भरियाले कविता लेख्छ

आहा ! कति सुन्दर छ यो युद्धविराम जस्तो विसौनी । सिरसिर बहिरहेको यो हावामा हामी जीवनका सुनोैला आशाहरु फिरफिराउँदै उडिरहेको देख्छौं । अझै बाँकी छन् युद्धजस्ता नाकै ठोकिने उकालाहरु । हो त युद्ध सकिएको छैन । युद्धविरोधी क्रान्ति चढिरहेछ यी ढुङ्ग्यान सिँढीहरुमा हामीले चालेका पाइलाहरुजस्तै निरन्तर उकालो । यो उकालो नसकिएसम्म, शिखरमा नपुगेसम्म चलिरहनेछ क्रान्ति । जीवन नै रहेछ क्रान्ति । क्रान्ति नै रहेछ जीवन । 
उफ् कति टट्याएको यो थाप्लो । नाम्लोले माडिएर बाक्लिएको यो तालुको छाला र टाउकाबाट नाकसम्म निरन्तर बगिरहेका यी नुनिला पसिनाकाथोपाहरु । साँच्चै कहिले त रुन्छ यो मन । हामी हाँस्दा –हाँस्दै रुन्छौं , रुँदा–रुँदै हाँस्छौं । यो नै हाम्रो कविता हो । कविता नै हाम्रो जीवन हो र हाम्रो जीवन नै कविता हो । ए ! कवि महोदय के तिमी स्विकार गर्न सक्छौै ? भरियाले पनि कविता लेख्छ । 
तिमी स्विकार गर या नगर तर भरिया नै वास्तविक कवि हो । किसान नै वास्तविक गीतकार हो । हाम्रो यो अाँँशु र रगतको दोभानजस्तो जीवन र यो उकालो । हाम्रा पैतालाहरुले खियाएका यी ढुंगाहरु, हामीले पाइलामुनि कुल्चिएका डाँडाकाढाँहरु र होचिँदै गएका उकालाहरु । यी सब बिम्बहरु हुन् हाम्रा कविताका । हाम्रा नाकका डाँडी हुँदै बगेका पसिनाका थोपाहरुले यी बाटाभरी लेखिएका छन् सुन्दर कविताहरु । हाम्रा चर्चरी फुटेका पैतालाहरुबाट बगेका रगतहरुले लेखिएकाछन् अजम्बरी गीतहरु । पसिना हाम्रो मसी , रगत हाम्रो रंग , यी ढुङ्गा माटाहरु हाम्रा कापी । कवि महोदय !  के तिमी यी पसिनाले लेखिएका , रगतले रंगाएका कविताहरु पढ्न सक्छौ ? 
हाम्रा थाप्लाहरुमा लादिएका थिए जबर्जस्त नाम्लाहरु  । जबर्जस्त बोकाइएका थिए दासताका भारीहरु । तिमी इतिहासका पानाहरुमा खोज । तिमी वर्तमानका गानाहरुमा खोज । हामीले चुँडालेका छौं दासताका नाम्लाहरु । हामीले दासताका भारीहरुमा मिसाइदियौं बारुदको पिठो । अहिले हामीले बोकिरहेका यी भारीहरुमा , हाम्रा निधारबाट झरेका पसिनाका यी थोपाहरुमा नयाँ युगका सपनाहरु फुलिरहेछन् । हामीले लेखेका पसिनाका गीतहरुले नयाँ युगका नायकहरु जन्मिरहेछन् । ए गायक महोदय! के तिमी महसुस गर्न सक्छौ तिमीले गाएको गीत र हामीले गाएको गीतबिचमा बगेको फराकिलो नदी ?
आजकाल हाम्रा नानीहरुले पढ्न थालेकाछन् हाम्रा पसिनाले लेखिएका नयाँ गीतहरु। हामीले चँुडाएका दासताका नाम्लाहरुको कविता । हामीले बोकेका बारुदहरुका गाथा आजकाल हाम्रा पसिनाका गीतहरु बाँसुरीमा भरेर गाउँदै हिड्न थालेकाछन् हाम्रा नानीहरु । हामीले लेखेका गीत गाउँदै गर्दा घाँटी रेटेर मारिएका शहीद छोराछोरीहरुका सम्झना ताजै छ अझै । तर तिनका रगतबाट जन्मिएका रक्तबीजहरुका यी भिमकाय आवाजहरु र हत्याराहरुको दयालाग्दो रोदन । के तिमी सुनिरहेका छैनौ ? यो भन्दा सुन्दर कविता भन कुन कविले रच्न सक्छ ?
हत्याराहरुको स्वर्ग निर्माण गर्नका लागि शहीद भएका हाम्रा सपनाहरु आज विपनामा परिणत भइरहेछन् । तर हाम्रा् पसिना पिएर प्यास मेट्नेहरुले कहिल्यै सोच्न सकेनन् , हामीभित्र पनि सुन्दर सपनाको फूलबारी छ । हामीलाई उनीहरुले सँधै कुरुप देखिरहे । हामीले तिनलाई सँधैं कुरुप देखिरह्यौं । आजसम्मपनि सुन्दरताको परिभाषा फरक छ । तिमीलाई थाहा छ तिमी कुन सुन्दरता रोजिरहेछौ ? 
पारि हिमालमा टल्किएको हिँउको सुन्दरताको बखान गर्दै तिमी कविता कोरीरहँदा यही हिँउले गोडा खाएर लङ्गडो भएको नोर्बुको कविता किन लेख्न सक्दैनौ ? नोर्बुको गोडा खाने हिँउलाई हामी कसरी सुन्दर भनौं? किन हामी तिमी जस्तै त्यो हिमालमा सुन्दरता खोज्न सक्दैनौं ? तिमीले कहिल्यै विचार गरेका छौ ? हिमाललाई देखेर रोमाञ्चित हुनेहरुको संख्या र हिँउका कारण विचल्ली हुनेहरुको संख्याबिच तिमीले कहिल्यै तुलना गरेका छौ ? अब भन हामी कसरी रमाउन सक्छौं र तिमीले रचना गरेका कविताका बिम्बहरुमा । हामीलाई त हाम्रो पसिनाको रंगमा घोलिएर हाम्रा रगतमा रंगिएर खुल्दै गरेको बिहानको बिम्ब प्रिय छ जति प्रिय छ एउटी आमालाई प्रशव वेदनाको पिडामा जन्मदै गरेको शिशुको । 
हो तिमीलाईजस्तै हामीलाई पनि प्रिय छ जीवन तर च्याऊको जीवन जस्तो बैंशको गीत गाएर हामी पानीभित्रको छाँयाजस्तो काल्पनिकीमा डुब्न चाहन्नौं । हामीसँग शिरीषको फूललाई माया गर्ने पारिजात हामीसँग हिडेपछि गाएका नयाँ गीतहरु छन् । तिमी अझैपनि पारिजातलाई शिरीषको फूलसँग जोडेर बद्नाम 
गरिरहेछौ कि प्रशंशा ? ताकि उनी आफैंले शिरीषको फूललाई च्यात्ने आदेश दिएको हैन र ? हामी शिरीषको फूल झैं अर्थहीन जीवन बाँच्न चाहन्नौं । सच्चाइ त यो हो कि मानिस भरिया बनेपछि मात्रै जीवनलाई चिन्न थाल्छ । जीवनलाई चिनेपछि संघर्ष, संघर्षलाई चिनेपछि पसिना र पसिनालाई चिनेपछि मात्रै ऊ वास्तविक कवि बन्छ । हामी हरपल पसिनामा डुबिरहेछौं । हाम्रो कवितामा पसिनाको बास्ना आउँछ । यदि तिमीलाई हाम्रो पसिना गन्हाउँछ भने हामीलाई तिम्रो कविता गन्हाउँछ । हामीलाई त तिनै कविता प्रिय छ जो दासताको नाम्लो भिराउने कथित मालिकहरु विरुद्ध हाम्रो नशा–नशामा रगत उमालिरहन्छ । 
हामीले हाम्रा थाप्लाहरुमा लादिएका दासताका नाम्लाहरु चुँडाउँदै गर्दा हाम्रा सहयात्रीहरुको रगतले पोतिएकाछन् यी गोरेटाहरु । अझैपनि हाम्रा विरुद्ध तरवारहरुमा साँध लाएर गौंडाहरुमा ढुकिरहेछन् हत्याराहरु । हामी हाम्रो सपनाको संसार नजिकै पुग्दै गर्दा हत्याराहरुको स्वर्ग भत्किदै गइरहेको छ  । ति आफ्नो लुटको स्वर्ग जोगाउन हाम्रा बाटाहरुमा धराप थापिरहेछन् । तर हामी त भरिया हौं , हामीसँग हिड्ने कला छ । हामी हाम्रा अनुकूलका बाटाहरु आफैं बनाउन सक्छौं । हामी खाली पुराना बाटाहरुमात्र हिड्दैनौं, हाम्रा अनुकूलका नयाँ बाटाहरु पनि हिड्छै्रां । हामी तिनका धरापहरु छल्दै हिड्छौं । हामी तिनले सिर्जना गरेका कालो निशाबिच बल्दै हिड्छौं । हामीसँग हाम्रा साथीहरुको रगतमा भिजेका , हाम्रा छोराछोरीहरुका रगतमा भिजेका मशालहरु छन् , बाल्दै हिड्छौं । हामीसँग हामीले सुन्दर भविष्यका निमित्त बलिदान गर्न तयार पारेका शरीरहरु छन् हाम फाल्दै हिड्छौं ।  त्यसैले हामी त्यस्तै–त्यस्तै कविताहरु मन पराउँछौं , त्यस्तै–त्यस्तै कविताहरु लेख्छौ्र । 
तर जब तिमी यौवनको सुन्दरता बयान गर्दै कवि गोष्ठीमा वाह! वाह! पाइरहेको पल हामीसँगै उकालो चढेका हाम्रा सुन्दर छोरीहरु , बहिनीहरुको अस्मिता लुटिरहेका हुन्छन् गिद्धहरु । यस्तो बेला तिमीले लेखेका सुन्दरताका कविता र हामीले ती गिद्धहरु विरुद्ध थापेको धराप अनि तिनको चिहान खन्न आतुर हाम्रो मनमा कुँदिएका कविता , भन कुन सुन्दर हुन्छ ? यस्तो नवीन  यथार्थ तिमीले स्विकार नगरे पनि  यो युगको स्विकार हो । यो नवीन सौन्दर्यशाश्त्र हो । 
हामी यो बिसौनीमा छौं । यहाँ बहिरहेको हावा हामीलाई प्रिय छ । तर यो प्रिय हावामा बिषाक्त रसायन घोल्ने प्रयास गर्दैछन् दुष्टहरु । हाम्रो उकाला यात्रा रोकिएको छैन । हाम्रा कविताहरु सकिएका छैनन् । जीवनका हरेक पलहरुमा नवीन कथाहरु भरेर हामी उकालो चढिरहेकाछौ्र । हाम्रा कवितामा नयाँ–नयाँ बिम्बहरु भरिदैछन् । हामी नयाँ –नयाँ बाटाहरु पहिल्याउँदै हिडिरहेका छौं । यस्तो बेला तिमी र हामीबिच  मेटिनुपर्ने दूरी झन् बढिरहेको छ । अझै तिमी हामीलाई भरिया मात्रै दख्छौ । भन त किन पढ्दैनौ हाम्रा कविताहरु ? हो तिमी हाम्रो कविता पढ्न जान्दैनौ र त हाम्रो कवितालाई  कविता  मान्दैनौ । जहाँ तिम्रो संसार छ त्यहाँ हाम्रो संसार छैन । जहाँ हाम्रो संसार छ त्यहाँ तिम्रो संसार छ्रैन । हामी त संसार साझा हुनुपर्छ भन्छौं । तर तिम्रो सौन्दर्यशाश्त्रले तिमीलाई तिम्रो छुट्टै स्वर्ग छ भन्छ । यहि त फरक छ । तर के तिमी निरो बन्न स्विकार गर्छौ ? यदि गर्दैनौ भने कसरी सम्भब छ र तिम्रो छुट्टै संसार ? 
हेर उकालो चढ्दै गरेका भरियाका समूहमा बढ्दै गरेका कविहरु र तिमीले कविता बाच्ने गोष्ठीहरुमा घट्दैै गरेका कविहरु । के तिमी अझैपनि हामीलाई कवि मान्न तयार छैनौ ? तर तिम्रो अबुझपनमा हामीलाई दःुख लाग्छ  । वास्तबमा भारी बोक्नु कविता लेख्नु हो र कविता लेख्नु भारी बोक्नु हो । तिमी दुवै गोडाले हिड्ने कुरा स्विकार गर्छौ कि गर्दैनौ ? यो कुरापनि त्यस्तै हो ।
यो अन्तिम उकालो र नजिकिदै गरेको शिखरको चुचुरो । हामी हाम्रा नानीहरुलाई नवीन कविताहरु लेख्न सिकाइरहेछौं । यो युगको नयाँ उचाईबाट कविलाई भरिया र भरियालाई कवि बनाउन थालिएको नयाँ अभियानलाई के तिमी स्विकार्दैनौ ?  आऊ तिमी पनि सिक नयाँ सौन्दर्यशाश्त्रमा कविता लेख्न र उठौं यो बिसौनीबाट अनि गाऔं एकै श्वरमा–
पसिनाको मसीले पोतेर
भरियाले कविता लेख्छ । 
܀܀܀
✍ कला अनुरागी
साभार : उत्सर्ग

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार