कखराका गीतकार

‘कस्तो राम्रो गीत बनाउनुभएको ! मेरो बाबु त १२ बजेसम्म सुत्नै मान्दैन ।’
‘सर, मेरी छोरी कार्टुन हेर्न नपाउँदा खुब झगडा गर्थी । अहिले त टिभी हेर्नै मान्दिनँ ।’ 
‘तपाईंले त हाम्रो काम नै कति सजिलो बनाइदिनुभयो सर । पहिलेको भन्दा आधा मिहिनेतमा नै कखरा सिकिसकेका छन् बच्चाहरू ।’ 
फोनमा आउने यस्ता प्रतिक्रियाबाट विमल गौतम मख्ख पर्नु स्वाभाविकै हो । सोच्छन्– जिन्दगीमा बडो गज्जबको काम गरिएछ !
‘क’बाट कमल पानीमा फुल्ने ‘ख’बाट खरायो बारीमा डुल्ने । मुक्तक, गजल र गीतमा समेत कलम चलाउने शिक्षाप्रेमी गौतमले लेखेकोे गीत । जसको भिडियो र पुस्तक प्रयोग गर्ने अभिभावक तथा शिक्षकको संख्या बढिरहेको छ । त्यसले विमललाई उत्साहित बनाएको छ, उत्प्रेरित गरिरहेको छ । 
०००

कपुरी क, खोपिल्टे ख...। भाका मिलाएर पाल्पा भैरवस्थानको भैरवजनता स्कुलमा यसरी कखरा सिकेका थिए विमलले । त्यतिवेला त के हेक्का भयो र ! तर जब उनी आफैँ कखरा सिकाउन थाले, त्यसबेला थाहा भयो, कखरा सिकाउन कति गाह्रो रहेछ ? ०४३ देखि शिक्षणमा सक्रिय भएपछि विमलले कखरा सिकाउनुको दुःख महसुस गरे । आफ्नो पालाको ‘कपुरी क, खोपिल्टे ख’ले पुगेन, ‘कमल क, खरायो ख’ले पनि भएन । उनी निरस स्वरमा छानातिर हेर्दै विद्यार्थीले जबर्जस्ती कखरा कण्ठ गरेको दृश्यले विरक्तिए । त्यसैवेला उनले निकैपटक सोचे– विद्यार्थीलाई रमाई–रमाई कखरा सिक्ने बनाउन कसरी सकिएला ? 
समयक्रमसँगै उनी कखरा सिकाउने कक्षाका शिक्षक रहेनन्, माथिल्ला कक्षामा शिक्षण गर्न थालेपछि कखरा सिकाउनुको दुःख पनि विस्मृतिको गुफामा पस्न थाल्यो । आफैँले बोर्डिङ स्कुल सञ्चालन गरे पनि उनलाई कखरा कक्षामा पस्ने मेसो त्यति मिलेन । उनको ध्यान पनि धेरैतिर बाँडियो– पुस्तक पसल, भाषा प्रशिक्षण र स्कुल व्यवस्थापन आदि । तथापि, एक दिन त्यो विस्मृतिको दुःख फुत्त बाहिर निस्क्यो । उनी आफ्नो घरमा स्नातक तहका विद्यार्थीलाई पढाइसकेर बिदा गर्दै थिए । त्यसबेला आफ्नो अढाइ वर्षको छोरोको प्रश्नको सामना गर्नुपर्यो, ‘बाबा, दादाहरूलाई मात्रै पढाउने ? मलाई चाहिँ नपढाउने ?’ उनको मुखमा उत्तर आयो, ‘पढाउने नि बाबु । किन नपढाउनु ? ल भन त– कबाट कमल हिलोमा फुल्ने, खबाट खरायो बारीमा डुल्ने ।’ उत्तर सुन्नेबित्तिकै उनी आफैँ दंग परे । सोचे, ‘यो त गीतजस्तो पो भो । यस्तै गीत पूरै बनाउन पाए त छोरालाई कखरा सिकाउन उबेलाको जस्तो दुःख गर्नु नपर्ला ।’ कुरा थियो ०६२ को, त्यसबेला उनी बुटवलमा थिए । त्यसको एक वर्षपछि बुटवल–काठमाडौं यात्राका क्रममा बसमा उनले छोरालाई सिकाएको गीतलाई अगाडि बढाउँदै खेस्रा कोरे । ‘कख, अआ, १,२,३, एबिसी’लगायत बालबालिकाले पहिलो चरणमा सिक्न आवश्यक अक्षरका गीत बनाए । बालबालिकाले गाउने केही गीत आफैँले लेखे, केही प्रचलित गीत संकलन गरे । त्यसमा संगीत भरे । संगीतमा उनलाई राजकुमार बगर र तेजेन्द्र गुरुङले सघाए । गायिका मञ्जु पौडेल, खुमन अधिकारी र विवेचना गौतमले श्वर दिए । अंग्रेजी श्वर भने उनी आफैँले दिए । अन्ततः चित्रसहितको पुस्तक र दृश्यसहितको डिभिडी तयार भयो । त्यसलाई उनले नाम दिए– ‘मेरो साथी, अल इन वान ।’ ०६४ मा रिडर्स प्वाइन्टले प्रकाशन गरेको पुस्तक पछि एसिया पब्लिकेसनले प्रकाशन र वितरण गर्यो । पब्लिकेसनका निर्देशकद्वय नवनिधि पन्त र आलोक लम्सालको सक्रियतामा किताब र डिभिडी अहिले यसले देशभर पुग्ने अवसर पाइरहेको विमल बताउँछन् । अहिले भने उनको आफ्नै प्रकाशन पाल्पा बुक्सले किताब प्रकाशन र वितरण गरिरहेको छ ।
०००

गीत–संगीत मन नपर्ने को होला र ? अझ बालबालिकामा त संगीतप्रति झनै बढी आकर्षण हुन्छ । यही आकर्षणलाई विमल सिकाइ प्रक्रियामा मिसाउन चाहन्छन् । त्यसै अवधारणाको फल हो यो उनको पुस्तक र डिभिडी । उनी भन्छन्, ‘बच्चाहरू गाउँदै सिक्न खुब मन पराउँछन् । यसले सिकाइलाई प्रभावकारी र सरल बनाउँछ । बच्चाहरूले गुन्गुनाउँदै सिकून् भन्ने मेरो चाहना हो ।’ आफ्नो गीतको अन्य विशेषताले पनि बालबालिकाको सिकाइलाई प्रभावकारी र दीर्घकालीन बनाउन सघाउ पुर्याउने विमलको दाबी छ । उनी भन्छन्, ‘मैले गीतमा मूर्त अर्थात् हाम्रै वरिपरि पाइने वस्तुको प्रयोग गरेको छु । अमूर्त कुराको प्रयोग छैन । त्यस्तै गीत मिलाउने क्रममा त्यस्ता वस्तुको परिभाषा पनि दिएको छु । जसले सिकाइको दीर्घ प्रभाव पर्छ । माथिल्ला कक्षामा निबन्ध लेख्दा पनि उनीहरूलाई त्यसले सघाउ पुर्याउँछ ।’ त्यस्तै उनले किताब र डिभिडीमा संग्रह गरेका बालगीतमा नेपाली भाषा र संस्कृतिप्रति माया प्रकट गरेका छन् । ‘तिहारमा रोटी मिठाइ, तीजमा खाने तामा मामुममी भन्ने होइन, भन्नुपर्छ आमा’ । ‘मकै भुट्दा फूल उठ्छ धान भुट्दा लावा, ड्याडी हाम्रो भाषा होइन, भन्नुपर्छ बाबा ।’
पुस्तक र डिभिडीमा एउटै विषयलाई समेटेका कारण पढ्ने, हेर्ने र सुन्ने क्षमताको विकासमा पनि मद्दत पुर्याउने विमल बताउँछन् । उनी यसलाई समयअनुसार परिवर्तन गर्ने योजनामा पनि छन् । ‘बच्चाहरूले गाउँदै मात्रै होइन, नाच्दै रमाउँदै सिकुन् भन्ने उनको चाहना छ । त्यसैले ‘डान्सिङ फ्लेबर’ को संगीत गर्दै छु ।’ अझ कार्टुन बनाएर सिकाउन पाए हुन्थ्यो भन्ने सोचमा छन् उनी । भन्छन्, ‘त्यसो गर्न सकिए बालबालिकाको कार्टुनमोहलाई सकारात्मक कार्यमा प्रयोग गर्न सकिन्थ्यो ।’
०००

त्यसो त उनी अहिले गीत र गजल लेखनमा पनि उत्तिकै सक्रिय छन् । केहीअघिमात्रै उनको ‘गजलभित्रको विमल’ एल्बम बजारमा आएको छ । जसमा राम सिटौलाको संगीत छ । स्वर शिव परियार, प्रमोद खरेल, अन्जु पन्त र शान्तिम कोइरालाको स्वर छन् । त्यस्तै उनको गीत उदितनारायण झाले पनि गाएका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीत भने सार्वजनिक हुने तयारीमा छ । 
शिक्षासम्बन्धी पैरवीमा पनि विमल उत्तिकै सक्रिय छन् । शिक्षणलाई पेसाका रूपमा होइन, सेवाका रूपमा हेर्नुपर्छ भन्ने धारणा छ उनको । राज्यलाई कर तिरेपछि शिक्षा निःशुल्क हुनुपर्छ भन्ने उनको तर्क छ । बालबालिकाको मनोविज्ञान बुझेर राज्यलाई चाहिने जनशक्ति उत्पादनमा राज्यकै सक्रियता हुनुपर्ने उनको धारणा छ । ०४३ बाट ०६५ सम्म अध्यापनमा आफ्नो समय खर्चेका विमल ०६४ देखि काठमाडौं बसिरहेका छन् । गीत, डकुमेन्ट्री आदिमा काम गर्दै उनी अझै कसरी बालसिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्नेमा चिन्तनशील छन् । त्यही चिन्तनका क्रममा अब उनी छिटै ‘ककाकिकी’लाई पनि सांगीतिक स्वरूपमा ल्याउँदै छन् । ‘कबाट कमल फूल पानीलाई, काबाट काका बाबाको भाइ’ त्यसका लागि अभिभावक र शिक्षकले केही समय प्रतीक्षा गर्नुपर्नेछ ।
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments