एलिस मुनरो : जसले लगिन् क्यानडामा नोबेल

नोबेल साहित्य पुरस्कार : २०१३

१० अक्टोबर २०१३ को दिन । बिहान सबेरै क्यानडेली साहित्यकार एलिस मुनरो घर छेउछाउमै डुलिरहेकी थिइन् । उनलाई मिडियाबाट फोन आयो, ‘साहित्यमा नोबेल पुरस्कार पाउनुभएकोमा बधाई छ । के छ तपाईंको प्रतिक्रिया ?’
उनी खुसी र आश्चर्यको सुखद आक्रमणमा परिन् । जसले उनलाई धेरै शब्द बोल्नै दिएन । उनको पहिलो प्रतिक्रिया थियो, ‘अविश्वसनीय †’
पुरस्कारको घोषणा गर्नुअघि उनलाई स्वेडिस एकेडेमीले आधिकारिक खबर पनि गर्न पाएको थिएन । उनको आन्सरिङ मेसिनमा सन्देश भने छाडेको थियो । सायद, त्यो मुनरोले पाएकी थिइनन् । त्यसैले उनले आफूले पुरस्कार पाएको खबर प्रेसमार्फत पाइन् । एक्कासि आएको खबरले उनलाई थप आश्चर्यमा पार्नु स्वाभाविकै थियो । ‘मलाई थाहा थियो कि म यो दौडमा छु । तर, पुरस्कार नै जित्छु भन्नेचाहिँ कहिल्यै पनि लागेन ।’ उनले विभिन्न मिडियालाई प्रतिक्रिया दिँदै भनिन्, ‘यो मेरा लागि मात्रै होइन, छोटो कथाका लागि पनि निकै आश्चर्यजनक खुसी हो । यसले छोटो कथा पनि महत्त्वपूर्ण कला हो भन्ने स्थापित गर्नेछ ।’
उनलाई ‘मास्टर अफ दी कन्टेम्पोरी सर्ट स्टोरी’ का रूपमा नोबेल पुरस्कार प्रदान गरिएको हो । एलिस साहित्यमा नोबेल पुरस्कार पाउने १३औँ महिला साहित्यकार र पहिलो क्यानडियन हुन् । उनले पुरस्कार पाएको खबर सार्वजनिक भएलगत्तै क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्परले उनीप्रति गर्व व्यक्त गरेका छन् ।
कुनै खास कृतिलाई नभई साहित्यकारको योगदानमा आधारित रहेर घोषणा गरिने यो पुरस्कारको राशि ८० लाख स्विडिस क्रोनर (करिब १२ लाख डलर) छ । गत वर्ष ‘डियर लाइफ’ कथासंग्रह प्रकाशन गरेपछि क्यानडाको द नेसनल पोस्ट पत्रिकामार्फत आफ्नो कथा लेखन समाप्त भएको घोषणा गरेकी एलिसले पुरस्कार पाएपछि भनेकी छिन्, ‘यो पुरस्कारले मेरो सोच परिवर्तन हुन सक्छ ।’
०००

एलिस १० जुलाई १९३१ मा क्यानडाको ओन्टारियो प्रान्तस्थित विंघममा जन्मिएकी हुन् । उनको खास नाम एलिस एन लेइडल हो । उनका बुबा रोबर्ट एरिक लेइडल किसान थिए भने आमा एन क्लार्क लेइडल विद्यालयकी शिक्षिका थिइन् । 
हाइस्कुलको अध्ययन सकिसकेपछि उनले वेस्टर्न ओन्टारिओ विश्वविद्यालयमा पत्रकारिता र अंग्रेजीको अध्ययन थालिन् । त्यसवेला उनले वेट्रेस, सुर्ती टिप्ने कामदार र लाइब्रेरी क्लर्कका रूपमा समेत काम गरिन् । 
सन् १९५१ मा उनको विवाह जेम्स मुनरोसँग भयो । उनका तीन छोरीहरू सिला, क्याथरिन र जेनी क्रमश: १९५३, ५५ र ५७ मा जन्मिए । क्याथरिनको भने जन्मेको १५ घन्टामै मृत्यु भयो । सन् १९६३ मा मुनरो दम्पतप् भिक्टोरिया गए र ‘मुनरोज बुक्स’ नामको पुस्तक पसल खोले । जुन अहिले पनि चर्चित छ र चलिरहेको छ । 
सन् १९६६ मा उनकी अर्की छोरी एन्ड्रिया जन्मिन् । त्यसको ६ वर्षपछि श्रीमान् जेम्ससँग उनको सम्बन्धविच्छेद भयो । 
जेम्ससँगको सम्बन्धविच्छेदपश्चात् एलिस ओन्टारियो नै फर्किन् । उनले १९७६ मा कार्टोग्राफर तथा जियोग्राफर गेराल्ड फ्रेमलिनसँग दोस्रो विवाह गरिन् । विवाहपछि उनीहरू ओन्टारियोको क्लिन्टनमा बस्न थाले । १७ अप्रिल २०१३ का दिन गेराल्डको ८८ वर्षको उमेरमा मृत्यु भयो । एलिसलाई पनि क्यान्सर र मुटुको रोगले आक्रमण गरेको थियो । तर, त्यसको सफल उपचार भयो । 
०००

उनले किशोर अवस्थादेखि नै लेखन सुरु गरेकी थिइन् । उनको पहिलो कथा ‘द डाइमेन्सन अफ अ स्याडो’ सन् १९५० मा प्रकाशित भएको थियो । त्यसपछि उनका रचना विभिन्न म्यागजिनमा प्रकाशित हुन थाले । 
श्रीमान्का साथ भिक्टोरियामा पुस्तक पसल खोलेपछि उनको अध्ययनले पनि थप गति लियो । उनको पुस्तक भने सन् १९८६ मा प्रकाशित भयो । जसको नाम हो– डान्स अफ दी ह्याप्पी सेड्स् । पुस्तकले उल्लेखनीय ध्यानाकर्षण गर्‍यो । सन् १९७१ मा उनको अर्को कथासंग्रह ‘लाइभ्स अफ गल्र्स एन्ड विमिन’ प्रकाशित भयो । त्यसले पनि चर्चा पायो । 
छोटो कथा लेखनबाट चिनिने एलिसका १४ संग्रह प्रकाशित भइसकेका छन् । त्यसमध्ये ‘हु डु यु थिंक यु आर (१९७८), द मुन्स अफ जुपिटर (१९८२), रनवे (२००४), द भ्यु फ्रम क्यासल रक (२००६) र टु मच ह्यापिनेस (२००९) पनि चर्चामा रहे । उनका कथासंग्रह ‘हेटसिप, फ्रेन्डसिप, कोर्टसिप, लभसिप म्यारिज (२००१)’ मा रहेको कथा ‘द बियर केम ओभर द माउन्टेन’माथि सारा पोलीले ‘अवे फ्रम हर (२००६)’ फिल्म बनाए । जसमा जुली क्रिस्टी र गोर्डन पिन्सेन्टको अभिनय छ । 
उनको पछिल्लो संग्रह ‘डियर लाइफ’ गत वर्ष प्रकाशित भएको छ । 
उनकी छोरी सिला मुनरोले पनि आफ्नो बालापनको संस्मरण ‘लाइभ्स अफ मदर्स एन्ड डटर्स : ग्रोइङ अप विथ एलिस मुनरो’ प्रकाशन गरेकी छिन् । 
०००

उनको लेखनलाई महान कथा लेखकसँग तुलना गरिन्छ । उनलाई क्यानडाको चेखब पनि भन्ने गरिन्छ । 
उनको सरल, सहज र चलायमान कथाहरूले मानवीय जटिलतालाई प्रस्तुत गरेको पाइन्छ । उनका कथामा साना घटना हुन्छन्, तर ती निकै महत्त्वपूर्ण र शक्तिशाली हुन्छन् । व्यंग्य र संवेदना उही समयमा पैदा गर्न सक्नु उनको खुबी हो । उनको छोटा कथामा पाइने भावनात्मक र साहित्यिक गहिराइले पाठकलाई उपन्यासको तिर्सना मेटाइदिन्छ । सुन्दर कथावाचन र बुनोट उनको अर्को सशक्त पक्ष हो । जुन सरल तर मनोवैज्ञानिक वास्तविकतामा आधारित हुन्छ । 
उनका कथामा सधैँजसो सानो सहरको वातावरण प्रतिविम्बित हुन्छ । जुन परिवेश उनी आफू जन्मेहुर्केको ओन्टारियोस्थित ह्युरोन कन्ट्रीबाट उतार्छिन् । उनले चरित्रका माध्यमबाट समाजको परम्परा र भेषभूषालाई अगाडि ल्याउँछिन् । तर, त्यसलाई सहज र साधारण तरिकाले प्रस्तुत गर्नु उनको अर्को खुबी हो । उनी चरित्र चित्रणमा पनि मौलिक छिन् । उनका कथामा पुरुष चरित्र आम हुन्छन् भने महिला चरित्रचाहिँ अलि जटिल हुन्छन् ।
अस्तित्वको संघर्ष चित्रण उनका धेरै कथामा पाइन्छ । अस्तित्वको संघर्षका क्रममा भत्किएका सम्बन्ध र नैतिक द्वन्द्वलाई उनले कथामा गम्भीर ढंगले उठाएकी छिन् । उनी साधारण दैनिक जीवनलाई चित्रण गर्छिन्, तर त्यो निकै महत्त्वपूर्ण हुन्छ । 
उनले छोटो कथाको संरचनामा क्रान्ति नै ल्याएको मानिन्छ । अकल्पनीय स्थानबाट कथाको सुरुवात गरेर अगाडि या पछाडिको समय चित्रण गर्ने उनको शैलीको निकै चर्चा हुने गरेको छ । 
०००

उनको पहिलो कथा संग्रह ‘डान्स अफ् द ह्याप्पी सेड्स’ले नै क्यानडाको सर्वोच्च साहित्यिक सम्मान पुरस्कार ‘द गभर्नर जनरल अवार्ड’ पायो । त्यसपछि पनि उनले दुईपटक यो अवार्ड हात पारिन् । त्यस्तै, ‘द लभ अफ अ गुड विमिन’ संग्रहले नेसनल बुक्स क्रिटिक्स सर्कल अवार्ड पाएको थियो । 
उनलाई सन् २००९ मा म्यान इन्टरनेसनल बुकर पुरस्कारले सम्मान गरिएको थियो । 
०००

उनले गत वर्ष आफनो पुस्तक विमोचनको कार्यक्रममा भनेकी थिइन्, ‘म कुनै बुद्धिजीवी होइन । म केवल असल पत्नी हुँ, तर महान् होइन । मसँग अरू कुनै प्रतिभा नभएकाले नै लेखनमा सफल भएँ । लेखनबाहेकका कुरामा मेरो कहिल्यै रुचि रहेन । त्यसैले कहिल्यै पनि अरू कुरा मेरो बाटोमा आएन पनि ।’
एलिसको त्यही एकल प्रतिभा र रुचिले उनलाई नोबेल पुरस्कारसम्म पुर्‍याएको छ । पाठकले उनीबाट अझै थप कृति आशा गरेका छन् । त्यसका लागि प्रतीक्षाको विकल्प छैन । 
तर, उनको कुनै पनि कृति नपढेका पाठकलाई उनले आफ्नो पछिल्लो कृति ‘डियर लाइफ’बाट सुरु गर्न सुझाब दिएकी छिन् । उनको आशा छ, ‘त्यसले पाठकलाई मेरा अगाडिका कृति पनि पढ्न उत्प्रेरित गर्नेछ ।’
܀܀܀
✍ कला अनुरागी (एजेन्सीको सहयोगमा)
साभार : नयाँ पत्रिका

Comments