दिनेश अधिकारीका आफ्नै प्रिय गीत

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए, सधैं चोट पायौं
यो गीत मैले ०३४ सालमा लेखेर ०३६ मा परिमार्जन गरेको हुँ । ०३७/३८ सालतिर हुनुपर्छ, मैले दिव्य खालिङलाई भेटेको । त्यसपछि हामी निकट भयौं । उहाँले मेरा गीतको संगीत गर्दै हुनुहुन्थ्यो । खालिङको संगीतमा नारायण गोपालले केही गीत गाइसक्नुभएको थियो । गोपाल योञ्जनपछि नारायणगोपालको ट्युनिङ मिल्ने संगीतकारको रुपमा खालिङको चर्चा थियो । 
एकदिन खालिङले भन्नुभयो, ‘दिनेश, तिमीलाई नारायण गोपालले खाना खाने गरी ल्याउन भनेको छ । तिम्रो गीत मन परेकाले गाउने योजनामा छ ।’ केही दिनमा खालिङसँग नारायण गोपालको घर महाराजगञ्ज गएँ । परिचय भयो । नारायण दाइ त्यति नबोल्ने स्वभावको हुनुहुदोरहेछ । 
खानपिन भयो र अलिअलि मधुरस पनि चल्यो । त्यसै क्रममा मेरो गीतमा प्रयोग भएको एउटा शब्दको उच्चारणमा परिवर्तन गर्नुपर्‍यो भनेर नारायणगोपालले भन्नुभयो । तर खालिङले मान्नुभएन । हुँदा–हुदा नारायण दाइले त्यो गीत नै गाउदिनँ भन्नुभयो । 
त्यत्तिकैमा घर फर्कियौं । खालिङ कुपन्डोल बस्नुहुन्थ्यो, म घट्टेकुलो । बाटोमा भन्नुभयो, ‘पीर नगर दिनेश । सोमले गाउँछ तिम्रो गीत ।’ उहाहरु एक अर्कालाई सोम भन्नुहुन्थ्यो । 
मैले व्यंग्य गर्दै भनें, ‘एउटा गाउन लागेको पनि तपाईले बिताइदिहाल्नुभयो । कसरी गाउनुहोला र ?’ उहाँले कारण भन्नुभयो, ‘किनभने नारायणगोपालले नराम्रो गीत गाउँदैन । राम्रो गीत लेख्ने मान्छे कहाँ धेरै छन र ? अनि तिमीलाई नखोजी सुख छ र ?’
भर्खर–भर्खर गीतसंगीतमा लागेको मान्छे, बिहानको कलेजपछि दिउँसो रेडियो नेपाल घुम्न गइन्थ्यो । किनकि त्यतिबेला संगीतका सम्पूर्ण काम त्यही हुन्थे । त्यहीं रत्न रेकर्डिङ संस्थान पनि थियो । नारायण गोपालकहाँ गएको झण्डै १५ दिनजति पछि नारायण गोपाल संस्थानबाट मोटरसाइकलमा निस्कनुभयो । मैले नमस्कार गरें, उहाले रोकिनुभयो र भन्नुभयो, ‘ए दिनेश, अर्को गीत छैन राम्रो ।’ मैले दिव्य खालिङले संगीत गरेको गीत भएको बताएपछि सोध्नुभयो, ‘तिमीलाई राम्रो लागेको छ ?’
‘छ दाइ ।’ मैले भनें । ‘ल ठिक छ’ भनेर उहाँ जानुभयो । त्यसपछि उहाँ सरासर दिव्य खालिङको कोठामा जानुभएछ र गीत लिनुभएछ । अचम्म त के भने, फोनमै भए पनि दिनहुँ भेट्नुपर्ने उहाँहरुको १५ दिनसम्म बोलचाल पनि भएको रहेनछ । त्यसपछि फेरि उहाँहरुको आत्मीय सम्बन्ध उस्तै बनिहाल्यो । मेरो गीत रत्न रेकर्डिङ संस्थानले प्रकाशन गरेको ‘द ब्लुज नोट्स’ एल्बममा समावेश भयो । ०४१ सालमा रेकर्ड भएको त्यो मेरो आठौं गीत हो । 

सोचेजस्तो हुन्न जीवन
खोजेजस्तो हुन्न जीवन
फागुन, ०३६ मा लेखेको हुँ यो गीत । रेडियो नेपालमा रेकर्ड भएर २२ कार्तिक ०४४ मा सार्वजनिक भयो । त्यसबेला रेडियो नेपालको वातावरण रमाइलो लाग्थ्यो मलाई । अहिलेको रेडियो नेपालको नयाँ स्टुडियोको दक्षिणतिर गोलो घर छ । त्यसको माथिल्लो तलामा ठूलो कोठा थियो । त्यसमा नातिकाजी, शिवशंकर, तारादेवीलगायत बस्नुहुन्थ्यो । म पनि उहाँहरुलाई भेट्न जान्थें त्यहाँ । 
त्यसबेला गीत रेकर्ड गर्न पहिले रेडियोमा दर्ता गर्नुपथ्र्यो । गीतमा राजनीतिक सन्देश होला भन्नेमा बोर्ड सचेत रहन्थ्यो । बोर्डले पारित गरेका गीतको सूची निस्कन्थ्यो । तिनै गीतमात्र रेकर्ड हुन्थ्यो । यो गीत पनि त्यसरी नै पास भएको हो । 
मैले सरकारी वकिलको रुपमा जागिर खाइसकेको थिए । बैतडी पोस्टिङ भएको थियो । ०४२ को अन्तिमतिर काठमाडौ आएको थिएँ । त्यसैबेला रेडियो नेपालमा गएर नातिकाजी दाइलाई भनें, ‘यो गीत पास भएको छ । दाइले गर्दिने हो कि ?’ 
०४३ सालमा मेरो पोस्टिङ कलैयामा भयो । अर्को बर्ष तत्कालिन रानीको जन्मोत्सवको सन्दर्भमा हुने गरेको महिला संगीत सम्मेलनमा तारादेवीले त्यो गीत गाउनुभएछ । मैले पछि रेडियोमा सुनेर थाहा पाएँ । 


जीवन भनुँ त घात छ, मृत्यु भनुँ त सास छ
दोधारमा बाँचू कति हर गीतमा चित्कार छ 
यो गीत भक्तराज आचार्यले नोर्बु छिरिङको संगीतमा २ साउन, ०४३ मा गाउनुभएको हो । रेडियो नेपालले रेकर्ड गरेको यो गीत २१ असार, ०४२मा लेखेको हुँ । भक्तराजले गाउनुभएको मेरो एउटैमात्रै गीत हो यो । 
पछि भक्तराज दाइ दुर्घटनामा पर्नुभयो । त्यसपछि उहाँले एक ठाउमा भन्नुभएको छ, ‘मैले किन गाए होला त्यो गीत भन्ने पनि लाग्छ । दिनेशले मेरो भविष्य पहिले नै थाहा पाएर कसरी त्यो गीत लेखेछ भन्ने पनि लाग्छ ।’ वास्तवमा एउटा गायक जिब्रो काटेर बस्नुपर्ने अवस्थामा जीवन भएपनि एक हिसाबको मरण छ । त्यसैले रेडियो नेपालमा भक्तराज दाइको जीवनसँग जोडिएर यो गीत बज्दा म पनि धेरैचोटी रोएको छु ।  
तर गीत गाउनुअघि भक्तराज दाइसँग मेरो समझदारी फरक परेको थियो । दिव्य खालिङ कुपन्डोल बस्नुहुन्थ्यो । उहाँसग निकट थिएँ । एक दिन भेट्न जाँदा कोठा बन्द थियो । पर्खिरहेको थिएँ, भक्तराज दाइ पुग्नुभयो । त्यही मौकामा मैले उहाँलाई भनें, ‘हाम्रो पनि गीत गाइदिनुपर्‍यो नि दाइले ।’ उहाँ खरो स्वभावको । भन्नुभयो, ‘तिमीहरु भन्छौ नि, मकहाँ ठूल्ठूला गीतकारको भीड छ अहिले ।’ मलाई त्यो अभिव्यक्ति प्रिय लागेन । 
निकै बेर पर्खदा पनि खालिङ नआएपछि दाइले ‘चिया खान जाऔं’ भन्नुभयो । चिया खाने बेला उहाँले भन्नुभयो, ‘एउटा गीत सुनाउ न त ।’ मैले ‘प्यार हो कि सपनाको व्यापार हो यो जिन्दगी’ बोलको गीतसुनाएँ । त्यसपछि उहाले भन्नुभयो, ‘यो गित लेख्दिहाल त, म गाउछु ।’
तर मलाई अघिको कुराले ठेस लागिसकेको थियो । त्यसैले गीत दिइनँ । तर ‘दिन्न’ भन्न सकिनँ । भनें, ‘रेडियोमा छोडिदिन्छु नि त’ 
‘रेडियोमा छोडेपछि त अरुले लगिहाल्छन् नि, यहीं देउ ।’ उहाँले भन्नुभयो । तर मैले मानिनँ । रेडियोमा पनि छोडिनँ । उहाँले फेरि सोध्नुहोला भनेर किरण प्रधानलाई गाउन दिइहालें । 
म सरकारी वकिलको रुपमा बैतडी गएँ त्यसपछि । त्यस क्रममा खालिङले मेरो गीत गाउन अनुरोध गर्दा भक्तराज दाइले भन्नुभएछ, ‘गाउँदिन । मैले गीत माग्दा उसले दिएन ।’ 
पछि काठमाडौ आएको बेला खालिङकै कोठामा दाइसँग भेट भयो । त्यस क्रममा त्यस बिषयमा कुरा भयो । भक्तराज दाइले पनि प्रष्ट रुपमा भन्नुभयो, ‘गीत माग्दा दिएन दिनेशले ।’ मैले पनि भनें, ‘गीतै नसुनीकन दाइले तिमीहरुको गीत गाउने हो र ? ठूला ठूलाकै बाँकी छ भन्नुभयो अनि ।’ त्यसपछि हाम्रो मन माझियो । त्यसपछि उहाँले गीत दिन भन्नुभयो । मैले डायरी बैतडीमै छोरेर आएको थिएँ । पछि गएर पोस्ट गरी गीत पठाएँ । 

रक्सी बेचें आलु बेचें, बेचें चिउरा मासु
सबैभन्दा धेरै बिक्यो जोवनको हाँसो
पञ्चायती व्यवस्थामा गीतमा राजनीतिक बिषयवस्तु मिसिएला भनेर शासक निकै डराउथे । त्यसैले बरु अश्लील गीत रेकर्ड भए । सामाजिक बिषयवस्तुमा गीत रेकर्ड हुन सकेनन् । ०४६ पछि अभिव्यक्ति स्वतन्त्रता प्राप्त भयो । विस्तारै रेकर्डिङ स्टुडियो खुले, एफएम पनि खुल्न थाले । तर गीतको ट्रयाक चाहिं परिवर्तन भएन । यसको मूलधार प्रणयपिरतीमै अल्झिरह्यो । हुन त संसारभरि नै गीतको मूलधार यही छ । तर जीवन यतिमात्रै होइन । त्यसैले गीतको आकास फराकिलो बनाउनुपर्छ भन्ने सोचेर मैले सामाजिक बिषयमा गीत लेख्न थालें । दर्जनभन्दा बढी गीत लेखिसकेपछि रेकर्ड गर्न खोज्यो, कस्सैले मान्दैनन् । भन्छन्, ‘यस्तो गीत त कहा चल्छ र ?’ 
त्यसपछि एकदिन संगीतकार शक्ति बल्लभजीसँग आफैंले पैसा हालेर भए पनि रेकर्ड गर्ने सल्लाह गर्‍यौं । र, म्युजिक नेपालबाट बजारमा ल्यायौं । अनुभूति शिर्षकको उक्त एल्बम ०५७ सालको प्रजातन्त्र दिवसको दिन कान्तिपुर एफएमबाट सार्वजनिक गर्‍यौं । त्यसैको गीत हो – रक्सी बेचें, आलु बेचें । शर्मिला बर्देवाले गाउनुभएको छ । २६ चैत, ०४८ मा लेखेको गीत रेकर्डचाहिं ०५७ साल पुषमा भएको हो । 
यसमा गाउँ र राजमार्गको भट्टीको चित्रण गरेको छु । त्यहाँ भट्टी भनेको रक्सीमात्रै होइन, रक्सी पनि पाउने ठाउँ हो । चिया, तरकारी, खाजा आदि पाइन्छ । त्यसमा एउटा चेली अनिवार्यजस्तो हुन्छन् । र, खान जानेहरु रक्सी, मासुभन्दा बढी मुस्कान खान जान्छन् । बेच्नेले मुस्कान बेच्नुपर्छ । त्यो रहरले गरेको व्यवसाय होइन । पीडा छ त्यसमा । त्यही पीडा अभिव्यक्त गर्न खोजेको हुँ । 
त्यस्ता भट्टीमा बस्ने चेली जवानी छँदा झुत्ति खेल्दै आउने, पैसा फिर्ता नलाने, उपहार दिनेहरु अनुहारमा मुजा पर्न थालेपछि नचिनेझैं गर्छन् । अनि भट्टी पनि चल्न छाड्छ । जिविकामै समस्या पर्छ । त्यसपछि व्यवसाय राम्रो गर्ने हो भने आफ्नो ठाउँमा छोरी ल्याउने विकल्प मात्रै बाँकी बस्छ । त्यसो गर्दा छोरीको भविष्य अन्धकार बन्छ । नल्याउँदा जीवन चलाउन गाह्रो हुन्छ । जतातिर जोगाउँदा पनि एकतिर त डढ्छ नै । यस्तो अवस्थाप्रति चेलीको विद्रोहलाई संकेत गरेको छु मैले यो गीतमा । 

तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमीले न मैले बोलाएँ
म ल कलेज पढ्दै बेलाको कुरा हो । गीतकार सुरेन्द्र राना मेरा ‘क्लासमेट’ थिए । उनको गीत रेकर्ड भइसकेको थियो । संगीतकार राम थापासँग उहाँको राम्रो सम्बन्ध थियो । मेरो भने सामान्य चिनाजानीमात्रै । 
त्यतिबेलासम्म साथीहरुलाई मैले कविता लेख्छु भन्नेमात्रै थाहा थियो, गीत लेख्छु भन्ने थाहा थिएन । एकदिन मैले म सुरेन्द्रलाई दुइटा गीत सुनाएँ । उनले दुवै गीत राम थापालाई दिए । त्यसमध्ये ‘निश्वास ए चाडै थाकि नजा’ भन्ने गीत मिरा राणाले गाउनुभयो । यो गीतचाहिं रविन शर्माले गाउनुभयो ७, असार ०४०मा । गीत भने ४० साल बैसाखमा लेखेको हुँ । यो गीतले रबिन शर्मा र मलाई एकैपटक स्थापित गरायो । यो मेरो रेकर्ड भएको दोस्रो गीत हो ।
܀܀܀

Comments