्थागत गर्न सक्दैनौं । अहिलेको सन्दर्भमा हेर्दा त्यस्तो भयो भने यो संविधान कार्यान्वायनमा जान सक्दैन । संविधानका केही कोसेढुंगा छन्, यसले केही संरचना निर्माणको सर्त तय गरेको छ । त्यो बाटोमै जाँदैन र एकप्रकारको अस्थिरता सुरु हुन्छ । संविधानकै विरुद्धमा नयाँ राजनीतिक प्रयोग यो वा त्यो बहानामा हुन्छ । नेपालको राजनीतिक यात्रा धरापमा पर्छ । अर्को सम्भावना हो, अत्यन्त उतारचढावका बीच पनि संविधान कार्यान्वायन हुने क्रममा जान्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत हुन्छ । यस बीचमा यस्ता बलिया जगहरू हालिन्छ कि सानातिना धक्काको थेगेरै पनि घरचाहिँ बन्छ । यी दुई सम्भावनामध्ये कांग्रेसले नेपाललाई दोस्रो सम्भावनातिर डोर्याउन सक्छ कि सक्दैन भन्ने मुख्य कुरा हो । कांग्रेसको अहिलेसम्मको ‘ट्रयाक रेकर्ड’ हेर्यौं भने यसले हरेक आन्दोलनको सफलतापूर्वक नेतृत्व गरेको छ, तर आन्दोलनपछिको कालखण्डमा कहिल्यै व्यवस्थापन गर्नसकेको छैन । त्यसैले ०७८ सालसम्म संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा कस्तो नेतृत्व चाहिन्छ भन्ने कुरा यो महाधिवेशनले निर्धारण गर्नुपर्छ ।

कार्यकारी भूमिकाको खोजी 
नेपाली कांग्रेसमा अहिले जुन पंक्तिले नेतृत्व गरेको छ, त्यसको बलमा नेपाल यहाँसम्म आइपुगेको हो । यो सत्य हो । तर यो पंक्तिसँग जुन राजनीतिक समझ, व्यवस्थापन र इच्छाशक्ति छ, त्यसकै भरमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्दैन । यो पनि स्पष्टै छ । त्यसैले हामी अहिले मुख्य नेतृत्वमा जान चाहिरहेका छौं । हाम्रो उपस्थितिले नेपाली कांग्रेसको नेतृत्व पंक्तिलाई सन्तुलित बनाउँछ । जुन नेतृत्वको बलमा आन्दोलन सम्पन्न र सफल भयो त्यसको पनि त्यहाँ उपस्थिति हुन्छ । नयाँ ढंगले व्यवस्थापन र समाधान खोज्ने हाम्रो पनि उपस्थिति हुन्छ । त्यसो हुँदामात्रै कांग्रेसले सुझबुझ र सन्तुलित ढंगले नेतृत्व लिन सक्छ र संविधान कार्यान्वायनमा जान सक्छ । यसअघि भएका कमजोरीको पुनरावृत्ति हुँदैन । 
अहिलेसम्म चाहिँ हामी सहायक भूमिकामा थियौं । अह्राएको काम गर्ने, यस्तो हुनुपर्छ भन्ने सुझाव दिने, साक्षी बस्ने र कतिपयका कुरामा चित्त दुख्दादुख्दै पनि सँगै जाने हाम्रो भूमिका रह्यो । अबको अवधिमा हामी मुख्य नेतृत्वमा गएर कांग्रेसलाई ऐतिहासिक दायित्व निर्वाह गर्ने क्षमता र कौशल भएको पार्टी बनाउन चाहन्छौं ।

मुख्य नेतृत्वमा पुग्ने आधार
नेपाली कांग्रेसमा विभाजन असर अहिलेसम्म पनि छ । त्यसैले हामीले नचाहँदा–नचाहँदै पनि कुनचाहिँ पार्टीमा थियौं भन्ने पृष्ठभूमि जोडिएर आउँछ । त्यसकै आधारमा पार्टीभित्र समूह छ गाउँदेखि माथिसम्म । हामीले कामना गरे पनि यस्तो समूह भत्केको छैन । त्यसैले हामीले मुख्य नेतृत्वमा जाने चाहना राखेपनि हामीलाई कुनै पनि समूहले आफ्नो समूहमा राख्दैन भने तलदेखि माथिसम्म समूहकै नाममा प्रतिनिधिले कसरी चयन गर्छन् भन्ने प्रश्न आउन सक्छ । तर अर्को अवस्था देखेको छु मैले । पार्टी विभाजन भएर एकता हुँदा दुइटा पार्टीको संघजस्तो बनेको छ कांग्रेस । प्रत्येक कुरामा भागवण्डा गर्नुपर्ने स्थिति छ निर्णय होस् भूमिकामा । यसबाट साथीहरू आजित भएको देखिन्छ । यो हाम्रो निम्ति अवसर हो । यो वा त्यो समूहले हामीलाई बोकेर मुख्य नेतृत्वमा पुर्याउने हो भने इच्छा जे भए पनि समूहकै धर्म निर्वाह गर्न बाध्य हुनुपर्छ । त्यसैले यो अवस्थामा कुनै पनि गुटले नपठाएको मान्छेले मात्रै स्वतन्त्र नेतृत्व गर्न सक्छ भन्ने बुझाइ साथीहरूमा छ भन्ने लाग्छ । 
त्यस्तै अर्को आधार हो, युवा साथीहरू । अहिले प्रतिनिधिका रूपमा धेरै युवा साथी आउनुभएको छ । उमेर कुनै वैज्ञानिक आधार नभए पनि युवामा हुर्काइ र भोगाइको समानता हुँदोरहेछ । ०४६ आन्दोलनको पुस्ता, जसले ०६२/६३ को आन्दोलनमा काम गर्यौं, यो पुस्ता नेपाली राजनीतिको पछिल्लो डिस्कोर्समा सहभागी भएर आएको छ । दलित, जनजाति, महिला, समावेशी, अधिकार र पहिचानको डिस्कोर्समा भिजेर, सिकेर र खेलेर आएको छ ।  त्यसैले हामीमा एउटै खालको सोचाइ छ । त्यस्ता प्रतिनिधि अहिले ५० प्रतिशतको हाराहारीमा छन् । यो पुस्ता हिजोको परिवर्तनमा गौरव गर्ने भन्दा पनि भोलिको परिवर्तन चाँडो होस् भन्ने आकांक्षा बोकेर बसेको छ । यसरी आएका युवा साथीले हामीलाई मुख्य नेतृत्वमा देख्न चाहेको अनुभूति छ मसँग । 
तेस्रो कुरा, पार्टी भनेको समाजिक चाहनाको विषयसूचीबाट अलग रहेर बाँच्न सक्दैन । त्यसैले देशका कुनै पनि ठाउँमा नेपाली कांग्रेसलाई प्रस्तुत गर्नुपर्दा हामी रुचाइने, तर पार्टीमा छनोट गर्दाचाहिँ हुँदैन भन्न मिल्छजस्तो मलाई लाग्दैन । मेरै कुरा गर्ने हो भने चुनावताका धेरै नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसको कुरा राख्न गइदिनुपर्यो भनेर भन्नुभयो । झण्डै दुई दर्जन निर्वाचन क्षेत्रमा म आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छोडेर पुगेँ । त्यसबेला हामी उपयुक्त पात्र भयौं भने कांग्रेसको जिम्मेवारी लिने बेलामा चाहिँ तिमीहरू योग्य भइसकेकै छैनौ भन्ने कुरा त कसरी आउला र ? त्यसैले हामी मुख्य जिम्मेवारीमा जान पाउने आधार पार्टीभित्र छ । 

अभिभावकसहितको पार्टी संरचना
नेपाली कांग्रेसमा अहिले अभिभावक नै छैन । सबैजना क्रियाशील छन् । हामी जुन सभ्यता र परम्परामा हुर्किएका छौं, त्यहाँ अभिभावकको खाँचो पर्छ । त्यसैले केही नेता पार्टीको अभिभावक बनिदिनुपर्छ भन्ने भनाइ हो मेरो । शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्तो नेता अब अभिभावक बनिदिनुपर्छ । 
त्यसपछि उहाँहरूबाट नै दिक्षित नेताहरूको ठूलो पंक्ति छ । त्यो पंक्तिसँग माओवादी युद्धका बेला द्वन्द्वको राजनीति भोगेको अनुभव पनि छ, माओवादीसँग राजनीतिक समझदारी गरेर राजाविरुद्ध लडेको अनुभव पनि छ र गएको दस बर्षमा समझदारीसहितको राजनीतिको अनुभव पनि छ । यस्तो समृद्ध अनुभव भएको पंक्तिले कांग्रेसको पहिलो नेतृत्व लिइदिओस् भन्ने हाम्रो कुरा हो । हामीले एकैचोटी नेपाली कांग्रेसको जिम्मा देऊ भनेका पनि छैनौं । अहिलेको पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्ने हाम्रो पंक्तिलाई महामन्त्री, उपसभापतिलगायतको जिम्मेवारी दिइनुपर्छ । यो नेतृत्व विकासको एउटा तरिका पनि हो । नेपाली कांग्रेस आफैंमा एउटा विचार र परम्परा पनि हो । यो परम्पराबाट अलगथलग रहेर एका–एक नयाँ मान्छे आएर पार्टीलाई हाँक्छु भन्नु पनि कांग्रेसको परम्परा नबुझ्नु हो । हामीले त्यो परम्परा पनि बुझेका छौं । मेरै सन्दर्भमा भन्ने हो भने मैले २६ बर्ष भइसकेछ कांग्रेसमा काम गरेको । त्यसैले हामीले कांग्रेसको परम्परामै आधारित रहेर पहिलो पंक्ति अभिभावक बन्ने, दोस्रो पंक्तिले पार्टीको नेतृत्व लिने र तेस्रो तथा चौथो पंक्ति कार्यकारी स्थानमा बसेर काम गर्नुपर्छ भनेका हौं । त्यसो भयो भनेमात्रै कांग्रेस सन्तुलित हुन्छ । मलाई लाग्छ, पार्टी प्रतिनिधिहरूले यो कुरालाई बुझ्नुभएको छ । 

बलियो राष्ट्रियताको पक्षमा
एउटै महाधिवेशनले युगयुगसम्मको लागि बाटो देखाउनुपर्छ भन्ने कुरा गलत हुन्छ । तर न्यूनतम् पनि पार्टीको मूल विधारधारामा टेकेर अर्को महाधिवेशनसम्म दिशानिर्देश गर्नचाहिँ सक्नुपर्छ । त्यसको लागि बुझ्नुपर्ने कुरा के हो भने संविधान निर्माणअघि र पछिको नेपाल एउटै होइन । यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । र, यो नेपालमा पहिलोपटक हामी महाधिवेशन गर्दैछौं । त्यसैले वैचारिक हिसाबले पनि हामी स्पष्ट हुनु जरुरी छ । 
राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र एवं संसदीय व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक परिवर्तन गर्दै, न्यायपूर्ण गतिशील समाज निर्माण गर्नु हाम्रो उद्देश्य हो । संघीय लोकतान्त्रिक गणतन्त्र माध्यम हो । जुन प्राप्त भइसकेको छ । अब गर्न खोजेको आर्थिक, सामाजिक रूपान्तरण र न्यायपूर्ण समाज निर्माण हो । सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । 
तर जतिबेला हाम्रो पार्टी स्थापना भयो त्यतिबेलाको राष्ट्रियताको अवधारणा जसरी नेपाल फेरिएको छ, संसार फेरिएको छ, त्यसैगरी फेरिएको छ ।  हामीले हिजो नेपाली समाजमा विविधता छ भन्ने मान्नुलाई नै राष्ट्रियता मान्यौं । तर अहिले विविधता मान्नेमात्रै विषय होइन, यसलाई राजनीतिक ‘स्पेस’ दिनुपर्छ । यो विविधताले राजनीतिक पहिचान पायो भनेमात्रै राष्ट्रिय एकता मजबुत हुन्छ । गीत, कविता, साहित्यमा विविधता छ भन्ने तर राजनीतिक संरचना बनाउँदा त्यो प्रतिबिम्बित नहुने हो भने हाम्रो राष्ट्रियता मजबुत हुँदैन । जातपात, धर्म वा भाषाको कुरा नगरौं, सबै नेपाली एक हौं, यस्तो कुरा गर्दा राष्ट्रियता कमजोर हुन्छ भनेर अब हुँदैन । अब त अझै कुरा गरौं, गहिरोसँग कुरा गरौं, समानुभूति राखौं, एकअर्कालाई स्थान दिऔं भनेरमात्रै अगाडि जान सकिन्छ । त्यसरी एकअर्कालाई सम्मान गर्दै ‘स्पेस’ दिँदा जुन एकताको भावना आउँछ, त्यसैको जगमा नेपालले राष्ट्रिय लक्ष्य लिनुपर्छ । त्यो हाम्रो आर्थिक विकाससँग जोडिएको हुनुपर्छ । डेढ÷दुई दशकमा नेपाललाई चरम गरिबीको अवस्थाबाट कम्तिमा पनि मध्यम खालको आय भएको देश बनाउने लक्ष्य निर्धारण गर्नुपर्छ । राष्ट्रियतालाई बलियो बनाएर एकताबद्ध भएर अघि बढ्यौं भने यो सम्भव छ । 

समाजवाद र लोकतन्त्र
समाजवाद र लोकतन्त्रको सन्दर्भमा पनि हामीले त्यसरी नै पुनर्मुल्यांकन गर्नु आवश्यक छ । नेपाली कांग्रेसले समाजवादी आर्थिक कार्यक्रममा विश्वास गर्छ । तर त्यो कार्यक्रम ०४६ सालको परिवर्तनपश्चात कति अभ्यास गर्यौं, सिंहावलोकन गर्न जरुरी छ । यसरी हेर्दा विचित्रको अवस्थामा देखिन्छ । सामाजिक क्षेत्रमा विकासको सूचक हेर्ने हो भने विश्व नै चकित पर्ने गरी प्रगति देखिन्छ । शिक्षा, स्वास्थ्य, मृत्युदर आदिमा । तर यही देश हो, जहाँ दैनिक सत्र सयभन्दा बढी युवा बाहिर काम गर्न जान्छन्, अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलेको छ । जसको एउटा देशसँगको मात्रै निर्भरता हेर्यो भने सार्वभौम हो कि होइन भन्ने प्रश्न उठ्छ । भूकम्पले अस्तव्यस्त बनाउँछ, नाकाबन्दीले हात उठाउने बनाउँछ । जसले सामान बेच्दैन, तन्नेरीमात्रै बेच्छ । त्यसको आयबाट सामान किनेर खान्छ । यस्तो खालको परनिर्भर यसको अर्थतन्त्र छ । त्यसैले सामाजिक विकासको सूचकांकमात्रै हेरेर हुँदैन । यसको समीक्षा गरेर अघि बढ्न सक्नुपर्छ । आलोचनात्मक मूल्यांकन गर्नु जरूरी छ । 
त्यसो त अघि बढ्ने सन्दर्भमा संसारले हामीलाई सिकाएको छ । हामीले पनि त्यही कुरा सिकेको छौं । नेपालजस्तो देशले अर्को १५/२० बर्षसम्म लगातार ८, ९ वा १० प्रतिशत आर्थिक वृद्धि हासिल नगर्ने हो भने संविधानमा जे जे लेखेपनि अर्को नेपाल बन्ने कुरा असम्भव छ । तर यो आर्थिक वृद्धि सीमित मान्छे, परिवार वा कर्पोरेट हाउसमा मात्रै भएर हुँदै । तिनले नेतृत्व गरेको आर्थिक वृद्धिले देशलाई माथि पुर्याउँछ र लोककल्याणकारी राज्य बन्छ भन्ने सनातनी सोचले कहीँ पनि पुगिँदैन । नेपाललाई आर्थिक वृद्धि चाहिएको छ, तर त्यसका लागि दलित, गरिब, सीमान्तकृत, बहिस्कृत र बेरोजगार भनिएका मानिसलाई पनि आर्थिक वृद्धिको अभियानमा अभियन्ता बनाउन सक्नुपर्छ । उनीहरू आफैं उद्यमी भएर अघि बढ्न सक्ने बनाउनुपर्छ । यत्ति कुरामा नेपाली कांग्रेसले ध्यान पुर्याउन सक्यो भने त्योभन्दा बढी सन्तुलित समाजवादी आर्थिक कार्यक्रम आजको सन्दर्भमा केही पनि हुन सक्दैन । 
वास्तवमै विचारको विषयमा हामीभित्र यति कम छलफल भयो कि मनमा ०४६ सालपछि सही काम गरेनौं भनेर कुन्ठा पनि छ । अर्कातिर सार्वजनिक ठाउँमा गएर हाम्रो कारणले यति परिवर्तन भयो भनेर भन्नु पनि परेको अवस्था छ । यो विरोधाभाषमा नेपाली कांग्रेस रह्यो । समस्या यसले पनि भएको छ । हामीले केही कुरामा गौरव गर्ने काम गरेका छौं, केहीमा त्रुटी गरेका छौं । केमा गौरव गर्यौं र केमा त्रुटी गर्यौं भनेर हेर्न सक्यौं भने त्यसले हामीलाई सही बाटो देखाउँछ ।

पुरानालाई धकेलेर नयाँ
अहिले महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको संगठनात्मक चरित्रको चित्रबारे पनि केही बहस भएको छ ।  कतिपय ठाउँमा पैसा र शक्तिको प्रयोग गरेर नेपाली कांग्रेसको प्रतिनिधि बनेको तितो अनुभव पनि झेल्नुपरेको छ । तर यस्ता घटना मानक बन्ने प्रकृतिका छैनन् । कतिपय ठाउँमा पार्टीका अत्यन्त पुराना साथीहरू हुनुहुन्छ । तर नयाँ भनिएको साथी आएको पनि १०/१५ बर्ष भइसक्यो । उसले त्यो पुरानो साथीलाई थोरै धकेलेन भने ‘स्पेस’ नै नपाउने स्थिति छ । त्यसकारणले गर्दा कतै अलिकति धकेलेर आएको अवस्था छ । तर बाहिरबाट हेर्दा यो त्यति प्रिय लाग्दैन । त्यति धेरै दुःख गरेको पुरानो साथी जानुभयो, नयाँ आए भनेजस्तो लाग्छ । त्यसैले यसलाई घटनाविशेषलाई हेर्यौं भने पक्षविपक्षमा देखिने र भावनात्मक हुने कुरामात्रै हुन्छ । तर ती घटना मानक बनेका छैनन् । कतै राम्रो साथी आएकोमा राम्रो भएको छ भनिन्छ, कतै पुराना साथी गए भन्नेमा दुःख मान्ने कुरा हुन्छ । बरु यो कुराले नेपाली कांग्रेस कस्तो पार्टी हो भन्नेमा चाहिँ स्पष्ट हुनु जरुरी छ भन्नेमा बहस माग गर्छ । 

‘क्याडर बेस्ड’ कि ‘मास बेस्ड’ ?
हामी बाहिर त नेपाली कांग्रेसलाई ‘मासबेस्ड’ पार्टी भन्छौं । तर मेरो विचारमा यो अहिले ‘मासबेस्ड’ पार्टी होइन, नेकपा एमाले र माओवादीजस्तै ‘क्याडर बेस्ड’ पार्टी हो । पार्टीको आधार के हो भन्ने कुरा यसको नेतृत्व चयन कसरी हुन्छ र निर्णय कसरी हुन्छ भन्ने कुराले निर्धारण गर्छ । यसको निर्णय केन्द्रको सानो समूहले गर्छ, त्यसको निर्णय सबैले बोक्नुपर्ने हुन्छ । कांग्रेसको मतदाता त निर्णयमा कहिल्यै सहभागी नै हुन पाउँदैन, शुभेच्छुक र शुभचिन्तकको त कुरै छाडौं । केन्द्रिय समितिमा पनि आठ–दस जना नेताले अधिकार लिएर निर्णय गर्ने गरिन्छ । 
अर्को नेतृत्व चयन कसरी हुन्छ भन्ने हो । केन्द्रले सीमित मान्छेलाई सदस्यता दिन्छ नियन्त्रित ढंगले । तिनैले नेता छान्छन् । सदस्यमाथि नै केन्द्रको नियन्त्रण हुन्छ भने नेतृत्वमा को छानिने भन्ने कुरामा पनि स्वतः उसको नियन्त्रण हुन्छ नै । यी आधारले यो विशुद्ध ‘क्याडर बेस्ड’ पार्टी हो । 
हाम्रो भनाइचाहिँ यो ‘मास बेस्ड’ पार्टी हुनुपर्छ । ‘क्याडर बेस्ड’ हुनु यो पार्टीको विचार र परम्परासँग मेल खाने कुरा होइन । त्यसको लागि सुरुवातमा सदस्यता दिने प्रणाली पूरै फेर्नुपर्छ । क्रियाशील वा साधारण सदस्यता खारेज गर्नुपर्छ । सदस्यता पूरै खुल्ला हुनुपर्छ । जोकोहीले पनि यो पार्टी मनपर्यो भनेपछि अनलाइन फर्म भरेको भरमा सदस्यता पाउनुपर्छ । कांग्रेसले कसैलाई सदस्यता नदिने हो भने बरु त्यसको कारण दिनुपर्छ । अरू पार्टीबाट आएर प्रभावित नगरुन् भन्नका लागि सर्त राख्नुपर्छ कि यसको सदस्यता गोप्य हुँदैन । र, सदस्यता लिएपछि कांग्रेसको कार्यालयमा गएर सपथ खानुपर्छ । त्यति गरिसकेपछि अरू आउनु त झन् खुशीको कुरा हुन्छ । बरु, सदस्यता लिएको दुई बर्षपछिमात्रै मतदान गर्न योग्य हुने व्यवस्था गर्न सकिन्छ । 
अर्कोचाहिँ तल्ला समितिमा अधिकार दिनुपर्छ । त्यस्ता समिति पनि आम सदस्यले प्रत्यक्ष रूपमा चुन्न पाउनुपर्छ । क्रियाशीलले मात्रै छान्ने होइन । केही दैनिक कार्यसञ्चालनका निर्णयबाहेक राष्ट्रिय महत्वका विषयमा तलबाट मत लिने व्यवस्था गर्नुपर्छ । अहिले प्रविधिको दुनियाँमा यो सहज पनि छ । जस्तो उदाहरणको रूपमा सरकार सञ्चालनमा एमालेसँग मिलेर जाने कि हामी छुट्टै प्रतिष्पर्धा गर्ने विषय आयो, त्यसमा कांग्रेसका दुई चारजना नेता वा केन्द्रीय समितिकिो बैठकलेमात्रै निर्णय गर्ने होइन । यस्तो विषयलाई तत्काल तल लैजानुपर्छ । यसरी निर्णयप्रक्रिया र नेतृत्वमा आम मानिसलाई भाग लिन सक्ने बनाइयो भनेमात्रै ‘मास बेस्ड’ पार्टी बन्छ । त्यसो हुँदा पार्टीमा चोरबाटोमा छिर्न खोज्नेहरू आफैं रोकिन्छन् । समाजले नै त्यसलाई बन्द गरिदिन्छ । 

जनताको पार्टी, जनताको काम
पार्टी ‘क्याडर बेस्ड’ हुँदा जनताको लागि खुलेर काम गर्न नसक्ने स्थिति पैदा भइरहन्छ । जस्तो कि सरकारमा जाने कुरा नै गरौं न । सरकारमा गएर आफ्नो कार्यकर्ताको संरक्षण गर्ने । किनभने कार्यकर्ताको संरक्षण गरेमात्रै अर्कोपटक चुनाव जिताइदिन्छन् । अनि किन जित्ने भन्दा सरकारमा जान । सरकारमा किन जाने भन्दा कार्यकर्ताको संरक्षण गर्न । यस्तो चक्र बनिरहेको छ । यदि पार्टीलाई ‘मास बेस्ड’ बनाउन सकियो भने यो चत्र भत्किन्छ । त्यहाँ संरक्षण गर्नुपर्ने कार्यकर्ता नै रहँदैनन् । त्यसो हुनेबित्तिकै राजनीतिमा कस्तो राम्रो संस्कार विकास हुन्छ भने कांग्रेस सरकारमा पुग्नेबित्तिकै जनताको काम गर्न पाउँछ । किनकि आम जनताको काम नगरे त जितिँदैन । त्यसैले सरकारमा बसेर स्रोत कब्जा गरेर कार्यकर्ता पालेर उनीहरूको भरमा चुनाव जित्नु नै पर्दैन । त्यसको लागि खुल्ला सदस्यता प्रणाली लागू गर्नुपर्छ । 
भातृ संगठनको अधिवेशन समयमै गर्यौं भने, क्रियाशील सदस्यता समयमै बाड्यौं भने पार्टी ठिकठाक हुन्छ भन्ने बुझाइ देखिन्छ धेरैको । त्यसले अहिलेको भन्दा राम्रो त गर्छ । तर हामी त अहिलेको कांग्रेसलाई आधारभूतरूपमै फेर्न चाहन्छौं । वास्तवमै ‘मास बेस्ड’ र ‘लिबरल डेमोक्रेटिक पार्टी’ बनाउन चाहन्छौं । जसमा जनताको नियन्त्रण रहोस् भन्ने चाहन्छौं । त्यसो गर्नका लागि पनि हामी पार्टीको नेतृत्वमा जान चाहिरहेका छौं । 

अर्को पुस्तालाई बाटो खोलौं
हामीले अहिले पार्टीमा यति उमेरसम्म राजनीतिमा रहने भन्नेबारे बहस त चलाएका छैनौं । तर पनि प्रत्येक व्यक्तिले त्यसमा सोच्नुपर्छ । विद्यार्थी राजनीति गर्दा थुप्रै साथीहरूसँगको अनुभव छ मसँग । विश्वविद्यालयको राजनीतिमा थुप्रै साथी १०–१५ बर्षदेखि बिषय परिवर्तन गरेर पढिरहनुभएको छ । मेरो प्रश्न रहन्थ्यो तपाईहरूको योजनाचाहिँ के हो ? १५ बर्ष बसेर सभापति हुनुहोला, त्यसपछि के गर्नुहुन्छ ? जसको आफ्नै जीवनको बारेमा योजना छैन, त्यसैले देशकै योजना बनाउने राजनीति के गर्न सक्छ ? यस्तो प्रश्नमा साथीहरू अलमल पर्नुहुन्थ्यो । 
त्यसैले मैले २०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु भनेको हुँ । त्यतिबेलासम्म म कति बर्ष पुग्छु भन्ने महत्वपूर्ण कुरा होइन, मुख्य कुरा त नेपाललाई त्यसबेलासम्म कहाँ पुर्याउने भन्ने योजना हो । मेरो योजनामा त्यसबेलासम्म नेपाल कम्तिमा मध्यम आय भएको देश बनाइसक्नुपर्छ भन्ने हो । नत्र हामी राजनीतिमा भएको के अर्थ भयो त ? त्यतिबेलासम्म नेपाल मध्यम आय भएको, लोकतन्त्रको अभ्यास गरिरहेको, जनताको जीवनस्तर उकासिएको र जनताहरू नेपालमा जन्मेकोमा गौरव गरिरहेको अवस्थाको हुनेछ । त्यसपछि हामीले बाँकी जिम्मेवारी हामी पछिको ‘डाइनामिक जेनेरेसन’लाई दिनुपर्छ । तिनको बाटो रोक्नु भनेको आफू र देशमाथि पनि अन्याय हो । गरिब र अभावैअभाव भएको समाजमा जन्मे हुर्केको हाम्रो पुस्ताले नेपाललाई त्यो ठाउँसम्म पुर्याउन सक्नु नै धेरै ठूलो कुरा हो हुन्छ । त्यसअघि लैजान अर्को ढंगले सोच्ने मानिस चाहिन्छ । त्यस्तो मान्छे कांग्रेसमा आइसकेको पनि हुन्छ । म त मेरो जीवन होइन, कांग्रेसको जीवन सोच्छु । त्यसैले त्यतिबेला पनि कोही मानिस आएका हुँदैनन्, हामीले नै पार्टी चलाउनुपर्छ भन्ने सोच राखेर कसरी हुन्छ ? अहिलेको नेतृत्वमा छ नि, हाम्रो त कुरै छाडौं, आफ्नै नजिक बसेर चार दशकसम्म काम गरेको पुस्तालाई पनि नेतृत्व हस्तान्तरण गर्ने सोच देखिँदैन । आजको दिनमा शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई पार्टी सभापति बनाउने बारेमा, रामचन्द्र पौडेलले प्रकाशमान सिंह वा अजुननरसिंह केसी, रामशरण महत वा कृष्ण सिटौलालाई बनाउने विषयमा कहिल्यै सोचेको देखिँदैन । म भइनँ भने त बर्बाद हुन्छ भन्ने मानसिकता छ । हामीचाहिँ कम्तिमा त्यो अवस्थामा नहोउँ भन्ने मेरो कुुरा हो ।

आउनेमात्रै होइन, जाने बाटो पनि
हामीले पार्टीमा चलाउन खोजेको अर्को बहसचाहिँ आउनेमात्रै होइन, जाने बाटो पनि बनाउँ भन्ने हो । पार्टी मूलतः राजनीतिक संस्था हो । सिद्धान्त र उद्देश्यले पार्टी चल्छ । तर संगै यसको संरचनाको आधार हेर्ने हो भने यो आधुनिक संस्था पनि त हो । त्यसमा भित्रने र बाहिरिने नीति हुनुपर्छ । हाम्रोमा भित्र्याउने नीति छ, तर बाहिरिने नीति छैन । त्यसरी आधुनिक संस्था चल्दैन । अमेरिकामा दुईपटक राष्ट्रपति भएपछि सकिन्छ । बेलायतमा संसदीय दलको नेता जो छ, त्यसको नेतृत्वमा पार्टी चुनाव लड्छ, पार्टी चुनावमा हार्यो भने छोडिहाल्छ । पार्टीभित्रको आन्तरिक चुनावमा हारे पनि छोडिदिन्छ । हाम्रोमा त्यो अभ्यास छैन । हामी जो जहाँ हारेपनि बसेको बस्यै गर्छौं । 
यस सन्दर्भमा नेकपा एमालेले ७० बर्षलाई बाहिरिने उमेर मानेको छ । त्यस्तो कांग्रेसले पनि गर्नुपर्छ । मेरो आफ्नो योजना अर्को कुरा हो । तर ७० बर्ष एउटा आम नियम हुन सक्छ । दुई पटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने नियम हामीले बनायौं । त्यो राम्रो भयो । 
त्यस्तै पार्टीमा आरक्षित कोटा छ । एकपटक आरक्षण कोटा प्रयोग गरेर जुन ठाउँमा मान्छे पुगेको हुन्छ, दोस्रोपटक त्यही व्यक्तिले त्यही आरक्षण प्रयोग गर्न नपाउने नियम बनाउन सकियो भने धेरैले मौका पाउँछन् । नत्र त उही मानिस दोहोरिरहने समस्या हुन्छ । चालिस बर्षपछि हेर्दा पनि त्यही आइरहेको हुन्छ । त्यसैले यस्ता व्यवस्थापनको पाटोमा पनि ध्यान पुर्याउनु आवश्यक देखेका छौं । 

कमजोरीको समीक्षा गर्दै नेतृत्वमा
मेरो व्यक्तिगत सन्दर्भमा कुरा गर्नुपर्दा, कतिपय कुरामा मैले जति जुझारुपनको साथमा प्रतिकूलता र अफ्ठ्यारो रहँदै गर्दाखेरि पनि त्यसलाई चिर्नका लागि प्रयास गर्नुपर्ने थियो, त्यसमा चुकेकै हो । कतिपय ठाउँमा समूह बनाएर गर्नुपथ्र्यो, एक्लै गर्न सकिन्छ भन्ने गलत विष्लेषणले सफल भइएन । मन पवित्र छ, आँट छ भने भइहाल्छ नि भन्ने मनोविज्ञान थियो । सडकमा त्यो हुँदोरहेछ, मन पवित्र थियो, आँट थियो, एक्लै निस्केपनि मानिहरूले साथ दिए । म अहिले पनि सम्झन्छु, राजाविरुद्धको आन्दोलनमा पार्टीका एकसे एक स्थापित नेताहरूले भन्नुभएको थियो कि तिमीहरूको राजनीतिक लाइन बडो गलत छ । तर हामी त्यही लाइनमा हामी हिँडेको हिँड्यै गर्यौं । पछि देश नै त्यही लाइनमा आयो । तर संसद र पार्टीको जब्बर संरचनामा बसेर काम गर्दा चलाकीपूर्वक, समूह बनाएर गर्नुपर्नेरहेछ । त्यो जानिएको थिएन, सिकियो । 
कतिपय सन्दर्भमा चाहिँ सम्झौता नै गरेको त होइन, तर पार्टीको परम्पराको नाममा ममात्र कति एक्लो विद्रोही जस्तो हुने ? मेरो परिचय नै त्यस्तो हुन लागिसक्यो भनेर हात उठाएको र थाकेको पनि हो । तर कतिपय सन्दर्भमा बाहिरबाट आशा त रह्यो, जो अहिले पनि छ । तर मैले पाएको स्थान नितान्त कार्यकारी रहेन । जस्तो पछिल्लो समयमा मलाई के लाग्यो भने एकपटकमात्रै सरकारको कुनै एउटा मन्त्रालय सम्हाल्न पाएको भए मेरो आफ्नै पनि परीक्षा हुन्थ्यो । शायद मलाई विश्वास गर्नेहरूलाई यति योग्यता राख्छु है भन्ने कुरा प्रमाणित गर्न सक्थेँ हुँला । तर त्यस्तो स्थान पाइएन । 
पार्टीभित्र पछिल्ले चार–पाँच बर्षको स्थिति हेर्नुहुन्छ भने केन्द्रीय सदस्यको रूपमा समूहगतरूपमा हस्तक्षेप गर्ने कुरामा चुक्यौं । व्यक्तिगतरूपमा विचार निर्माणमा, पार्टीको जनपरिचालन गर्नुपर्ने क्षेत्रमा मजाले काम गर्यौं । कतिपय कुरामा परिणाम आयो । कतिमा आएन । यो चुकेको बारेमा पनि समीक्षा गर्दै, शक्ति र कमजोरी के छ भन्नेबारेमा सही ढंगले विष्लेषण गर्दै योभन्दा अगाडिको कांग्रेसको यात्रामा अब नेतृत्वदायी भूमिकामा प्रस्तुत हुनुपर्छ भन्ने निष्कर्ष हो मेरो । अब पनि हामी पार्टीको निर्णायक ठाउँमा पुगेनौं र याचकको रूपमामात्रै रहिर्यौं भने हामी पनि थाक्छौं । हामीलाई भरोसा गर्ने मानिस पनि थाक्छन् । धैर्यताको पनि सीमा हुन्छ । दश–बाह्र बर्ष हेरिसके । अब त धैर्यता कमजोर हुन लागिसक्यो । म पनि त्यही पुस्तामा प्रतिनिधि हो । त्यसैले अहिले म भनिरहेको छु कि म पार्टीको महामन्त्री बन्छु कि मजस्तो कोही साथी आएर डोर्याऊ । मसँग पनि धेरै धैर्यता छैन । यसलाई कसैले कमजोरी भन्छ भने भनोस् । यो महत्वाकांक्षा होइन । अर्को पाँच वा दस बर्ष नेपाल यत्तिकै रहने र यस्तै ‘थाङ्ने’ कुरामा अल्झिरहने कुरा हामी सहनै सक्दैनौं । त्यसैले अब जिम्मेवारीमा जान चाहन्छौं । कार्यकारी स्थान लिन चाहन्छौं । निर्णय गर्न चाहन्छौं । त्यसको जस वा अपजस लिन्छौं । काम गर्छौं । अहिले त सजिलो छ, गर्न खोजेकै हो, भएन भन्न पाइएको छ । अब त्यस्तो ‘पोजिसन’ चाहिएन । अब गरेको हो, यो परिणाम आयो, यो आएन भन्न सक्ने ‘पोजिसन’ चाहियो । हामीले यो कुरा कुनै लहड वा कसैको उचालेको भरमा गरेको पनि होइन । देशभरबाट आएका साथीहरूको सोच, धारणा र सपनाकै आधारमा भनेका हौं । त्यसैले हाम्रो इच्छा वास्तविकताभन्दा धेरै परको होइन । यसको वस्तुगत र अंकगणितीय पनि छ । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
प्रकाशित : रातोपाटी

Comments