बुइँगलको प्रेमपत्र

काला झुसिल्किराले खाएको पातझैं
अँध्यारोले खाएका समयका झ्याङ्प्वाल पातहरू
झरीसके वसन्त आउने बेलाको आँधी हुरीमा
र मलाई असाध्यै सम्झना आउँछ
कति पनि विचलित नभईकन मारेथ्यौ तिमीले
समयका पातमा लागेका काला झुसिल्किरा
त्यहीबेला तिमीले मेरो हृदयको रोपेको प्रेम
घट्दै घटेन,
बढिरह्यो शुक्ल पक्षको चन्द्रमाझैं ।

परदेशीएको प्रेमीको पर्खाइमा
पछ्यौराको छेउमा चुरा फुटाउँदै
बाटोमा आँखा ओछ्याईरहेकी प्रेमीकाको आँखाझैं
यसपल ओछिएकाछन् मेरा आँखा पनि
तिम्रा पाईतालाले श्पर्श गर्दै गएको गोरेटोमा
र मुटुमा गुद्गगुदाईरहेछ हाम्रो मीठो प्रेमकथा ।

आउँछ सम्झना मुटु नै चुँडिनेगरी,
तिमी आउँथ्यौ
र साउती माथ्र्याै मेरो कानमा
सुन्लान् कि भनेर छिमेकीले;
पुसको जाडोमा मखमलले छोएजस्तै
न्यानो हुन्थे तिम्रो कुरा,
उम्लिन्थ्यो मुटुमा रगत
तिम्रो रगत खान चाहने ब्वाँसाहरू देखेर
याद छ तिमीलाई ?
ब्वाँसाहरूबाट छलिदै आईपुग्थ्यौ तिमी
र ओढेर रातो पछ्यौरी
कति मीठो सुत्थ्यौ मेरो काखमा
अझै पनि उस्तै छ म सँग
त्यसबेला तिमीले दिएको रातो रुमाल ।

वसन्त अघिको हुरी चल्दा–चल्दै
पूरा गर्न हाम्रो साझा सपना
सहर गएका तिमी अझै फर्केनौ
हुरी चल्न छोडेपछि आउँछ भन्थ्यौ वसन्त
पलाउँछ भन्थ्यौ पालुवा
तर अझै सिक्रै छन् रुखहरू
उस्तै छ पानी चुहिने ममाथिको छानो
उस्तै छ धरमरिएको ममुनीको जग
तर पनि तिमी आएनौ
कतै बिर्सेका त छैनौ नि !?

भन्नेहरूले त भन्न थालीसके
तिमी पनि धोकेवाज हौ भनेर,
कतिले त मलाई नै सम्झाउँछन्
त्यसको भर नपर् भनेर
तर म कसरी पत्याउन सक्छु र
मेरो अन्तिम प्रेम झुटो हुन सक्छ भनेर
आखिर तिमीले पनि त
हृदय साटेको थियौ मसँग ।

म भन्दिनँ–
तिमी तिनीहरूसँग बोल्दै नबोल
तिनीहरूको नजिक जाँदै नजाऊ
किनकी अझै तिनीहरूकै कब्जामा छ हाम्रो सपना
र खोस्नु छ तिमीले त्यो चलाखीपूर्वक
तर याद गर है !
ती ब्वाँसाहरूले तिमीलाई सुम्सुम्याउँदै–सुम्सुम्याउँदै
तिमै्र आन्द्राभुँडी त झिक्दै छैनन् ?

सुन्छु, तिम्रो मासु खान चाहने ब्वाँसाहरू
तिम्रै पाउ चाटिरहेछन् यसबेला
देख्छु, उसबेला हाम्रो बिचमा तगारो हाल्नेहरू
तिम्रै गीत गाउँदै हिडिरहेको
सुन्छु, तिनीहरू नै मार्छन् तिमीसँग मीठा–मीठा बात
देख्छु, तिनीहरू नै हाल्छन् तिमीलाई अँगालो मस्किदै
भन त यसबेला कति जलिरहेको छु होला म ?
शंका लाग्छ कहिलेकाही त
धोका त दिदैनौ तिमीले मलाई ?
कतै भुल्दै त छैनौ
तिनकै रंगी चंगी ढाँचामा ?
तर सोच्छु पक्कै थाहा पाउँछौ तिमीले
तिनले अनुहारभरी पोतेका
अवसरवाद नामको क्रिम
तिनले शरीर भरी छरेका
चाकडी नामको अत्तर
सोच्छु कसरी बिर्सन सक्छौ र तिमीले ?
ती चमेरालाई
जसले पु¥याएथे गिद्धहरूको देशमा
हाम्रा हृदयका साथीहरूलाई ।

याद गर प्रियतम !
पर्खिरहेछु म अझै
हृदयभरी विश्वास र धैर्यको पर्खाल लगाउँदै
तिम्रो पहिलो प्रेम अर्थात गरीवको बुइँगल ।
܀܀܀
✍ कला अनुरागी

Comments

Popular posts from this blog

Philosophy of Fearism

Book Talk: The Laws of Human Nature