'माग्ने बन्दा एक सय २५ रुपैयाँ जम्मा भयो'

सिन्धुलीको स्थानीय रंगसंस्था ‘इसाक, सिन्धुली’ले गर्ने सडक नाटकमा हम्मेसी नछुट्ने नाम हो– चन्द्र नेपाली । उनले फिल्म ‘ब्ल्याक नाइट’मा पहिलोपटक आफूलाई पर्दामा उतारे । प्रदर्शनको तयारीमा रहेको उमेश चौहान निर्देशित फिल्म ‘पिक्चर’मा उनको प्रमुख भूमिका हेर्न सकिने छ । 
चलचित्र छायाँकन भइरहेकै अवधिमा उनको बुबाको खुट्टा भाँचियो । तर बुबालाई अप्रेसन थिएटरमै छोडेर चलचित्र छायाँकनमा जाँदाको अनुभूति पनि उनले यही फिल्ममा अभिनय गर्दाको अवधिमा भोगे । ‘यो कुरा म भरजीवन बिर्सन्नँ,’ उनले भने । परिवारलाई बिर्सेर कलाकारको दायित्व निर्वाह गर्दाको भावुकता र गर्व दुवै छ उनमा । त्यसो त फिल्ममा अभिनय गर्दा उनले आफूलाई पनि बिर्से । ‘पिक्चर’मा आफूलाई नै बिर्सेर अभिनय गरेका पाँच दृश्य उनले रातोपाटीलाई बताएका छन् :

१. माग्ने बनेर पैसा नै जम्मा गरें
मैले अभिनय गरेको चरित्र किड्नी बेच्दा बनाएको घाउ ठीक नभएपछि उपचारको खोजीमा भारत पुगेको हुन्छ । त्यहाँ पुग्दा उपचार गर्ने पैसा त के, खाना खाने पैसा पनि बँचेको हुँदैन उसँग । त्यसैले रेलमा माग्न थाल्छ । 
चेन्नईबाट नेपाल फर्कने क्रममा त्यो दृश्य खिचिएको हो । हामी रेलमा फर्किरहेका थियौं । र, रेलमै त्यो दृश्य खिच्ने योजना बन्यो । त्यहाँ मैले माग्नेहरूलाई नियालेँ । उनीहरूको जस्तै हुलिया बनाएर म माग्न थालें र त्यो दृश्य खिच्न थालियो । 
त्यहाँ तमिलहरू बढी रहेछन् । त्यसैले हाम्रो भाषा बुझ्ने कुरा त भएन । तर मैले असाध्यै पीडामा परेको आफ्नो चरित्रको हाउभाउ निकालेँ । त्यहाँ कसैले पनि मैले अभिनय गरेको थाहा पाएनन् । मलाई एक÷दुई रुपियाँ दिन थाले । त्यसो त सबै जनाले माग्नेलाई पैसा दिँदैनथे । पैसा नदिनेहरू भने झपार्दै हिँड्थे । माग्दै थिएँ, एकजनाले त मलाई पिट्नै आए । म उनकी श्रीमतीलाई पैसा मागिरहेको थिएँ । उनले मलाई हपार्दै गाली गरिरहेकी थिइन् । मैले आफ्नो जिद्दी छाडिनँ । बारम्बार उनको खुट्टा ढोगेर मागिरहें । त्यसपछि उनको श्रीमान आएर मलाई च्याप्प समातेर धकेले । त्यसपछि म भागेँ । मैले दुई वटा रेलको डब्बामा मागेको थिएँ । एक सय २५ भारतीय रुपियाँ जम्मा भएको रहेछ । मलाई त्यो पैसा आफ्नो कलाकारिताको ठूलो पुरस्कारजस्तो लागेको छ । त्यसलाई बचाएर राखेको छु । 

२. गाउँको दिदी पुलिस बोलाउन जानुभएछ
फिल्मको एउटा दृश्य रत्नपार्कमा खिच्दै थियौं । किड्नी बेचेपछि दलालले दिने भनेको पैसा दिएको हुँदैन । उल्टै कुटपिट गरेको हुन्छ । त्यही कुरा सार्वजनिक स्थलमा कराउँदै भन्ने दृश्य थियो त्यो । 
म मेकअपमै थिएँ । अनुहारभरि कुटेका दाग थिए । पेट चिरेको र रगतैरगत भएको देखिन्थ्यो । ‘मेरो जिन्दगी बर्बाद भयो’ भन्दै कराइरहेको थिएँ । म चरित्रमा डुबेको थिएँ, त्यसैले वरिपरि याद गरिनँ । क्यामेरा लुकाएर दृश्य खिचिएको थियो । मानिसहरू के भएको रहेछ भनेर हेरिरहेका थिए । 
त्यतिबेला अचानक गाउँकै दिदी आइपुग्नुभएछ । मलाई रगतैरगत भएको देखेर हतार–हतार पुलिसलाई बोलाउन दौडिनुभएछ । त्यति नै बेला फिल्मका निर्माता प्रवीण बुढाथोकीलाई देख्नुभएछ । उहाँ पनि गाउँकै भएकाले आत्तिएर सोध्नुभएछ, ‘चन्द्रेलाई कसले हो काटेर मार्न लागिसकेछ । तँ यहाँ के हेरेर बसेको ?’ उहाँले ‘काटेको होइन, फिल्मको सुटिङ हो’ भनेर सम्झाएपछि बरर आँशु झारेर थचक्कै बस्नुभएछ । 
छायाँकन सकेर फर्किदा बाटोमा उहाँले मलाई यो कुरा सुनाउनुभयो । कुरा सुनेर हामी हाँस्यौं पनि । बेलुका तिनै दिदीको फोन आयो । उहाँले मलाई भावुक भएर भन्नुभयो, ‘तँ त्यस्तो अवस्थामा रहिछस् । मेरो त मुटुले ठाउँ नै छाड्यो । कसरी बचाउँ भन्नेतिरमात्रै दिमाग गयो । तर फिलिमको सुटिङ पो रहेछ ।’
उहाँले त्यसो भन्दाचाहिँ म निकै भावुक भएँ ।  मैले आफ्नो चरित्रलाई न्याय गर्ने गरी अभिनय गरेछु भन्ने अनुभूति पनि भयो । 

३. सिलगुढीको झगडामा स्थानीयले पुलिस बोलाए
किड्नी बेचेर भारतबाट फर्किंएको दृश्य सिलगुढीमा पनि खिचिएको छ । मेरो चरित्रले किड्नी निकालेको अप्रेसन थिएटरदेखि नै पैसा माग्न थालेको हुन्छ । त दलालले पैसा दिएको हुँदैन । सिलगुढीसम्म आइपुग्दा पनि पैसा दिँएको हुन्न । त्यहाँ मेरो चरित्रले दलाललाई होटलमा गाली गरेको दृश्य छ । 
गाली गरेपछि दलालले मलाई चड्याम्म गालामा हान्छ । त्यो दृश्यमा मलाई साँच्चिकै थप्पड लाग्छ । मैले पनि साँच्चिकै हान्छु । अरू दुई गुण्डा मगाएर कुट्न लगाउने दृश्य पनि हुन्छ । त्यसमा पनि साँच्चै कुटाकुट गरिन्छ । हाम्रो कुटाकुट यस्तो थियो कि स्थानीयले छायाँकन भन्ने नै थाहा पाएनछन् । उनीहरूले स्थानीय प्रहरीलाई खबर गरेछन् । तर प्रहरी आइपुग्दा हामीले त्यो ठाउँ छाडिसकेका थियौं । साँच्चिकै कुटाइ खाएर दृश्य दिँदाको मज्जाचाहिँ त्यतिबेला आयो । 

४. घिनलाग्दो माछा कर्याम–कर्याम
मेरो क्यारेक्टर भोकले प्रताडित अवस्थामा हुन्छ । नचिनेको ठाउँमा दिने पनि केही हुँदैनन् । त्यत्तिकैमा सडेर फालेको माछा पनि पकाएर खाइरहेका मानिसहरू भेटिन्छन् । त्यो हेर्दै घिनलाग्दो हुन्छ । झिंगा भन्किरहेका हुन्छन् । तर मैले त्यो माछा साँच्चिकै खाएँ । 
म चरित्रमा यत्ति डुबेको थिएँ कि मलाई कुनै घिन नै लागेन । मलाई लाग्यो, त्यस्तो भोक लागेको बेलामा जे पनि त खानुपर्छ । अहिले त्यो माछा खाएको सम्झँदा पनि बमिट आउलाजस्तो हुन्छ । 

५. कस्सो डुबिएन समुद्रमा
हामी दसैं टिकाको अघिल्लो दिनसम्म चेन्नईमा छायाँकन गरिरहेका थियौं । त्यस दिनचाहिँ समुद्रमा पौडी खेल्ने दृश्य थियो । समुद्र पहिलोचोटी देखेको, त्यहाँ खेल्न सिक्न नै केही समय लाग्यो । त्यसमा पनि ठूला–ठूला छाल आइरहेको थियो । तैपनि हामीले त्यो दृश्य खिचेर आयौं । 
जब बेलुका समाचार हेर्यौं, त्यसपछि पो हाम्रो सातो गयो । त्यस दिन त्यहाँ ठूलो सामुद्रिक छाल आएको रहेछ र निकै क्षति पनि गरेछ । दिउँसो त्यही छालमा खेलेको कल्पनाले पनि आङ जिरिङ्ग भयो । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार