प्रेमबाट आन्दोलनतिर

‘अहिले त सुकिगएछ । त्यसवेला त सङ्लो पानी बग्थ्यो, पथरीखोलामा,’ उनले दुई दशकअघिको समय सम्झिन्, ‘दिन ढल्दै गर्दा खोलाको किनारमा पुग्थेँ । गोडा खोलाको पानीमा डुबाउँथेँ र डुब्न लागेको घाम हेर्थें । सुनेकी थिएँ– देशको राजधानी काठमाडौं पनि घाम डुब्नेतिरै छ । अनि सपना देख्थेँ– घामलाई पछ्याउँदै काठमाडौं पुगेको र कवि बनेको ।’
कवि विमला तुम्खेवा अहिले त्यही सपनाको सहरमा छिन् । र, लेख्छिन्, ‘कति हुरी सहेर/कति दु:ख काटेर/उभिएकी छु तिम्रोसामु रातो गुलाफ लिएर/म भन्छु तिमीसँग पनि मेरोजस्तै सपना होस् ।’
आफ्नो प्रेमिल हृदयलाई कविताको आकारमा पोख्न खप्पिस छिन् विमला । प्रेम उनको प्रिय विषय । विमला तुम्खेवाका कविताहरू (०५५), संस्मरण एउटा बूढो रूखको (०६०) र नदी, छाल र तरंगहरू (०६५) का अधिकांश कवितामा प्रेमको महक छ । 
‘विमला किन प्रेम लेख्छिन् ?’ यसको वस्तुगत जवाफ दिन चाहन्नन् उनी । भन्छिन्, ‘प्रेम लेख्दा सहज महसुस हुन्छ । लाग्छ, कवितामा तर्कको निश्चित आयु हुन्छ । तर, प्रेमको त आयु लामो हुन्छ नि । अर्को कुरा, शान्त र प्रेमिल वातावरणमा रम्ने स्वाभाव छ मेरो । त्यसकै प्रभाव कवितामा देखिनु स्वाभाविक हो ।’
बाँकी उत्तर उनका कवितामा छन् । 
०००

तेह्रथुम, ओख्रे–१ लामकटेरीमा जन्मेर मोरङको पथरी हुर्किन् उनी । पिता केबी लिम्बू (जेठा सुब्बा) बेलायती सैनिक थिए । पिताको मुखबाट ऐनमौकामा लक्ष्मीप्रसाद देवकोटा, बम देवान र उनीहरूको कविताबारे सुन्थिन् उनी । लाग्थ्यो– सबैले चिन्न त कवि पो हुनुपर्दो रहेछ । 
त्यस्तै, १२ वर्षकी थिइन् होला, कताबाट हो, उनको हातमा पारिजातको उपन्यास ‘शिरीषको फूल’ आइपुग्यो । पढिन् । त्यसले लेख्न उत्प्रेरित गर्‍यो । र, उनी कविता लेख्न थालिन् । 
यसरी स्कुलदेखि सुरु भएको कवितासँग उनको प्रेम कलेज पढ्न थालेपछि झनै झ्याँगियो । त्यति वेला पथरीमा कविता लेख्ने उनीमात्रै थिइन् । त्यसैले आफ्नो समूह खोज्न उनी धरान, बिर्तामोड र विराटनगरसम्म पुग्थिन् । 
उनी सम्झन्छिन्, ‘म झोला बोकेर कविता भन्न हिँड्थँे । घरमा कति वेला आउने टुंगो हुँदैनथ्यो । त्यसपछि त पथरीको सबैभन्दा बिग्रिएकी केटीमा गन्न थालियो मलाई । कहिलेकाहीँ त घरबाट निस्केर हिँड्ने वेला जेठा सुब्बाकी छोरीजस्तो हुन लागिसकिस् भन्दै अभिभावकले छोरीलाई पिटिरहेको देखिन्थ्यो ।’
तर, त्यस्तो देख्दा पनि उनलाई ‘सप्रेकी छोरी’ हुन भने मन लागेन । उनी भन्छिन्, ‘मैले पारिजातको जीवनी पढेकी थिएँ । त्यसैले मेरो बाटो गलत छैन भन्नेमा ढुक्क थिएँ ।’ त्यसो त आमा सुकमाया लिम्बुले पनि छोरीलाई गलत देखिनन् । ‘मेरी आमा नपढेकी भए पनि निकै बुझेको हुनुहुन्छ । दुनियाँले केचाहिँ सुनाएनन्, होला मेरोबारेमा । तर, उहाँ कसैको कुरा पत्याउनुहुन्नथ्यो,’ उनले भनिन् । पिताले पनि उनलाई उत्तिकै स्वतन्त्रता दिए । बुवाले नै पैसा दिएर कवि गोष्ठीमा पठाएको सम्झिँदै उनी भन्छिन्, ‘बुवा भन्नुहुन्थ्यो– मध्यरातमा दुई सयजना केटा मान्छेसँगै हिँड्, केही फरक पर्दैन । तर, त्यहाँबाट सुरक्षित फर्केर आउने या नआउनेचाहिँ तेरो चरित्र र क्षमतामा भर पर्छ ।’
उनले एक्ली छोरी भएर पनि चुलोचौकाको धन्दामा बाँधिनुपरेन । कतैबाट अबेर आउँदा पनि प्रश्नोत्तरको झमेलामा फस्न परेन ।
त्यसो त लिम्बू समुदायको अलिक स्वतन्त्र चरित्रले पनि उनको स्वतन्त्रता खोज्ने चरित्रलाई सघायो । त्यही स्वतन्त्रता उनको कवितामा पनि अभिव्यक्त भइरहेको छ । 
०००

समयक्रमसँगै पूर्वका कवि गोष्ठी र स्थानीय पत्रिकामा विमलाका कविताले राम्रै स्थान पाए । तर पनि, उनलाई लागेको थियो– कवि बन्न त काठमाडौं नै जानुपर्छ । उनको यो सपनाले पंख हाल्दै गयो । कतिवेला मौका पाऊँ र उडूँझँै गरिरहेको थियो, उनको मन । 
एक दिन इटहरीको कवि गोष्ठीमा पुगेकी थिइन् उनी । त्यसै वेला उनको मनले भन्यो– यही हो मौका, उड् । गोष्ठीमा भन्ने कविता हालेको झोला बोकेर काठमाडौं आउने गाडी चढ्ने सुरमा थिइन् विमला । तर, दमककी साथी अस्मिता भण्डारीले रोकिन् र काठमाडौंको स्वार्थी चरित्रबारे सविस्तार बताइन् । त्यसपछि भने उनले स्वप्ननगरीको यात्रा तत्कालका लागि स्थगित गरिन् र घर फर्किन् । करिब डेढ दशक काठमाडांै भोगिसकेकी विमला अहिले अस्मिताप्रति कृतज्ञ छिन् । 
स्वप्ननगरी यात्रा स्थगित भए पनि उनको कवितायात्रा भने जारी रह्यो । उनको कविता प्रेमलाई बुझेका शुभेच्छुकले संग्रह प्रकाशन गरिदिए– विमला तुम्खेवाका कविताहरू । संग्रह प्रकाशनपछि उनको आत्मबल अझ बलियो भयो । उनलाई लाग्यो– अब म कविता लेखनमै प्रतिबद्ध भएर लाग्छु । 
तर, त्यसै पर्ष उनले पितृवियोग भोग्नुपर्‍यो । १५ जेठ ०५५ मा उनको पिताको निधन भयो । पछि, आमाको घाँटीको अप्रेसन गर्नुपर्‍यो । पारिवारिक विषयमा मुद्दा पनि त्यसैवेला झेल्नुपर्‍यो । करिब दुई वर्षको अवधिमा भएका दुखद घटनाक्रमले उनलाई जीवनबारे गम्भीर बन्न सिकायो । लक्ष्यप्रति प्रतिबद्ध बन्न सिकायो । आफ्नो लक्ष्यप्रति दृढ बन्दै उनी ०५७ मा स्वप्ननगरी काठमाडौंको यात्रामा निस्किन् । त्यसवेला उनीसँग केवल दुई हजार रुपैयाँ थियो । तर, साथी तुलसी श्रेष्ठले उनी आउनुअघि नै कोठा खोजेर सामान पनि ठीक पारेर राखिदिएको कारण उस्तो समस्या भने भएन । उनी काठमाडौँ आएको एक महिनापछि आमा पनि आइन् । 
त्यसपछि सुरु भयो– बाँच्नका लागि संघर्ष । नियमित जागिर थिएन । त्यसैले पत्रपत्रिकामा कविता छाप्ने र त्यसबाट आएको पैसाले खर्च चलाउने दौडमा लागिन् उनी । त्यसले उनलाई काठमाडांैमा चिनाउन पनि सघाउ पुर्‍यायो भने संघर्ष गर्दै बाँच्न पनि सिकायो । 
उनी भन्छिन्, ‘खुसीको कुरा, मलाई सबैको सद्भाव प्राप्त भयो । सञ्चारमाध्यमले पनि राम्रो सहयोग गरे ।’
कविता लेखन र अध्ययनको चरणमा नै विमलाले निष्कर्ष निकालिसकेकी थिइन्– कविता शक्तिशाली हुन आफ्नैपन हुनुपर्छ । त्यसका लागि प्रयत्न गर्दागर्दै उनले निष्कर्ष निकालेकी छिन्– साँच्चै राम्रो कविता लेख्नु भनेको भगवान्लाई भेट्नुजस्तै हो । अर्थात्, एकदमै मुस्किल । आध्यात्मिक हुनु र कवितामा लाग्नु उस्तै हो । छोटो समयले पुग्दैन, लामो समय चाहिन्छ, साधनाका लागि । 
उनी त्यही लामो यात्रामा छिन् ।
०००

त्यसो त यो स्वप्ननगरीमा विमलामाथि अराजकको ‘ट्याग’ पनि छ । उनको मनमोजी व्यवहार र प्रतिवाद गर्ने शैलीलाई त्यसको प्रमाणका रूपमा पेस गरिन्छ । तर, उनी त्यसलाई पितृसत्तात्मक सोचको उपज मान्छिन् । 
‘आफ्नो स्वतन्त्रताको प्रयोग गर्नु कुनै अराजकता होइन । अबका महिला पुरानो समयमा जस्तो कमजोर छैनन् । पुरुषसँग काँधमा काँध मिलाएर हिँड्न र हरेक कार्यमा उनीहरूले जत्तिकै चुनौती स्वीकार गर्न महिला आफैँ तयार हुनुपर्छ । अब संरचनालाई दोष दिएर बसेरमात्रै हुँदैन । अहिले यस विषयमा धेरै महिला सचेत भइसकेका छन्,’ उनले भनिन् । 
उपन्यास लेखनका क्रममा रहेकी विमला यस्तै शक्तिशाली पात्रको खोजीमा छिन् । तर, सामाजिक संरचनालाई दोष दिने पिन्चे पात्रले उनलाई बिथोलिरहेको छ । उनी भन्छिन्, ‘त्यसबाट अघि बढ्नेबित्तिकै मेरो उपन्यासले गति पाउँछ ।’
उनलाई मानिस–मानिसबीचको विभेदले भने अवश्य नै झोंक चलाउँछ । भन्छिन्, ‘म पनि मानिस हुँ । स्वतन्त्र भएर बाँच्न चाहन्छु । त्यसो गर्दा कसैले मलाई अराजक भन्छन् भने त्यो मेरो कुरा होइन । फरक यत्ति हो कि मानिस कसरी राम्रो देखिऊँ र प्रशंसा पाउँm भन्ने ध्याउन्नमा हुन्छन् । तर, मलाई राम्रो देखिनु छैन ।’
०००

आख्यान लेखन उनको खास रोजाइ होइन । उनी भन्छिन्, ‘प्रकाशक र साथीहरूको जोडबल आख्यान पनि लेख भन्नेमा छ । त्यसैले अब मेरो अबको कृति आख्यान नै हुने सम्भावना छ । तर, मेरो खास विधा कविता नै हो । मैले सबैथोक छोडेँ भने पनि कविताचाहिँ जीवनभर छोड्न सक्दिनँ ।’
पछिल्लो समय उनी आफ्ना कवितालाई प्रेमबाट आन्दोलनतिर डोर्‍याउँदै छिन् । महिला आन्दोलनलाई साहित्यमार्फत पनि सशक्त ढंगले उठान गर्नु अबको आवश्यकता रहेको उनको ठहर छ । यस क्रममा ‘हजार सपना र मनमाया’, ‘जेठी सुब्बिनी’, ‘तुम्खेवा नानी मेरो कथाको पनि कविता लेखिदेऊ’, ‘सहरमा बदनाम कविता’लगायत कवितामा उनले महिला आवाजलाई केन्द्रमा राखेकी छिन् । 
उनी भन्छिन्, ‘जनआन्दोलनपछि सामाजिक संरचना परिवर्तन हुने क्रममा महिला आन्दोलन पनि निकै अगाडि बढेको छ । लेखनमा पनि त्यो देखिएको छ । तर, जति शक्तिशाली रूपमा आउनुपर्ने हो, त्यति आएको छैन । मेरो ध्यान त्यतातिर खिँचिएको छ अहिले ।’ महिला आन्दोलनलाई केन्द्रीय राजनीतिमै दख्खल दिनेगरी नउठाउँदासम्म महिलाका मुद्दा सम्बोधन नहुने उनको निष्कर्ष छ । उनलाई लागेको छ– अहिले सिमान्तकृत वर्गको मुद्दा जसरी राजनीतिको केन्द्रमा स्थापित भएको छ, त्यसरी नै महिला आन्दोलनलाई स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला लेखक सचेत भएर अघि बढ्नुपर्छ । 
‘योगमायाको विद्रोहकालदेखि अहिलेसम्मको इतिहास हेर्दा धेरै आन्दोलन भएका छन्, धेरै महिला लेखनमा पनि आएका छन् । तर, अझै पनि हाम्रो लेखन रोनाधोनाकै वरिपरि छ । विचारको तहमा शक्तिशाली भएर कमैमात्र आएका छन्,’ उनी भन्छिन्, ‘समाज परिवर्तनमा साहित्यको निकै ठूलो भूमिका हुन्छ । त्यो भूमिका निर्वाह गर्ने गरी लेखन हुनुपर्‍यो ।’ 
यस सन्दर्भमा उनले प्रगति राईको लेखन र उनको पछिल्लो उपन्यास ‘लेखकको स्वास्नी’लाई सम्झिन् । ‘प्रगति राईले जसरी खुलेर महिलाका मुद्दालाई लेखनको केन्द्रमा ल्याउने साहस अबको लेखकले गर्नुपर्छ,’ उनले भनिन् । 
त्यसो भनेर कुनै जात, धर्म, वाद या सिद्धान्तलाई बोकेर साहित्यमा नारा लाउनुपर्छ भन्ने पक्षमा भने उनी छैनन् । त्यसभन्दामाथि उठेर लेखिएको कविता नै जीवन्त र शक्तिशाली हुने उनको ठहर छ । उनी भन्छिन्, ‘वास्तविक कविता त जीवनको अध्ययनबाट लेख्न सकिन्छ । जात, धर्म, वाद या सिद्धान्तको जलप लगाउनेबित्तिकै त त्यो नक्कली भइहाल्छ नि । जलप रहुन्जेलमात्रै टल्किन्छ ।’
तर, आत्मरतिका लागि मात्रै गरिने लेखनसँग पनि उनको सहमति छैन । भन्छिन्, ‘लेखनको पनि सामाजिक उत्तरदायित्व हुन्छ । लेखन जीवनका लागि हुनुपर्छ, समाज परिवर्तनका लागि हुनुपर्छ । यसरी हेर्दा मेरा नै कति प्रेमकविता बेकारका छन् । ती मेरा आत्मरतिमात्रै हुन् ।’
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments