गजलमा नारा

प्रेमिका र मदिरा ! सबैभन्दा बढी गजल लेखिएको बिषय । उर्दु भाषाबाट आएको गजलको अर्थ नै ‘प्रेमिकासँगको कुराकानी’ हुन्छ भनेर विद्वानहरु भन्छन् । धेरै पाकादेखि तन्नेरी गजलकार अहिले पनि यसैलाई गजलको बिषय बनाउँछन् । र, बजारमा यस्तै गजलले ‘वाह् ! वाह् ! वाह् !’ पनि पाइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसमेत रहेका गजलकार बूँद रानासँग कुराकानी पनि यही बिषयबाट सुरु भयो । 

गजल र प्रेमिका
‘गजल बिधा उर्दु भाषाबाट आएको मानिन्छ । त्यसैले अक्षर–अक्षर छुट्याएर अर्थ लगाइयो,’ उनले अर्थको पृष्ठभूमी बताए । ‘पहिले–पहिले त्यही अर्थअनुसार लेखियो र लेख्न अभिप्रेरित पनि गरियो । तर मूल्य, मान्यता र परिभाषा समयअनुसार बदलिन्छन् । अहिले गजलको अर्थ त्यतिमात्रैमा सिमित राख्न मिल्दैन,’ उनले उदाहरण दिए,‘पहिले सूर्य पूर्वमा उदाउँछ र सात वटा घोडा चढेर पश्चिम जान्छ भन्ने मान्यता थियो भनेर अहिले पनि त्यही कुरा सही हो भन्न त सकिन्न । त्यस्तै हो ।’ 
उनको विचारमा अहिलेको गजलमा वर्तमान बोध छ । र, यसले वर्तमान बोल्छ । ‘प्रेम पनि मानव जीवनको एउटा पाटो हो तर समग्र पक्ष होइन,‘ उनको धारणा छ,‘त्यसैले गजलको अर्थ पनि परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने गरी लगाउनुपर्छ ।’ 
त्यसो भए उनको गजलले चाहिं कोसँग कुरा गर्छन् त ?  उनले भने, ‘मेरा गजलहरु आम मान्छेको भावनासँग वात मार्छन् । देश र जनताको भावनाभन्दा पर म जान सक्दिन ।’
त्यसो त प्रेम पनि जीवनको एउटा पाटो हो भन्ने उनले स्वीकारेका छन् । र, लेखेका छन् :
सधै सधै कति गर्नु बन्दुकका कुराहरु
कहिलेकाही बज्नुपर्छ हृदयमा चुराहरु
‘सँधै देश, जनता र परिवर्तनको कुरा गरेपनि कहिले काहीं त चुराको छन्छन् पनि सुन्न मन लाग्छ भन्ने भाव हो यो । तर मेरो गजलले प्रेमिकासँग एकदमै थोरैमात्रै बात मारेका छन् ।’ 

गजल र मदिरा
गजलमा उच्च माग हुने अर्को बिषय मदिरा । उनले पनि मदिराको बिषयमा गजल नलेखेका होइनन् । । 
पिउदै नपिउने मान्छे पिएँ अलिकति
उनको वचन राख्न लिएँ अलिकति 
मदिराको बिषयमा लेखिएको यो गजलमा बरिष्ठ संगीतकारले अम्बर गुरुङले संगीत भर्नुभएको छ । ‘तर यसमा पनि मदिरा नै मेरो जिन्दगी भनेको छैन’, उनले आफ्नो बचाउ गरे । ‘साँच्चै म वचन राख्नकै लागिझैं मदिरा एकदमै कम पिउँछु । तर पिउँदिन भन्दिन’ उनले स्पष्टिकरण दिए,‘कहिलेकाहीं अमिलो पिरो एकदमै खान मन लागेझैं कहिलेकाहीं खान मन लाग्छ । तर एक बिर्कोमात्रै भए पुग्छ ।’ उनलाई कतिपय प्रोफेसनल लेखकलाई झैं लेख्ने ‘मूड’ बनाउन मदिरा चाहिदैन । त्यसैले मदिराबाटै लेखनको माहौल जम्दैन उनको वरपर । ‘मनमा आएको भाव छोप्नलाई कापी र कलमचाहिं सँधै साथै राख्छु’ कोटमा भिरेको तीनवटा कलमको प्रमाण पेश उनी खुलेर हाँसे । 
‘सुन्दरीसँग सुरा जोडिएर आउनु स्वाभाविक नै हो,’ उनले आफ्नो धारणा पेश गरे,‘त्यसैले गजलमा मदिरा आएको हुनुपर्छ । गजल बृहत बिषय भएको कारण मदिरा पनि एउटा बिषय बन्नु नौलो बिषय चाहिं होइन ।’
गजल सुन्दै मदिरा पिउने अर्को संस्कार पनि छ । त्यो संस्कारलाई गजल रेष्टुराँले बचाएका छन् । तर रानालाई यो संस्कारको अनुभव छैन । ‘काठमाडौमा गजल रेष्टुराँका बोर्ड त देखेको छु । त्यसभित्र पसेको छैन, कस्तो गजल गाइन्छ, त्यो पनि थाहा छैन,’ उनले भने । 
तर उनको अनुमान छ, मनमोहक विधा भएकोले गजल सुन्दै मदिरा पिउँदा आनन्द हुँदो हो । 

नियम र गजल
‘नियममा बाँधिएरै लेख्नुपर्छ,’ गजलको जबर्जस्त मान्यता । बुँद राना पनि यो मान्यतालाई स्वीकार्छन् । ‘गजल बहर (उर्दु नियमअनुसार गजलको छन्द)मा लेख्ने कि गैरबहरमा ?’ उनको उत्तर छ,‘सकेसम्म बहरमा लेख्नुपर्छ । सके शाश्त्रीय छन्दमा, नभए पनि लोक छन्द वा स्वनिर्मित छन्दमा लेख्नुपर्छ । छन्दबिहिन त गजल नै हुन सक्दैन नि ।’ 
उनले बहरलाई साँढेको अर्थमा नेपालीकरण पनि गरे । ‘साँढेमा बल धेरै हुन्छ, तर त्यसलाई सजिलै काममा लाउन गाह्रो पनि हुन्छ । तर त्यसलाई सदुपयोग गर्न सकियो भने धेरै काम लिन सकिन्छ । त्यस्तै हो,’ उनले प्रष्ट्याए,‘बहरमै लेख्न सकियो भने धेरै प्रभावकारी हुन्छ । स्वनिर्मित छन्दमा लेखेपनि बारबन्धनलाई तोड्न चाहिं हुँदैन ।’ 
गजलको अर्को ‘कन्फ्युजन’ हो शिर्षक । ‘म त शिर्षक राख्दिन’, उनले भने ‘गजलमा चार/पाँच शेरदेखि काफिया (गजलमा अनुप्रास मिलाउने शब्द) मिलेसम्म धेरै शेर (गजलको प्रत्येक दुई हरफ) लेख्न सकिन्छ । यसका प्रत्येक शेर आफैंमा मुक्त हुन्छन् । त्यसमा छुटै भाव हुन्छ । सबै भावलाई समेटेर एउटै शिर्षक दिन गाह्रो हुन्छ । तर राम्रो शेरबाट केही शब्द लिएर शिर्षक दिने चलन पनि चलाइएको छ ।’ राख्दा ठिक कि नराख्दा भन्ने सवालचाहिं उनले गजलकारलाई नै छाडे ।  
रदिफ (प्रत्येक शेरको अन्तिममा दोहोरिरहने शब्द वा शब्द समूह)अनिवार्य कि ऐच्छिक ? गजलमा अर्को सवाल छ । राना भन्छन्,‘यसमा त विवाद नै छैन । काफिया चाहिं अनिवार्य छ । तर रदिफ ऐच्छिक नै हो । त्यसलाई मैले झुम्का, फुर्का वा लुर्कना भन्ने गरेको छु ।’ ‘खाटमा तन्नामात्रै बिछ्याएर ‘लेस’ नझुण्ड्याए पनि हुन्छ । तर ‘लेस’ले खाटको शोभा बढाउँछ । त्यस्तै रदिफले पनि गजललाई सुन्दर चाहिं बनाउँछ ।’ उनले उदाहरण दिएरै प्रष्ट पारे । 
काफिया दोहोर्‍याउने कि नदोहोर्‍याउने ? अर्को ‘कन्फ्युजन’ छ गजल लेख्दा । ‘मैले गालिब, मिर, फैजका साथै नेपालका पुराना गजलकारहरुको गजलमा पनि काफिया दोहोरिएको पाएको छु । तर मेरो विचारमा काफिया धेरै दोहोरिनुहुँदैन । त्यो पनि भावको प्रवलता जोडदार खालको छोड्नै नमिल्ने भयो भने मात्रै ।’ उनले आफ्नो धारणा पेश गरे ।  
‘तखल्लुस (गजलमा लेखकले प्रयोग गर्ने आफ्नो नाम)चाहिं अर्थपूर्ण भएर आएको राम्रो हुन्छ । त्यतिकै प्रयोग गर्दा अर्तीदिए जस्तो, दवाव दिएजस्तो, मैले यो भनेको हो तैले मान्नुपर्छ भनेको जस्तो हुन्छ ।’ तखल्लुस प्रयोगको बारेमा उनको मत छ ।  
तर अन्तिम शेरमामात्रै यसको प्रयोग गर्नुपर्छ भन्ने मान्यताको चाहिं विरोधमा छन् उनी । 
मरुभूमीमा परें र त गजलकार भएँ
‘बुँद’का निम्ति मरें र त गजलकार भएँ
यसरी सन्दर्भ मिलेमा जुनसुकै शेरमा पनि तखल्लुस प्रयोग गर्न सकिने उनको धारणा छ । कतिपय गजलमा त उनले धेरै ठाउँमा पनि तखल्लुस प्रयोग गरेका छन् । 
‘अरुले चाहिं रचनामा नाम लेख्न नपर्ने तर गजलकारलाई चाहिं किन यत्रो नाममोह ?’ यो प्रश्नमा उनी खुलेर हाँसे र भने ,‘भनिन्छ, गजलको एउटै शेरमा महाकाव्य प्रतिविम्वित हुन्छ । त्यो पूर्ण उक्ति पनि हो । त्यसैले त्यो कसले लेखेको हो भन्ने नबिर्सिउन् भनेर नामको प्रयोग सुरु गरिएको होला । यसलाई अन्यथा लिन नमिल्ला ।’ नाममोहमा उनको समर्थन नै देखियो । 

नयाँ पुस्ता र गजल
नयाँ पुस्ता ओइरिएको छ गजलमा । अन्य विधामा जमेका कति साहित्यकारहरुलाई पनि यसको मोहनी लागेको छ । के छ त्यस्तो गजलमा ?
‘गीतमा एउटै भाव हुन्छ । त्यसबाट पनि मानिसहरुले आनन्द लिइरहेका छन् । गजलमा त प्रत्येक शेरमा छुटाछुटै भाव र छुटाछुटै आकर्षण हुन्छ । त्यसैले एउटै गजल सुन्दा पनि धेरै आनन्द र तृप्ति हुन्छ,’ उनले ठम्याएको गजलको मोहनी मन्त्र यही हो । उनको ठम्याइमा त्यसैले धेरैलाई आकर्षण गरिरहेको छ । 
‘अहिलेका राम्रा लेखकहरुलाई तपाईले साहित्य यात्रा कहाँबाट सुरु गर्नुभयो भनेर सोधियो भने ‘कविताबाट’ भन्ने उत्तर आउँछ धेरैको । मैले पनि कविताबाटै साहित्य लेखन सुरु गरेका हुँ । तर अहिलेको पुस्ता पुरानो हुँदा गजलबाट रचना सुरु गरेको कुरा आउने स्थिति छ ।’ गजलमा युवाउपस्थितिलाई चित्रित गर्दै पाका गजलकार रानाले भने । 
तर युवाहरु जति गजल लेखनमा आइरहेका छन् त्यति गुणात्मक रचना नआएको उनको ठहर छ,‘नयाँ पुस्तामा लोभलाग्दा प्रतिभाहरु पनि आउनुभएको छ । तर युवाहरु जति आउनुभएको छ, गुणात्मक रचनाहरु चाहिं धेरै देखिएको छैन ।’ 
धेरैजसो युवाहरु युवासुलभ चेतना, प्रेम, प्रेमिका आदिमा मात्र केन्द्रित भएकोले गुणात्मक रचना आउन नसकेको उनको निष्कर्ष छ । तर त्यस्तै लेखे पनि गजल लेखिनुलाई चाहिं उनी सकारात्मक रुपमा लिन्छन् । ‘अपेक्षा गरेजस्तो गुणस्तरीय रचना नआएपनि सिर्जनात्मक काममा लाग्नु सकारात्मक हो । त्यो रचना मञ्चमा गएपछि राम्रो/नराम्रो छुट्टिदै जान्छ’ उनको भनाई छ । उनले नयाँ पुस्तालाई समाजप्रति र आफैंप्रति पनि जिम्मेवार भएर रचना गर्न सुझाव दिए ।

गायन र गजल
‘यो सुन्न, सुनाउन, पढ्न र गाउन मिल्ने बिधा हो । अझ संगीतबद्ध गरेर गाउँदा सुनमा सुगन्ध हुन्छ ।’ उनले गजल र गायनको सम्बन्ध प्रष्ट्याए,‘हुन त गहिरिएर बुझ्ने हो भने गजल पढ्दा पनि उत्तिकै प्रभाव पर्छ तर त्यसमा संगीत भरिदाको प्रभाव नै अर्कै हुन्छ ।’
तर नेपालमा गजल कम गाइएकोमा उनको चिन्तित पनि छन् । ‘नेपालमा राम्रा गजलहरु अझै पनि गाइएका छैनन् । जस्तै मनु ब्राजाकी, ललिजन रावललगायतका राम्रा गजलहरु पनि धेरै गाइएका छैनन्’ उनले भने,‘मेरो त नगन्यमात्रै गाइएको छ । कसै–कसैले बूँद राना पनि पुरानो गजलकार हो भनेर गाइदिएको मात्रै हो ।’ यसको दोष उनी संगीतमा भएको व्यापारिकरणलाई दिन्छन्– ‘अहिले आफैंले खर्च गरेर गायनमा आउने टेन्ड छ । तर राम्रा गजल लेख्ने गजलकार पनि आर्थिक रुपमा लगानी गर्न सक्षम छैन । त्यसैले जतिले आर्थिक व्यवस्थापन गर्न सक्छन्, उनीहरुकोमात्रै गजल आएको छ । त्यसैले मात्रै बजार पिटेको छ ।’ 
अर्कातिर युवा पुस्तामा देखिएको गम्भीरताको कमीले पनि राम्रा र गम्भीर गजल बजारमा नआएको उनको ठहर छ । ‘युवाहरु बढी हाहा र हिहिमा रमेको पाइन्छ । बजारमा चर्चामा आएका गजलहरु सुन्दा त्यो प्रमाणित हुन्छ’, उनको गुनासो छ । 
तर उनी आशावादी छन् । भारतीय गजल गायक जगजित सिंह, गुलाम अलिका गजल सुन्ने धेरै नेपाली छन्, उनीहरुले बुँद रानाको गजल सुन्ने दिन आउने आशामा छन् ।

गजल र बुँद राना
चन्द्रगढीको जुही प्रकाशन समूहले नेपाली गजल इतिहासमा मोतीरामकालीन समयपछि सुस्ताएको गजलको पुनर्जागरण गर्ने एक अभियन्ता बूँद रानालाई ‘गजल शिरोमणी’ को उपाधिले सम्मान गरेको छ । 
बिद्यार्थीकालमा सिनेमा हेर्दा ‘हिरो’ले गजल गाएर सबैलाई प्रभावित पारेको देखेर गजल लेखन र वाचनको मोहनीमा परे । तर पञ्चायतकालीन समयमा देश र जनताको बिषयमा गजल लेख्नु निकै चुनौतिपूर्ण थियो । तर त्यो चुनौतिलाई उनले स्वीकार गरे :
हेपेर कालले भन्थ्यो मलाई हट् पाजी 
उसैको बुइ चढें र त गजलकार भएँ 
त्यसैले तीसको दशकको आधाआधीबाट गजल लेखनमा खरो उत्रेका राना नेपाली गजलको पुनर्जागरण गर्ने एक अभियन्ता बन्न पुगे । 
अहिले भने समकालीन गजलकारहरुको बीचमा कहाँ छुजस्तो लाग्दो हो उनलाई ? ‘म समूहमै छु जस्तो लाग्छ । तर कहिलेकाही एक्लै छु जस्तो पनि लाग्छ ।’ उनले दोधारे कुरा गरे । र, कारण दिए, ‘बुँद रानाले नारा लेख्छ भन्छन् धेरैले ।’
‘हो, म नारा लेख्छु ।’ उनले यो आरोपलाई स्वीकारे र भने –‘नारा नराम्रो कुरा त होइन नि । टिप्पणी गर्नेहरुले के आशयमा भनेका हुन्, त्यो त म भन्न सक्दिन । तर हातका मैला सुनका थैला, के गर्नु धनले, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्नु पनि त नारै हो नि ।’
उनले नारा लेख्नुको महत्व वर्णन गरे–‘नारा भनेको उक्ति हो, सूक्ति हो । नारा पो सबैलाई कण्ठ हुन्छ त । महात्मा गान्धी, म्याक्सिम गोर्कीले भनेका हुन् या माक्र्सले भनेका हुन् । नारा भनेको त धेरै महान कुरा रहेछ । त्यसैले साथीहरुले धेरै राम्रो भन्नुभएछ भन्ने लाग्छ ।’
‘कसैले कला कलाको लागिमात्रै हो भन्छ भने त मेरो भन्नु केही छैन’, ‘तर उनले आफ्नो लेखनमा आउने नाराको औचित्य पुष्टि गर्न भने,‘मेरो विचारमा साहित्य भनेको त समाजलाई समाजलाई अग्रगति प्रदान गर्ने कुरा पनि हो । कला जीवनको लागि, सुखद भविष्य निर्माणमा अगाडि बढ्नका लागि हो त स्वाभाविक रुपमा यसमा राजनीति, चिन्तन, विचार  त हुन्छ नि । त्यसलाई अभिव्यक्त गर्न नारा पनि त चाहिन्छ, उक्ति चाहिन्छ । लौ साथी हो, अगाडि बढ्नुपर्छ, पछाडि फर्कने होइन भन्नु पनि नारा नै हो नि ।’
उनले आरोप स्वीकारे पनि त्यसलाई गलत मान्न फिटिक्कै तयार देखिएनन् र उदाहरण दिए,‘कहि दनन आगो लागिरहेको छ । त्यसबेला आगोलाई आगो पनि नभनेर अनल आदि शब्द खोजेर कलात्मक ढंगले आह्वान गर्न थाल्नुभयो भने त डढेर भष्म भइहाल्छ नि । त्यसैले सिधै त्यहाँ आगो लाग्यो, निभाउन जाउँ भन्नु नै सही हुन्छ ।’ उनको निष्कर्ष थियो, ‘साहित्यमा कति कलाले छोप्ने भन्ने परिस्थितिमा भर पर्छ । 
त्यसैले आजकाल उनी हाक्काहाक्की भन्न थालेका छन् –‘म नारावादी नै हुँ । यसमा म गर्व गर्छु ।’ र, यही बिषयमा गजल पनि लेखेका छन् :
भेट्टाएका पीडा सारा बटुल्दैछु गजलमा
मुर्दा व्युँताउने नारा बटुल्दैछु गजलमा
...
म जे बोलुँ बनोस् नारा म यस्तै कामना गर्छु
नहोस् आवाज बेचारा म यस्तै कामना गर्छु
‘जे बोलिन्छ, त्यो महत्वपूर्ण होस्  । सम्झना रहने खालको, मुुटुमा ढ्याङ्ग्रो ठटाउने खालको होस् । मस्तिष्कमा उथलपुथल ल्याउने, त्यसलाई झंक्रित गर्ने खालको होस् ।’ उनले त्यो शक्ति नारामा नै पाएका छन् । साहित्यमा कला नि नारा भन्ने बहसमा उनले आफ्नो धार स्पष्ट पारेका छन् । 
यत्ति धेरै तर्क गरिसकेपछि उनले आफ्नो दोधारे उत्तरलाई स्पष्ट पारे, ‘यस मानेमा म अरु साथीहरुभन्दा फरक छु जस्तो लाग्छ । मेरा समकालिन कतिपय मेरै उमेरका पनि छन् । उनीहरुको रचना सुललित होला । तर मेरोमा नारा हुन्छ, यो म हाक्काहाक्की स्वीकार गर्छु ।’
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments