आक्रामक आस्था

तीसको दशकको मध्यतिर रेडियो नेपालमा एउटा गीत रेकर्ड भयो । बोल थियो– सालको पात टपरी गाँसेर...। रचना–संगीत राजु सिलवालको । श्वर उमा गुरुङले दिएकी थिइन् । गीत गाउँदा गुरुङ नौ बर्षकी मात्रै थिइन् । गीतले उनलाई सानै उमेरमा चर्चा दिलायो । भलै उनले गायनलाई निरन्तरता दिन सकिनन् । त्यसैले पछिल्लो पुस्ताका संगीतप्रेमीलाई उनको नाम थाहा छैन । तर त्यही गीतको ‘रिमिक्स भर्सन’ गाउने आस्था राउत पछिल्लो पुस्तालाई कण्ठस्थ छ । 
तीन दशकभन्दा अघि रेकर्ड भएको गीतको ‘रिमिक्स’ गाएर आस्था साठीको दशकको मध्यतिर चर्चामा आइन् । उनको उमेर पनि धेरै भएको थिएन त्यतिबेला । ११ कक्षा सक्दै थिइन् । उनको ‘हस्की’ स्वरलाई संगीतप्रेमीले रुचाए । गीत ‘हिट’ बनाउन भिडियो अनिवार्य बनिरहेको समयमा उनको स्वर विनाभिडियो ‘भाइरल’ भयो ।
त्यसपछि आस्था राउत संगीतबजारमा ‘हिट’ श्वरको सूचीभित्र परिनै रहेकी छिन् । हालसम्म केही रिमिक्स, केही फिल्मी र एउटा एलबम गरी उनले पुगनपुग तीन दर्जन गीत गाएकी छिन् । तर उनका गीतबारे किस्सा बन्न थालिसकेका छन् । भनिन्छ– सार्वजनिक यातायातमा यात्रा गर्ने काठमाडौको कुनै व्यक्तिले दिनमा एकपटक आस्थाको गीत सुनेकै हुन्छ । विदेशमा पनि उस्तै किस्सा छ– नेपाली भेटिने स्थानमा कसै न कसैले मोबाइलमा आस्थाको गीत बजाइरहेकै हुन्छ । उनको एलबम ‘आधार’मा समेटिएका ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ ‘तीन मोहरको धागो’जस्ता गीत निरन्तर बजिरहने सूचीमा पर्छन् ।
विदेशका कार्यक्रममा निम्ता पाइरहने कलाकारको सूचिमा पनि उनी अगाडि नै छिन् । अहिले पनि उनी अमेरिकाका विभिन्न स्थानको सांगितिक दौडधूपमा छिन् । 
०००

आस्थाको संगीत–प्रेम गर्भबाटै सुरु भएको हो । दोलखाबाट बानेश्वर आएर बसेका लोकगायक हरिबहादुर राउतसँग विवाह गर्दा उनकी आमा सावित्रीले भर्खर एसएलसी गरेकी थिइन् । संगीतमा खुब रुची थियो, गीत खुब सुन्थिन् । छोरी गर्भमा आएपछि झनै धेरै गीत सुनिन् । आस्था हाँस्दै भन्छिन्, ‘त्यही भएर पनि होला, मलाई पुराना नेपाली र हिन्दी गीत सुन्दा कतै सुनिसकेजस्तो लाग्छ ।’
आस्थाले गाउन भने ६ कक्षामा पढ्न थालेपछिमात्रै सुरु गरिन् । त्यसअघि उनको रुचि नृत्यमा थियो । उनको गायन प्रतिभाको परख भने राउत परिवारसँग निकट रहेका संगीतकार सुरेश अधिकारीले गरे । सात कक्षाबाट त आफूले संगीत पढाउने स्कुल मिलन विद्यामन्दिर, अनामनगरमा आस्थालाई भर्ना गराए । 
आस्थाले अधिकारीबाटै गायन सिकिन् र विभिन्न प्रतियोगिता भाग पनि लिइन् । अवार्ड पनि हात पारिन् । ‘सालको पात’अघि नै उनको स्वरमा केही बालगीत रेकर्ड भइसकेका थिए । त्यसैले उनी सुरेश अधिकारीलाई आफ्नो ‘मेन्टर’ मान्छिन् । भन्छिन्, ‘सुरेश अधिकारीले प्रतिभा नचिनेको भए म अहिलेको आस्था राउत हुने थिइनँ ।’ 
त्यसो त सावित्री राउतकी छोरी नभएको भए पनि आफू अहिलेको स्थितिसम्म आइनपुग्ने आस्थाको दावी छ । ‘आमाले नै मलाई संघर्षको मैदानबाट नभाग्न र निरन्तर मिहिनेत गर्न उत्प्रेरित गरिरहनुहुन्छ । नत्र म पनि आमयुवाझैं विदेश पलायन भइसकेकी हुन्थें हुँला’, उनले भनिन् ।
०००

आस्था फेसबुकमा होस् या प्रत्यक्ष, आफूलाई लागेको कुरा फ्याट्टै अभिव्यक्त गरिहाल्छिन् । उनको अभिव्यक्ति आक्रामक पनि हुन्छ । ‘समाजमा रहेको विभेद र कुरीतिले मलाई छुन्छ । पीडा हुन्छ । त्यसको विरोध नगरी बस्न सक्दिनँ । त्यसैले मैले बालगीत पनि कबाट कछुवा टाइपका गाइनँ । जहिले पनि छोरीको अधिकारकै गीत गाएँ । विभेदविरोधी गीत गाएँ,’ उनी भन्छिन्,‘म समाजमा परिवर्तन चाहन्छु । त्यो कुरा गीतमा अभिव्यक्त हुनुपर्छ भन्ने लाग्छ ।’
उनको भावना बुझेकी आमाले त त्यस्तै भावका गीत लेख्ने नै भइन्,  संगीतकार सुरेश अधिकारीले पनि आस्थाको आक्रामक लय पक्रेर गीत लेखिदिन्छन्, संगीत गरिदिन्छन् । त्यो क्रम बालगीतदेखि आस्थाको पहिलो एलबम ‘आधार’सम्म पनि निरन्तर छ । एलबमका दुई गीत उनकी आमाले लेखेकी हुन् भने बाँकी अधिकारीले । संगीत अधिकारीको एकल हो । ‘अधिकारीले मलाई बुझेर संगीत गर्नुहुन्छ । त्यसैले उहाँको संगीतमा मेरो श्वरको संगती मिल्छ,’ उनको भनाई छ ।
आस्थाको रोजाइमा अहिलेसम्म रोनाधोनाका गीत परेका छैनन् । उनी भन्छिन् नै, ‘तिमीले छोडेर गयौ म मरें, तिमीविना बाँच्न सक्दिनँ भन्ने प्रकृतिका गीत म गाउँदिनँ । प्रेमगीत नगाउने होइन, गाउँछु । तर निराशाको गीत गाउँदिनँ । आशाको गीत गाउँछु । आखिर हामी आशामा नै त बाँचिरहेका हुन्छौं ।’
उनलाई लाग्छ– कुनै न कुनै रूपले सामाजिक–राजनीतिक सन्दर्भसँग जोडिने गीत नै राम्रा गीत हुन् । कोरा भावनामात्रै भएका गीत कमसल हुन्छन् । 
आफूले गाएका ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’जस्ता गीतको सन्दर्भ कतै न कतै समाज र राजनीतिसँग जोडिएको उनको दावी छ । उनी विस्तार गर्छिन्, ‘चौबन्दीमा पटुकीले नेपाली हुनुको पहिचान र गर्वलाई अभिव्यक्त गरेको छ । यसमा सहरमा हुर्केर पनि गाउँलाई माया गर्ने नेपाली चेलीको मर्म छ । त्यस्तै झुम्के बुलाकीमा अधिकारको कुरा गरिएको छ । झुम्के बुलाकी केवल नाकमा लगाउने बुलाकीमात्रै होइन, त्यो त अधिकारको कुरा हो ।’ 
उनी आफ्ना गीतमा अधिकार र चेतनाका कुरा उठुन् भन्ने चाहन्छिन् । भन्छिन्, ‘म सहरमा जन्मिएँ । यसर्थ भाग्यमानी ठहरिएँ । तर मेरै देशमा यस्ता ठाउँ छन्, जहाँका मानिस कहिल्यै सहर नदेखिकन मर्छन् । उनीहरूका लागि म सुविधा पाएको मान्छेले केही गर्नु कर्तव्य हो । मेरो गीतले उनीहरूमा केहीमात्रै अधिकारको चेतना पैदा गर्न सक्यो भने पनि मलाई ठूलो खुशी मिल्छ ।’
यस सन्दर्भमा उनी रामेशले गाएको श्याम तमोटरचित गीत ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ’ सम्झिन्छिन् । सानै हुँदा सुनेको उक्त गीत उनलाई अहिले पनि उत्तिकै जीवन्त र जागरूक लाग्छ । उनी आफ्नो गीत पनि त्यस्तै होउन् भन्ने चाहन्छिन् । भन्छिन्, ‘अझ आक्रामक गीत गाउनुपर्ने छ । मेरो गीत यस्तो होस् कि सुन्दा मान्छेको मन नै सिरिंग होस् । काँडा उम्रियोस् । आशाले भरिउन् ।’
उनलाई माया गर्ने संगीतप्रेमी पनि त्यस्ता गीतको प्रतीक्षामा छन् । 
܀܀܀
✍ कला अनुरागी
साभार : अन्नपूर्ण पोस्ट (फुर्सद)

Comments