मुरली केटोको कथा

भाग १ : मुरली केटो
वितृष्णाले विद्रोह जन्मायो । नत्र त बिहेबटुलोमा सहनाई बजाइरहेको हुन्थे होला यतिवेला उनी । उही छोइछिटो, हेलाहोचो । उही कुल्चाई मिचाई । किताबमा हटेर भो र जातीय भेदभाव, व्यवहारमा कहाँ हटेको छ र !
अमिलो मन पारेर सम्झन्छन् उनी, ‘बुबाको पछि लागेर विवाहमा गएको थिएँ । नाच्ने निहुँमा जन्तीले कुल्चेको कुल्च्यै गर्न थाले । असाध्यै रोएँ । तर, घरको सम्झनाले रोयो भन्ठाने सबैले । त्यसपछि मन त कति रोयोरोयो । त्यसले वितृष्णा जन्मायो मलाई पुख्र्यौली पेसाप्रति । त्यसपछि कहिल्यै गइनँ बाजा बजाउन ।
त्यसो त उनी बाजासँगै हुन्छन् अहिले पनि । तर, किबोर्डजस्ता आधुनिक बाजा । ती बाजामाथि उनको औँला कम चल्छ, दिलदिमाग बढी । त्यहीबाट पैदा गरेको धुनले दिन्छ उनको परिचय । तिमी विनाको जीवन…’जस्ता गीतका संगीतकार आशिष अविरल  ।
०००
बागलुङ मल्म गाविसको परियार टोलमा हुर्किएको ठिटो उनी । गाउँघरतिर गाउनबजाउन नाम चलेका उनका बुबा । सांस्कृतिक पर्वमा बाजा बजाउने र लुगा सिलाउने पेसा । उनी भने दुइटै पेसामा छैनन् । तर, पनि कतै न कतै सम्बन्ध छ, पुख्र्यौली पेसासँग उनको अहिलेको परिचय ।
बुबाले छेडेर दिन्थे कहिले बाँसुरी, कहिले मुरली । त्यही बजाउँदाबजाउँदै संगीतमा रस पस्यो उनलाई । सबैले भन्थे– ‘राम्रो बजाउँछस् ।हुँदै जाँदा त मुरली केटोपो भन्न थाले गाउँघरमा । अनि त आफैँ छेड्न थाले बाँसुरी पनि । पञ्चेबाजा बजाउने पेसा त छाडे । तर, बाजै बजाउने नसा पो लाग्यो ।
स्कुल छुटेर खोल्चाखाल्चीतिर झर्‍यो । बाँस खोजेर ल्यायो । छेड्यो अनि बजायो । भनेजस्तो बजेन भनेर फोर्‍यो । भोलिपल्ट फेरि तलतल लागिहाल्थ्यो ।
फेरि उही कर्म ।
०००

मसालको प्रभाव भएको जिल्ला बागलुङ । रक्तिम सांस्कृतिक अभियानलाई उनीजस्तै कलाकार बजाउन जान्ने मान्छे चाहिएको थियो । झन्डै पाँच वर्ष अभियानमा हिँडे उनी । त्यहाँबाट संगीतको आधारभूत ज्ञान पनि लिए उनले । राजनीति पनि चिने, तर राजनीति गर्न भने सकेनन् ।
राजनीतिमा अगाडि गएर नेतृत्व लिन खोज्नु पर्दोरहेछ । तर, मलाईचाहिँ क्षमता हेरेर नेतृत्व दिए हुने भन्ने लाग्ने । त्यस्तो त नहुने रहेछ ।उनले यसरी बुझे राजनीति ।
उसो त उनको महत्त्वाकांक्षा पनि कम थिएन । राजनीति गरिसकेपछि प्रधानमन्त्री हुने गरी पो गर्नुपर्छ भन्ने लाग्ने । तर, पार्टी सानो छ, जिन्दगीमा प्रधानमन्त्री हुने छाँट देखिनँ ।यसो भन्दै उनी जोडले हाँसे ।
अभियानमा हिँड्ने वेला उनी बागलुङ सदरमुकाममा क्याम्पस पनि पढ्दै थिए । उनको प्रतिभा राम्ररी चिनेका रहेछन् मसालका तत्कालीन नेता तथा अंग्रेजी गुरु झोकेन्द्र थापा । उनले भने, ‘तपाईंजस्तो मान्छे यहाँ बसेर हुन्न । काठमाडौं गरेर
संघर्ष गर्नूस् ।
गुरुकै भनाइ शिरोधार्य गरेर उनी ०५७ मा छिरे काठमाडौं । अनि सुरु भयो कलेजको पढाइ, शास्त्रीय संगीतको सिकाइ र दु:खका शृंखला ।
०००
उनले भोगेको दु:खको कारणमा उनको जात पनि मिसिएको छ । संगीतजातैले पाएको क्षेत्र । तर, संगीतमा पुस्तौनी योगदान गर्दै आएको जाति संगीतजत्तिकै सम्मानितचाहिँ किन हुँदैन ? भोगाइ बिझ्छ उनलाई । तर, कारण पनि बुझेका छन् ।
कुरा वर्गको हो,’ उनी केही राजनीतिक भए, ‘जसले काम गर्छ, त्यसको फल खान त्यसले पाउने समाज संरचना कहाँ छ र हाम्रो । जसले मजदुरी गरेर घर बनाउँछ, उसले त्यहाँ बस्न पाउँदैन ।
थरप्रति आपत्ति होइन, तर त्यसबाट उत्पन्न हुने मनोविज्ञानप्रति आपत्ति छ मेरो । म चर्चित हुनसक्छु । तर, मेरो समकक्षीले मलाई हियाउन ल दमाईं आयोभनिदिन्छन् । अहिलेको समाजलाई त्यति भए पुग्छ ।
उनको ठहर छयो जात रहेसम्म विभेद हट्दैन । चाहे दलित आरक्षण गरियोस् या समानताको संविधान बनोस् । उनलाई आपत्ति छदमाईं शब्दले पैदा गर्ने मनोविज्ञान र चिन्तनप्रति ।
भन्छन्सहर सभ्य छ । तर, उनको भोगाईमा त्यो ढोँग मात्र हो । जातीय विभेदको मानसिकतामा यो झन् जब्बर छ ।
मैले जातीय कारणले नै कोठा सर्नुपरेको छ । एकपटक कोठा सर्ने क्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसरको घरमा कोठा पाइयो । उहाँले पहिले हुन्छ भन्नुभएको थियो । जात थाहा पाएपछि अर्कै मान्छेले हेरेको छ भन्नुभयो ।तीतो अनुभव सुनाए उनले ।
उनले हाँस्दै निष्कर्ष निकालेयो आस्तिकता भन्ने चिज जति पढ्दै गयो, त्यति पो बढ्दो पो रहेछ । विज्ञानलाई स्विकारेर डाक्टर बनेको मान्छेले अप्रेसन गर्नुअघि पूजा गर्न थाल्छ । सहरमा एउटा फरक भने उनले पाएका छन् । त्यो हो खुलेरै विभेदचाहिँ गर्न नसक्ने । योवेला राज्यले बल प्रयोग गरेर थिति बसाउनु आवश्यक रहेको उनको धारणा छ ।
संगीत क्षेत्रमा पनि त्यस्तो विभेद कायमै छ । पञ्चेबाजा बजाउनेलाई हेय दृष्टिले हेर्ने, पारिश्रमिक दिन कन्जुस्याई गर्ने मानसिकता भोगेका छन् उनले । त्यही भएर उनले जाने पनि सहनाई र पञ्चेबाजा बजाउँदैनन् ।
०००
उनी आफ्नो थर भन्दैनन् । लेख्दैनन् । उनको दाबी छजातीय मनोविज्ञान मेट्न यसो गरेको । तर, त्यो उत्तरले कहाँ सुख पाएका छन् र ? भन्नेले भनिरहेकै छन्आफ्नो जात खुलाउन नसकेर थर नलेखेको । त्यसोभन्दा उनलाई कम्ति झोँक चल्दैन । भन्छन्, ‘उपल्लो जात भनिएकाले थर लेखेन भने त्यो महान् हुन्छ, समताको पक्षमा काम गरेको ठहर्छ । हामीले लेख्दा किन जात देखाउन नसकेको भन्ने ?’
आफ्नो थर नलेखेर ठूला जाति भनिएकाको थर लेख्ने कुराको भने खरो विरोध गर्छन् । उनको भनाइ छ, ‘त्योचाहिँ जात सानोठूलो छ भन्ने स्विकारेको हो ।
कत्तिले भन्छन्मान्छेको दुई जात । महिला र पुरुष । तर उनको प्रतिवाद छ त्यसमा, ‘होइन, त्यो त लिंग पो हो त ? कहाँ जात हो र । मान्छेको जात त मान्छे नै हो । आर्यन, मंगोलियन आदिलाई प्रजाति मान्न सकिएला ।
उनी ठान्छन्आरक्षणले दलितको मुक्ति हुँदैन । त्यसका लागि बरु दलित समुदायको आर्थिक विकास र शिक्षाको विकासमा जोड दिन्छन् । आरक्षण त उही बाठाटाँठाले पाउने न हुन्,’ उनले बुझेका छन् ।
 
भाग दुई : संगीत सागरमा
०५७ मै उनले रेडियो नेपालमा लोकगीत प्रतियोगितामा भाग लिने मौका पनि पाए । त्यसले लोकगीतको माहोलमा मिसायो उनलाई । लोकदोहोरीको एल्बम निकाल्न थाले । तर, गीत न हिट हुन्थ्यो । न फ्लप । लगानी उठ्थ्यो तर आफ्नो खल्तीसम्म आइपुग्ने गरी बिक्दैनथ्यो ।
उनी सन्तुष्ट हुन सकेनन् । जे पर्ला भनेर गाउँ फर्के र डेढ वर्षजति पढाए बोर्डिङमा । तर, किन टिक्थे र त्यहाँ, संगीतको नशा जो लागेको थियो । फेरि काठमाडौं आए र एल्बम निकाले । तर, दशा उही, न हिट न त फ्लप । त्यसपछि फेरि मन बरालियो । जागिर खान थाले संस्थातिर तर संगीतको भोक किन घटथ्यो र ?
अब किबोर्ड किन्छु र संगीततिर लाग्छुमनमनै अठोट लिए । ऋण गरेर दाम पनि जुटाए । सहुलियतमै किबोर्ड बेच्ने मान्छे पनि फेला पारे । तर, दुर्भाग्य π त्यही वेला बुबाको गोडा फ्याक्चरभयो । पैसा उपचारमै सकियो । योजनालाई डेढ वर्ष पर धकेल्यो ।
त्यसवेला मात्रै होइन, यस्तै केही न केही भएर पटकपटक योजना असफल भए । तर, हिम्मत भने हारेनन् । उनको आशा जागै थियो ।
पाँचौँ प्रयासमा किबोर्ड त किने । तर, त्यसैवेला उनलाई एपेन्डिसाइटिस भयो । अप्रेसनपछि आराम गर्नुपर्‍यो । त्यसले फाइदै गर्‍यो । त्यही वेला बासना एल्बमको संगीत सिर्जना गरे । तर, काम भनेजसरी अघि बढेन । करिब डेढ वर्ष त्यत्तिकै अल्मलियो । कहिले भनेजस्तो गीतकार नपाउने, कहिले प्राविधिक व्यवस्था नमिल्ने । एउटा जोश थियो पहिलो आधुनिक एल्बम गर्ने भनेपछि । पछि त सेलाउँदै गयो । तर, पनि उनले गीतकार आनन्द अधिकारीको साथ पाए । त्यसमा नरेन्द्र प्यासीको स्वरले ज्यान भर्‍यो । तैपनि आधुनिक गीत बजार घट्दो थियो । तर, जब बासना बजारमा पुग्यो, त्यसको सफलताले आशिष खुसी मात्रै भएनन् ।
उनको जीवनमा सबैभन्दा खुसी भएको समय पनि
त्यही थियो ।
०००
उनलाई पहिले लाग्थ्योसंगीत नसिकी हुन्न । सिक्दै गएपछि लाग्योनगरी पनि त नहुने रहेछ ।
सिकाइको भोकले डोरेमी संगीत पाठशाला, गुरुदेव कामतदेखि नोर्बु आप्पासम्म पुर्‍यायो । जुन जारी छ अझै । काम पनि
जारी नै छ ।
तर, अहिलेको ट्रेन्डचाहिँ कताकता आफूले पछ्याएको बाटोभन्दा फरक भएजस्तो लाग्छ उनलाई । आवेगमा, प्रतिशोधमा गीत लेख्ने, संगीत गर्ने प्रचलन पो देख्छु म हिजोआज । के भएर हो कुन्नि सिआरबिटी/पिआरबिटीमा पनि त्यही चलेको छ । त्यसले त संगीत भनेकै यस्तै रहेछ कि के हो भन्ने पो हुन थालेको छ । संगीत क्षेत्रलाई डामाडोल बनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बाटोबाट झन् पछाडि परेको छ ।यो अवस्थालाई उनी राजनीतिक भाषा प्रयोग गरेर भन्छन्, ‘संगीतका लागि अहिले संक्रमणकालीन समय छ ।
०००
अन्तर्राष्ट्रिय संगीतको अध्ययन गर्ने हो भने संगीतकार संगीतका धेरै साधनमा पोख्त हुन्छन् । जसको कुशलतापूर्वक प्रयोग गरेर उनीहरू भावनाअनुरूपको संगीत सिर्जना गर्छन् ।
तर, यहाँ त्यस्तो छैन । साँप्रै ठटाएर भए पनि भाका निकालेपछि संगीतकार हुन्छन् । बाँकी त एरेन्जरले पो मिलाउँछन्,’ उनी हाँस्दै भन्छन्, ‘यस्तो त गाउँमा धेरैले गर्छन् ।
उनी संगीतकार मात्रै होइनन्, एरेन्जर पनि हुन् । त्यसैले कस्ता संगीत सिर्जना भइरहेका छन् । नजिकैबाट बुझेका छन् । रुने शब्द छ, त्यसमा नाच्ने संगीत हुन्छ । अनि एरेन्जरलाई भन्छन्रुने बनाउनुपर्‍यो । गीत नै नाच्ने छ त कसरी रुने बनाउने ?’ उनी धेरैपटक अफ्ठयारोमा परेका छन् । यस्तो वेला संगीतबाटै गोधूलिको अनुभूति हुने, झमझम पानी परेको अनुभूति दिने सिर्जना त झन् के आउँथे । त्यस्तो सिर्जनाका लागि संगीतको गहिरो अध्ययन आवश्यक छ । त्यस्तो अध्ययन भएका संगीतकार औँलालाई पनि भाग पुग्दैनन् नेपालमा ।
उनको भोगाइ छत्यसैले जनस्तरमा संगीत गर्नुको महत्त्व नै स्थापित भएको छैन । गाउँमा तैँले के काम गर्छस्भनेर सोध्छन् । म संगीत गर्छुभन्यो । कहाँ π संगीत गरेर हुन्छ, यसो पैसा आउने काम गर्नुपर्छ नि । बरु स्कुलतिर पढाउनूभन्छन् ।
संगीत गरेर नि पैसा आउँछभन्यो । भाका निकालेर पनि कहीँ पैसा आउँछ र ?’ भन्छन् । यसले नेपालमा संगीतको अवस्था चित्रण गर्छ । उनलाई लाग्छजबसम्म जनस्तरसम्म संगीतको महत्त्व बुझाउने संगीत सिर्जना हुँदैन, त्यसवेलासम्म संगीत समाजमा स्थापित हुन्न ।
०००
संगीतमा लागेर उनले जानेको यत्ति होसंगीत सागर हो । भन्छन्, ‘अहिले आएर मलाई लागेको छ, म यो क्षेत्रमा खाली नै छु । मेरो भण्डारमा केही पनि छैन । संगीतमा लाग्ने हो भने पूरै भण्डार भर्नुपर्छ । अध्ययन गरेर सकिन्नँ कि झैँ लाग्छ । यो जुनीमा वास्तविक संगीतकार बन्न सकिन्नँ कि झैँ लाग्छ । तर, यत्रो संघर्ष गरेर यहाँ आइपुगेको छु । हिम्मत हार्दिनँ, प्रयत्न गर्दै छु ।
उनले बुझेको अर्को कुरा होसंगीत सिर्जना हो नै । त्यसैले प्राकृतिक क्षमता त आवश्यक छ । तर, शिक्षा पनि त्यत्तिकै आवश्यक छ ।
यो बुझाइमा पुग्न उनलाई केही समयअघिको भारत भ्रमणले पनि सहयोग गर्‍यो । उनी त्यहाँ संगीत सिक्ने बहानामा एक प्रसिद्ध संगीतकारकहाँ पुगे । उनी एरेन्जर पनि रहेछन् । त्यहाँको साधन र प्रविधि देखेर उनलाई लाग्योओहो ! यिनी पनि एरेन्जर म पनि एरेन्जर । आकाश जमिनको फरक ।
उनले बुझ्दै गएती त पियानिस्ट रहेछन् । संगीत शिक्षक पनि रहेछन् । त्यति मात्रै हो र साउन्ड इन्जिनियर रहेछन् । पश्चिमी संगीतको उस्ताद नै रहेछन् । ज्याज, ब्लुज, रक सबैको गहिरो अध्ययन । भारतको संस्कृति पनि खर्लप्पै खाएका । शास्त्रीयमा पनि उस्ताद । जब ती संगीतकारले अझै महिनाको १२ हजार तिरेर संगीत सिक्दै छु भने त्यसपछि उनलाई ठूलो चड्कन महसुस भयो । उनलाई लाग्यो, ‘हत्तेरिका π ती पनि संगीतकार, म पनि संगीतकार र तिघ्रा ठटाएर भाका हाल्ने पनि संगीतकार ।उनी निष्कर्षमा पुगे, ‘बल्ल थाहा पाएँ कि मैले त केही जानेको रहेनछु । जरा त कहाँ हो कहाँ ? पात मात्रै पो भएका रहेछौँ ।
त्यसैले अहिले संगीतको सन्दर्भमा बहस चल्दा उनले भन्ने गर्छन्, ‘हामी त पात ! संगीतको जरा जान्न र फूल बन्न निकै साधना गर्नुछ ।
साभार: नयाँ पत्रिका 

Comments