‘नाटक त गर्छौ, तर कामचाहिँ के गर्छौ भाइ ?’

‘जीवन र अभिनयको सम्बन्ध कस्तो रहेछ ?’
रंगकर्मी विजय बराललाई मैले सोधेथेँ । उनको उत्तर थियो, उनलाई लाग्छ, ‘अभिनय जीवनजस्तै हुँदोरहेछ । त्यसैले कतिलाई त पागलझैं लाग्दोहोला हामी । त्यत्तिकै हाँसिरहेका हुन्छन्, त्यत्तिकै रोइरहेका हुन्छन् भन्दा हुन् ।’
वास्तवमै अहिले उनी त्यही अवस्थामा छन् । उनलाई सिजोफ्रेनिया भएको छ । मानसिक असन्तुलनको उपचार गराइरहेका छन् । तर वास्तविक जीवनमा चाहिँ होइन, नाटकमै । फागुन ७ गतेबाट मण्डला थिएटरमा मञ्चन सुरु भएको नाटक ‘बिल गेट्स पण्डित’मा उनी नाटक र जीवनका सन्तुलन मिलाउन नसकेर ‘सिजोफ्रेनिया’को सिकार भएको व्यक्तिको भूमिकामा छन् । 
नाटकबाट मण्डलाका प्रतिभा सुलक्षण भारतीले निर्देशनमा ‘डेब्यू’ गरेका छन् । लेखेका पनि उनैले हुन् । नाटक लेख्दा विजयको प्रतिभा, चरित्र, क्षमता र सपनालाई ध्यान दिएका छन् । त्यसैले नाटक हेर्दा लाग्छ, सुलक्षणले विजयकै लागि नाटक लेखेका हुन् । तथापि नाटकले सार्वभौम अर्थ दिन्छ, आफ्नो जीवन दर्शनसँग सम्झौता नगरीकन बाँच्न चाहने हरेक व्यक्तिले नाटकमा आफूलाई पाउँछन् ।
नाटकको ‘कन्टेन्ट’ अतिदार्शनिक र बृहत लाग्दैन । दैनिक जीवनका मसिना घटनामार्फत जीवन दर्शन खोजिएको छ । यथार्थवादी दृष्टिकोणको प्रयोगले सहज रूपमा विषयलाई ग्रहण गर्न सघाउँछ । तर नाटकको नामाकरणदेखि नै गम्भीर व्यंग्य भने सुरु गरिएको छ । त्यसैले नाटकभित्रका कतिपय गम्भीर संवादमा पनि दर्शक हाँस्छन् । त्यसमा विजयको ‘रुवाउने दृश्यमा पनि दर्शक हाँस्ने’ अभिनय देखिन्छ । बिल गेट्स पण्डित आफैंमा स्वाभाविक नाम होइन, यसमा हास्य त छ नै, गम्भीर कथा पनि छ । नाटक हेर्दै जाँदा नामको कथा पनि खुल्दै जान्छ । 
नाटकको सुरुवात भने भाग्यवादी मानसिकताबाट उम्किने यत्नबाट सुरु हुन्छ । नाटकको मूलपात्र पण्डितको भवगानप्रतिको आस्था उठ्छ र उसकी प्रेमिका आराधना भन्छिन्, ‘तिम्रो पनि भगवानबाट विश्वास उठ्यो ? भनेपछि मेरो केटोले जिन्दगीमा उन्नति गर्ने भएछ ।’ 
सामाजिक सरोकारका विषयमा नाटकले नछलिकन सिधै बहस गरेको छ । नाटकभर यस्ता सामाजिक र राजनीतिक बहसमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्न भारती हिच्किचाएका छैनन् । यो उनको बलियो पक्ष हो । उनले नाटकमा कलाकर्मलाई हेर्ने सामाजिक दृष्टिकोणप्रति व्यंग्य गरेका छन् । 
नाटकमा पण्डितलाई प्रेमिकाका दाइले प्रश्न गर्छन्, ‘अनि साँच्ची भाइ काम के गर्छौ अरे ?’ 
पण्डितको उत्तर छ, ‘म नाटक गर्छु ।’
‘राम्रो, तर कामचाहिँ के गर्छौ ?’ दाइको प्रश्न दोहोरिरहन्छ । गम्भीर कलाकर्मप्रति शून्य भरोसको अवस्थालाई संवादले चित्रण गरेको छ । आफ्नो हृदयले चाहेको काम गर्नुपर्छ भन्ने मान्यता भएको नाटकको मूल पात्र व्यावहारिक जीवनका लागि सम्झौता गरेको मन पराउँदैन । त्यसले उ हाँगा छाडेको मान्छ । 
नाटकमा भारतीले स्थिर जीवनशैली प्रति कटाक्ष गरेका छन् । बिहान उदाउने र बेलुका अस्ताउने घामजस्तै निश्चित जीवनशैली भएकाप्रति व्यंग्य गरेका छन् । 
नाटककार भारती सम्पत्ति सम्बन्धबारे पनि नाटकमा बोलेका छन् । पण्डित प्रेमिका अनुराधाको दाइले दिदीबहिनीलाई सम्पत्ति दिनु र अर्को पात्र ‘ज्यापुचा’को छोराले विवाह गर्नेबित्तिकै सम्पत्ति खोज्नुले सम्पत्ति सम्बन्धको समाजशाश्त्रीय मनोविज्ञान र विकासक्रम देखाएको छ । त्यस्तै समाजले स्वीकार्दै गएको अन्तरजातीय सम्बन्ध पनि नाटकमा ‘ज्यापुचा’को छोराको विवाहको प्रसंगमार्फत अभिव्यक्त छ । 
नाटकमा कलाको प्रयोजनबारे आफ्नो दृष्टिकोण पनि भारतीले प्रष्ट पारेका छन् । मानिसले जब आफ्नो जीवनसँग सरोकार राख्ने कला भेट्छ, तब नै आनन्दानुभूति गर्छ भन्ने उनको दृष्टिकोण छ । कविता सुन्न नमान्ने प्रेमिकाको मुहारमा आफ्नो जीवनसँग सरोकार राख्ने कविताको शिर्षकले ल्याएको उज्यालोमार्फत नाटकमा त्यो दृष्टिकोण आएको छ । 
उनले नाटकमा समसामयिक राजनीतिक घटनाक्रममा आफ्नो दृष्टिकोण प्रष्ट राखेका छन् । देशको परनिर्भरताका कारण नाकाबन्दीको संकट बढी बेहेर्नुपरेको उनको धारणा नाटकमा प्रष्टिन्छ । नाटकमा मधेस आन्दोलनप्रति सहानुभूति छ । ‘मधेसलाई दुख्दा पहाड खुसी हुने मनोविज्ञान’ले राष्ट्रियता बलियो नहुने दृष्टिकोण नाटकमा आएका छ । समसामयिक राजनीतिक घटनाक्रमबाट लुसुक्क भागेर ‘सबैको प्रिय’ बन्ने खेलमा उनी देखिँदैनन् । उनी आफूले देखेको सत्य रचनामा उतार्छन् । उनको नाटकको शक्ति पनि यही हो । 
निर्देशकीय कोणबाट पनि नाटक उम्दा नै छ । नाटकमा चित्रकलाको ‘इम्प्रेसन’ प्रयोग गर्न खोजेका छन् । जसले नाटकको कलात्मक यात्रा सुन्दर बनेको छ । नाटकको ‘अनाउन्स’ र ‘इन्डिङ’ गर्ने तरिका पनि फरक र रोचक छ । नाटकको अधिकांश दृश्यमा ‘फोकस लाइट’मा मात्रै होइन, ‘डिम लाइट’मा पनि कलाकार सक्रिय छन् । त्यसले जीवनको पृष्ठभूमिमा सघन प्रभाव पारिरहने सामाजिक र पारिवारिक पृष्ठभूमिको आभास पैदा गराउँछ । यसले निर्देशकीय प्रभाव पैदा गरेको छ । 
विजयले यो नाटकमा सम्पूर्ण ‘इफोर्ट’ लगाएका छन् । उनले निकै चुनौतिपूर्ण अभिनय गरेका छन् यसमा । तर चुकेका छैनन् । त्यसो त उनले यसमा आफ्नो सम्पूर्ण प्रतिभालाई एकै ठाएँ खन्याउने मौका पनि पाएका छन् । रंगमञ्चीय जीवन सुरु गर्नुअघि उनले गर्ने गरेको ‘क्यारिकेचर’ र गगन थापाको भाषणले उनमा पारेको प्रभावसमेत नाटकमा देख्न सकिन्छ । उनले आफूले गर्न चाहेको भूमिका पनि यसमा पाएका छन् । उनी हसाउँन सक्छन् भन्ने हसाउँदा–हँसाउँदै रुवाउन पनि सक्छन् भन्ने यसबाट थप प्रमाणित भएको छ । बच्चादेखि युवा र प्रौढ भूमिकामा समेत उत्तिकै न्याय गरेर यसमा उनले आफ्नो ‘भर्सटायल’ छवि निर्माण गरेका छन् । 
उनको प्रेमिकाको भूमिकामा सिर्जना अधिकारीको अभिनय पनि उत्तिकै बलियो छ । निशा कार्की वास्तविक नर्स लाग्छिन् । कुशल पाण्डेले नेवारी शैली र लवज उतार्न गरेका मिहिनेत देखिन्छ । सोमनाथ खनाल र केनिपा सिंहको भूमिका छोटो देखिन्छ तर नाटकभर त्यसको प्रभाव छाइरहन्छ । आर्जेश रेग्मीले पनि नाटकमा आफ्नो उपस्थितिको बोधलाई बलियो बनाएका छन् । रंगमञ्चमा जमिरहेका अब्बल कलाकारको संयोजनले नाटकको जीवन हरिलोभरिलो देखिएको छ । 
त्यसो त नाटकमा संवादको प्रयोग अलि बढी भएको हो कि भन्ने अनुभूत हुन्छ । नाटकमा प्रयोग भएका ‘लाइन’हरू प्रभावशाली छन्, तर तिनीहरू धेरै हुँदा प्रभावचाहिँ अलि बोझिलो अनुभूत हुन्छ । नाटकमा प्रेम, विवाह र त्यसपछिका सम्बन्ध अलिक सतही अनुभूत हुन्छ । त्यसलाई अझै संवेगात्मक र प्रभावशाली बनाउने ठाउँ देखिन्छ । त्यसमा महिला मनोविज्ञानको अझै गहिरो चित्रण गर्न सकेको भए सम्बन्ध टुटाउने बेला अनुराधा र उपचार गर्दा नर्सको भूमिकालाई अझ प्रभावशाली बनाउन सकिन्थ्यो । तथापि नाटकको लयलाई सामान्यतः यी कुराले धेरै असर पारेका छैनन् । 
𝇟𝇟𝇟
नाटक : बिल गेट्स पण्डित
लेखन-निर्देशन :  सुलक्षण भारती
मञ्च : मण्डला नाटकघर, अनामनगर (सिंहदरबार पूर्वी गेटअगाडि)
मञ्चमा : विजय बराल, सृजना अधिकारी, सोमनाथ खनाल, आर्जेश रेग्मी, केनिपा सिंह, कुशल पाण्डे, निशा कार्की
मञ्चन समय : फागुन ३० गतेसम्म (सोमबारबाहेक), शनिबार दिउँसो १ बजे पनि 
𝇟𝇟𝇟
܀܀܀
✍ कला अनुरागी
तस्बिर : बिजु महर्जन
प्रकाशित : रातोपाटी

Comments