कुमारी-आमा बन्ने सपना बोकेकी लेखक
‘हेर्दा राम्रा देखिन्छन्, पढेलेखेका हुन्छन्, बौद्धिक छन्, चेतनशील पनि छन् । तर, उनीहरूलाई परम्परागत संस्कारले बाँधिराखेको छ । जसले गर्दा महिला पनि पुरुषकै हैसियतका मानिस हुन् भन्ने सोच्नै सक्दैनन् । जतिसुकै बौद्धिक पुरुष भए पनि महिलालाई एक तह तलै राखेर सोच्छन् ।’ युवा आख्यानकार अनुपम रोशीले अहिलेसम्म देखे, भेटेका र संगत गरेका पुरुषलाई पढेर निकालेको निष्कर्ष हो यो ।
उनको देखाइ भोगाइ भन्छ, एउटा महिला स्वतन्त्र र उन्मुक्त भएर बाँच्न खोज्छे भने उसमाथि धेरै प्रश्नचिह्न उठाइन्छ । जटिल बन्छ जीवन । कुनै महिलाले श्रीमान्सँग सम्बन्ध–विच्छेद गरी भने उसमाथि अनेक प्रहार हुन्छन् । तर, त्यो पीडा त्यसै गर्ने पुरुषले भोग्नुपर्दैन ।
अनुपमलाई लाग्छ, यसकारण पछिल्लो समय महिला साहित्यकारले महिला–पुरुष सम्बन्धको यो अँध्यारो पक्षबारे कलम चलाउन थालेका छन् ।
उनकै कलम पनि महिला–पुरुष सम्बन्धकै विविध आयाममाथि चलिरहेको छ । वैवाहिक संस्थामाथि प्रश्न चिह्न उठाउँदैे उनले लेखेको पहिलो उपन्यास ‘कुमारी आमा’ले निकै चर्चा पायो । महिला–पुरुष सम्बन्धकै जटिलताका कारण नांगिदै गएको समाजको चित्रण गरिएको दोस्रो उपन्यास ‘नांगो मान्छे’को चर्चा पनि उत्तिकै भयो । अब छिट्टै महिला भएकै कारण सुदूरपश्चिमका महिलाले भोगिरहेको पीडाको कथामा उनको तेस्रो उपन्यास ‘कालो छाया’ आउँदै छ ।
लेखनमा उनको खोज हुन्छ, महिला र पुरुषको सम्बन्ध के हो ? केले विभेद पैदा गर्छ र केले आकर्षण ? महिला र पुरुष किन सम्बन्धमा जोडिन्छन् ? त्यसपछि के पाउँछन् ? के नपाएर फेरि भौँतारिरहन्छन् ? उनको खोज जारी नै छ ।
०००
कुनै पनि महिलालाई प्रभावित पार्ने पुरुषको पहिलो सूत्र हुन्छ, प्रशंसा । यो अनुपमले राम्ररी बुझेकी छिन् । तर, प्रशंसाभित्र लुक्ने भित्री कुरासँग पनि उनको राम्रो चिनजान छ । त्यो हो, नियन्त्रण । ‘प्रशंसा गर्ने, नजिकिने र आफूअनुकूल बनाउन खोज्ने पुरुष–स्वभाव हुन्छ । यदि कुनै महिला अनुकूल बन्न सकिन भने त्यसपछि प्रशंसाको दिन पनि सकिन्छ,’ यो पनि उनको भोगाइ हो । यस्ता धेरै भोगाइ छन्, उनीसँग । साहित्यिक क्षेत्रकै मानिसबाट पनि उनले यस्तो भोगाइ बटुलेकी छिन् । उनी नाम सार्वजनिक गर्न चाहन्नन् । तर, भोगाइ भने यस्तो छ, ‘एकजना साहित्यकार थिए । मेरो खुब प्रशंसा गर्थे । नजिक हुन चाहन्थे । बिस्तारै साथी पनि बने । साथी भए पनि कुराकानी हुन थाल्यो । सुखदु:खका कुरा पनि हुन थाले । त्यसलाई उनले प्रेमका रूपमा बुझेछन् । प्रेम–प्रस्ताव राखे । मैले त्यो स्वीकार गरिनँ । अहिले उनी मबाट टाढिएका त छन् नै, मेराबारे नकारात्मक टिप्पणी पनि गर्छन् ।’
अनुपम भने यस्तो नियन्त्रणको सम्बन्ध चाहन्नन् । उनलाई महिलाको स्वाभिमान र स्वतन्त्रताको सम्मान नगर्ने मानिस त मनै पर्दैन । त्यस्ता पुरुष उनले एकदमै कम भेटेकी छिन् । तर, जति भेटिन्, त्यो उनका लागि काफी छ । किनकि, त्यसैमध्येबाट उनले आफ्नो प्रेमी पाएकी छिन् ।
‘हामी छ वर्षदेखि प्रेम–सम्बन्धमा छौँ । उहाँले त मलाई ११ वर्षअघि नै मन पराउनुभएको हो । तर, मैले उहाँको प्रस्ताव पाँच वर्षपछि मात्र स्वीकार गरेँ । नाम भने सार्वजनिक गर्दिनँ,’ उनी भन्छिन्, ‘यति चाहिँ भन्छु, उहाँ बौद्धिकताको हिसाबले सामान्य मानिस हुनुहुन्छ । महिलालाई सम्मान गर्ने अनुशासित व्यक्ति हुनुहुन्छ । मैले पुरुषमा सबैभन्दा बढी खोज्ने गुण यही नै हो ।’
उनको सपना थियो, प्रेमीले आफ्नो शरीरलाई मात्र होइन, अस्तित्व र स्वाभिमानलाई पनि प्रेम गरोस् । त्यो प्रेम अनुशासनको दायरामा होस् । त्यस्तै प्रेमी पाएकी छिन्, उनले । पाँच वर्ष निरन्तर पछ्याएर मन जितेका उनका प्रेमीलाई ११ वर्षे प्रेम–सम्बन्धपछि पनि चुनौती भने कायमै छ, किनकि अनुपमको कुरो खरो छ, ‘आत्मसम्मान र अस्तित्वको कुरामा म सम्झौता गर्न सक्दिनँ । त्यस्तो अवस्था आयो भने मेरो रोजाइ प्रेमी होइन, आत्मसम्मान बन्नेछ ।’
०००
अहिलेका प्रेमीले अनुपमलाई त्यसवेलादेखि पछ्याए, जुनवेला उनी १८ वर्षकी थिइन् । त्यसैले, आफैँले कसैलाई मन पराउने अवसर नै पाइनन्, उनले । एकातिर कडा स्वभावका बुबा, अर्कातिर आफ्नो राजनीतिक संलग्नता । दुवै कारणले उनलाई कुनै युवक मन पराई हिँड्ने अवसर पनि दिएको थिएन, त्यतिवेलासम्म । तर, त्यसअघिदेखि नै उनलाई नदेखेको एउटा मान्छेको खुब माया लाग्थ्यो । उसलाई भेटेर भन्न मन लाग्थ्यो, मेरा लागि एउटा गीत गाइदेऊ न । ती मानिस थिए, गायक नारायण गोपाल । त्यो भावुक आकर्षणमात्र थियो ।
जब अहिलेका प्रेमीले उनलाई पछ्याउन थाले, भाग्दा–भाग्दै पाँच वर्ष बित्यो । त्यसपछि समय प्रेममय बितिरहेको छ । तर, यसबीचमा पनि उनलाई मन पराउने पुरुषको संख्या भने बढिरहेको छ । पाँच वर्षअघि नै प्रेम–प्रस्ताव राख्ने १९ जना पुगिसकेका थिए । पछिको हिसाब राखेकी छैनन् रे, उनले । केही दर्जन प्रेमपत्र पनि सुरक्षित थिए, उनीसँग । केही समयअघि ती सबै जलाइदिइन् । ‘भाइबहिनीले हेरे भने के होला भनेर लाजै लाग्यो । केही समयअघि घर (बुटवल) जाँदा जलाइदिएँ,’ उनले भनिन् ।
इमेल, फेसबुक र मोबाइलमा म्यासेजमार्फत प्रेम–प्रस्ताव आइरहन्छन् । भेटेरै भन्ने पनि थुप्रै छन् । उनको जवाफ स्पष्ट हुन्छ, ‘म कसैको प्रेममा छु ।’
उनलाई लाग्छ, प्रेम गर्छु भनेर हुँदैन । त्यो त अनुभूतिमा पैदा हुनुपर्छ ।
त्यसैले, कतिपय भेटेरै प्रस्ताव राख्नेलाई त उनले उल्टै जिस्काइदिन्छिन् । भनिदिन्छिन्, ‘खै कहाँनिर छ, तिम्रो प्रेम ? मलाई देखाऊ त ।’
त्यसो त उनले प्रेम–प्रस्ताव अस्वीकार गर्न थालेको स्कुले जीवनदेखि नै हो । उनी सम्झिन्छिन्, ‘एसएलसीको तयारीका क्रममा थिएँ । त्यसवेला म भलिबल पनि खेल्थेँ । मैले खेल्ने ठाउँमा केटा साथीहरू हुटिङ गर्न पुग्थे । त्यसैमध्येको एउटासँग मेरो प्रेम छ भन्ने हल्ला फैलिन थालेछ । मैले जुन दिन साथीहरूबाट त्यो कुरा थाहा पाएँ, त्यही दिन अर्कै केटाले ल्याएर प्रेमपत्र दियो । त्यसपछि त मलाई कतिखेर भोलि होला जस्तो भयो । भोलिपल्ट स्कुल गएर त्यो केटालाई सोधेँ, यो के हो ? तर ऊ त एकोहोरो तिमीलाई मन पराउँछु पो भन्छ । त्यसपछि प्रधानाध्यापकलाई त्यो पत्र पनि बुझाइदिएँ र अगाडि लगेर दुई चड्कन लगाइदिएँ । पछि उसले भनेछ, त्यसले मलाई सरको अगाडि थप्पड हानी । त्यसको अगाडि एक हप्ताभित्र अर्की केटी भगाउँछु । उसले मेरै साथीलाई भगायो पनि । तर, भगाएको दुई महिनामै साथीले आत्महत्या गरी । त्यसले मलाई निकै तनाव दियो । न मेरै कारणले पो त्यस्तो भयो कि भन्ने लागिरह्यो ।’
त्यसो त उनी अराजक नै थिइन् । प्रेमकै प्रसंगमा उनले आफूलाई पढाउने शिक्षकलाई पनि पिटेकी छिन् । त्यो चाहिँ कलेज पढ्दाको कुरा हो । उनलाई ट्युसन पढाउने शिक्षकले मन पराएछन् । त्यसपछि त उनी नगए पढाउँदै नपढाउने, अरूले प्रश्न सोधे रिसाउने गर्न थालेछन् । ‘साथीहरूले केसम्म गर्न थाले भने सबै प्रश्न तयार पारेर सोध्न मलाई लगाउँथे । त्यसपछि म ट्युसन जानै छोडिदिएँ,’ उनले सम्झिन् । तर, ती शिक्षकले उनको पिछा छोडेनन् । राती फोन गरेर भेटौँ भन्न थाले । उनी भन्छिन्, ‘त्यतिवेला म अनेरास्ववियुमार्फत राजनीतिमा पनि सक्रिय भइसकेको थिएँ । केही साथीसँग सल्लाह गरेँ र एक दिन गएर थप्पड लगाइदिएँ ।’
उनलाई लाग्छ, मन पराउनुको अर्थ आफूले मात्र चाहनु होइन । अर्कोले पनि मन पराउने बनाउनु हो ।
०००
कुनै पनि महिला या पुरुषको जीवनमा कसैको नाम जोडिनु त्यस्तो धेरै अनौठो होइन । सामान्यत: युवावयमा धेरैले यो कुरा भोगेका हुन्छन् ।
तर, सार्वजनिक जीवनमा आइसकेका व्यक्तिसँग कसैको नाम जोडिँदा भने त्यसको चर्चा अलि बढी नै हुन्छ । त्यसले सम्बन्धित व्यक्तिको जीवन वा क्षेत्रमा गम्भीर असर पनि पार्न सक्छ ।
अनुपमसँग पनि आफ्नो नाम कसैसँग जोडेर चर्चा भएको अनुभव छ । पछिल्लो समय आफ्नो नाम साहित्यकार मणि लोहनीसँग जोडेर चर्चा गरेको उनले पनि सुनेकी छिन् । उनी भन्छिन्, ‘मैले पनि कतिपयको मुखबाट यस्तो कुरा सुनेकी छु । तर, मणिजी मेरो राम्रो साथी हो, प्रेमी होइन । उहाँले मेरो सिर्जनायात्रामा धेरै सहयोग गर्नुभएको छ । त्यसै क्रममा हाम्रो मित्रता भएको हो । उहाँसँग कुनै अन्यथा सम्बन्ध छैन ।’
यसरी नाम जोड्ने प्रवृत्तिप्रति उनको टिप्पणी छ, ‘आफूसँग नजिक नभएपछि अर्कोसँग नाम जोडिदिने प्रवृत्ति पुरुषहरूमा देखिन्छ । मेरो मात्र होइन, कुनै पनि क्षेत्रमा केही सम्भावनासहित आएका महिलालाई कसैसँग नाम जोडिदिएर कमजोर साबित गर्न खोजिएको छ । साहित्यिक क्षेत्रमा पनि धेरै महिलाले यस्तो समस्या भोगेका छन् ।’
महिलालाई कमजोर प्रमाणित गर्न गरिने यस्ता अनेक हर्कत भए पनि आफूलाई कहिल्यै कमजोर अनुभूति नभएको अनुपमको दाबी छ । उनी भन्छिन्, ‘मलाई कहिल्यै पनि लोग्नेमानिसले गर्ने काम गर्न सक्दिनँ भन्ने लागेन । आर्थिक र सामाजिक रूपमा कमजोर पारिएको कारण मात्र महिला कमजोर देखिएका छन् । नत्र शारीरिक बनावटबाहेक अरू कुरामा फरक छैन ।’
०००
उमेरले एउटा पुरुषसँग सहजीवन सुरु गर्ने वेला भइसक्यो, अनुपमको । नेपाली समाजलाई हेर्ने हो भने त बितिसक्यो । समस्या के छ र ? त्यति लामो समय निरन्तर प्रेममा रहेका प्रेमी पनि छन् । तर, उनको जबाफ भने अचम्मको छ, ‘मलाई विवाहमा रुचि छैन । त्यसैले, विवाहको योजना पनि बनाइसकेको छैन ।’
अनुपमको यो जबाफले उनका प्रेमी कति निराश होलान् ? उनले नामै नखोलेपछि जान्न त सकिएन । उनी भन्छिन्, ‘उहाँ पनि मेरो कुरामा राजी हुनुहुन्छ । मलाई बुझेर नै उहाँले प्रेम गर्नुभएको हो । भन्नुहुन्छ, तिमीलाई मन लागेपछि नै विवाह गरौँला ।’
त्यसो त प्रेमी–प्रेमिकाले सँगै बस्न विवाह नै गर्नुपर्छ भन्ने मान्यता पनि छैन, उनको । तर्क छ, ‘एउटा घरमा छोराले बुहारी ल्याउँछ, छोरीले ज्वाइँसग विवाह गर्छे । उनीहरू सँगै बस्छन् भने प्रेमी–प्रेमिका चाहिँ बस्न मिल्दैन भन्ने मलाई लाग्दैन । यो कुनै अपराध होइन ।’
यसको सिधा अर्थ हो, कुनै दिन प्रेमीका साथ बस्न मन लाग्यो भने बस्नेछिन् । उनी स्विकार्छिन् पनि, ‘मेरो स्वतन्त्रतामा कसैले औँला ठड्याउला भनेर म डराउँदिनँ । त्यसो भनेर नैतिक पतन हुने इच्छा पनि पाल्दिनँ । तर, इच्छा लागेको कुरा गरेरै छाड्छु र गरेकी पनि छु ।’
के त्यसो भए विवाहअघि नै ‘कुमारी आमा’ बन्न चाहन्छिन् त उनी ? ‘कुमारी आमा’ उपन्यासकी लेखकको जबाफ छ, ‘यो मेरो इच्छा र सपना हो । मेरो जीवनमा त्यस्तै हुन्छ भनेर त भन्न सक्दिनँ । सामाजिक वा पारिवारिक पक्षसँगको संघर्षमा मैले कति जित हासिल गर्न सक्छु भन्नेमा पनि भर पर्ला । तर, बच्चा जन्माउन कुनै लोग्नेमान्छेसँग विवाह नै गर्नुपर्छ भन्ने चाहिँ म मान्दिनँ ।’
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका
तस्वीर :फेसबुक
तस्वीर :फेसबुक
Comments
Post a Comment