लालीको डाम


काsssली देखिन्थ्यौ तिमी
कालो बादलजस्तै
र, धेरैले मन पराउँदैनथे तिमीलाई ।

मैले भने तिमीमै देखें बर्षिने सम्भावना
पहाड भएर गरें श्पर्श
चम्कियो बिजुली
बर्षियौ तिमी
त्यति नै बेला बसेको हो
मेरो गालामा
तिम्रो ओठको निख्खुर रातो लालीको डाम ।

बर्षापछि खुल्यो आकाश
चम्कियो सुनौलो सूर्य
बिस्तारै तिमी गोsssरी भयौ
सफेद बादलजस्तै
र, उडि गयौ टाढा–टाढा ।

तिनैले पो मन पराउन थाले तिमीलाई
जसले पहिले खोइरो खन्थे ।

सेतोबादलजस्तै तिमी पनि
कहिले पुग्यौ आकासको काखमा
कहिले बेरियौ हिमालको अँगालोमा
कहिले कता
कहिले कता
खुप बरालियौ
र, भुल्यौ मलाई भुसुक्कै ।

म भने गोडमेलमै व्यस्त छु
हामीले रोपेका सपनाको
उस्तै छ तिम्रो लालीको डाम
मेरो गालामा
र, उसैगरी बिजुली पर्खिरहेको छ मौसम ।
܀܀܀
✍ कला अनुरागी
साभार: कलाश्री

Comments