कविताशिविरमा विष्णु भण्डारी



विष्णु भण्डारीसँग केही देखिइने निकटता छन् मेरो । ‘काव्यशिविर अभियान’मा सँगै छौं । उनको घर कोटेश्वर र मेरो डेरा नरेफाँटबीच ‘एउटै गाउँ’ भन्न मिल्ने दूरी छ । उनको अध्ययनकक्षमा बसेर सँगै कफी पिउन र बेलामौका भान्सा ‘सेयर’ मलाई रोकछेक छैन । उनको समृद्ध ‘बुकशेल्फ’को फाइदा उठाउन पनि पाएको छु ।
उनीबारे लेख्न इकविता डट कमका सम्पादक प्रविण बाँनियाको प्रस्ताव आएपछि भने एउटा असजिलो मेरो अगाडि उभियो । अनौपचारिक मान्छेसँग औपचारिक प्रश्न गर्नु निकै असजिलो कर्म रहेछ । पहिलोपटक महसुस गरें । आमासँग अन्तवार्ता लिन खोजेजस्तो भइरह्यो ।
प्रविणलाई मैले वाचा गरिसकेको थिएँ । त्यसैले प्रस्ताव गरें । उनलाई पनि सायद उही असजिलोले गाँज्यो होला । भने, ‘तपाईलाई सबै थाहा छँदैछ नि ।’
उनले मलाई झन् असजिलोमा पारिदिए । मेरो पत्रकारिता जीवनमा एउटा कृति–टिप्पणी र त्यसको विमोचनको समाचारबाहेक उनीबारे केही लेखेको थिइनँ । उनले भनेनन्, मैले जानिनँ । पत्रकारितामा अक्सर देखिने सम्बन्ध दुरुपयोगमा उनले कहिल्यै उक्साएनन् । त्यो उनको बानी नै होजस्तो लाग्छ ।
त्यसैले यो आलेखका लागि अन्तर्वार्ता दिन पनि खासै चासो दिएनन् किझैं लाग्यो । तर मलाई त चासो थियो नि । संयोगबश एकदिन उनी मेरो डेरामा आइपुगे । मैले मौका छोपेर कुराकानी सुरु गरें । उनी तर्किन खोज्दै थिए, मैले छाडिनँ ।
छेउमा रेकर्डर पल्टिरहेको थियो । मसँग खास प्रश्न थिएनन् । उनीसँग नै बरु जीवन भोगेको लामा–लामा उत्तर थिए । अन्तिम पुनर्लेखन गरिरहेको आफ्नो उपन्यासको कथावाचक पात्रलेझैं उनले जीवनकथा सुनाइरहे । उनको रोमान्चक जीवनकथाले मलाई तानिरह्यो । दुईघन्टा निरन्तर बोल्दा उनी थाके । म भने थाकेको थिइनँ । बरु, आफूले लेख्नुपर्ने कथा भुलेर उनको कथामा डुबेको थिएँ ।
भोलिपल्ट उनकै अध्ययनकक्षमा थप कथा सुनें । जीवनको सोलोडोलो रेखाचित्र तानिसक्दा झण्डै तीन घन्टा बितेछ । निरन्तर बोल्दा उनी थाकेको अनुहारमा स्पष्टै देखिएको थियो । एउटा आलेख लेख्न उनलाई निरन्तर दुःख दिनु उपयुक्त लागेको थिएन । त्यसभन्दा बढी दुःख नदिने विचार गरें ।
मैले उनको जीवनकथाको रोमाञ्चमा भुलेर प्रश्न नै गर्न सकिनँ । यो आलेख विनानिर्देशिका उनले आफ्नो जीवनबारे खिचेको रेखाचित्रको केही अंशमात्रै हो । जे–जे अपुग भए, त्यो मेरो दोष हो ।
०००

उनले लेखेको सबैभन्दा पछिल्लो कविता हो–‘झण्डा’ । जसमा भूकम्पको बेला राष्ट्रियता हल्लिएकोप्रति उनी चिन्तित छन् ।
पहिलो कविता भने कहिले लेखे, त्यसको शिर्षक के थियो, विषय के थियो, त्यो उनैलाई थाहा छैन । उनलाई यत्ति सम्झना छ कि आफूले लेखेको कवितालाई मिलाइदिएर दाइ हरि भण्डारी (जो अहिले कथाकारका रुपमा परिचित छन्) ले अन्तिममा थपिदिए–
‘हात पोलेको सिस्नुले
यो कविता लेखेको विस्नुले’
उनी तीन कक्षामा पढ्दै थिए त्यतिबेला । दाइ नौमा । जन्मस्थान गुल्मीको धुर्कोट–वस्तुस्थित  हिमालय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले त्यो कविता वाचन गरे ।
उनी सम्झन्छन्, ‘कविता भन्दा निकै आत्तिएछु । खिमानन्द पन्थी भन्ने निकै कडा शिक्षक थिए । उनले कार्यक्रमपछि भने– कविता राम्रो छ । तर यसरी आत्तिएर वाचन गर्ने होइन है ।’
कडा भनेर कहलिएका शिक्षकले गरेको प्रशंसाले उनलाई कविता लेख्न उत्प्रेरित ग¥यो । कविताप्रति नै टस बसाएको चाहिं विद्यालयमा हुने कविता–अन्ताक्षरीले हो । त्यसमा जसले धेरै कविता जानेको छ, उसैले जित्थ्यो । उनलाई जित्नुको खुब मोह थियो । दाइले पढ्नुपर्ने पाठ्यक्रममा रहेको नेपाली पद्य संग्रह भाग एक मौका पारी–पारी पढ्थे । पढ्दै जाँदा भावको गहिराइ पनि बुझ्न थाले । अनि त झन् त्यसले तान्दै जान थाल्यो ।
७ कक्षामा पुगेपछि उनलाई पूर्वगुल्मीका प्रेमनारायण भण्डारीले नेपाली पढाउन थाले । उनी भन्थे, ‘कवि भनेका छुट्टै मान्छे हुन् । अलौकिक मान्छे । महान मान्छे । जोसुकैले त कविता लेख्न सक्दैन ।’
शिक्षकको कथनले उनको मनमा कविको विराट बिम्ब बन्यो । आदर्श विम्ब । स्वप्निल विम्ब । त्यही विम्ब पछ्याइ हिडेका छन् उनी अहिले पनि । त्यसैले उनलाई कविता लेखाइराखेको छ ।
कक्षा ७ मा पुग्दा लेखेको ‘फूल’ शिर्षकको कविताचाहिं उनीसँग अहिले पनि सुरक्षित नै छ ।
त्यसैताका उनी कविताकै रसमा लोभिएर रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘साहित्य संसार’ सुन्न छिमेकीकहाँ पुग्थे । उनको घरमा रेडियो थिएन । कार्यक्रममा उनले कविता पनि पठाएका थिए । त्यो कविता वाचन पनि भयो रे । उनले त्यसको खबरमात्रै पाए । सुन्नचाहिं पाएनन् । यस्ता घटनाले उनलाई कविता लेख्न उत्प्रेरित गरिरहे ।
२०२० मा जन्मिएका उनको जीवनमा अनेक उतार–चढाव आयो । धेरैले उनलाई छोडे, उनले पनि धेरैलाई छोडे । तर कवितालाई न उनले छाड्न सके, न कविताले उनलाई ।
अहिले सात कविता कृतिका धनी छन् उनी । विद्रोहको छाल (खण्डकाव्य– ०४३), आँधी–तुफान (मुक्तकसंग्रह– ०४४), ब्वाँसाको अन्त्यको खेल (खण्डकाव्य– ०४५), फेरि अर्को तारा खस्यो (कवितासंग्रह– ०६३), देश जागेको बेला (आन्दोलनका कविता– ०६३), उत्सर्ग (महाकाव्य– ०६७) र घाइते ह्विलचेयर (कवितासंग्रह– ०६९) ।
०००

भनिन्छ– दुःखले राम्रो सिर्जना जन्माउँछ । विष्णुलाई कविता लेख्न लगाउने एउटा तत्व दुःख थियो । खान–लाउनको चिन्ताले धुम्मिएको थियो उनको पारिवारिक आकास । त्यही चिन्ताले होला, उनका बुबाले व्यापार गर्नका लागि साहुसँग ऋण लिए । तर व्यापारमा घाटा भयो, ऋण तिर्न सकेनन् । त्यसैबेला अर्को दुर्घटना भयो । जायजेथा राखिएको बंगालो (मतान)मा आगलागी भयो । त्यसपछि खेत बन्दकी राखेर बुबा पैसा कमाउन भारत छिरे । ०२९ सालको कुरा थियो यो । पारिवारिक दुःखकै कारण उनी बल्ल स्कुल भर्ना भएका थिए ।
तर भारतमा पनि उनको बुबाले खासै कमाउन सकेनन् । केही बर्षपछि बुबाको निर्देशनमा उनी र उनका दाजु पञ्जाब गए । त्यतिबेला दाजुले एसएलसी दिएका थिए । उनले चार पास गरेका थिए ।
भारतको पञ्जाबस्थित एक होटलमा उनले काम पाए । तर अवर्णनीय दुःख खेप्नुप¥यो । सकी–नसकी काम त गर्नुपथ्र्यो नै । काम नभएको बेला पनि त्यत्तिकै बस्न पाइदैनथ्यो । ‘कतिसम्म भने केही काम नभए कराइको बाहिर लागेको बर्षौंअघि देखिको कालो सफा गर्न लगाउँथ्यो ।’ सम्झदाँ पनि उनको अनुहार अमिलो भएर आयो ।
त्यो दुःखका बीच पनि उनले कवितालाई छोड्न सकेनन् । कविता लेख्ने टस बसिनसकेको भएपनि पढ्नचाहिं खुब पढे । फुर्सद भएपछि पढ्न थालिहाल्थे । घरबाटै दाइको नेपाली पद्य संग्रह भाग एक बोकेर गएका थिए । त्यहाँबाट मोतिराम भट्टको ‘पिकदूत’ सबैभन्दा पहिले कण्ठस्थ पारे । जसका पंक्ति उनी अहिले पनि सुनाउन सक्छन् ।
केही समयपछि बुबाले आफ्नै होटल थापे । त्यसपछि तीनैजना आफ्नै होटलमा जोतिए । त्यहाँ उपलब्ध हुने खाली समयमा उनले दाइले बनारसबाट मगाएको रामायण र महाभारत कण्ठस्थ पार्नमा उपयोग गरे ।
०००

भारत बसाइको झण्डै एकबर्षपछि उनी घर फर्किए । त्यसबेला उनले रामायण र महाभारतका धेरै श्लोक कष्ठस्थ पारेका थिए ।
घर फर्केपछि बुबाले खेत निखने । तर खेतीको दुःख त उस्तै थियो । उनी बिहान–बेलुका खेतीको काममा जुट्थे । दिउँसो स्कुल जान्थे । त्यति हुँदा पनि कविताकै बलमा स्कूलमा एका–एक हिरो भएका थिए । अन्ताक्षरीमा उनलाई कसैले भ्याएन । पढाइ पनि राम्रो गर्न थाले । हाजिरीजवाफ र निबन्धमा पनि अब्बल ठहरिन थाले ।
पाँच कक्षामा भर्ना भएका विष्णु स्कुलमा सबैले हाईहाई गर्ने बने । विद्यार्थी संगठनलाई त्यस्तै विद्यार्थीको आवश्यकता थियो राजनीति गर्न । अनेरास्ववियुको फेला परिहाले । उनलाई त राजनीतिको भेउ थिएन । तर रेडक्रस जुनियरको चुनाव हुँदैथियो । पञ्चायत पक्षधर त भइहाले, कांग्रेस, माले, मसाल र नेकपा माक्र्सवादी पार्टीको गोप्य संगठन पनि थियो स्कूलमा । उनलाई वामपन्थी पक्षधरले उठाए कक्षा प्रतिनिधिको रुपमा । जिते पनि ।
०३६ सालको आन्दोलनपछि विद्यालयमा स्ववियु चुनाव हुन थाल्यो । आठ कक्षामा पुग्दा मसालसमर्थक अनेरास्ववियु (छैठौँ)ले उनलाई स्ववियु उपसभापतिको उम्मेदवार बनायो । सम्झन्छन्, ‘त्यसबेलाचाहिं राजनीतिबारे अलि बुझ्न थालेको थिएँ । आफ्नै टोलका कतिपय माले पक्षधर पाचौं थिए । मेरो उम्मेदवारीसहितको पोस्टरिङ गरेको रात डरले सुत्न सकेको थिइनँ ।’
चुनावमा उनको प्यानलले हा¥यो । पाँचौले जित्यो । तर पनि उनी छैठौं भइरहे । केही समयपछि भएको जिल्ला सम्मेलनमा जिल्ला सहसचिव भए । विद्यालयमा सचिव भए । नौ कक्षामा स्कूलको अध्यक्ष बने । जिल्लाको उपाध्यक्ष ।
१० कक्षा पुग्दा उनी जिल्ला सभापति भइसकेका थिए । राप्ती र लुम्बीनीको दुवै अञ्चल मिलाएर बनाएको क्षेत्रको सहसचिव चुनिए ।
त्यसैबेला उनले राष्ट्रिय सम्मेलनमा काठमाडौ आउने मौका पनि पाए । ताराकान्त पाण्डे त उनका राजनीतिक गुरु नै थिए । टोपबहादुर रायमाझी, विनबहादुर कुवँरलगायतका नेता पनि भेटे । निकट बने । उनीहरुसँग भएका पुस्तक लगेर पढ्ने मौका पाए । विनबहादुरसँग त निरन्तर चिठी आदानप्रदान हुन्थ्यो ।
उनी असाध्यै अन्तरमुखी स्वाभावका थिए । कतिसम्म भने मान्छेसँग बोल्नुपर्छ भनेर मान्छे हिड्ने बाटो होइन, गाइवस्तु हिडाउने बाटो हिड्थे । तर राजनीतिमा सक्रिय हुन थालेपछि उनको अन्तरमुखी स्वभाव विलाउँदै गयो । संगठन गर्न जिल्लाका विभिन्न स्कूल घुम्न थाले ।
त्यसैबेला स्कूलका प्रधानाध्यापक नरेन्द्र भण्डारीविरुद्ध उनको नेतृत्वमा आन्दोलन भयो । हड्ताल गरे । उनी सम्झन्छन्, ‘उनले भ्रष्टाचार गरेका थिए । विद्यार्थीको सुविधामा ध्यान दिएका थिएनन् । त्यसैले आन्दोलन गरेका थियौं । तर मेरो नाउँमा प्रहरीको वारेन्ट पुर्जीको पो आयो ।’
वारेन्ट पूर्जी आएको डेढ महिनाजति उनी गाउँमा देखा परेनन् । विभिन्न गाउँमा लुकेर बसे । ‘अब त स्थिति साम्य भयो होला’ भन्ने सोचेर जब स्कुल जान थाले, पुलिसले समातिहाल्यो । पक्रेर तम्घास पु¥याइयो । निकै यातना दिइयो । तर उनले सोचेको जति चाहिं होइन ।
‘त्यतिबेला मैले आमालगायतका क्रान्तिकारी उपन्यास पढिसकेको थिएँ । कस्तोसम्म यातना दिन्छन् भन्ने अनुमान थियो । त्यसको दाँजोमा कमै यातना दिएको हो । तर कम्ति कुटेको होइन । मानसिक यातना पनि उत्तिकै दिन्थे ।’ उनी भन्छन् । एक हप्ताजति पछिमात्रै उनी त्यहाँबाट छुटे ।
त्यो घटनाले उनलाई राजनीतिमा लाग्न अझ उत्प्रेरित ग¥यो । साथै राजनीतिक चेतनाले युक्त कवितामा पनि उनको रस बस्यो ।
०००

राजनीति र कविता दुवैले विद्यार्थीको व्यक्तित्वलाई सहपाठीबीच आकर्षक बनाइदिन्छ । विष्णु भण्डारीको व्यक्तित्व पनि त्यस्तै बनेको थियो विद्यालयमा । त्यसमा पनि २० बर्षे जवान, पातलो–पातलो सुन्दर युवक । बैंशालु उमेरमा प्रवेश गरिरहेका धेरै सहपाठी किशोरीको मन उनले हरेका थिए, पक्कै । त्यसमध्ये पनि दुईजनाले असाध्यै पछ्याउँथे ।
त्यो समय सम्झँदा उनी अहिले पनि लजाउँदै भन्छन्, ‘उनीहरुको प्रतिष्पर्धा रहेछजस्तो लाग्छ अहिले । मेरो घरबाट स्कुल पुग्न दुई मिनेटको दूरी थियो । त्यही पनि बाटोमा पर्खेर बसेका हुन्थे । केही छिन भए पनि कुरा गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो होला ।’
तर उनले दुवैलाई मतलब गरेनन् । अचम्म !
तर अचम्म केही थिएन, उनी अरु कसैलाई मन पराउँथे ।
त्यसको कथा भने यस्तो छ–
१० कक्षामै पढ्ने एकजना किशोरी उनी लागेको संगठननजिक थिइन् । अर्कै गाउँबाट आफन्तकहाँ बसेर पढ्न त्यहाँ आएकी । कविता पनि लेख्थिन्, पढाइ पनि राम्रो । विष्णु तिनीसँग मनमनै आकर्षित भइरहेका थिए ।
एकदिन उनी नभएको बेला विद्यार्थी संगठनबीच भनाभन र हात हालाहाल नै भएछ । उनीहरुले तिनलाई पनि गालीगलौज गरेछन् । त्यो कुरा जब उनले थाहा पाए, कविता लेखे । ‘तिमीलाई जे प¥यो, त्यो तिमीलाईमात्रै होइन, हामीलाई नै परेको हो’ भन्ने भावको । कविताले उनीहरुको बीचको दूरी अझ घटायो ।
अब स्कूलको खाली समयमा उनीहरु खेल्न जान छाडे, स्कूलको सुन्दर चौरको एउटा कुनामा एक–अर्काका कविता सुन्न थाले । त्यहाँ भावनाका बात भए, आफ्नै सम्बन्धका कुरा भए ।
स्कूलसमयबाहेक पनि उनीहरु भेट्न थाले । घन्टौं गफिन थाले । कविता र चिठी आदानप्रदान हुन थाले ।
उनी सम्झन्छन्, ‘प्रेमले मान्छेलाई उत्साहित गर्दोरहेछ । मैले त्यसबेला राजनीतिक भावका साथै प्रेमभावका कविता निकै लेखें । मैले संग्रहकै तयारी गरिसकेको थिएँ ।’
हुँदा–हुँदा त्यो सम्बन्ध एकअर्कासँग नछुट्टिने कसममा पुग्यो । अहिले पनि तिनीले लेखेको ‘म तिमीविना कुमारी नै बस्छु’ भन्ने कसमी भावको कविता विष्णुसँग सुरक्षित नै छ ।
०००

एसएलसीपछि उनी संगठनको काममा खुब खटे । त्यसैबेला ‘विद्रोहको छाल’ खण्डकाव्य पनि लेखिभ्याए ।
उनकी प्रेमिका पनि आफ्नो घर गइन् । तर पनि बेला–बेला तिनी आफन्तकोमा आइराख्थिन् । त्यही मौकामा उनीहरु चिठी आदानप्रदान गर्थे । मौका परे भेट्थे पनि । गाउँमा उनीहरुको सम्बन्ध सार्वजनिक भइसकेको थियो । चिठी आदानप्रदान गरिदिने भने विष्णुकै बहिनी हुन्थिन् ।
यसरी चलिरहेको सम्बन्ध बर्खा लागेपछि पातलिदै गयो । तिनी उनको गाउँ आउने क्रम पातलियो । फोन थिएन ।
एसएलसीको नतिजा आयो । उनी आरआर क्याम्पस पढ्ने भनेर काठमाडौतिर लाग्ने योजना बनाउँदै गर्दा संगठनका साथीको खबर आयो– बुटवलमा भेटेरमात्रै जानू ।
‘साथीहरुको विचार राजनीतिमा सक्रिय गराउने रहेछ । त्यसैले मलाई बुटवल क्याम्पसमै पढ्न उत्पे्ररित गरे । मैले पनि मानेर त्यहा विज्ञान संकायमा भर्ना भएँ ।’ उनले सम्झे ।
बुटवल नै बसेर पढ्न थाले । कलेजमा संगठनले आयोजना गरेको कार्यक्रममा आफ्नो खण्डकाव्यको अंश सुनाएर तालीमात्रै खाएनन्, एकैचोटी लोकप्रिय पनि बने । संगठनमा पनि उनलाई क्षेत्रीय समितिको अध्यक्ष बनाउनुपर्छ भन्ने चर्चा चलिरहेको थियो ।
राजनीति र कविताको गति तीव्र भइरहेको बेला उनको प्रेमको गतिमा भने केही सुस्तता आएको थियो । त्यसैले मनमा छट्पटी उत्तिकै थियो । प्रेमिकालाई भेट्न नपाएको केही महिना भइसकेको थियो । उनले पठाएको चिठीको उत्तर पनि आएको थिएन । गाउँ त पहिल्यै हेरेर आएका थिए उनले, तर भेट्न जाने मेसो मिलाउन सकेका थिएनन् ।
एक्कासी एउटा खबर आयो– उनकी प्रेमिकाको बिहे भयो । त्यतिबेला थाहा भयो उनी कति प्रेममा परेका रहेछन् भन्ने । आफूसँग भएको कुराको उति महत्व महसुस हुँदैन मान्छेलाई । तर त्यो कतै छुट्यो भने, त्यसको छटपटी कति हुन्छ, विष्णुले चरममा भोगे । उनका आँखाले रङ खुट्याउन छाडे । गोडाले बाटो ठम्याउन छाडे । दिमागका तन्तुले काम गर्न छाडे । देख्नेले भन्ने शब्दमा उनी ‘पागल’ भए ।
उनी बुटवल बस्न सकेनन् । राजनीति, कविता र कलेज जीवनलाई एकैचोटी लात हाने । आफ्नो नाम ‘यायाबर’ राखे र हानिए भारत । हरिद्वार जान भनेर हिडेका उनी पञ्जाब पुगे । त्यहाँ केही दिन रल्लिएपछि पेटको पिरलो सुरु भयो । मनको पिरलो बोकेरै त्यसको समाधान खोज्न थाले । उनी त्यहाँबाट दिल्ली आए । उनको गाउँबाट त्यहाँ काम गर्न गएका साथीको सहयोगले कहिले ढोके भए, कहिले दरबान । त्यहीं उनले चुरोट पिउन सिके ।
एक ठाउँमा लामो समय बस्न सक्दैनथे । काम फेरिहन्थे । त्यतिबेला पनि उनले कवितालाई भने छोड्न सकेनन् । कहिले विरहका र कहिले क्रान्तिकारी भावका कविता लेखे । जुन अहिले पनि उनीसँग सुरक्षित नै छन् ।
‘त्यतिबेला मेरो संसार सकियो भन्ने लागेको थियो मलाई । एकअर्कालाई नपाए बिहे नगर्ने वाचा त पहिलेकै थियो । म त्यसमा दृढ थिएँ ।’ उनी सुस्केरा हाल्दै सुनाउँछन् । उनलाई अहिले लाग्छ– आफू गरिव भएकै कारण त्यो वियोग भोग्नुपरेको हो ।
त्यो प्रेमको ‘ह्याङ्ओभर’ले उनलाई झण्डै छ बर्ष जति गाँज्यो । उनलाई लिन बुबा गए, आएनन् । बुबाले उनलाई दिल्ली छोडेर आए । पछि त्यहाँ पनि बस्न मन लागेन उनलाई । पोखरा पुगे । दाइलाई जागिर लगाइदिन भने । दाइले धादिङमा शिक्षकको जागिर लगाइदिए ।
झण्डै एक बर्ष त्यहाँ बसे । त्यहाँ पनि उनी छट्पटाइरहे । बुढीगण्डकीको किनारमा पुगेर टोलाउँदै चुरोट तान्नु वा तीनपानेको तालमा साथीहरुलाई वेदना कहनु उनको स्कूले समयबाहेकको दैनिकी हुन्थ्यो ।
त्यहाँबाट उनी काठमाडौ आए । गार्मेन्टमा सहलेखापालको काम पाए । तर केही समयपछि नै त्यो गार्मेन्ट बन्द भयो । त्यसपछिका केही दिन उनले काठमाडौमा भोकभोकै रात बिताए । डिप्रेसन र स्वाभिमानको संगमले उनलाई कतिदिन कोठामै बन्द गरेर राख्यो । गार्मेन्टमा काम गरेकै समयमा उनले लोकसेवा दिएका थिए । नाम निस्कियो मुखिया पदमा । पाइनियर गणमा मा उनको पोष्टिङ भयो । जागिर खाँदै पढ्न पनि थाले आरआर कलेजमा । संगठनमा जोडिए फेरि । स्ववियू चुनाव हुने भयो । चुनावमा उठ्न जागिर छोड्नुपर्ने भयो । राजीनामा गरे । तर चुनाव हारे ।
यता राजीनामा स्वीकृत नहुँदै खरिदारमा नाम निस्कियो । पोष्टिङ नापी विभाग, धादिङमा भयो । त्यसबेला चाहिं उनी प्रेमको ह्याङ्ओभरबाट केही मुक्त हुँदै गएका थिए । त्यही मेसोमा त्यहाँ उनले दश कक्षामा पढ्ने एक किशोरीलाई मन पराए । दुईचार पटक बात पनि मारे । झण्डै प्रेमजस्तो भएको थियो ।
तर अफिसमा लफडा प¥यो । अफिसको साप्ताहिक बैठकमा उनले हाकिमले पैसा लिनका लागि किसानको फाइल रोक्न खोजेको कुरा खुलासा गरे । ‘एकहिसाबले भंजाहा र रिसाहा भएको थिएँ म । त्यसमाथि मलाई भ्रष्टाचार गर्नेप्रति पहिलेदेखि नै असहिष्णु थिएँ । त्यहाँ कागजात मिलाएर ल्याएका किसानको पनि पैसा खान फाइल अड्काइदिन्थे । मलाई त्यो सैह्य भएन ।’ उनी सम्झन्छन् । त्यही निहुँ बनाएर उनलाई काजमा काठमाडौ तानियो ।
काठमाडौ आउनु केही अघि उनी मन पराएको किशोरीलाई माग्न पनि गएका थिए । तर एसएलसी दिएपछिमात्रै बिहे गर्ने भन्ने कुरा किशोरीको परिवारबाट आएपछि त्यसको किस्सा त्यत्तिकै खतम भयो ।
केही समयमै ०४६ सालको आन्दोलन सुरु भयो । उनी हाजिर ठोकेपछि आन्दोलनमा हिड्थे । त्यो थाहा पाएर हाकिम बुद्धिनारायण श्रेष्ठले भने, ‘कि आन्दोलन कि जागिर रोज । नत्र विभागिय कारवाही हुन्छ ।’ उनले राजीनामा ठोकिदिए । दाइले कति सम्झाउँदा पनि मानेनन् ।
‘त्यतिखेर त्यो जागिर ठूलो कुरा थियो । तर मलाई केहीको मतलब थिएन । मलाई कुनै कुराको मोह नै जाग्दैनथ्यो ।’ उनी सम्झन्छन् ।
उनी ०४६ साल चैत्र ३ को स्रष्टा आन्दोलनदेखि चैत्र २४ को आन्दोलनसम्मै सहभागी भए । त्यसपछि भने उनको जीवनले अलिकति नयाँ मोड लियो । उनका दाइ हरि भण्डारीले भोटेबहालमा किराना पसल सुरु गरे । उनले त्यहीँ सघाउन थाले ।
पछि उनी आफैंले स्टेसनरी सुरु गरे पकनाजोलमा । स्टेसनरी चल्दै गयो । उनी व्यस्त हुँदै गए । अनि हितैषीले पनि ‘अब त साथी चाहिन्छ है’ भन्न थाले । उनीलाई पनि ‘हो रैछ’ भन्ने महसुस हुँदै गयो । ०४८ साल बैशाख महिनामा उनले नेतृ पम्फा भुसालकी काकाकी छोरी पार्वतालाई जीवनसाथी बनाए । ‘त्यो प्रेमविवाह त थिएन । तर प्रगतिशील विवाह थियो । संगठनकै पहलमा नाचगान गरेर कार्यक्रममा विवाह गरिएको थियो ।’ उनले भने ।
त्यसपछि उनको प्रेमिल संसार सुरु भयो । जीवनले लय समात्यो । काठमाडौ आएर केही समय स्टेशनरी गरे । त्यसपछि दाइकै पसल किनेर चलाए ।
उनी भन्छन्, ‘०४१ सालदेखिको ०४७ सालसम्मको अवधिचाहिं मेरो उद्देश्यहीन यायावरीय रह्यो । मैले गल्ती गरेको थिएँ त्यो बेला । त्यसरी नहिड्नुपथ्र्यो । पछि हुँदै जाँदा धारणा बदलियो । कहिल्यै बिहे गर्दिनँ भन्ने भावुक निर्णय गरेको थिएँ । तर पछि व्यवहारले मन बदलिदियो ।’
त्यो ‘यायाबरीय’कालमा पनि उनले कविता लेख्न भने छोडेनन् । त्यसैबीच साथीहरुको आर्थिक सहयोगमा तीन कृति प्रकाशन गरे । एस बि विवेकका नाममा । बरु पत्रपत्रिकामा प्रकाशित गर्न भने उतिसारो जोड गरेनन् । आफैं संलग्न भएको जीवन शर्मा सम्पादक रहेको ‘हलकारा’ र अर्को पत्रिका ‘गोरेटो’मा मात्रै उनका कविता प्रकाशित छन् त्यो बेला ।
त्यसबीचमा उनी राजनीतिमा पनि सक्रिय नै भइरहेका थिए पातलो मसालसँग सम्बद्ध रहेर । तर मन लगाएर सांगठिनक काम गर्न सकेनन् । त्यसैले पदीय हैसियत पनि प्राप्त गरेनन् । लेखनमा सक्रिय भएका कारण त्यसै क्षेत्रको जिम्मेवारी दिइएको थियो । त्यही जिम्मेवारी पनि प्रगतिशील लेखक संघसँग सम्बन्धित घटनाका कारण चित्रबहादुर केसीसमक्ष गएर त्यागेको घोषणा गरे ।
०००

किराना पसलमा सपरिवार व्यस्त हुन थालेपछि उनको जीवन लयबद्ध हुन थाल्यो । लयमा उतार हुन्थ्यो आनन्दको, चढाव हुन्थ्यो दुःखको । तर दुवै मिलेर लय निर्माण गर्थे । ‘दुःख पनि अति गरियो । अझ पार्वताले त ज्यादै दुःख झेल्नुप¥यो । बच्चा, पसल र भान्सा सबै सम्हाल्दा उनको हालत खराब हुन्थ्यो । तर पैसा पनि राम्रै कमाइयो । त्यही पैसाले काठमाडौमा घर जोडियो । एउटा छोरा र दुई छोरीलाई पढाइँदैछ ।’ उनी भन्छन् ।
०५७ सालमा उनले कोटेश्वरमा घर बनाए । अर्को साल पसल पनि त्यतै सारे । त्यसबीचमा उनी तत्कालीन नेकपा (माओवादी)सँग नजिक भएका थिए । संगठित थिएनन्, तर उनको घरमा आउजाउ बाक्लै हुन्थ्यो । डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, राम कार्की, पम्फा भुसाल, भरत दाहाल, मणी थापा, देवेन्द्र पौडेल लगायतसँग राम्रो सम्बन्ध थियो ।
साहित्यिक कार्यक्रममा पनि यदाकदा हिड्थे । कृष्ण सेन इच्छुकसँग राम्रो सम्बन्ध थियो । ‘कलम’ साहित्यिक त्रैमासिक प्रकाशनमा सघाउन सेनले गरेको आग्रह उनी अहिले पनि सम्झन्छन् । तर उनलाई ०५९ सालको जेठ महिनाको तेस्रो साता जनआस्थामा प्रकाशित समाचारले झस्कायो । त्यहाँ उनको प्रिय साथी सेनको हत्या भएको खबर थियो । त्यसले उनलाई आहत बनायो । उनले कृष्ण सेनले भनेको सम्झिए, ‘हेर्नुस् विष्णुजी, सबै कविता राम्रो हुँदैनन् । संग्रहमा केही कविता राम्रा हुन्छन् । त्यसमा पनि केही हरफ राम्रा हुन्छन् । त्यसैले निराश भएर लेख्न नछाड्नुहोस् । हामीले आफ्नो लागि लेख्ने होइन, समाजको लागि लेख्ने हो ।’
त्यसपछि उनलाई लाग्यो– अब पैसामात्रै कमाएर हुँदैन । लामो जीवन त त्यसको हुन्छ, जसले समाजलाई पनि योगदान दिन्छ । साहित्य मैले हिड्न सक्ने त्यस्तो बाटो हो ।
उनले सेनको सम्झनामा कविता पनि लेखे– फेरि अर्को तारा खस्यो । सँगै लेखनमा सक्रिय हुने योजना बनाए । विस्तारै व्यापार जीवनसाथीलाई जिम्मा लगाए । बच्चा हुर्किसकेका थिए । उनी भने साहित्यिक कार्यक्रममा हिड्न थाले ।
‘म त्यतिबेला भूमिगत भएर हिड्न पनि तयार भएको थिएँ । तर संकटकाल लागेपछि पार्टीको अरु सम्पर्क टुटेको थियो । सेनसँग सम्पर्क हुन्थ्यो । उनको हत्या भएपछि अरुसँग सम्पर्क हुन सकेन । त्यसैले लेखनमा चाहिं आफूलाई सक्रिय पारें ।’ उनी भन्छन् ।
उनले सेनको सम्झनामा लेखेको कवितासहितको संग्रह ‘फेरि अर्को तारा खस्यो’को तयारी गर्दै गर्दा दोस्रो जनआन्दोलन सुरु भयो । त्यसमा उनी खुब सक्रिय रुपमा सक्रिय भए । दैनिक आन्दोलनमा जान्थे, कविता भन्थे । बेलुका कविता लेख्थे । आन्दोलन सकिदा अर्को कविता संग्रह तयार भएको थियो– जनता जागेको दिन ।
जेठ १९ गते नेकपा (माओवादी) सार्वजनिक भएको कार्यक्रममा डा. ऋषिराज बराल र इश्वरचन्द्र ज्ञवालीको बीचमा बस्न पुगेका उनलाई धेरैले जनयुद्ध लडेर आएकै लेखक सम्झिए । त्यतिबेला ज्ञवालीले उनलाई भनेका थिए, ‘ल है, अब संगठनमा बसेर काम गर्नुपर्छ ।’ उनी पनि उत्साहित थिए । ‘हुन्छ’ भने ।
असार १३ गते माओवादीनिकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा उनकोे नाम पनि संगठनमा प्रवेश गर्नेको नामावलीमा वाचन गरियो । त्यसपछि उनी आधिकारिक माओवादी बने ।
उनको माओवादी यात्रा महासंघको कार्यालय सचिव, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय हुँदै हालसम्म जारी छ ।
यसबीच पनि उनले कविता यात्रा जारी राखे । अब भने पत्रिकामा प्रकाशनको गति पनि बढ्यो । ०६३ सालमै दुई कविता संग्रह प्रकाशित भयो । ०६७ सालमा महाकाव्य र ०६९ मा घाइते ह्विलचियर कवितासंग्रह ।
उनको संगठनमा खटाइ पनि असाध्यै बढ्यो । संगठनकै काममा मात्र भेटिरहने धेरैले उनलाई कवि भनेर कम चिने, माओवादी नेता–कार्यकर्ताको रुपमा बढी चिने । उनी भन्छन्, ‘म माओवादी नै हुँ । यसमा लुकाउनु पर्ने कुरा केही छैन । तर मेरो राजनीतिक परिचयले साहित्यिक छविलाई किचेको महसुसचाहिं गरेको छु । म कवि भएकै कारणले माओवादीको सांस्कृतिक संगठनमा छु, वामपन्थीहरुको साझा संगठन प्रगतिशील लेखक संघमा छु ।’
तर उनी कुनै पनि लेखक पार्टीको विशुद्ध राजनीतिक कार्यकर्तामात्रै नहुने उनको भनाइ छ । ‘कवि आलोचक हुनैपर्छ । विशेषतः जनताको पक्षमा उभिएर उसले सत्ताको आलोचना गर्छ नै । सत्तामा आफ्नै पार्टी पनि पुगेको हुन्छ कहिलेकाहीं । त्यसबेला कवि आफ्नै पार्टीको आलोचना गर्न पनि पछि पर्नुहुँदैन ।’ उनको तर्क छ ।
उनी आफूमा चाहिं कत्तिको लागू भएको छ उनको तर्क ? कडा जवाफ दिए उनले, ‘मेरो कविता त्यसका उत्तर हुन् । अब आउने मेरा अरु विधाका रचनामा पनि त्यसको उत्तर आउँछ । यत्तिचाहिं म दावाका साथ भन्न सक्छु कि पार्टीमा नम्बर घट्ला भनेर मैले आफ्नो आलोचनात्मक चेतमा सम्झौता गरेको छैन र गर्ने छैन ।’
यही उत्तरमा कत्तिको खरो उत्रिरहन सक्छन्, त्योचाहिं हेर्न बाँकी नै छ । तर उनलाई विशुद्ध राजनीतिक कार्यकर्ताको रुपमा मात्रै हेर्ने दृष्टिकोणमाथि चाहिं उनले दिएको खुल्ला चुनौति नै हो यो ।
०००

उनी कविता लेख्नेमात्रै होइनन्, कविता लेख्नेकै भए पनि संगठन चाहिन्छ भन्ने स्वभावका हुन् । सानैदेखि संगठनको शक्तिको स्वाद चाख्दै आएकाले पनि हुन सक्छ, उनमा संगठनको खुब मोह छ । पछिल्लो राजनीतिक अस्तव्यस्ताले पार्टी सांस्कृतिक संगठन चाहेजस्तो सक्रिय हुन नसकेपछि उनले ‘अभिज्ञान आन्दोलन’ सुरु गरे । उनकै भाषामा त्यसमा सुझबुझ पुगेन । ‘पहिलो त नाम नै सबैमाझ भिज्न सकेन । अर्को कुरा दृष्टिकोण पनि उपयुक्तमात्रामा समयसापेक्षिक हुन सकेन । त्यसैले त्यो त्यत्तिकै निस्क्रिय भयो ।’ उनी भन्छन् ।
त्यसको असफलतापछि उनी ‘काव्यशिविर अभियान’मा जोडिएका छन् । अभियानबारे उनको मत छ, ‘यो चाहिं मेरोमात्रै नेतृत्वको अभियान होइन । यसमा जति पनि अभियन्ता छन्, सबैको नेतृत्व समान हुन्छ । त्यसैले हामीले पहिलो चरणमा यसको कुनै सांगठनिक संरचना बनाएका छैनौं ।’
अर्को महत्वपूर्ण कुरा, यो अभियानमा उनी संलग्न पार्टी वा संगठनको न नीति चल्छ, न निर्देशन । उनी भन्छन्, ‘यो अग्रगामी सिर्जनाका पक्षधर सम्पूर्ण लेखकको अभियान हो । यसमा विभिन्न पार्टीका विचारसँग सहमत साथीको संलग्नता छ । सामूहिक प्रयत्नले साहित्यमा अहिलेको अवस्थाको सिर्जनात्मक क्रमभंग गर्नुपर्छ भन्ने यसको मान्यता छ । सांस्कृतिक सचेतता, पहिचान र मौलिकताको खोजीबाट नै त्यो सम्भव हुन्छ भन्ने हाम्रो सोच हो ।’
त्यसो त उनको पारिवारिक प्रकृतिको साहित्यिक संगठन पनि छ– नेपाली साहित्यघर । यसलाई भने उनले साहित्यको क्षेत्रमा आफू र आफ्नो परिवारले दिन सक्ने योगदानलाई संस्थागत गर्न प्रयोग गर्ने जमर्को गरेका छन् । जसले साहित्यिक वेबसाइट नेपालीसाहित्यघर डट कम सञ्चालन गरिरहेको छ ।
०००

जीवनको चार दशक समय विष्णुले कविता, कविता, कवितामात्रै लेखे । तर जीवनको पाँच दशक कटाइसकेपछि उनको मन आख्यानतिर बरालिन थालेको छ ।
केही साताअघिमात्रै उनको कथा नागरिक दैनिकको शनिवासरीय अंकमा प्रकाशित भयो । केही अप्रकाशित कथा सञ्चय भइसकेको छ उनको ल्यापटपको फोल्डरमा । त्यतिमात्रै कहाँ हो र ? उनको ल्यापटपमा अहिले एउटा नयाँ फोल्डरले जन्म लिएको छ । त्यसमा करिव ७० हजार शब्दको उपन्यासलाई अन्तिम रुप दिइरहेका छन् ।
‘कविज्यूमा किन यतिसारो आख्यानमोह बढेको ?’ मेरो मनले एउटा प्रश्न जन्माउन खोजेको पहिल्यै चाल पाएर उनले उत्तर दिए, ‘कविता र उपन्यासले पार्ने प्रभाव फरक हुन्छ । उपन्यासको फलक वृहत हुन्छ । यसले समाजिक जीवनको सम्पूर्ण ढंगले चित्रण गर्न सक्छ । कविताले मानिसको अन्तरहृदयको अनुभूतिलाई कलात्मक अभिव्यक्ति दिन्छ । त्यसैले कविताले अभिव्यक्त गर्न नसकेको कुराका लागि आख्यान लेख्दैछु ।’
उनी दसैंअगाडि नै उपन्यास सार्वजनिक गर्ने सुर कसेर लागिपरेका छन् । उपन्यास पुनर्लेखनका लागि दिनरात कुर्सीमा बस्दा सुन्निएका गोडा उनले देखाउँदै गर्दा मैले उनलाई सफलताको शुभकामना दिएँ । र, अन्तिममा सोधिहालें, ‘तपाईको पारा देख्दा त अबको यात्रा आख्यानतिरमात्रै हो किझैं लाग्यो त ?’
उनले आफ्नो ब्रान्डेड हाँसो हाँस्दै भने, ‘त्यस्तो त होइन । कविता लेख्न त म किन छोड्न सक्थें र ? त्यस्तो बेलामा त छोडिनँ ।’ उत्तरपछिको हाँसोमा चाहिं  थोरै नोस्टाल्जिया मिसिएको आभाष हुन्थ्यो ।
܀܀܀
 कला अनुरागी
साभार : ekabita.com

Comments