एउटा योद्धाको डायरी



यसरी डुबेथें प्रेममा
कि
जीवनभन्दा धेरै प्यारो लाग्थ्यो ऊ ।

उसलाई ताकेको गोली
थापेर छातीमा
मुस्कुराएकै हुँ धेरैपटक
संयोग, गोलीले छेड्यो छातिमात्रै
सकेन छेड्न मुटु
र, आज पनि उस्तै प्रेम
धड्किरहेछ यसभित्र ।

आज–
यही मुटुमा पसेको छ
सियोजस्तो उदासी
र, चस्चस् घोचिरहन्छ निर्मम,
वेवास्ताको चुर्‍याइँदो रापले
सुकिरहेको छ दिनदिनै
मायाको पोखरी ।

हरेक बिहान–
मेरोजस्तै उदास मुहार लिएर
झुल्कन्छ घाम;
खिपेर रातभरी
निराशाका काला अक्षर
ओर्लिन्छ अखबार सडकमा
र, छोडिहिड्छ
सपनाको लाश पल्टिरहेको
उराठ बगरजस्तो समय ।

आज–
जो उसको छाला काढेर
पसलमा झुण्ड्याउने
मौकाको खोजीमा छ;
त्यसैको छातीमा
ऊ निर्धक्क लुकाइरहेछ टाउको ।

सोचीबसेको छु आजकाल–
किन सँधै उ फुत्किन्छ
मेरो अँगालोबाट
र, पुग्छ बगरेकै अँगालोमा ?
܀܀܀
✍ कला अनुरागी
साभार: पाण्डुलिपि 

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार