खतरनाक टाउको

Anna Bocek, oil on canvas, 2014
यो त्यही टाउको हो
हिजोसम्म बोकि हिँडेको
तिम्रो प्रशंसाको भारी ।

यसमा लहलहाएको घना कपाल
खुप मन पथ्र्यो तिमीलाई
यसैभित्र सहलाउँथे तिम्रा औंला
खोजिरहन्थे असीम आनन्द
र, लाग्थ्यो
तिमीलाई सियाँल दिन नै उम्रिएको रहेछ ।

यसैमा समेटिएको
जोर आँखामा ऐना हेरेर
तिमी काव्य नै लेखिदिन्थ्यौ
र, लाग्थ्यो
यिनको काम हो
झुक्दै–लजाउँदै हेर्नु तिमीलाई ।

ओठ र यसमा फैलिने मुस्कान अहा !
तिमी भन्थ्यौ–
‘मदिराको मात के कामको छ र
यिनका अगाडि’
र, लाग्थ्यो
गुलाबी गलैंचा हुन् यी
मुस्कान छरेर ओछिइरहनुपर्छ तिम्रो लागि ।

प्रशंसाको भेलले
नाकलाई पनि छोइजान्थ्यो
मलाई भ्रम हुन्थ्यो
नाकले नै मलाई म बनाएको हो
र, लाग्थ्यो
तिम्रो उपस्थितिको सुवास जाँच्नुबाहेक
कामै पो के छ र यसको ?

दुई कान, यिनका लोती ओहो !
कम प्रशंसा पाएनन्
यिनका आकार र रंगले पनि
र, लाग्थ्यो
सुन्नु हो यिनको काम
फगत् सुन्नु तिमीलाई ।

तर, जब थाल्यो
यो टाउकोभित्रको मस्तिष्कले काम गर्न
सब गडबड भयो गडबड !

जुरोमा समेटियो कपाल
आँखा मानेनन् झुक्न र लजाउनमात्र
सिधा हेर्न थाले तिम्रा आँखामा
थर्थराए ओठ
चनाखा भए कान
फैलियो नाकको पोरा
कानले सुनेनन्मात्र
अर्थको पोल लगाइदिए मस्तिष्कलाई
त्यसपछि तिमीले भरजीवन प्रशंसा गरेको टाउको
बन्यो तिम्रै लागि खतरनाक !

सुन्छु, आजकाल
तिमी मस्तिष्कहीन टाउको
खोजी हिँडेका छौ रे !
܀܀܀
✍ कला अनुरागी
प्रकाशित : अन्नपूर्ण पोस्ट (फुर्सद)

Comments