'अभिनयजस्तै जीवन, जीवनजस्तै अभिनय'


विजय बराल सपना पछ्याउँदै हिड्ने मान्छे होइनन् । मनले जुन बाटो हिँड् भन्छ, हिँडिदिन्छन् । अनि देख्छन्, सपना पनि त्यही बाटो पछ्याउँदै लुरुलुरु आइरहेको । उनी विन्दास जवाफ दिन्छन्, ‘सबैजना सपना बोकेर हिँडेका हुँदा रहेछन् । मचाहिँ सपनाबिनै हिँडेको छु । गर्दै जाँदा के हुन्छ, त्यही बन्छु भन्ने लाग्छ ।’

मनले हिँडाएको बाटो हुँदै उनी रंगमञ्च आइपुगेका हुन् । साथीसंगतले सिनेमातिर पनि पुगेका छन् । रंगमञ्चमा चर्चित छन्, सिनेमामा परिचित । ‘चरनदास चोर’, ‘सिरुमारानी’, ‘मितज्यू’, ‘रसोमन’, ‘वैतरणी क्याफे’लगायत नाटक हुँदै अहिले मण्डला नाटकघरमा चलिरहेको ‘‘र माइलो’ सम्म पुग्दा उनी रंगमञ्चमा नमेटिने रङ बनिसकेका छन् । ‘छड्के’, ‘साँघुरो’, ‘कर्कश’लगायतका सिनेमामा पाएका स–साना भूमिकामा पनि आफ्नो ‘सिग्नेचर’ बनाउने प्रयत्न उनले गरे । त्यसलाई ‘कबड्डी’ श्रृंखलाको ‘बिके’ पात्रमार्फत बलियो बनाए । जसबाट अहिले उनी बाटोमा झट्ट देख्दा फर्कि–फर्कि हेरिने पात्र बनिसकेका छन् ।

रमाइलोको अभिभारा
स्कुल पढ्दा विजयलाई कलाकारिता के हो थाहा थिएन । उनी साथीबीच रमाइलो गर्नुपर्ने चुलबुले थिए, बस् १ कलाकार तथा गायक नारद खतिवडा उनकै गाउँले । उनको रमाइला गीत खुब चलेको बखत थियो । साथीहरुलाई हँसाउन नारदका गीतमा विजय कम्मर मर्काउँथे । ‘जुँगा बनाउँथेँ । मधेसी कपडा लगाउँथे अनि नाच्थेँ । साथीले ल है, तैंले गर्छस् भन्थे । म उच्किन्थेँ’, उनले ती रमाइला दिन सम्झिए ।
त्यसो त उनी व्यवहारमै ‘जोक’ गरिदिन्थे । उनका हजुरबुबा घरछेउमै रहेका उद्योगपति हुलासचन्द्र गोल्छाका पुजारी थिए । हजुरबुबा बिरामी पर्दा उनी र भाइ पूजा गर्न जान्थे । भाइले पूजाका भाँडा सफा गर्थे, उनीचाहिँ नजाने पनि अनेकवली कुरा भट्याएर पूजा गर्थे । एकदिन त उनी मःम खाएर पूजा गर्न पुगे । दिवाकर गोल्छा पनि पुगेका रहेछन् । शंका लागेर हो कि क्या हो, सोधेछन्, ‘आप क्या खाकर आए र?’
उनले भने, ‘मःम खाया ।’
‘किस चिजका र?’
‘राँगा बोल्ता है ना, उसका ।’
त्यसपछि उनले खेदाइ खाइहाले ।
उनको यस्ता व्यवहार साथीलाई हँसाउन काम लाग्थे । हुँदै जाँदा उनको हँसाउने जिम्मेवारी बढ्दै गयो । त्यसै क्रममा ‘लालपूर्जा’ टेलिशृंखलामा हरिवंश आचार्यले बोल्ने ‘उहुँ उहुँ’ शैलीको बोली उतार्ने प्रयास गरे । ‘ओहो ! ठ्याक्कै उस्तै पो भयो त’, साथीहरुले उक्साइहाले । त्यसपछि उनी शेरबहादुर देउवाको बोली उतार्न थाले । त्यो पनि मिल्यो । त्यसपछि बलिउडका कलाकारदेखि नेपालका अन्य नेता पनि उनको ‘क्यारिकेचर’ जिन्दगीमा आए । र, उनको रमाइलो गराउने अभिभारालाई सजिलो बनाए ।
‘क्यारिकेचर’ गर्न थालेको निकै समय बितेपछि उनले पछि–पछि आइरहेको सपनालाई देखे । सपनाको कुरा थियो, काठमाडौं जाने र कमेडियन बन्ने ।

झण्डाको रंग
सपनाको कुरा एउटा थियो, तर यथार्थले चाहिँ उनलाई राजनीतितिर तानिरहेको थियो । ‘क्यारिकेचर’ गरेर मान्छे तान्ने गुण भएकाले उनलाई समूहले नेता नै बनाएको थियो ।
उनको राजनीतिक रंग पनि त्यतिबेलै छुट्टिएको हो । उनका हजुरबुबा थिए कांग्रेस, बुबाआमा एमाले । सानो छँदा हजुरबुबाको मायामा लाडिदै उनी आफ्नो छानामा हरियो झण्डा फहराइदिन्थे । अनि बुबाको कुरा हुन्थ्यो, ‘के गरेको तैँले यो र?’
‘लौ जा त !’ उनी रातो झण्डा पनि सँगै राखिदिन्थे । पाँच कक्षातिर पढ्दाताकाको त्यो लुकामारी सर्लाहीको लालबन्दीमा प्लस टू पढ्न थालेपछि टुंगिएको थियो । हजुरबुबाको प्यारले उनलाई जितेको थियो र हरियो झण्डाले नै मोहनी लगाएको थियो । सोच्थे, ‘यति राम्रा हजुरबुबाले मन पराएको पार्टी पो राम्रो होला त !’
अहिले चुरेभावर पार्टीको नेता बनेका बद्री न्यौपाने त्यतिबेला कांग्रेस थिए । उनैले बनाएको नेपाल विद्यार्थी संघको समितिमा बसेर विजयले हरियो झण्डा उचाले ।
उताको राजनीति प्लस टू सकेर ‘ब्याचलर’ पढ्न राजधानी आउँदा सँगै आयो । आउन पनि २५ जनाको समूह आएका थिए । एउटै क्याम्पसमा भर्ना भएका थिए, कमर्स क्याम्पस, मिनभवन । कलेजमा विजयको ‘ग्याङ’ बलियो थियो, नेविसंघ भन्दै हुरुरु हिँड्दाको सानै बेग्लै । कार्यक्रमहरु हुन्थे, स्टेजमा विजय उक्लिन्थे । अनि सुरु हुन्थ्यो क्यारिकेचर । विद्यार्थी लठ्ठै, मख्खै ।
स्ववियु चुनावको माहौल बन्दै गर्दा उनी राजनीतिको ‘क्लाइमेक्स’मा पुगेका थिए । उनी गगन थापाको फ्यान थिए । उनको भाषण रेकर्ड गरी–गरी सुन्थे । ‘पार्टीभन्दा पनि मलाई उनको शैली मन परेको थियो’, उनले सम्झिए । गगन थापासँग बोल्ने र उनको घर जाने मौका पनि विजयले पाए । त्यहाँ उनले गगनको मीठो भाषणको ‘सेक्रेट’ पनि फेला पारे । ‘त्यहाँ मैले एउटा कागज भेटेँ, त्यसमा उहाँले स–साना बुँदा लेखेको देखेँ । तिनै बुँदालाई विस्तार गरेर उहाँ राम्रो बोल्नुहुँदोरहेछ । उहाँको शैली झन् मलाई मन पर्न थाल्यो ।’ उनले सुनाए ।

रैनाले टुटाइदिएको राजनीति
राजनीति चल्दै थियो । गुरुकुलको नाम सुनेका थिए, नाटक पनि हेर्न जान्थे कहिलेकाहीँ । एकदिन थाहा पाए, भारतबाट एनएसटीबाट नाटक निर्देशक एम के रैनाले प्रशिक्षण दिँदैछन् । उनी त्यहाँ गए । त्यहाँ ‘क्यारिकेचर’ले ४४ दिन धाने । प्रशिक्षक दिक्क भइसकेका थिए । तर अन्तिम दिन उनले ‘सिरियस’ अभिनय गरे । त्यसबाट रैनाको धाप पाए । उनले निर्देशन गरेको नाटक ‘अन्धोयुग’मा अभिनय देखाउने मौका पनि पाए । त्यतिबेलै उनले देखेका हुन्– रंगमञ्चको बाटोतिर उनलाई धकेल्दै अघि बढिरहेको सपना ।त्यति नै बेला स्ववियु चुनावको कुरा आयो । कतिको मत थियो, ‘विजय, तिमी नै उठ्नुपर्छ ।’ तर साथीले भने, ‘मलाई देऊ न त यसपाली ।’ कुरो मिल्यो, रंगमञ्चको चुम्बकले तानिरहेको बेला राजनीतिबाट उनको मन उठिसकेको थियो । साथीलाई टिकट थमाएर उनले राजनीतिलाई आफ्नो मस्तिष्कबाट ‘डिलिट’ गरिदिए । खाली ठाउँमा ड्याम्म रंगमञ्च ‘पेस्ट’ गरे । र, सुरु भयो उनको रंगयात्रा ।
रंगयात्रासँगै उनले राजनीति बिर्सिए, उनका ‘आइडल’ नेता गगनले उनलाई बिर्सिए । एकपटक सिनेमा हेर्न जाँदा भेट भएको थियो । विजयले भने, ‘अब त चिन्नुहुन्न होला । अहिले मण्डला थिएटरमा छु ।’ गगनले भने, ‘चिनिहाल्छु नि ।’ तर गगनले चिन्छन् भन्नेमा विजयलाई विश्वास छैन । ‘सार्वजनिक रुपमा चिनिएकाले पूरा गर्ने औपचारिकता के रहेछ, अहिले आफैंले पनि अभ्यास गरिँदैछ । त्यसैले त्यो मलाई औपचारिकताजस्तो लाग्यो’, उनले हाँस्दै सुनाए । मण्डलाबाट गगनलाई धेरैपटक नाटक हेर्न निम्ता गइसक्यो । तर उनले मण्डला पुग्ने फुर्सद मिलाउन सकेका छैनन् । जसरी गगनसँगको भेट विजयको लागि दुर्लभ हुँदै गयो, राजनीतिसँग पनि विजयको भेट दुर्लभ भइसक्यो । एमबिए सक्ने तयारीमा रहेका विजय क्याम्पस त पुग्छन्, तर त्यहाँ राजनीतिमा सक्रिय साथीहरुसँग ‘ओहो’ भनेर हात उठाउनेबाहेक अरु काम हुँदैन ।

सुनिलको शक्ति
रंगमञ्चमा विजयले सुनेको एउटैमात्र नाम थियो सुनिल पोखरेल । त्यतिबेला दयाहाङ राई वा राजन खतिवडा उनले चिनेका थिएनन् । उनको पाइला जसै रंगमञ्चतिर बढ्दै थियो, मनमा थियो– सुनिल पोखरेलजस्तो बन्नुपर्छ । सिनेमा त्यति नहेर्ने हुनाले त्यतातिरको कलाकारको तस्बिर पनि उनको मनमा आउँदैनथ्यो । मन आउने श्रद्धेय तस्बिरलाई उनी प्रत्यक्ष भेट्थे गुरुकुलमा । तर अघि पर्न डर लाग्थ्यो । परैबाट हेरेर मुग्ध हुन्थे । सन्तुष्ट हुन्थे । ‘सुनिल सरमा शक्ति छजस्तो लाग्छ । त्यसैको प्रभावमा म लठ्ठिन्छु । डरजस्तो अनुभूति हुन्थ्यो त्यतिबेल । उहाँसँग खुलेर बोलेको उहाँकै निर्देशित नाटक ‘रसोमन’ मा अभिनय गर्दाताकामात्रै हो’, उनले सुनाए ।
गुरुकुलमा पुगेपछि उनी राजन खतिवडाको सम्पर्कमा आए । पछि दयाहाङ भेटे । गुरुकुल भत्केपछि मण्डला निर्माण सुरु भयो । त्यहाँको जग खन्दादेखि नै सहभागी भए ।
मिनभवन पढ्दा–पढ्दै उनी ट्युसन इन्ष्टिच्युटमा साझेदारका रुपमा काग गर्न थालेका थिए । एमबिएसम्म ट्युसन कक्षा हुन्थ्यो । विद्यार्थीबाट उठाएको पैसा गोजीमा बोकेर प्रोफेसरलाई सेकुवासँग मदिरापान गराउने जिम्मा उनकै हुन्थ्यो । पैसाको अभाव झेल्नुपरेको थिएन ।
हुन त उनले त्यसअघि घरबाट बुबाले पठाइदिएको तीन हजारले महिना चलाउँथे । आधा आलु काटेर बिहान पकाउने, बेलुकालाई आधा राख्ने पनि गरेकै हुन् । तर इन्स्टिच्युटबाट पैसा आउन थालेपछि आर्थिक माहोल राम्रै बनेको थियो । त्यो माहोल चटक्कै छाडेर उनी रंगमञ्चमा हाम फालेका थिए । जहाँ अभाव पहिलो खुड्किलो थियो । कामकोे चटारो र चाप पनि उस्तै ।

कालो म्याटमाथि उज्यालो सपना
उनी मण्डलामै बस्न थाले । त्यतिबेला बुद्धि तामाङ, नाजिर हुसेनलगायतको टोली थियो । कालो म्याट ओछ्याएर पर्दा ओढेर सुत्थे । ‘हाम्रो अवस्था सडक बालबालिकाको जस्तै बन्यो । कसैसँग पनि पैसा थिएन । न त दया दाइसँग, न त राजन दाइसँग । सबैजना मन लागेको काम आएका थियौं । पैसा आउने ठाउँ नै बनेको थिएन ।’ उनले ती दिन सम्झिए ।
उनीहरु दिनभर खन्थे र थाक्थे । बेलुका लेखक राजन मुकारूङ पुग्थे । ‘उहाँ हामीलाई खुब माया गर्नुहुन्थ्यो । बेलुका सुप खुवाउन लैजानुहुन्थ्यो । बंगुरको मासु खुवाउनुहुन्थ्यो । त्यतिबेलैदेखि हो मैले बंगुरको मासु खान थालेको,’ उनले सम्झे । राजनले आफ्नो उपन्यास ‘दमिनी भीर’मा पनि मण्डलाको प्रसंग राखेका छन् ।
दिनभरि काम गर्यो, बेलुका म्याट ओछ्याएर सुत्यो । केही बेर छट्पटी हुन्थ्यो, निद्रा लाग्दैनथ्यो । त्यसबेला विजय सोच्थे, ‘मेरो जीवन के हुँदैछ ?’
त्यही सोचको ऐंठन दयाहाङ र राजनलाई पोख्थे पनि कहिलेकाहीँ, ‘हैन, हामी त अभिनय सिक्न आएको । यहाँ त बालुवा कसरी चाल्ने, इँटा कसरी धुने, मसला कसरी बनाउने भन्ने पो सिक्न खोज्यौं कि रु’ जवाफ आउँथ्यो, ‘यही हो संघर्ष भनेको । यहीबाट केही न केही सिकिरहेका हुन्छौ । अहिले तिमीहरुलाई थाहा हुँदैन, पछि थाहा हुन्छ ।’
अहिले उनलाई थाहा भयो, हो रहेछ । मानिसले जति श्रम गर्दोरहेछ, त्यति अनुभूति सघन हुँदोरहेछ । त्यसले अभिनयमा जीवन्तता ल्याउन सघाउँदो रहेछ ।
उनलाई रंगकर्मी राजन खतिवडा भन्थे, ‘सेटमा रंग लगाऊ त ।’ सर्टमा रंग लाग्थ्यो ।
उनी भन्थे, ‘दाइ रंग लाग्यो, कसले किनिदिन्छ र?’
त्यसपछि राजनले जे बोल्थे, उनको सातो जान्थे । त्यसपछि उनले थाहा पाए, ‘यहाँ बोल्न नहुने रहेछ ।’ तर समस्या त उनको बोलिरहनुपर्ने थियो । रंगकर्मी अनुप बराल र राजन बोलिरहेको बेला छेउमा गएर बोलिदिन्थे, ‘त्यो चाहिँ नहुनुपर्ने कुरा हो ।’
‘तिमीलाई कसले बोल्नु भन्यो र? जाऊ कलर गर’, जब यस्तो सुन्थे नि, लाग्थ्यो, ‘कस्तो ठाउँमा आइपुगियो । बाउले त गाली गर्दैनन्, यहाँ त गाली गर्छन् । डराउनुपर्छ यिनीहरूसँग ।’
पछि थाहा पाए, गालीको महत्व, डरको अर्थ । उनी भन्छन्, ‘घरमा केही काम गरिँदैनथ्यो । अहिले टेबल कुुर्सी सबै बनाउन आउँछ । सबै कुरा जानेरै रंगकर्मी भइने रहेछ । गाली त आफ्नै लागि रहेछ । आफूलाई मन परेको काम सिकाउनेको डर लाग्दोरहेछ ।’
आफ्नो मिहिनेतको मण्डला तयार हुँदा उनी कम्ति खुशी भएनन् । अब त अभिनय गर्न पाइने भयो । तर पहिलो दुई वर्ष उनले भूमिका पाएनन् । ‘ब्याकस्टेज’ काम गरे झण्डै दुई बर्ष । ‘सेट’ बनाउने, कलर गर्ने, सफा गर्ने, पानी राख्ने । कहिलेकाहीँ ‘स्टेज मेनेजमेन्ट’ गर्थे । त्यसपछि स–साना भूमिका पाउन थाले ।
त्यसपछि उनलाई तिनै मान्छे रमाइलो लागे, त्यही ठाउँ रमाइलो लाग्न थाल्यो । आनन्दानुभूति हुन थाल्यो । त्यही आनन्दको सागरमा डुबेर विजय मण्डला बसेको पनि पाँच वर्ष भइसकेको छ । पहिले आधा दर्जनभन्दा बढी साथी थिए, अहिले एक्लै पनि आनन्द मानेर बसेका छन् ।

हाँस्ने आँखाले, रूने मनैले
विजय अभिनयमा आफूलाई ‘भर्सटायल’ बनाउन चाहन्छन् । तर अहिलेको समस्या के भने रोए पनि दर्शक हाँस्छन् । उनलाई लाग्छ, ‘दर्शकले त त्यसमा इन्जोय गर्नुहुन्छ होला, तर मलाई लागि भने तनाव हुन्छ । कहिलेकाहीँ लाग्छ– म मानिसलाई हँसाउन त सक्छु, रुवाउनचाहिँ सक्दिनँ कि रु’ त्यसो त उनले दर्शक नरूवाएका होइनन् । ‘सिरूमारानी’ त्यसको उदाहरण हो । उनले हरेक दिन आधा घन्टा तयारी गर्थे रूनका लागि । ‘आफ्ना पुराना कथा सम्झन्थेँ । हजुरबा भन्नुहुन्थ्यो– म त मरिहाल्छु । हजुरआमालाई राम्रोसँग पाल् है, बाउले के गर्छ के १ उहाँको त्यो बुबाप्रतिभन्दा मप्रति बढी भरोसा गर्नुहुन्थ्यो । त्यो कुरा सम्झँदा म रोइहाल्थेँ । त्यो सबै सम्झिसकेपछि स्टेजमा जान्थेँ । रूने भूमिका नआउन्जेल भावना रोक्थेँ र त्यसपछि भावनालाई छोडिदिन्थेँ । त्यतिबेला दर्शक पनि रूनुहुन्थ्यो’, उनले सम्झे ।
हसाउनलाई चाहिँ उनलाई उस्तो मिहिनेत गर्नुपर्दैन । भन्छन्, ‘मेरो शरीर नै ह्युमरस् छ । मान्छे हाँस्नलाई आँखा हाँस्नुपर्ने रहेछ । म जब आँखादेखि हाँस्छु, दर्शक पनि हाँसिहाल्नुहुन्छ ।’
उनलाई मन पर्ने भूमिका भने हँसाउँदा हँसाउँदै रूवाउने हो । त्यसको केही अंश चलिरहेको नाटक ‘‘र माइलो’मा पनि देखिन्छ । आफूले ‘मितज्यू’ नाटकमा गरेको ‘डबल’ भूमिका पनि उनलाई खुब मन परेको हो । त्यसमा उनले ३५ वर्षको युवा र ८० वर्षीय वृद्धको भूमिका गरेका थिए ।
आफूलाई नाटकको चरित्रमा ढाल्ने उनको सरल तरिका छ । त्यसलाई ‘अल्छी’ तरिका मान्छन् उनी । जस्तो कि, ‘‘र माइलो’मा उनले आफ्नो चरित्रमा केही अग्रजको स्वभाव मिसाइदिएका छन् । कोट कुमार नगरकोटी टाइपको लगाएका छन् । कवि निर्भिक राईले जसरी सिक्री बाँधेका छन् । दारू खाएपछिको शैलीचाहिँ सुनिल पोखरेलबाट लिएका छन् । यसरी हेर्दा ‘अब्जर्भेसन’लाई उनले नाटकको चरित्र निर्माणमा प्रधान बनाइरहेका छन् । तर ‘इम्याजिनेसन’ पनि हुनुपर्छ भन्ने उनलाई थाहा छ ।
‘‘र माइलो’ पछि मण्डलामा ‘बिल गेट्स् पण्डित’ मञ्चन हुँदैछ । त्यसमा विजयले ‘लिड’ गर्दैछन् । त्यसमा उनी धेरै हाँस्दैनन् । भूमिका पनि फेन्सी खालको छ । जुन उनले लामो समयदेखि गर्न चाहेको भूमिका पनि हो ।

सिनेमाको नक्कली चमक
नाटकमा त छँदैछ, विजय सिनेमामा पनि जमेको देख्नेहरु छन् नै । तर उनलाई भने सिनेमा क्षेत्र बढी स्वार्थी लाग्छ । काम लगाउने र काम गर्ने दुवै । ‘काम गर्नेको पनि स्वार्थ हुन्छ । राम्रो पैसा चाहिन्छ, राम्रो भूमिका चाहिन्छ । काम गराउनेको पनि स्वार्थ हुन्छ । कसरी कममा काम गराउने, कसरी राम्रो गराउने भन्ने हुन्छ । त्यसैले त्यहाँ स्वार्थ बढी हुन्छ कि जस्तो लाग्छ,’ उनले नाक खुम्च्याए ।
उनलाई आजकाल सिनेमा क्षेत्र त्यति मन पर्दैन । तर पनि सिनेमामा काम गर्दा ‘पब्लिक नोटिस’ हुँदोरहेछ भन्नेचाहिँ थाहा पाएका छन् । त्यसैले मनले नगर् भने पनि मस्तिष्कले चाहिँ कहिलेकाहीँ गर्नुपछ कि भनेर भनिरहन्छ । सिनेमामै काम गर्नुपर्दा ‘कमेडी’बाहेकको भूमिका गर्न मन छ । जोश त उनलाई ‘लभस्टोरी’ नै आए पनि गरिदिन्छु भन्ने चल्छ । खासमा उनी भिन्न प्रकारको भूमिकामा अभिनय गर्न चाहन्छन् । त्यसको लागि आफूलाई पूर्ण तयार गरेर राम्रो काम दिन चाहन्छन् । तर चाहेजस्तो हुँदैन । ‘स्क्रिप्ट दिएर भन्छन्– भोलिदेखि छायाँकन छ । धेरै छैन, पाँच दिनको काम हो । यस्तो तरिका मलाई ठीक लाग्दैन । पैसाको लागि मैले जस्तो पनि काम गरें भने दर्शकको विश्वासमा चोट पुगिहाल्छ नि,’ उनी सिनेमाको तरिकाप्रति दिक्दारी पोख्छन् ।
उनलाई लाग्छ, ‘तीन महिनाअघि स्क्रिप्ट आओस् । तयारी गर्न पाइयोस् । अनि अभिनयमा जीवनन्तता दिन पाइयोस् ।’ उनले सोचेजस्तै भयो ‘कबड्डी’मा चाहिँ । त्यसमा उनले मेहनत पनि गर्न पाए । दर्शकले पनि रूचाए । सहायक भूमिका भने पनिबुद्धि तामाङ पनि हिट भए, विजय बराल पनि । त्यसरी काम गर्न पाए मज्जा हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ ।

ग्ल्यामरको चुम्बक
त्यसो त सिनेमाको ग्ल्यामर पनि यसबीचमा उनले महसुस गरे । ‘कबड्डी कबड्डी’ हिट भएपछि फेसबुकमा ‘रिक्वेस्ट’ र ‘म्यासेज’को भेल आउन थाल्यो । ‘अहिले नाटक हेर्न आउँदा पनि मलाई हेरिरहेका हुन्छन् दर्शक । नाटकमा प्रवेश गर्दा पनि आयो है भन्ने हल्ला सुनिन्छ । सिनेमाको ग्ल्यामर के रहेछ भन्ने थाहा हुँदैछ ।’ उनले मुस्कुराउँदै भने । यही ग्ल्यामरको चमकमा झुम्मिएर कति रंगकर्मी गायब हुने गरेको पनि उनले देखेका छन् । त्यसैले त्यसको चमकमा ज्यान फाल्ने सोचाइ विजयमा छैन । भन्छन्, ‘त्यसैले नाटकमा नै जोड दिइरहेको छु ।’
त्यसो त रंगमञ्चको स्थिति देख्दा विजयलाई कहिलेकाहीँ डर लाग्छ । ‘अहिलेकै हिसाबले चलिरह्यो भने बन्द हुन्छ कि जस्तो लाग्छ । यहाँ एउटा थिएटर र अर्कोबीच को–अर्डिनेसन नै छैन । पर्सनल इगोमा हिँडिरहेजस्तो लाग्छ । विज्ञ  भन्नेहरु पनि लेख्नेमात्रै काम गरिरहेका छन् । कसरी नाटकका दर्शक बढाउने भन्ने सोच देखिँदैन ।’, उनी चिन्ता व्यक्त गर्छन् । तर उनी निराश नै भने छैनन् । ‘मण्डलामार्फत भइरकेका प्रयत्न हेर्छु । गाडी ल्याएका छौं । मोबाइल थिएटर बनाउँदैछौं । पछिल्लो समय नाटकबाट पैसा दिन थालेका छौं । नाटक खेलेर पनि पैसा आउँछ भन्ने अवस्था बन्दै गएको छ’, उनले आशाको आधार देखाए र अगाडि भने, ‘हामी सबै मिल्ने हो भनेचाहिँ रंगमञ्च बलियो बनाउन सक्ने आधार छ । म त्यही चाहन्छु ।’
उनको चाहना त अर्को पनि छ, अब अभिनय अध्ययन गर्न बाहिर जाने । ‘आफू लागेको क्षेत्रको अध्ययन गरेर जमेरै लाग्ने योजनामा छु’, उनले सुनाए ।

जीवनजस्तै अभिनय, अभिनयजस्तै जीवन
रंगमञ्च पसेपछि विजयको व्यवहार परिवर्तन भएको छ । घर जाँदैनन्, कहिलेकाहीँ फोनमा सन्चोविसन्चो सोधेर काम चलाउँछन् । भाइ र बहिनी कपनमा बस्छन्, त्यहाँ पनि जाँदैनन् । २७ वर्षीय उनले बिहेबारे त सोचेकै छैनन् रे १ तर कहिलेकाहीँ केटी साथी हुँदा सजिलो हुन्थ्यो कि भन्नेचाहिँ लाग्दोरहेछ । ‘प्रेमको अभिनय गर्नुपर्दाचाहिँ आफूसँग अनुभूति नभएजस्तो लाग्छ । त्यतिबेलाचाहिँ केटी साथी भएको भए सजिलो हुन्थ्योजस्तो लाग्छ । किनभने केटी मान्छे भनेको हौसला हो, शक्ति होजस्तो लाग्छ’ उनी हाँस्दै लजाउँदै भन्छन्, ‘तर डबल रंगमञ्च र प्रेमको डबल टेन्सन लिन सकिन्न होलाजस्तो लाग्छ । त्यसैले परैबाट हेरेर हौसला लिन्छु ।’
हजुरबुबा सम्झेरचाहिँ उनी बेला–बेला भावुक हुन्छन् । हजुरबुबा बिरामी हुँदा उनी ढाड मिचिदिन्थे । हजुरबुबा भन्नुहुन्थ्यो– तेरो बाउले जागिर खायो । हामीलाई पाल्यो । तँ यस्तो गर्छस्, कसरी पाल्लास् रु जागिरचाहिँ खा है, पैसा कमाउनुपर्छ । उनी भन्छन्, ‘हजुरबाले भनेको कुरा गरिएन । त्यो कुराले कहिलेकाहीँ रमाइलो हुँदा–हुँदै पनि ठ्याक्कै मुटुमा हानिदिन्छ ।’
बुबाआमाको जोड पनि जागिरमै थियो र छ । ‘मेनेजमेन्ट’ पढेको हुनाले बुबाले जस्तै बैंकमा जागिर खाइदिए हुन्थ्यो भन्ने चाहना उनले बुझेका छन् । तर उनको मन त्यता कहिल्यै तानिएन । भनेको नमानेको देखेर होला, अहिलेचाहिँ उनलाई जागिरको दवाव त्यति आउँदैन । ‘उहाँहरु त अझै पनि जागिर खा भन्नुहुन्छ । कहिलेकाहीँ अलि गाह्रो भएको छ, पैसा पठाइदे न भन्नुहुन्छ । तर पैसा भनेको त्यस्तै त हो, मिलाएर पठाउँछु भनिदिन्छु’, उनी हाँस्दै भन्छन्, ‘मानिसहरु सोच्छन्– सिनेमा खेलेको छ । पैसा कमाएको छ । तर कति नै हुन्छ र कमाइ रु सिनेमाबाट आएको कमाइ त ऋण तिर्न पनि पुग्दैन ।’
तर उनी चिन्तित छैनन् । उनलाई लाग्छ– जिन्दगी मिलाउँदै जाने रहेछ । ‘सिरकजस्तो बिहान उठेर पट्यायो, फेरि बेलुका उस्तैगरी फुकाउन परिहाल्यो’, उनले बिम्बमा बोले । उनले जीवन र अभिनयलाई पनि उसैगरी जोडे, ‘अभिनय जीवनजस्तै हुँदोरहेछ । कतिलाई त हामी पागलझैं लाग्दोहोला । त्यत्तिकै हाँसिरहेका हुन्छौं, त्यत्तिकै रोइरहेका । वास्तवमा रंगमञ्चमा मनबाटै काम गर्नुपर्छ । त्यसैले हाम्रो जीवन पनि अभिनयजस्तै हुन्छ, अभिनय जीवनजस्तै ।’
܀܀܀

साभार : रातोपाटी डटकम 

Comments