'दीक्षान्त'मा दलित स्वर


‘दाजी तमी क्यान ढिला आयौ ? तमीलाई हेर्ने बाको अन्तिम घिड्घिडो पनि अधुरै रहिगयो ।’ दुई दिनदेखि रोइरहेकी बहिनीको सुकेका गलाबाट निस्केको आवाजले बाबुको लासको छेउमा झोक्राइरहेको प्रकाश विश्वकर्माको मुटु अझ चर्किन्छ । लासको शिरपट्टी अस्तव्यस्त हालतमा रोइरहेकी आमाको रोदन अझ बढ्छ । 
बाबु बितेको दुई दिनपछि घर पुग्दा पनि लास उठेको हुँदैन । ऊ ढिला आइपुगेर होइन, अछुतको लास छुनुहुन्न भन्ने सामाजिक मान्यताले गर्दा । परम्परागत पेसा गरेर गाउँमा बस्ने दलित सकिइसकेका हुन्छन् । विष्टका घरेलु हतियारमा पाइन लगाउँदै र घरेलु ज्यावल बनाउदै जीवन अन्त्य गरेका रणबहादुरको लास उठाउने मान्छे हुँदैन । बहिनीले गाउँभरी अनुनय गर्दै हिँड्दा पनि कसैले लास उठाउन सहयोग पाउन नसकेको सुन्दा प्रकाशको मन पीडाले भरिन्छ र मस्तिष्कमा विद्रोहको बिजुली चम्किन्छ । त्यसैले ‘छाउ’ भएकी बहिनीलाई नै लास उठाउन सहयोग गर्न बोलाउँछ । शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको नाटक ‘दीक्षान्त’को दृश्य हो यो । 
नाटकले एक दलित युवकको कथा भन्छ । अभाव र विभेदको जाँतोमा पिसिएको सुदूरपश्चिमको गाउँबाट समानताको सपना देख्दै राजधानी आइपुगेको युवकले गर्नुपरेको संघर्ष र भोग्नुपरेको पीडा नाटकमा घोलिएको छ । आम दलितको भोगाइझैँ विश्वविद्यालयबाट ‘दीक्षित’ भइसकेपछि पनि दलितले भोगिरहनुपरेको विभेदबाट मुक्ति पाउँदैन मुख्य पात्र । उसलाई लाग्छ, ‘म दलित होइन । मलाई समाज चलाउन आउँछ, मलाई देश चलाउन आउँछ । शास्त्रको व्याख्या गर्न सक्छु ।’ तर, समाजबाट त्यस्तो व्यवहार देख्न÷भोग्न पाउँदैन । 
ऊ भित्र प्रश्नहरू हुँडलिइरहन्छ । ‘मैले के कर्म गरेको छु, जसको कारणले गर्दा म अछुत भएको छु ? मेरो बुवाआमालाई के–के कारणले गर्दा दलित र अछुत भनिन्छ ?’ ‘मेरो शुक्रकीटमा के छ कि मेरो सन्तानचाहिँ जन्मिनुअघि नै दलित हुन्छ ?’ कतैबाट पनि उत्तर पाउँदैन ऊ । 
इतिहासको कालखण्डमा शासकले विभिन्न आग्रहका आधारमा गरेको जात र थर फेर्ने निर्णय आधुनिक अदालतले खारेज गरिदिओस् र दलितको ‘ट्याग’बाट मुक्त गरिदिओस् भन्ने उसको अपेक्षा छ । उसलाई लाग्छ, ‘ती धार्मिक सामाजिक र राजनीतिक आधारमा गरिएका निर्णय थिए । ती अबका दिनदेखि लागू नहुने भनेर भन्न किन नमिल्ने ?’ तर, त्यसो भइरहेको छैन ।
पछिल्लो समय सीमान्त वर्गका लागि छुट्याइएको आरक्षण कोटाले उसको प्रश्न झन् उल्झाइदिएको निष्कर्ष छ उसको । उसलाई लाग्छ दुई-चार ठाउँमा जागिर दिएर दलित बनाइने संस्कारलाई नै निरन्तरता दिइरहेको छ । ऊ भन्छ, ‘दलित हुन्छन् र यिनलाई दलित नै रहिरहन दिनुपर्छ भन्ने नयाँ तर लोभलाग्दो षडयन्त्र हो यो ।’ 
तमाम प्रश्न र पीडाबाट गुज्रिँदा पनि उसको आत्मविस्वास भने गलेको छैन । ‘यी प्रश्नको जवाफ नपाउञ्जेल म चुप लागेर बस्ने छैन । चाहे जस्तोसुकै युद्ध लड्न नपरोस्,’ ऊ भित्रको आत्मविस्वास नाटकमा अभिव्यक्त छ । संस्कारको काम्रो र अन्धविश्वासको चस्माबाट मुक्त चेतनशील पुस्ताले उसलाई साथ दिने संकेतसँगै सकिन्छ नाटक । कथा–भावलाई सम्बोधन गर्ने विप्लव प्रतीकको गीतमा न्ह्यु बज्राचार्यको संगीतले नाटकलाई ‘म्युजिकल’ बनाएको छ । नाटकले पश्चिममा लोकप्रिय देउडा नृत्य र गीतको प्रयोगमार्फत् सीमान्त संस्कृतिलाई पनि उठाएको छ ।
डा. शिव रिजालले लेखेको नाटक ‘दीक्षान्त’ ६ माघबाट शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन भइरहेको छ, जसको घिमिरे युवराजले निर्देशन गरेका छन् । माघ मसान्तसम्म मन्चन हुने नाटकमा जीवन बराल, पवित्रा खड्का, मातृका घिमिरे, झकेन्द्र बिसी, सविन, नमराज, दिवेन, शुलभ केदार बिसी, रमेश, विप्लाद, संगीता, सगुन, काजीलगायतको अभिनय छ ।
܀܀܀
 कला अनुरागी
साभार: अन्नपुर्ण टुडे, शुक्रबार, १४ माघ, २०७३ 

Comments