कविताको कथा

दिनेश अधिकारी नेपाली कविता र गित लेखन क्षेत्रमा स्थापित नाम हो । तीसको दशकको सुरुवातदेखि नै कविता र गीत लेखनमा सक्रिय अधिकारीका दर्जनौं कृति सार्वजनिक छन् । उनको कविता ‘हर्कबहादुर’ कक्षा ११ को अनिवार्य नेपालीको पाठ्यक्रममा समावेश छ । उनी आफ्नो कविताको कथा यसरी बताउँछन्- 

यो कविता २०३८ साल असोज १६ गते सर्लाहीको हरिऔनमा लेखेको हुँ । नेपाली साहित्यमा धेरैलाई स्थापित गर्न भूमिका खेलेको त्यति बेलाको चर्चित पत्रिका ‘रुपरेखा’ले २०३८ चैत, पूर्णांक २५१ मा छापेको थियो । साझा प्रकाशनले ‘धर्तीको गीत’ नामको मेरो दोस्रो कविता संग्रहमा पहिलो कविताको रुपमा यो संग्रहित छ । त्यसअघि मेरो ‘अन्तरका छिटाहरु’ कविता संग्रह ०३७ बैशाखमा छापिएको थियो । ‘धर्तीको गित’चाहिं ०४४ मा छापियो । 
यो कविता लेख्दा मेरो उमेर २२ बर्ष थियो । काठमाडौमा बिएल पढ्दै थिएँ । छुट्टीको बेलामा घर गएको थिएँ । त्यहाँ एउटा पात्र देखेँ, जो कसैको बारीमा कटेरो बनाएर बसेको छ । परिआएको काम गर्छ र ज्याला लिन्छ । कहिले दाउरा बोक्न जान्छ । कहिले आली तास्न जान्छ । कहिले हलो जोत्न जान्छ । उसलाई माध्यम बनाएर मैले मानवताको पक्षमा कवितामा लेखेको हुँ । हामी कतै सम्पन्नताको नाममा मानवताको उपहास त गरिरहेका छैनौ भन्ने कुरा उठाएको हुँ । 
उसलाई राज्यले दिनुपर्ने संरक्षण दिन सकेको छैन । राज्यका तर्फबाट पाउनुपर्ने सुबिधा पाउन सकेको छैन । ऊ आफ्नै संघर्षले बाचिरहेको छ र अनिश्चयको जीवन बाँचिरहेको छ । काम गर्न पायो ग¥यो, काम छैन त बेलुकाको सामल घटाउनु प¥यो । 
बन्दुक बनाउने कम्पनीको निश्चितता छ । एउटा मेसिनमा फिट ग¥यो, आवश्यक सामग्री हाल्यो, निस्कन्छ । सबै यस्ता कुराको निश्चितता छ तर उसको जिवनको निश्चितता छैन ।  कामको निश्चितता छैन । 
हर्कबहादुर जस्तो मान्छे, जो नाङ्गै छ । त्यसलाई उपहास गरेर हामी झण्डामा खर्च गरिरहेका छौ । संसार भरिका झण्डा बटुलेर लुगा सिउने हो भने हरेक नाङ्गोलाई भाग पुग्छ । हरेकलाई कछाड पुग्छ, मजेत्रो पुग्छ । यस्तो परिदृश्यले कवि मन दुखित हुन्छ । केही गर्न नसकेपनि उसलाई सलाम गर्न सक्छ । उसको पसिनाको प्रसंशा गर्न सक्छ । उ माथि अन्याय भएको छ भनेर आवाज उठाउन सक्छ । कविता त्यसरी नै अन्त्य भएको छ ।
०००
© Dinesh Adhikari

हर्कबहादुर हरिवनको मात्र बासिन्दा होइन, गाउँ वा सहरमा जहाँ पनि भेटिन सक्छ ।
कविता लेख्दा मैले जागिर खान थालेको एक महिना हुन लागेको थियो । त्यसअघि मैले म पुख्र्यौली घर केहीपटक पुगिसकेको थिएँ । हरिवनबाट सिन्धुली, रामेछापको बाटो हुदैँ हिडेर गएको थिएँ । त्यस्तै, रामेछापको घोक्सिलामा मेरो मावली हो । सिन्धुलीमा ठूलीआमा बस्नुहुन्छ । ती ठाउँमा धेरैपटक गइसकेको थिएँ । तराई त स्वभाविक रुपमा घुमेकै थिएँ । यसरी विभिन्न क्षेत्रको जनजीवन र पात्रको छायाँ पनि कवितामा आएको छ । 
कविता पाठ्यक्रममा आएको केही बर्ष भयो । पाठ्यक्रममा समावेश हुँदा मलाई थाहा थिएन । जब थाहा पाएँ, प्लस टूमा राख्दा अलि जटिल हुन्छ कि भन्ने ठानें । तर अहिलेको समय परिवर्तन भइसकेको छ, त्यसअनुसार बुझाईको तह पनि परिवर्तन भइसकेको छ । त्यसैले त्यस्तो लागेन पछि चाहिं ।
०००

पाठ्यक्रममा समावेश भएपछि सुरु–सुरुमा मलाई केहि शिक्षकले फोन गरेर मैले यस्तो बुझें, के हो भनेर सोध्नुभयो । ताप्लेजुङ देखि हुम्लासम्मका शिक्षकले फोन गरेको सम्झना छ ।  जिल्ला सम्मकै सम्झना छ । उहाँहरुले बुझेको कुरा ठिकै थियो । केही कुरामा उहाँहरु दुविधामा परेको पाएँ । ‘समय, शायद आफ्नो पुच्छर आफैँले निल्ने सर्पले भोग्छ’ भन्नेमा । मैले त्यो प्रसंग त्यसबेला सुनेको तथ्यबाट लिएको थिएँ । एकजातको सर्पले निश्चित समयमा आफ्नो पुच्छर आफैंले निल्छ । त्यसैलाई मैले राखेको हुँ । त्यसो त त्यो प्रसंग अघि र पछिको प्रसंगले पनि बुझिन्छ । सर्प बरु समयमा बाँडिएको छ, तर हर्कबहादुरको जिवन समयमा बाडिएकै छैन भन्ने अर्थमा मैले प्रयोग गरेको हुँ भनेर भनें । पछिल्लो समयमा खासै त्यस्तो जिज्ञासा आएको छैन । 
पाठ्यक्रममा समावेश भएपछि मौका पर्दा म स्कूलहरुमा पस्छु । त्यतिखेरि ‘म फलानो हो’ भनेपछि शिक्षकहरु जिज्ञासा राख्नु हुन्छ । त्यस्तै विद्यार्थीको धेरै राम्रो प्रतिक्रिया पाएको छु । सामाजिक सञ्जालमा ‘फ्रेण्ड रिक्वेस्ट’ आउँछ, म कमै स्वीकार गर्दोरहेछु । अनि ‘मैले हजूरको हर्कबहादुर पढेको छु, मलाई स्वीकार गर्नुस्’ भनेर ‘म्यासेज’ आउने गरेको छ । 
०००

एकपटक, म महिला बालबालिका मन्त्रालयको सचिव थिएँ । महिला बालबालिकाको कार्यालय, सिन्धुपाल्चोकमा भवन निर्माण भएको थियो । त्यसको उद्घाटनको लागि म गएँ । प्रमुख जिल्ला अधिकारी अलि ढिलो आउनुभयो । उहाँले भन्नुभयो, ‘सर, आज ढिला भयो । ११ कक्षाकोे कोर्समा एउटा कविता रहेछ । त्यसैलाई लिएर केही राजनीतिक दल किताब   जलाउने भन्न थाले । त्यसैले लफडा भयो ।’ 
मैले कुन कविता भनेर सोधें । ‘हर्कबहादुर भन्ने रैछ’, उहाँले भन्नुभयो । किन जलाउने भनेका रहेछन् भनेर सोधें । झण्डाको विरोध गरिएकाले रहेछ भनेर भन्नुभयो । त्यसपछि मैले उहाँलाई त्यो कविता मैले नै लेखेको भनेर भनें । उहाँ छक्क पर्नुभयो । किनभने मेरो अफिसियल नाम दिनेशहरि अधिकारी भएकाले उहाँ झुक्किनु स्वाभाविक थियो । त्यसपछि मैले उहाँलाई त्यहाँ झण्डा प्रतिकका रुपमा आफूले प्रयोग गरेको बताएँ र त्यसरी नै बुझाइदिन आग्रह गरें । झण्डाको विरोध गरेको होइन, झण्डा बटुल्यो भने नाङ्गा मान्छेले लुगा लगाउन पुग्छ भनेर प्रतिकात्मक रुपमा भनेको स्पष्ट पारें । त्यसको अर्थ कोहि पनि मान्छे नाङ्गो हुनु भएन भन्ने हो । उहाँले त्यो कुरा बुझाएपछि समस्या हल भयो भन्नुहुन्थ्यो पछि । कविताको सन्दर्भमा यो चाहिं रोचक घटना थियो ।

कविता
हर्कबहादुर

उसलाई धेरै नामहरुबाट चिन्न सकिन्छ
ऊ दाउरे पनि हो
ऊ चाउरे पनि हो
ऊ काले पनि हो 
अरुहरुबाट आफ्नो सक्कली नाम सुन्न
व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ
ऊ हर्कबहादुर हो

हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन
बिहान झिसमिसेमै गोरु नारेर ऊ
कहिले बाँझो मार्न जान्छ
कहिले कोदाली बोकेर
आली ताछ्न र बाउसे गर्न भ्याउँछ
ऊ सफल दूरदर्शी पनि हो
उसलाई थाहा छ–
लुगा फाट्छ, छाला फाट्दैन
छाला, साहू काढेर किन्न पनि पाइन्न
ऊ नाङ्गो आङले भारी बोक्छ
ऊ नाङ्गो आङले धर्ती जोत्छ
हो, गाउँका सभा–समारोहमा जाँदा
हर्कबहादुर–
टीठलाग्दा आँखाले
घरी झण्डा र घरी आफ्नो आङ हेर्छ
घरी आफ्नो आङ र घरी झण्डा हेर्छ
सायद हर्कबहादुर
छातीभित्र अट्टहास पनि हाँस्छ
सायद हर्कबहादुर
मनहरुमा कोलम्बस पनि बाँच्छ–
कि, मान्छेको प्रयोगमा आउनुभन्दा पर
वस्तुको अर्को ठूलो उपयोगिता छैन भने
बटुलेर संसारभरिका झण्डाहरु
लुगा सिउँदा
हरेक नाङ्गोलाई भाग पुग्छ
हरेकलाई कछाड पुग्छ
हरेकलाई मजेत्रो पुग्छ
झण्डा– मान्छेको परिचय होइन
मान्छे स्वयंमा परिचित इतिहास हुन्छ
मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ 

हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन
गते,
बार,
महिना,
ऋतु,
वर्ष
र तिथि पनि थाहा छैन
समय, सायद आफ्नो पुच्छर आफैंले निल्ने सर्पले भोग्छ
समय, सायद हातहतियार छाड्ने कल–कारखानाले भोग्छ
योजनाले भोग्छ
साइरनले भोग्छ
हर्कबहादुरले आजसम्म समय भोगेको छैन
हर्कबहादुरले अझैसम्म समय मागेको छैन
समयको नाममा
भोग्दा–
उसले महिषासुर झापडहरु भोगेको छ
माग्दा–
उसले अन्नका दानाहरु मागेको छ
कपासका गाँठ र बारीका पाटाहरु मागेको छ
एउटाएउटा बन्दुक बोक्ने हातलाई
एउटाएउटा कोदाली दिनुपर्छ
हर्कबहादुरले सधैँ कोदाली मागेको छ 

हर्कबहादुर भोक हो
भोकको देश र भेष पनि हुँदैन
भोकको आफन्त र पराई पनि हुँदैन
हर्कबहादुर ठेस हो
पीठा आकारमा आबद्ध हुँदैन
पीडाको साँध–सिमाना र घरबार पनि हुँदैन
म साँच्चै भन्छु–
भोक यदि देश हो भने
हर्कबहादुरभन्दा सुकिलो अर्को देश हुनै सक्तैन
शोक यदि देश हो भने 
हर्कबहादुरभन्दा ठूलो अर्को देश हुनै सक्तैन

राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!!
स्वाधीनता ! स्वाधीनता !! स्वाधीनता !!!
नागरिकता ! नागरिकता !! नागरिकता !!!
परार उसकी सातबर्षे छोरी
सर्पले टोकेर अकाल मर्दा
खै ! राष्ट्रियता औषधीमा अनुवाद हुन सकेको ?
पोहोर अनिकालबाट बँच्न
छोरा मुगलान भासिँदा
खै ! स्वाधीनताले ‘नजा’ भन्न  सकेको ?
यसैपालि–
बाढीले गाउँ बगाउँदा
खै ! नागरिकता घर भएर ठडिन सकेको ?
लैजाऊ !
सट्टामा केही दिनु पर्दैन
राष्ट्रियता विज्ञप्त छ
स्वाधीनता विज्ञप्त छ
नागरिकता विज्ञप्त छ
हर्कबहादुरको सन्दर्भमा
यी सबैको प्रयोजन
सिउनीमा अल्झेको सुर्तीको धुलोभन्दा बढी छैन
सिउनी टक्टक्याएर त–
हर्कबहादुर 
एक सर्को फुक्न बिँडी पनि बेर्न सक्तैन

भनेँ नि–
हर्कबहादुरको देश छैन
हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन
ऊ तपाईँको गाउँमा/सहरमा/देशमा पनि भेटिन सक्छ
जितबहादुर पनि हर्कबहादुर हो
भीमप्रसाद पनि हर्कबहादुर हो
हर्कबहादुर एकलव्यको नयाँ संस्करण हो
सलाम !
खर्च नपाएर 
आफैँमा तरुनी छोरीको बैँस बूढी स्वास्नीको भोक काँपिरहेको
हर्कबहादुरलाई मेरी स्वास्नीको सिन्दूर–पोतेको सलाम !
सलाम !
दिमागमा छोराछोरीको लुगाफाटो
र छातीमा आफ्र्न सहिद तस्बिर टाँगिरहेको
हर्कबहादुरलाई मेरी आमाको काखको सलाम !!
सलाम !
मान्छे–करङको दतिउन
र हाडको चन्दन लेप नलगाएर
मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको
हर्कबहादुरलाई मेरो कविताको सलाम !!!
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : नुवागी

Comments

Popular posts from this blog

Philosophy of Fearism

Book Talk: The Laws of Human Nature