भुइँचालो र सपना
त्यस समय मैले भुइँचालोको सपना देख्न थालेको थिएँ ।
किशोर अवस्थाको नेटोमा पुगेको थिएँ । निदाएर होइन, जागै सपना देख्ने बेला थियो । निदाएर देखिने सपनाचाहिं आनन्ददायकमात्रै हुँदैनथे, त्रासदपूर्ण पनि उत्तिकै हुन्थे । त्यसैले त्यस्ता सपनाप्रति उस्तो मोह थिएन । जागै देखिने सपनाको मुहुनीचाहिं अर्कै हुन्थ्यो ।
त्यस्ता सपनामा कष्ट कतै हुँदैनथ्यो, त्रासदी कतै हुँदैनथ्यो । आफू कहिल्यै सिमानामा भइदैनथ्यो, आफुलाई कसैले लखेट्दैनथ्यो । त्यस्ता आनन्ददायक सपनामा आफू सँधै केन्द्रमा भइन्थ्यो, आफैँले जितिन्थ्यो ।
मेरो मनको वियाडमा त्यस्तो सपनाको बिउ रोप्ने घटना सम्झन्छु । समय पचासको दशकको मध्यतिर बढिरहेको थियो । सिन्धुपाल्चोक जिल्लास्थित माङ्खा गाउँ । गाउँलेहरु बेलुकाको खाना खाएर निन्द्राको अँगालोमा बेरिएपछि गाउँ चकमन्न हुन्थ्यो । र, किर्थोको ‘रक’ संगीतको ‘भोल्युम’ बढ्थ्यो । त्यसमा कताकति कुकुरहरु ‘ड्रम’ थपिदिन्थे । त्यसैबेला हाम्रो घरको ढोकामा भने मसिनो श्वरमा ‘ट्याक ट्याक ट्याक’ तबलाको जस्तै श्वर सुनिन्थ्यो । त्यो दुइ वा तीनपटकभन्दा बढी बज्नै नपाइ बुबा जुरुक्क उठेर ढोका खोल्न पुग्नुहुन्थ्यो । अघिपछि लगाउँदा–उघार्दा बज्ने ढोका त्यतिबेला हल्का घुर्लुक्कमात्रै गथ्र्यो ।
त्यसपछि सर्सराहट सुनिन्थ्यो । खस्याकखुसुक सुरु हुन्थ्यो । आफूलाई निन्द्राले छोपिनसकेको साँझ बिस्तारै उठेर म भर्याङको मुखमा पुग्थेँ र डिलमा बसेर त्यो सबै कार्य चासोपूर्वक अनुगमन गर्थेँ । डर र उत्सुकता मिसिएको मनमा स–साना भुइँचालो आइ नै रहेका हुन्थे ।
मझेरीमा गुन्द्री ओछिन्थे । बीचमा टुकी बत्ती बालिन्थ्यो । केही टाउकाहरु ‘टोपी’ खेल्न लागेजस्तो गोलो बनेर बसेको देख्थें । तर कसैले टोपी लगाएका हुँदैनथे, बरु कसैको टाउकोमा ‘क्याप टोपी’ देखिन्थ्यो । त्यही गोलोमा मेरो बुबा एक छेउमा टुसुक्क बस्नुहुन्थ्यो । गोलोले सास फेरेभन्दा अलिकमात्रै ठूलो श्वरमा गुनगुन गरिरहन्थ्यो मध्यरातसम्ममा । आँखा चिम्लिएर सुन्दा त्यो मौरीको गुनगुनजस्तो लाग्थ्यो ।
मध्यरातपछि त्यो गोलो कता जान्थ्यो म भेउ पाउँदैनथें । कहिलेकाहीँ चाहिं केही मानिस हाम्रै बुइँगलतिर उक्लन्थे । उनीहरुको त्यस्तो तयारी थाहा पाउनेबित्तिकै म लुसुक्क आफ्नो ओछ्यानमा गएर निदाएजस्तो गरिदिन्थें ।
त्यसरी सुस्तरी गरिएको कुरा के हुन्थे, बुझ्दैनथेँ । तर पालैपालो उनीहरु बोलिरहेको हाउभाउ हेर्थेँ । कहिले महिनामा एकपटक त कहिले हप्तैपिच्छे यस्तो भइरहन्थ्यो हाम्रो घरमा । तर किन त्यस्तो हुन्छ, मलाई थाहा थिएन । कसैलाई सोध्न पनि डर लाग्थ्यो । उनीहरुले सासै–सासले बोलेको सम्झन्थें । लाग्थ्यो– केही डरलाग्दै कुरा होला, सुन्न नहुने, भन्न नहुने ।
एकसाँझ त्यसरी नै बसिरहँदा असाध्यै घाँटी खसखसायो, खोकी रोक्नै सकिनँ ।
‘एहेँ ! एहेँ !’ खुस्किहाल्यो । वातावरण स्तब्ध भयो । सबैले मतिर हेरे । वातावरण असहज बनेजस्तो भयो । वातावरणलाई सहज बनाउन बुबाले भन्नुभयो, ‘के गरेर बसेको, आइज ।’
म डराइ–डराई बिस्तारै भ¥याङ्ग ओर्लन थालें । म डराएको देखेर होला, गोलोमा बसेका एकजना अग्ला व्यक्तिले सासैले भने, ‘आउनुस्, आउनुस्, डराउनुपर्दैन ।’ मलाई त्यति ठूलो मान्छेले तपाई भनेको सुनेर अचम्म लाग्यो ।
तर ओर्लेपछि तिनैले बुबालाई सासैमा सोधे, ‘जेठो ?’
बुबाले सासभन्दा अलिक ठूलो श्वरमा भन्नुभयो ‘हजुर’ ।
अब म पनि त्यो गोलोको एक सदस्यजस्तो भएँ । बुबाको छेउमा बसें । ७ जना रहेछन् । मनमनै गनें । तर ती को हुन्, मैले सोध्न सकिनँ ।
म बसेपछि उनीहरुले फेरि आफ्नो भुनभुन अघि बढाए । सबैभन्दा बढी भुन्भुनाउने तिनै अग्ला मान्छे रहेछन् । त्यसदिन तिनीहरुले गरेको कुरा धेरै बुझिनँ । ‘क्रान्ति, छापामार, संगठन’ जस्ता मेरो दिमागमा अहिलेसम्म नठोक्किएका शब्द थिए ती ।
त्यसदिनपछिका यस्तो रात्रीकालीन खासखुसमा म पनि नियमित सदस्य हुन थालें । बुझ्दै गएँ– उनीहरु माओवादी रहेछन् । क्रान्ति थालेका रहेछन् । हाम्रो गाउँमा पनि संगठन बनाउँदै रहेछन् । विस्तारै गाउँकै केही दाइ, काका आदि पर्ने पनि त्यो गोलोमा थपिदै गए । त्यो गोलोमा कहिलेकाहीँ आमा पनि थपिनुहुन्थ्यो । त्यसै क्रममा मलाई एउटा चेतावनी पनि थपियो– यसरी कुराकानी हुन्छ भन्ने कुरा कसैलाई नभन्नू । भन्यो भने पुलिसले मार्छ । त्यसैले यो कुरा मनमै राखें मैले ।
त्यही गोलोमा मैले सुनेकोे हुँ ‘भुइँचालो’ भन्ने शब्द । उनीहरुले बोल्ने अरु शब्दभन्दा यो अलि सरल लाग्यो मलाई । ‘हामीले सुरु गरेको जनयुद्धले पुरानो सत्तामा भुँइचालो गइरहेको छ । यो भुँइचालोले पुरानो सत्तालाई भत्काउनेछ । र, त्यहाँ हामी नयाँ सत्ता निर्माण गर्नेछौं ।’ यस्तै–यस्तै भनेका थिए ती अग्लो मानिसले । मैले उनको पहिलो चरणको कुरा धेरै बुझिनँ । तर उनले भन्दै गएको कुराले तान्यो, ‘त्यस्तो सत्तामा कोही धनी गरिव हुने छैन । कसैले मरी–मरी काम गर्दा पनि तीन महिना पनि खान नपाउने र कोही चाहिं बसी–बसी खाने व्यवस्थाको अन्त्य हुनेछ । सबै बराबर हुनेछन् ।’
मेरो बुबा पनि मरी–मरी काम गर्दा तीन महिना खान नपाउनेमा पर्नुहुन्थ्यो । आफ्नो खेतीको काम सकेर पनि ज्यामी काम खोज्नुपथ्र्यो छाक टार्नलाई । तर भुइँचालो गएपछि त्यस्तो अवस्थाको अन्त्य हुने रहेछ । तर भुइँचालो कसरी गइरहेको छ, मलाई थाहा थिएन । त्यतिबेला मैले सोध्न सकिनँ । तर त्यस्तो भुइँचालो छिटो जाओस् र उनीहरुले भनेजस्तो सुखी संसार बनोस् भन्ने सपना मैले देख्न थालें ।

एकदिन नेपाली शिक्षकले भन्नुभयो, ‘तिमीहरुले नबुझेको कुरा केही छ भने सोध ।’
मलाई लाग्यो, ‘यही हो मौका ।’ सोधें, ‘सर, भुइाचालो भनेको के हो ? यो कसरी आउँछ ?’
मेरो सोधाइले अचम्म लाग्यो भन्ने अनुहारले बोल्यो । मलाई नै उल्टो सोध्नुभयो, ‘कहाँबाट आयो यो भुइचालो !’
मैले डराउँदै विस्तारै भनेँ, ‘सरले नबुझेको कुरा सोध्नु भन्नुभयो अनि !’ अन्तिम शब्द बोल्दा मेरो श्वर त्यही भेटघाटमा बोलिने बोलीजस्तो सासको मात्रै भइसकेको थियो ।
मेरो कुरा सुनेर सर त हाँस्नुभयो नै, बिद्यार्थी पनि हाँसे । उहाँले सोध्नुभयो, ‘पाठचाहिं सबै बुझिस् त ?’
‘बुझें सर ।’ मैले अहिले अलि तड्कारो श्वरमा जवाफ दिएँ ।
त्यसपछि सरले भन्नुभयो, ‘कहिलेकाही यो भुइ हल्लिन्छ । त्यसैलाई भुइचालो भनिन्छ ।’
‘कसले हल्लाउँछ त सर ?’ एउटा साथीले सोध्यो ।
फेरि कक्षामा हाँसो फैलियो ।
‘चुप लाग ।’ अहिलेचाहिं सर हाँस्नुभएन । उहाँले भन्नुभयो, ‘यसले राम्रै कुरा सोधेको हो । जानिराखे काम लाग्छ ।’
उहाँले जमिनमुनि ठूला–ठूला ढुंगा हुने र ती आपसमा ठोकिदा भुइ हल्लिने बताउनुभयो । ९० र ४५ सालमा त्यस्तो भुइचालो आएको पनि उहाँले जानकारी दिनुभयो । अरु कुरा पनि भन्नुभयो तर मैले बुझ्न सकिनँ । किनकि मेरो मथिंगलमा अर्को प्रश्नको भुमरी पर्न थाल्यो । ‘भुइचालो त आइसकेको रहेछ । तर किन सबै बराबरी भएनन् त ? मेरो बुबाले दुःखीको दुःखी नै कसरी रहनुभयो ?’
सरलाई सोधेँ, ‘भुइचालो आएपछि सबै बराबरी हुन्छ हो ?’
सरले फेरि अचम्म मान्नुभयो, ‘के सबै बराबरी ?’
‘मान्छे !’ मैले भनें ।
सर फेरि हाँस्नुभयो । कक्षामा उसैगरी हाँसो फैलियो । उहाँले हाँस्दै भन्नुभयो, ‘मान्छेचाहिं होइन, भुइचालोले घर भत्काएपछि सबैको घरचाहिं बराबरी हुन्छ ।’ त्यति भनिसकेर उहाँ गुन्गुनाउनुभयो, ‘के–के सोध्छ, के के यसले त ।’
‘केही त बराबरी हुने रहेछ नि ।’ म अलि सन्तुष्ट भएँ । तर पूरै भने हुन सकिनँ । भुइँचालो आएपछि संसार सुखी हुन्छ, सबै बराबरी हुन्छन्, गरिबका पनि दिन आउँछन् भन्ने सुनेको थिएँ । सरबाट त्यो कुरा आएन । तर फेरि सरलाई सोध्न पनि सकिनँ । किनकि फेरि मेरो कुराले कक्षामा हाँसो फैलिने खतरा उत्तिकै थियो । मलाई खिसीको हाँसोले औधी पीडा दिन्थ्यो ।
मैले त्यो भुमरीलाई अर्को साता भएको खासखुसे बैठकमा साहसका साथ राखें । ‘एउटा कुरा सोधौं ?’ मैले पनि पहिलोपटक उनीहरुले जस्तै सासले बोल्ने अभ्यास गरें । तर पछिल्लो शब्द अलि ठूलै श्वरमा बोलेछु ।
‘हुन्छ, सोध्नुस् न’ अग्लेको अनुमति पाएपछि मैले सोधें, ‘भुइचालो त ९० र ४५ सालमा पनि आएको थियो रे । तर किन सबै बराबरी नभएको त !’
मेरो कुराले त्यहाँ पनि हाँसो फैलायो । तर त्यो हाँसो पनि सासे थियो । खुलेर कोही हाँस्न सकेनन् । एकैछिनमा हाँसो रोकियो र अग्लेको उत्तर सुरु भयो, ‘त्यो भुइचालो प्राकृतिक हो । हामीले कुरा गरेको भुइचालो राजनीतिक हो । हामी सबै गरिव, दुःखी मिलेर त्यो भुइचालो ल्याउने हो । जसरी प्राकृतिक भूइचालोले पुराना र अग्ला घर ढालेर सबैलाई समान बनाइदिन्छ । त्यसैगरी हामीले पनि काम नगरी खानेको व्यवस्था भत्काएर समान बनाउने हो । सबै काम गर्नेले खान पाउने बनाउने हो ।’ उनको उत्तर अझ लामो थियो । कति मैले बुझें, कति बुझिनँ । तर उनी हात हल्लाइ–हल्लाइ मलाई बुझाइरहेका थिए । यत्तिचाही मैले बुझें, ‘उनीहरुले भनेको भुइचालो ढुंगा जुधेर आउने भुइचालो होइन रहेछ ।’
त्यस रात कुराकानी सकिएपछि उनले मलाई एउटा किताब दिदै भने, ‘तपाई जिज्ञासु हुनुहुन्छ । यो पढ्नुहोस् । हामीले भनेको भुइचालो के हो, अझ बढी थाहा पाउनुहुन्छ ।’
किताबको गातामा एउटा किशोर दाहिने हातले तारा समातेर उभिएको थियो । उसको पछाडि हिमाल चम्किरहेको थियो । चरा उडिरहेका थिए । हिमालको काखमा केही मानिस लहरै हिडिरहेका थिए । उनीहरुले रातो पताका फहराइरहेका थिए । किताबमा लेखिएको थियो– चम्किलो रातो तारा ।
त्यो अनुवादित उपन्यास रहेछ र त्यसका लेखक लि शिन–तियान रहेछन् भन्नेचाहिं मैले पछिमात्रै थाहा पाएँ । किताब पढदै जाँदा मैले उनीहरुले भनेको भुइचालो बुझ्दै गएँ । त्यो उपन्यास थियो र त्यसका लेखक लि शिन तियन थिए भन्नेचाहिं मैले पछिमात्र थाहा पाएँ । त्यसपछि मैले अर्को किताब उनीबाट पाएँ– बालसिपाही चाङ का–ज । त्यसका लेखक थिए– श्वी क्वाङ–याओ । दुइटा किताब सक्दा मैले उनीहरुको कुरा निकै बुझिसकेको थिएँ । नबुझेको कुरा सोध्ने साहस आएको थियो । मैले थाहा पाएँ– उनीहरुले जनयुद्धलाई विम्बात्मक रुपमा भुइँचालो भनेका रहेछन् । त्यसपछि मैले भुइचालोको सपना अलि स्पष्ट देख्न थालें ।
विस्तारै देशभर भुइँचालोको असर देखा पर्यो । जनमानसमा निकै ठूलो त्रासदी त्यसले पैदा गर्यो। अब सबैजना बराबर हुन्छन् भनेर खुशी हुनेको संख्या पनि उत्तिकै थियो । त्यसले जनधनको क्षति पनि निकै गर्यो । तथापि त्यही भुइँचालो र त्यसले पैदा गरेका केही शक्तिशाली पराकम्पनले अग्लो पुरानो सत्ताको धरहरा मानिएको राजतन्त्र ढल्यो । अरु धेरै संरचना ढले । दशकभर आएको त्यो भुइँचालोले मैले सपना नदेखेका धेरै कुरा गर्यो ।
त्यसको झण्डै एक दशकपछि मैले सपना नदेखेको भुइँचालो आयो । १२ बैसाख, २०७२ मा आएको भुइँचालोचाहिं नेपाली सरले भनेजस्तो थियो ।
त्यसदिन ‘काव्यशिविर अभियान’को बैठक बागबजारमा राखिएको थियो । नेपाली साहित्यमा सामूहिकताको अभ्यास गर्न १५ जना कवि मिलेर काव्यशिविर अभियान सुरु गरेको डेढ बर्ष भएको थियो । बैठकमा जान नरेफाँट डेराबाट जडिबुटी निस्किएँ र बागबजार जाने गाडी चढें । क्याबिन सिट खाली रहेछ, त्यसैमा बसें । गाडीले बिजुलीबजारको पुल पार गर्नै लागेको थियो । एक्कासी असन्तुलन पैदा भयो । ड्राइभरले गाडी रोके । अलि पर रहेको नेपाल टेलिकमको भवनको छाना ह्वात्तै खसेर धुलो उड्यो । बाइकहरु बिष खाएका झिंगाजस्तै फुतुफुतु पल्टिन थाले । कोलाहल मच्चियो । ‘भुइँचालो ! भुइँचालो !’ भन्दै सबैजना गाडीबाट फलाल्न थाले । झण्डै एकमिनेट कम्पन कायम रह्यो । ड्राइभर पनि दंग परे । भने, ‘यस्तो त जीवनमा कहिल्यै पनि थाहा पाएको थिइनँ ।’
केही समयको त्रासद र कोलाहलपछि विस्तारै बाइकहरु उठाउन थाले । गाडीहरु घार्रघुर्र गर्न थाले । म चढेको गाडी पनि बिस्तारै अघि बढ्यो । तर सिंहदरबार गेटअगाडि पुग्दा फेरि हल्लायो । सडक चरचर चिरिएको थियो । फोन लाग्न छाड्यो । मानिसहरु सबै सडकमा जम्मा भइसकेका थिए । गाडी पुतलीसडकबाट अघि बढ्न सकेन । त्यहाँ ओर्लिदा काव्यशिविरका अभियन्ता कवि विष्णु भण्डारी हतार–हतार सिंहदरबारतिर लम्किदै थिए । मैले उनलाई पछि–पछि गएर च्याप्प समाएँ । उनले हतास मुद्रामा भने, ‘ल यत्रो भुइचालो आइसक्यो । घर जाऔं । सबै साथीहरु गइसके ।’
गाडीमा भएकोले होला, मलाई त्यति धेरै ठूलो भुइचालो आयोजस्तो लागेको थिएन । उनको अनुहारले मलाई भुइचालो ठूलै रहेछ भन्ने प¥यो । चुपचाप उनकै पछि लागें । त्यतिबेलै नेपाल यातायात आयो । त्यसैमा चढियो ।
मानिसहरु सडकभरी थिए । सिंहदरबारको पर्खाल भत्किएको थियो । पूर्वीगेट पुग्दा फेरि हल्लायो । त्यो कम्पन रोकिएको एकैछिनपछि गाडी हिड्यो । गाडीमा धरहरा ढल्यो रे भन्ने हल्ला चल्न थालिसकेको थियो । हो रहेछ । गाडी तीनकुने पुग्दा थाहा भयो– शान्तिनगर गेट ढलेर माइक्रो किचिदा ३ जनाको मृत्यु भइसकेको थियो । केही मानिस तीनकुनेको पुल भाचिएको छ भनेर हल्ला मच्चाइरहेका थिए । गाडी त्यहाँबाट अघि बढ्न सकेन । त्यहाँबाट हिडेरै कोटेश्वरतिर लागियो । कोटेश्वरमा पनि सडक चिरिएको थियो । तर घरहरु भने केही भएका थिएनन् । कवि भण्डारी कोटेश्वरस्थित आफ्नो घरतिर लागे । उनको घर पनि केही भएको रहेनछ । तर घरतल्लापटि लगाइएको इँटको पर्खाल भने भत्किएको थियो । परिवारका सबै डराएर खुला ठाउँमा जम्मा भएका थिए । म नरेफाँट डेरातिर लागें । नजिकैको चउरमा सबै मानिस निस्किएका थिए । आख्यानकार राजन मुकारुङ र प्रकाशक जगदिश अधिकारी पनि भेटिए । भोजपुरयात्रामा निस्कन लागेका उनीहरुलाई भुइचालोले चउरमै रोकिराखेको थियो । मानिसहरुको असीम त्रास फैलिएको थियो ।
रेडियोमा मानिसको मृत्यु भएको, घर भत्किएको खबर सुनिन थाल्यो । केही घन्टापछि फोन लाग्न थाल्यो । सिन्धुपाल्चोकको माङ्खामा रहेको घर भत्किनै लागेको खबर आयो । सोही गाउँको ससुरालीको घर भत्किसकेको थियो । धन्न ! मानिस भने सकुशल रहेको खबर आयो । गाउँमा केही मानिस हताहत भएको खबरले मन सन्न भयो । काठमाडौ उपत्यकाका साथै वरिपरिका जिल्लामा मानिसको मृत्युु भएको खबर भटाभट आउन थाल्यो । त्रासदीले मन काँप्न थाल्यो ।
गोरखाको पर्यटकीय गाउँ बारपाकलाई केन्द्र बनाएर गएको ७.६ रेक्टरस्केलको शक्तिशाली भुइचालोले गरेको महाविनाशको त्रासदी र त्यसपछि आएका नियमितजसो आइरहेका पराकम्पनले अझै पनि तर्साइ नै रहेको छ । १३ र २९ बैशाखमा आएको शक्तिशाली पराकम्पन दोहोरिने हो कि भन्ने त्रास जेठको दोस्रो सातासम्म पनि कायमै छ । १२ गते आएको भुइचालोले नभत्किएका संरचना पछिका पराकम्पनले भत्काएका छन् । सिन्धुपाल्चोक जिल्लाका अघिकांश गाउँका घरजस्तै मेरो पनि गाउँको घर बस्न नहुने भएको छ । यसरी सपना नदेखेको भुइँचालो पनि जीवनमा भोगियो ।
यो प्राकृतिक भुइँचालो र त्यो राजनीतिक भुइँचालो दुवैलाई भोगिसकेपछि मलाई लाग्यो– भुइँचालोले पैदा गर्ने त्रासदी उस्तै हुँदोरहेछ । दुवैसँग पुराना र कमजोर संरचना भत्काउने तागत हुँदोरहेछ । दुवैले बलिदान खोज्दारहेछन् ।
दुवै भुइँचालोमा धेरै कुरा समानता देख्न थालेको छु । दुवै भुइँचालोपछि देश अस्तव्यस्त भयो । शोकाकूल भयो । तथापि मानिसहरु सँगै बाँच्ने, मिलिजुली खाने, बराबरको व्यवहार गर्ने संस्कार पनि देखियो । जनयुद्धका क्रममा कम्युनहरु जन्मिए । ०७२को भुँइचालोपछि धनी हुन् या गरिब, सबै पालमुनि बसे । एकै ठाउँ पकाएर खाए । अखबारहरुले यस्तो अवस्थालाई हेडलाइन पनि बनाए– भुइँचालोपछि फेरि कम्युन जन्मियो । विज्ञहरु भनिरहेका छन्– यो भुइँचालोलाई नयाँ निर्माणको अवसरको रुपमा उपयोग गर्नुपर्छ । जसरी जनयुद्धपछि नयाँ नेपालको निर्माण हुन्छ भन्ने सपना मानिसले देखेका थिए, त्यो अहिले फेरि पुनर्जागृत भएको छ ।
तर जसरी राजनीतिक भुइँचालो आएको दशक बित्न लाग्दा पनि मैले सपना देखेजस्तो समतामूलक समाज बन्न सकेको छैन । ‘नयाँ नेपाल’ निर्माण हुन सकेको छैन । त्यत्रो जनधनको खति फोस्सामा भएजस्तो अनुभूति नागरिकले गरिरहेका छन् । समानतामा आधारित समाजको नमूना बनेका कम्युन पानीका फोकाजस्तै बिलाएका छन् । जुन परिवर्तनको आशासहित मानिसले आफन्त त्यागेका थिए, सम्पत्ति माया मारेका थिए । त्यो परिवर्तनको अनुभूति हुन सकेको छैन । जनयुद्धको समयमा जसले सबैभन्दा बढी पीडा खेपे, तिनले अहिले जीवन निर्वाहको दौडमा त्योभन्दा बढी पीडा खेप्नु परिरहेको छ । काम गरेर बिहान–बेलुका खान धौ–धौ पर्नेहरुको नियति फेरिएको छैन ।
त्यसरी नै यो भुइँचालो आएपछि मानिसमा देखिएको समता र हार्दिकता पनि पराकम्पन घट्दै जाँदा घट्दै जाँदो छ । बर्खा लाग्दैछ, टाउको लुकाउने घर छैन । खाने अन्न छैन । पीडितले भन्दा अरुले बढी राहत पाएको खबर सुनिन्छन् । घर नभत्किएकाले घर भत्किएकालाई आश्रय दिएको समाचार सुनिएको छैन । गाउँघरतिर आफ्नो लडेको घरको काठपात आफैंले एक्लै–एक्लै थन्क्याउन थालेको मार्मिक दृश्य देखिएको छ । मिलेर काम गर्ने नेपाली संस्कार पुरानै हो, तर त्यो संस्कार पनि मर्न लागेको देखिन्छ । त्यो राजनीतिक भुइँचालोपछिको दशकजस्तै यो भुइँचालोपछिको समय पनि अलपत्र पर्ने त होइन ? आशंका र त्रासले लखेटिरहेकै छ ।
तर पनि हार खानु छैन । उठ्नु छ, अघि बढ्नुछ । आशा जगाउनु छ । यतिबेला मात्रै होइन, हरसमय सामूहिकता सबैभन्दा ठूलो बल हो । ‘काव्यशिविर अभियान’मा हामीले सामूहिकतालाई त्यसैकारण सबैभन्दा बढी जोड दिएका हौं । हामी एक्ला–एक्लै खडा भएर न त्यो भुइँचालोले उपलब्ध गराएको अवसर सदुपयोग गर्न सक्छौं, न यो भुइँचालोले पैदा गरेको विपत्तिको सामना गर्न सक्छौं । हातमा हात मिलाएर नै भुइचालोले पछारेको भुइँबाट हामी उठ्न सक्छौं । अघि बढ्न सक्छौं । आशाको दियालो सल्काउन सक्छौं । सम्भावनाको क्षितिज हेर्न सक्छौं ।
इतिहासले प्रमाणित गरिसकेको छ– ठूला प्राकृतिक भुइँचालो पनि सँधै आउँदैनन्, न राजनीतिक भुइँचालो नै बारबार ल्याउन सकिन्छ । कवि गोपालप्रसाद रिमालले भनेझैं एक जुगमा एकचोटी आउने हो । त्यो भुइँचालो होस्, या यो भुइँचालो । दुवैले पैदा गरेको परिस्थितिलाई अवसरमा बदल्नुको विकल्प छैन ।
सपना देख्न थालेको छु फेरि । तर अब भुइँचालोको होइन, निर्माणको । त्यो भुइँचालोको जगमा जनताको सपना प्रतिबिम्बित गर्ने संविधान बन्नेछ । यो भुइँचालोको जगमा कुनै भुइँचालोले हल्लाउन नसक्ने बलियो संरचना बन्नेछ । दुवैको जगमा नयाँ नेपाल बन्नेछ । जसले, दुवै भुइँचालो अवधिको त्रासदीलाई विस्मृतिको गर्तमा हुत्याइदिनेछ ।
܀܀܀
✍ कला अनुरागी
साभार : कलाश्री
Comments
Post a Comment