पहेँलिदै गएको माओवादी आन्दोलनको कथा

सात काव्य कृतिपछि विष्णु भण्डारी आख्यान लेखनमा आएका छन् उपन्यास ‘पहेँलो घाम’ मार्फत । उनी राजनीतिक रूपमा खुलेका लेखक हुन् । एमाओवादीनिकट लेखक संघको केन्द्रीय तहमा छन् र अबको नेतृत्वको रूपमा उनको चर्चा छ । यसअघिका काव्यकृतिझैं उनकोे उपन्यास पनि माओवादीकेन्द्रित राजनीतिकै सेरोफेरो छ ।
क्यान्टोनमेन्टबाट ‘अयोग्य’ प्रमाणित भएका माओवादी छापामारको कथा उपन्यासको मूल बिषय हो । उपन्यास सुरु भने माओवादी जनयुद्ध नियन्त्रण गर्न राज्यले सेना परिचालन गरिसकेपछिका घटनाक्रमसँगै हुन्छ । उपन्यासकी मूल पात्र हो शिवा, गाउँकी डोल्मा तामाङ । सेनाले उसको बाबुको हत्या गर्छ र आमालाई बलात्कार । साहसपूर्वक नातिनीलाई उम्काए पनि सेनाले हजुरआमाको पनि ज्यान लिन्छ । डोल्मा दुःख खेप्दै माओवादी सम्पर्कमा पुग्छे र शिवा बन्छे । युद्धमा चमत्कारी चरित्र देखाउँछे र ‘सार्प शुटर परी’ बन्छे ।
माओवादी शान्ति प्रक्रियामा आएपछि जनसेना क्यान्टोनमेन्टमा राखिन्छ र समायोजनको प्रक्रिया सुरु हुन्छ । प्रक्रियामा शिवा भने ‘अयोग्य’ प्रमाणित हुन्छे । त्यसपछि क्यान्टोनमेन्ट छाडेर हिँडेकी शिवाले अमेरिका बस्ने नेपाली सोहन भेट्छे र काठमाडौंसम्म सँगै यात्रा गर्छे । सोहनलाई उसले आफ्नो नाम ‘रमिला’ बताउँछे । तर सोहन भने शिवाकै खोजीमा अमेरिकाबाट आएको हुन्छ । केही पटकको भेटघाटपछि शिवा सोहनलाई प्रेम गर्न थाल्छे । सँगसँगै आफ्ना ‘अयोग्य’ साथी जम्मा गरेर कृषि उत्पादनमा लाग्छे ।
उपन्यासमा विभिन्न पात्रले शिवाले भोगेको त्रासद घटना र उसले लडाइँमा देखाएको चमत्कार वर्णन गर्छन् । ‘अयोग्य’ भएपछि काठमाडौंमा संघर्ष गरिरहेका शिवाका साथीहरू र केही नेतासँगको संवाद तथा सोहनसँगको प्रेमसँगै उपन्यास अघि बढ्छ । युद्ध लड्न योग्य व्यक्तिलाई राज्य र पार्टीले ‘अयोग्य’ बनाएर के गर्न खोजेको हो भन्ने प्रश्नलाई उपन्यासले केन्द्र बनाएको छ ।
उपन्यासको मूख्यसहित अधिकांश पात्र ‘अयोग्य’ छन् । उनीहरू ‘अयोग्य’ भनिनुको पीडामा त छन् नै, भविष्यकोे निश्चित बाटो नदेखेर अल्मलिएका छन् । त्यसैले पार्टीको चर्को आलोचना गर्छन् । शान्तिप्रक्रियामा आएपछि पार्टी भ्रष्ट, नैतिकहीन र दिशाहीन बन्दै गएको निष्कर्ष निकाल्छन् । मुक्तिको सपना देखेर युद्धमा सहभागी भएपनि अहिले जीवन जिउन नै संघर्ष गर्नुपरेकोमा पार्टीप्रति रोष प्रकट गर्छन् । पार्टी एकतामा नाममा पातपतिंगर जम्मा गर्दै जनयुद्धविरोधीलाई पार्टीमा हुलेको भन्दै आक्रोशित छन् । चन्दामा मोज गर्ने वाइसिएलप्रति कडा टिप्पणी गर्छन् । पार्टीको नाममा जम्मा हुने पैसा अपचलन गरी नेताले घरघडेरी जोडेको, विभिन्न कम्पनी, हाइड्रो र व्यापारमा लगानी गरेकोमा आक्रोशित छन् । क्यान्टोनमेन्टको गुलियो चाखेर कमाण्डर लाखौंको गाडीमा हिँडेको, श्रीमतीलाई सभासद् बनाएको र काठमाडौंमा घर बनाएको देखेर छक्क परेका छन् । पार्टीमा शुद्धिकरण अभियान चलाउने पनि भन्ने, आइफोन र रोलेक्स घडीको सान पनि देखाउने नेताप्रति दिक्क छन् । आफ्नो गुटको भएपछि सात खत पनि माफ हुने प्रवृत्तिको गुटबन्दीले पिरोलिएका छन् । मजदुर नेताले सित्तैमा शेयर मागेपछि ठूला होटल रेष्टुरेन्ट बन्द भएकोमा दुःखी छन् । एकल जातीय पहिचानको मुद्दालाई वर्गीय मुद्दामा जोड्न सकेन भनेर चिन्तित छन् । पृथ्वीनारायण शाहले दुःख गरेर टुक्रेको राज्य एउटै पारेका थिए भन्दै उनलाई विस्तारवादी र हत्यारा भनेकोमा चित्त दुखाएका छन् ।
शान्तिप्रक्रियापछि पार्टीले चालेका अधिकांश कदमले कार्यकर्तामा निराशा पैदा गरेको छ । माओवादीले गरेको जनयुद्ध र अबलम्बन गरेको सिद्धान्तप्रति उनीहरूको विमति देखिँदैन, तर सत्तायात्रा र त्यसपछिका क्रियाकलापबाट भने सन्तुष्ट छैनन् । पात्रका अभिव्यक्तिमार्फत आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्तिप्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गर्नु उपन्यासकारको ध्येय देखिन्छ । त्यस क्रममा आफैं संलग्न पार्टीको खुलेर आलोचना गर्न सक्नु उनको लेखकीय इमान्दारिता हो ।
उपन्यासकार
त्यसो त ‘अयोग्य’ साथीहरूलाई निराश नहुन शिवाले निरन्तर प्रेरित गरिरहन्छे । उसको साहस, प्रतिरोधी चरित्र र आशावादिताले नै उपन्यासका पात्रहरूलाई बाँधिराखेको छ । पुराना नेतृत्वबाट आशा गर्न नसकिए पनि युवाले पार्टी बनाउन सक्छन् भन्ने आशा शिवामार्फत प्रवाह गरिएको छ । यसलाई चाहिँ लेखकको पार्टीप्रतिको सदाशयता मान्न सकिन्छ । तर उनी नेताको पक्षमा उभिएका छैनन्, इमान्दार कार्यकर्तामै आशा खोजेका छन् । 
शिवामार्फत उपन्यासले जनयुद्धमा महिला र जनजातिको बलियो सहभागिताको कथा प्रस्तुत गरेको छ । जनयुद्धमा वीरतापूर्वक लडेको सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि वेवास्ता गर्न थालेको चित्र प्रस्तुत गर्न उपन्यासकार सफल छन् । शिवा ‘अयोग्य’ हुनुको कारण हुन्छ– कमाण्डरको यौनप्रस्ताव अस्वीकार गर्नु । जसले जनसेनाभित्र पनि यौनहिंसा हुन्थ्यो भन्ने खुलासा गरेको छ र लडाकू प्रमाणिकरण प्रक्रियामाथि पनि प्रश्न उठाएको छ । त्यसो त बाहिरी समाजमा हुने यौनहिंसाका घटनालाई पनि उपन्यासले समेटेको छ । त्यस्ता घटनामा शिवाको प्रतिरोधकथामार्फत निष्कर्ष निकालिएको छ– प्रतिरोधी चेतना प्रयोग गरेर त्यस्ता हिंस्रक मनोवृत्तिलाई पराजित गर्न सकिन्छ ।
उपन्यासले सामूहिकतालाई जोड दिइएको छ । ‘अयोग्य’हरूले सामूहिक कृषि फार्ममार्फत उत्पादन सुरु गर्छन् । जसले उनीहरूको जीवनलाई सहज बनाउनेमात्रै होइन, भ्रष्ट नेतासँग बहसमा उत्रन पनि बल दिन्छ । त्यसैगरी असल नेताको उत्प्रेरणा पनि प्राप्त गर्छन् । जनताको त्याग, तपस्या र बलिदानबाट बनेको राजनीतिक पार्टीलाई सिमित नेताको पेवा बन्न नदिन खबरदारी गर्छन् ।
‘पहेँलो घाम’ जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो । तर यसमा माओवादी ‘जार्गन’ प्रयोग गरिएको छैन । भाषा सरल छ । गैरमाओवादी पाठकले पढ्दा टाउकै दुख्ने शब्दावली र सम्बोधन यसमा छैनन् । त्यसो त उपन्यास पढ्न माओवादीबारे बुझेको चाहिँ हुनुपर्छ । माओवादी जनयुद्ध र यसपछिका प्रक्रियाबारे नबुझेका पाठकलाई भने बिषयवस्तुले अल्मल्याउन सक्छ । कति ठाउँमा पात्र खडा गरेर आफ्नो कुरा पटट बोल्न लगाएजस्तो लाग्छ । घटनाक्रम कम र संवाद बढी छ । संवादलाई नै ‘ठूलो स्वर’ दिएर बिषय पुष्टि गर्न खोजिएको छ । त्यसैले आलोचनाको तर्कसंगत पुष्टि भने हुन सकेको छैन । त्यसले उपन्यासमाथि राजनीतिक पक्षधरताको कोणबाट प्रश्न उठाउने बाटो भने खालि नै छ ।
उपन्यासको मूल बिषयलाई सैद्धान्तिकीकरण गर्न पनि लेखक चुकेका छन् । जति जनसेना ‘अयोग्य’ प्रमाणित भए, ती सबै यौनप्रस्ताव अस्वीकार गरेकै कारण भएका पक्कै होइनन् । तर शिवाबाहेक  उपन्यासका अरू पात्र कसरी ‘अयोग्य’ बनाइए भन्नेबारे उपन्यास मौन छ । यस बिषयमा लेखक सचेत बनेको भए उपन्यासको आयाम अझ फराकिलो हुनेथियो । उपन्यासको अन्त्यमा नयाँ यात्रा सुरु गर्ने उद्घोष गरिएको छ । तर त्यो ‘परम्परागत प्रगतिशील’ शैलीलाई पछ्याएजस्तोमात्र देखिन्छ । त्यसको मूर्त भ्रुण उपन्यासभर भेटिँदैन । यी कुरामा उपन्यासकार सचेत हुन सकेको भए उपन्यास अझ बलियो हुने ठाउँ देखिन्छ ।
त्यसो त, काव्यलेखनको तीन दशकपछि एक्कासी आख्यानमा हात हालेर लेखिएको उपन्यासलाई कमजोर भन्ने आधार छैन । त्यसमाथि समसामयिक राजनीतिमाथि लेख्नु जोखिमको कुरा हो । त्यो जोखिम भण्डारीले उठाएका छन् । त्यतिमात्रै होइन, कुवाभित्र बसेर आफूलाई ‘सम्राट’ घोषणा गर्ने, त्यसबाहिर संसार नै छैन भन्ने सोच पाल्ने तथा कविता लेख्न पोलिटव्यूरोको निर्णय पर्खने एउटा वृत्त नेपाली साहित्यमा छ । आफूलाई सबैभन्दा ‘प्रगतिवादी’ ठान्ने त्यो वृत्तमा तीन दशक बिताएका भण्डारी यो उपन्यासमार्फत बाहिरी संसारमा निस्केका छन्, जहाँ वास्तविक प्रगतिवादी पनि भेटिन्छन् । तर अब उनलाई कुवाभित्रको समाजले अन्तै लसपसिएको ठान्छ र हेला गर्छ । बाहिरी संसारले कुवाकै मान्छे हो भनेर संशय गर्छ । त्यसैले उनको परीक्षा अब सुरु भएको छ । सुरुवातलाई राम्रो भन्न हिच्किचाउनु पर्ने कुनै कारण छैन ।
कृतिः पहेँलो घाम
विधा : उपन्यास
लेखक : विष्णु भण्डारी
प्रकाशक : प्राइम बुक्स
मूल्य रु : ३५०।–
܀܀܀
कला अनुरागी
प्रकाशित : अन्नपूर्ण (फुर्सद)

Comments